राक्सिराङ्गमा भोकमरी, गाउँपालिकाद्वारा सहयोगको आह्वान 

सुवास विडारी

मकवानपुर — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र महामारीको त्राससँगै मकवानपुरको विकट राक्सिराङ्ग गाउँपालिकामा भोकमरीको समस्या देखिन थालेको छ ।

राक्सिराङ्गमा भोकमरी, गाउँपालिकाद्वारा सहयोगको आह्वान 

मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको यस गाउँपालिका अधिकांश सीमान्तकृत चेपाङ समुदायको बसोबास रहेको गाउँपालिकामा खेतबारीमा उब्जाइएको अन्नले आधा वर्ष पनि खान पुग्दैन । घरमा अन्न सकिएपछि यस क्षेत्रका चेपाङ समुदायका मानिसहरु अन्नको लागि दैनिक ज्याला मजदुरी गर्न जाने गर्दछन् । तर, कोरोना भाइरसको संक्रमणको त्रासका कारण मुलुक नै लकडाउन भएपछि चेपाङ समुदायले ज्यालादारी गर्न पाएका छैनन् । जसको कारण दैनिक छाक टार्न उनीहरुमा समस्या सुरु भइसकेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।


‘गाउँका धेरै चेपाङहरुको घरमा माघ फागुनबाटै अन्न सकिन्छ । त्यसपछि उनीहरु कोही कन्दमुल खोज्ने त कोही दैनिक ज्याला गरेर ज्यान पाल्दै आउने गरेका छन् । अहिले कोरोना भाइरसको संक्रमणको कारण लक डाउन भएपछि चेपाङहरु ज्याला गर्न जान पाएका छैनन् । त्यसैले यहाँ भोकमरी सुरु भइसक्यो,’ अध्यक्ष मल्लले भने ।

छाक टार्न नसकिरहेकाहरुको तथ्यांक लिने काम भइरहेको बताउँदै गाउँपालिका अध्यक्ष मल्लले उनीहरुको लागि केही खानेकुराको सहयोग जुटाउने काम सुरु गर्न लागिएको बताए । ‘खानै नपाएकाहरुलाई हामीले अहिले चामल बाँड्ने तयारी गरिरहेका छौं । हामीले मात्रै सबैलाई चामल बााड्न सक्दैनौं होला, त्यसैले हामी सबैसँग सहयोगको लागि आग्रह गरिरहेका छौं ,’ मल्लले भने ।


उनका अनुसार राक्सिाराङ–५ को चैनपुर, डिर्सी, ७ नम्बरको धिराङ, दामराङ र ९ नम्बरको खैराङ क्षेत्रमा बढी समस्या देखिएको छ । यसैगरी १ नम्बरको घ्याङसिङटार, २ नम्बरको राम्चे, ३ नम्बरको घट्टेखोला क्षेत्रमा पनि समस्या रहेका छन् । ‘अब यो समस्या नयाँ मकै नपाक्दासम्म हुन्छ । विशेष गरी बालुवा चाल्ने र ढुङ्गा फुटाएर छाकटार्ने परिवार समस्या रहेका छन्,’ मल्लले भने ।


उनका अनुसार करिब एकहजार पाँचसय परिवारमा खानेकुमार सक्किएको वडा अध्यक्षहरुबाट खबर प्राप्त भएको छ । ‘गाउँपालिकाले वडामार्फत् तथ्यांक संकलन गरिरहेको छ । अब दैनिक ज्यालादारीमा निर्भर र खानेकुराहुँदै नभएको परिवारलाई सहयोग गरिनेछ,’उनले भने ।


गाउँपालिकाले समस्या समाधानका लागि विपद् व्यवस्थापन कोष तयार गरिसकेको र सहयोग प्राप्त हुने क्रम जारी रहेको उनले बताए । गाउँपालिकाले २५ लाख रुपैयाँ राखी विपद् व्यवस्थापन कोष खडा गरेको हो ।


विपद् व्यवस्थापन कोषमा वागमती प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले पनि २ लाख रुपैयाँ जम्मा गर्ने प्रतिवद्धता जनाएका छन् ।

सम्भावित कोरोना संक्रमितको उपचार र अन्य व्यवस्थापनको लागि मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्नो सेवा सुविधाको रकम प्रदान गर्ने भएका छन् । गाउँपालिकाका ४३ जना जनप्रतिनिधिले आफ्नो १ महिनाको सेवा सुविधाबापतको रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।


त्यस्तै गाउँपालिका र त्यसअन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीले १० दिनको तलब कोषमा जम्मा गर्ने बताएका छन् । स्वास्थ्यतर्फका कर्मचारीको ७ दिनको तलब र अन्य कार्यालयमा कार्यरत कर्मचारीको १० दिनको तलब कोषमा जम्मा गर्ने निर्णय भएको गाउापालिकाका प्रमुख प्रशासकीय अधिृकत युवराज आचार्यले बताए ।


गाउँपालिकाभित्रका स्थानीयको कोरोना भाइरसको लक्षण देखिए त्यसको परीक्षण गर्नको लागि प्रतिबिरामी पाँचहजार रुपैयाँ उपलब्ध गराउने यसअघि नै निर्णय गरिसकेको छ । गाउँपालिकाको विपद् व्यवस्थापन कोषको रकमबाट कोरोना परीक्षणको लागि आर्थिक सहयोगका साथै निःशुल्क एम्बुलेन्स सेवासमेत उपलब्ध गराउने निर्णय गरिएको छ ।

प्रकाशित : चैत्र १५, २०७६ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?