३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कोरोना प्रकोप : इटालीमा मृतकको संख्या १० हजार नाघ्यो, अमेरिकामा एकैदिन ५ सय बढीको मृत्यु

एजेन्सी

रोम — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीको सिभिल प्रोटेक्सनका अनुसार शनिबार मात्रै थप ८८९ जनाको मृत्यु भएको छ ।

कोरोना प्रकोप : इटालीमा मृतकको संख्या १० हजार नाघ्यो, अमेरिकामा एकैदिन ५ सय बढीको मृत्यु

आइतबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १० हजार २३ पुगेको छ । पछिल्लो २४ घण्टामा इटालीमा थप ५ हजार ९ सय ७४ जनामा संक्रमण देखिएको छ । इटालीमा संक्रमितको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ ।


त्यस्तै अमेरिकामा पनि पछिल्लो २४ घण्टामा संक्रमित र मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ५१५ जनाको मृत्यु भएको छ भने थप १९ हजार ३ सय २ जनामा संक्रमण देखिएको छ । आइतबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ११ पुगेको छ भने संक्रमितको सख्या एक लाख २३ हजार नाघेको छ । विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित भएको अमेरिकाले शुक्रबार मात्रै २० खर्बको राहत प्याकेज घोषणा गरेको छ ।


अमेरिकाका विभिन्न राज्यका गभर्नरले पर्याप्त मेडिकल उपकरण तथा औषधि नभएकाले स्थिति अझ भयावह बन्‍न सक्ने चेतावनी दिँदै आएका छन् ।


त्यस्तै पछिल्लो २४ घण्टामा स्पेनमा पनि थप ८४४ जनाको मृत्यु भएको छ भने थप ७ हजार ५ सयभन्दा बढीमा संक्रमण देखिएको छ । आइतबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ भने संक्रमितको संख्या ७३ हजार २ सय ३५ पुगेको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा फ्रान्समा ३२४, बेलायतमा २६०, इरानमा १३९, जर्मनीमा ८२,नेदरल्यान्ड्समा ९३, बेल्जियममा ६४ र स्विजरल्यान्डमा ३३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा गरी थप ३ हजार ५ सय ६ जनाको मृत्यु भएको छ भने ६६ हजारभन्दा बढी संक्रमित भएका छन् ।


विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३० हजार ८ सय ५० जनाको मृत्यु भइसकेको छ । त्यस्तै ६ लाख ६२ हजारभन्दा बढी संक्रमित भएका छन् भने करिब एक लाख ४२ हजार निको भएका छन् ।

प्रकाशित : चैत्र १६, २०७६ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?