हेटौंडा औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योग बन्द
मकवानपुर — विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभीड–१९) संक्रमणको प्रभाव हेटौंडा औद्योगिक क्षेत्रमा पनि परेको छ । औद्योगिक क्षेत्रमा रहेका करिब ८० प्रतिशत उद्योग बन्द भएका छन् ।
संघीय सरकारको निर्णयानुसार अतिआवश्यक र खाद्यान्नसँगसम्बन्धित उद्योगमात्र सञ्चालनमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले जनाएको छ । दूग्ध, साबुन, कुकिज र प्लास्टिक प्याकेजिङ उद्योगहरु सञ्चालनमा रहेको कार्यालय प्रमुख राजेन्द्र कँडेलले जानकारी दिए ।
उनका अनुसार हाल सञ्चालनमा रहेका अधिकांश उद्योगहरु पनि बिहानीसत्रमा मात्र चालु छन् । ‘रातिको सिफ्टमा मजदुर आउजाउमा समस्या भएकालेबिहान र दिउँसोमा मात्र उद्योग सञ्चालन गर्न उद्योगीहरु बाध्य भएका हुन् । स्थानीय प्रशासनले अतिआवश्यक उद्योगका लागि मजदुर आउजाउको व्यवस्था गरिदिएको खण्डमा रातमा पनि उद्योग सञ्चालन गर्ने प्रतिबद्धता उनीहरुले जनाएका छन्,’ कँडेलले भने ।
बजारको मागमा आएको कमी र तेस्रो मुलुकबाट ल्याउनुपर्ने कच्चा पदार्थको आयात ठप्प भएसँगै उद्योगहरुले आफ्नो उत्पादनमा कटौती गर्दै लगेका छन् । ‘कोरोना भाइरसका कारण कति उद्योग प्रभावित भए, कुनमा कति प्रभाव पर्यो भन्नेबारे हामीले सर्वेक्षणको तयारी गरेका छौं । केही दिनमा त्यो तथ्यांक तयार गर्नेछौं,’ उनले भने ।
कोरोना भाइरसका कारण कच्चा पदार्थ आयात र बजारीकरणमा प्रभाव परेको भन्दै उद्योग संघ हेटौंडाका अध्यक्ष लेखराज पोखरेलले सरकारले बैंकको ब्याज छुट तथा किस्ता तिर्ने मिति थप गर्नुपर्ने माग गरेका छन् । ‘उद्योग बन्द हुँदा वा उत्पादनमा कटौती भइरहँदा कामदार पनि कटौती गर्नुपर्ने अवस्था छ । उद्योगीले बैंकमा तिर्ने ब्याज र किस्ता पनि बुझाउन नसक्ने अवस्था बनेको छ । यसको असर चैतमा मात्रै होइन, असार मसान्तसम्मै देखिन्छ । त्यसकारण उद्योगीको समस्यालाई समाधान गर्न सरकारले ब्याज तथा किस्ता अवधि थप्नेबारे तत्काल नीतिगत निर्णय गर्नुपर्ने देखिन्छ,’ पोखरेलले भने ।
हेटौंडा–९ मा रहेको औद्योगिक क्षेत्रमा रहेका एक सय ११ उद्योगमा करिब पाँचहजार मजदुर कार्यरत छन् । सञ्चालनमा रहेका सबै उद्योगले कोराना संक्रमणलाई मध्यनजर गर्दै आउजाउ गर्ने सबैको गेटमै शरीरको तापक्रम नाप्दै आएका छन् ।
प्रकाशित : चैत्र १५, २०७६ २३:१४