१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोनाको उद्‍गमस्थल वुहान आंशिक खुला

(एजेन्सी)

वुहान — कोरोना भाइरस (कोभिड–१९) महामारी को उद्गमस्थल चीनको वुहान सहर दुई महिनाभन्दा लामो समयको ‘लकडाउन’ पछि आंशिक रूपमा खुला गरिएको छ । 

कोरोनाको उद्‍गमस्थल वुहान आंशिक खुला

समाचार संस्था रोयटर्सका अनुसार शुक्रबार अबेरबाट हुबेई प्रान्तको राजधानीसमेत रहेको वुहान भित्रने सडक खुला र रेलसेवा खुला गरिएको हो । खुला भएसँगै शनिबार त्यहाँस्थित रेल स्टेसनमा यात्रुको भीड देखिएको छ ।


सडक र रेलमार्फत वुहान प्रवेश गर्न दिइए पनि तत्काल अन्यत्र भने जान नदिइएको राज्य सञ्चालित चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् । वुहान प्रवेश गर्ने सबैले मोबाईल एपमा आफू स्वस्थ्य प्रमाणित गर्न ‘हरियो कोड’ देखाउनुपर्नेछ । अधिकारीहरुले वुहान छोड्न नपाइने गरी लगाइएको प्रतिबन्ध भने अप्रिल ८ बाट हट्ने बताएका

छन् ।


संक्रमित संख्यामा तीव्र वृद्धि भएसँगै १ करोड १० लाख मानिस बसोबास गर्ने वुहान मध्य जनवरीदेखि पूर्ण रूपमा बन्द गरिएको थियो । सहरभित्र र बाहिर जोड्ने सबै सडक सञ्जाल, रेलसेवा, मानिस भीडभाड हुने क्षेत्रलगायत सबै बन्द गरिएका थिए । राज्य सञ्चालित सञ्चार माध्यमका अनुसार सडक र रेलसेवा सुचारु गरिए पनि भीडभाड हुने क्षेत्रमा अझै प्रतिबन्ध कायम छ ।


वुहानमा ५० हजारभन्दा बढी कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् भने हुबेई प्रान्तमा मात्र कम्तीमा ३ हजारको मृत्यु भएको छ । चीनले सार्वजनिक गरेको तथ्यांकमा पछिल्लो समय नयाँ संक्रमित संख्या घटेको उल्लेख छ । हुबेई प्रान्तभर शनिबार मात्र ५४ जनामा संक्रमण देखिएकोमा सबै विदेशबाट फर्किर्एका व्यक्ति भएको बताइएको छ ।


चीनले आयातित संक्रमित दर बढ्न थालेपछि गत बिहीबार नै शनिबारबाट नै लागू हुने गरी अस्थायी रूपमा सबै विदेशीलाई यात्रा प्रतिबन्ध गर्ने निर्णय गरिसकेको छ । आन्तरिक उडानलाई पनि उसले सीमित गरेको छ ।


एक सातामा एउटा मात्र उडान भर्न र त्यसमा पनि ७५ प्रतिशत भन्दा यात्रु नबोक्न भनिएको छ । चीनमा हालसम्म कोडिड–१९ बाट ३ हजार २ सय ९५ जनाको मृत्यु भएको छ भने ८१ हजार ३ सय ९४ संक्रमित पुष्टि भएका छन् । जसमध्ये, ७५ हजार निको भएका छन् । विश्वभर भाइरस संक्रमित संख्या ६ लाख नाघेको छ र मृतक संख्या २७ हजार ४ सयभन्दा बढी पुगेको छ ।

प्रकाशित : चैत्र १५, २०७६ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?