वीरेन्द्रनगरमा चार सय क्‍वारेन्टाइन तयार

चैत्र १५, २०७६

ज्योति कटुवाल

वीरेन्द्रनगर, सुर्खेत — नेपाली सेनाले प्रदेश राजधानी वीरेन्द्रनगरमा चार सया वटा क्वारेन्टाइन निर्माण सम्पन्न गरेको छ । सेनाको उत्तरपश्चिम पृतनाले खुलामञ्चमा बनाएको क्वारेन्टाइनमा शनिबार दिउँसोसम्म एक सय ५ जनालाई राखिएको छ ।

प्रमुख सेनानी झुलेन्द्रविक्रम बस्नेतले चार सय टेन्ट राखिएको बताए । एक जनालाई एउटा टेन्टमा राख्ने व्यवस्था मिलाएका उनले बताए । आवश्यकता अनुसार अन्य टेन्टहरु थप्ने तयारी अवस्थामा रहेको उनले जानकारी दिए । 


खुलामञ्चमा बनाइएको क्वारेन्टाइनलाई तीन खण्डमा बाँडिएको छ । खण्ड (क) मा एक सय ५, खण्ड (ख) मा एक सय ५ र खण्ड (ग) एक सय ९० जनाका लागि टेन्ट तयार पारिएको हो । 


क्वारेन्टाइनमा बस्नेहरुका लागि खानाको जिम्मेवारी क्याटरिङलाई दिइएको छ । उनले भने‘सेनाको सुपरिवेक्षणमा खाना प्याकिङ हुन्छ ।’ प्याकिङ गरिएको खाना स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा बसेकाहरुलाई उपलब्ध गराउने व्यवस्था नेपाली सेनाले गराएको छ । 


क्वारेन्टाइमा राखिएकाहरुको उपचारका लागि तीन जना प्यारामेडिकसहित पाँच जना स्वास्थ्यकर्मी छन् । क्वारेन्टाइनको सुरक्षाका लागि नेपाली सेनाको एक बटालियन तैनाथ छ । 


सेनाले निर्माण गरेको क्वारेन्टाइनमा प्रत्येक १० जनाका लागि एउटा शौचालय र बाथरुम निर्माण गरिएको छ । क्वारेन्टाइन नहुँदा प्रदेश सरकारले वीरेन्द्रनगरको अशोका होटल, अन्तरनिर्भर समाज र जन माविमा भारत र अन्य मुलुकबाट आएका कर्णालीका नागरिकहरुलाई चार दिनदेखि राखिरहेको छ । 


भारतबाट आएर जन माविमा राखिएका २२ जनालाई शनिबार नै दैलेख पठाउने तयारी प्रदेश सरकारले गरेको छ ।  कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा नेपाली सेनाले क्वारेन्टाइन निर्माण गरेको हो । 

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully