नवलपरासी — बिहीबार एयर अरेबियाको विमानबाट नेपाल आउँदा संक्रमित एक पुरुषसँगै आएका नवलपरासीका आठै जना प्रशासनको सम्पर्कमा आएका छन् । उनीहरूमध्ये अधिकांश क्वारेन्टाइनमा बसेका छन् भने बाँकीलाई पनि क्वारेन्टाइनमा बस्न भनिएको छ ।
उनीहरू गत चैत्र ६ गते दुबईको सारजहाँ एअरपोर्टवाट एअर अरेयिबाको जी ९५३७ बिमानबाट काठमाडौं आएका थिए । विमानमा १६९ जना यात्रु रहेकोमा ८ जना नवलपरासीका थिए । ती ८ मध्ये बाँकी ३ जना पश्चिम नवलपरासीका हुन् । उनीहरू पनि क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले टेलिफोनमा जानकारी दिएको छ ।
उक्त विमानमा आएका एक पुरुषलाई कोरोना संक्रमण भएको बुधबार पुष्टि भएको थियो । त्यसपछि गृह मन्त्रालयले उक्त विमानमा रहेका सबैलाई खोज्न प्रहरी परिचालन गरेको थियो । गृहले पठाएको विवरणका आधारमा नवलपरासीमा पनि खोजी सुरु गरिएको थियो ।
गत २ साता यता शनिबारसम्म पूर्वी नवलपरासीमा विदेशवाट आउनेको संख्या ४११ रहेको छ । उनीहरू भारत र तेश्रो मुलुकबाट आएका छन् । उनीहरूको तथ्यांक लिएर सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको सम्बन्धित स्थानीय तहहरूले जनाएका छन् ।
