काठमाडौँ — हामी आमाबाबुलाई भेट्न छोरी बेल्जियम गएकी थिइन् । छोरीसँग करिब डेढ महिना बसेपछि म भने घरमा काम परेर फागुन ९ गते नेपाल फर्किएँ । छोरी साढे दुई महिनाको घुमाई सकेर चैतको ४ गते उताबाट कतारको दोहा हुँदै काठमाडौं आइन् ।
त्यही दिन दिउँसोको फ्लाइटमा छोरी काठमाडौंबाट पोखरा आइन् । अनि त्यहाँबाट भने जीप रिजर्भ गरेर घर आइपुगिन् ।
गत ७ गते छोरीलाई हल्का ज्वरो आयो । त्यो ज्वरो एकदिनमै सन्चो भयो । त्यसपछिका दुईदिनसम्म ज्वरो आएन । फेरी १० गते बेलुका ज्वरो आयो । घरमा थर्मोमिटर नभएकाले कति ज्वरो आयो भनेर त नापिएन ।
गत मंगलबार सदरमुकामबाट डाक्टरहरु घरमै आएर कफ जाँच्न भन्दै नमुना लिएर गएका थिए । अघि एकैछिन अघि अस्पतालका डाक्टरले फोन गरेर छोरीलाई कोरोना संक्रमणको पुष्टी भएको बताए ।
यतिबेला छोरीलाई अस्पताल लिएर जाने कुरा भइरहेको छ । नगरपालिकाले एम्बुलेन्स पठाउँछ कि भन्ने कुरा पनि भएको छ । अहिले छोरीमा ज्वरो पनि छैन । हल्का कफ भने देखिएकै छ । यतिबेला छोरीलाई हामीले छुट्टै कोठामा राखेका छौं ।
मेरो घरमा ७८ वर्षको बुबा र ६४ वर्षको आमा पनि हुनुहुन्छ । अब घरका सबैजना आईसोलेसनमा अलग्गै बस्ने भन्ने कुरा भएको छ ।
संक्रमितका बाबुसँग जनकराज सापकोटाले गरेको कुराकानीमा आधारित ।
