कोरोना संक्रमण पुष्टि भएकी पाँचौं युवती बागलुङकी

चैत्र १५, २०७६

जनकराज सापकोटा

काठमाडौँ — कोरोनो संक्रमण पुष्टि भएकी पाँचौं युवतीको घर बागलुङ रहेको खुलेको छ । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजबाट काठमाडौं आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

सँगै आएकी एक यात्रुका अनुसार उनी बाबुआमा भेटेर फर्किएकी थिइन् । यसअघि सोही विमानबाट आएकी १९ वर्षीया युवतीमा पनि कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।

शुक्रबार अबेरसम्म पनि उक्त कतार एयरवेजको क्युआर ६५२ विमान चढेर काठमाडौं आएका एक सय ५८ मध्ये ८३ जना सेल्फ क्वारेन्टाइनमा रहेको सूचना प्रहरीले पाएको छ । विमानमा रहेको ५ विदेशी बाहेक बाँकी ७० यात्रुहरु कहाँ छन र उनीहरु आफै सचेत भएर क्वारेन्टाइनमा बसेका छन् कि छैनन् भन्नेबारे प्रहरी अनविज्ञ छ ।

उक्त विमानमा बाग्लुङ ठेगाना भएका मात्रै चारजना यात्रुहरु सवार थिए । ती मध्ये ढोरपाटन घर भएका यात्रुलाई पनि स्थानीय तह नै सक्रिय भएर आइसोलेसनमा राखिसकेको छ ।

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully