१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

'निर्यातयोग्य' नभएको आशंकामा तिब्बत सरकारले रोक्यो नेपाल ल्याउन लागिएका कोरोना परीक्षण किट

काठमाडौँ — कोरोना भाईरस (कोभिड–१९) परिक्षण, रोकथाम तथा उपचारका चीनीयाँ स्वास्थ्य समाग्रीको गुणस्तरका विषयमा प्रश्न उठेपछि नेपालका लागि हिँडेको सामाग्री बिच बाटैमा रोकिदिएको छ ।

'निर्यातयोग्य' नभएको आशंकामा तिब्बत सरकारले रोक्यो नेपाल ल्याउन लागिएका कोरोना परीक्षण किट

गत बुधबार चीनको हृवा खथाई अर्थात् बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले २ हजार जनालाई कोरोना भाईरस (कोभिड–१९) को परिक्षण गर्न मिल्ने किट नेपाली दूतावासलाई उपलब्ध गराई यता पठाइएको थियो ।

‘सहयोग सामाग्री तिब्बतको ल्हासा पुगिसकेका थिए,’ आपूर्ति प्रणालीमा संलग्न एक उच्च अधिकारीले कान्तिपुरलाई भने, ‘चीनको नेशनल मेडिकल प्रोडक्सन एडमिनिस्ट्रेसनले तय गरेको कोरोना भाइरस परीक्षणका झण्डै डेढ दर्जन किटभित्रको सूचिभित्रको यो सामग्री नरहेकाले नेपाल बीच बाटैमा चीन सरकारले रोकिदिएको हो ।’

कोरोना परीक्षणका जाँच किटले ३० प्रतिशत विरामीको मात्रै पहिचान गर्न सकेको, रोग लागेपनि ७० प्रतिशत व्यक्तिमा संक्रमण पत्ता लगाउन नसकेको र गुणस्तरहीन भएको भन्दै स्पेनले चिनियाँ कम्पनीबाट आपुर्ती भएका सामाग्री फिर्ता गर्ने निर्णय गरिसकेको छ ।

‘तिब्बतको स्वास्थ्य विभागले अहिले नेपाल पठाउन लागिएका किट निर्यातयोग्य नभएको पुष्टि गरेको छ, यो जानकारी यहााको परराष्ट्र मन्त्रालयमार्फत् हामीले पनि शनिबार बिहान पाइसकेका छौं,’ महावाणिज्य दूतावासका प्रवक्ता जिम्सन रुम्दाली राईले कान्तिपुरलाई फोनमा बताए ।

नेपाल आउन सामान रोकिनुको कारण यस्तै गुणस्तरहिन पर्ला भन्ने भएपनि चीनले प्राविधिक कारणले पठाउन नसकिएको र आफ्नो सरकारी निकायले त्यसलाई हेरिरहेको जानकारी नेपाललाई दिइसकेको छ । ‘यो रोकिएपछि चिनले नेपालका लागि अति आवश्यक किट तथा अन्य सामाग्री पठाउने विकल्पहरु हेरिरहेका छौं भन्ने जानकारी दिएको छ,’ ति अधिकारीले भने ।

प्रवक्ता राईका अनुसार चीन सरकारले नेपाललाई अनुदानमा दिन लागेको स्वास्थ्य सुरक्षा सामग्रीको सूचीमा अहिले पठाउन लागिएको किट उल्लेख नभएकाले पनि तिब्बत सरकारले यी सामग्री रोक्का गरेको जानकारी दिएको छ । चीनबाट आउने मेडिकल सामग्री, परीक्षण उपकरण आदि गुणस्तरीय नभएको भन्दै स्पेन, चेक गणतन्त्रजस्ता मुलुकमा चिनियाा सामग्री बहिष्कार गरिएको हालैको घटनाक्रमबारे काठमाडौंमा परराष्ट्र र स्वास्थ्य मन्त्रालय ‘बेखबर’ झैं देखिएका छन् ।

‘किटको गुणस्तर अथवा अरु पक्षबारे थाहा भएन तर निर्यातयोग्य नभएको भन्ने जानकारीका आधारमा यो सामग्री तत्काल नेपाल जान नसक्ने खबर हामीले परराष्ट्र मन्त्रालयमा गरिसकेका छौं,’ प्रवक्ता राईले भने ।

चीन सरकारले आफैले १९ वटा कम्पनीहरु सूचीकृत गरी त्यसमार्फत मात्रै चिनियाँ सहयोग पठाउने गरेको छ । त्यो १९ कम्पनीको सूचीमा बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनी पर्दैन ।

‘यो कम्पनीले गुणस्तरहिन सामाग्री नै आपूर्ति गर्‍यो भन्ने चहि हैन,’ ती अधिकारीले भने, ‘स्वास्थ्यसम्बन्धी किटको गुणस्तर उस्तै नहुने र कतिपय मुलुकमा पठाइएको सामग्री कमसल रहेको सार्वजनिक भएपछि चीनले आफ्ना सूचीकृत १९ कम्पनीहरुबाट मात्रै सामान आपूर्ति गर्ने गृहकार्य स्वरुप कडाई गरेको बुझिन्छ ।’ त्यसकारण यो कम्पनीले नेपाली दुतावासलाई सोझै उपलब्ध गराएको सामान बिच बाटैमा रोकिदिएको उनले सुनाए ।

बेइजिङ साभान्ट बायोटेक्नोलोजीले चिनस्थीत नेपाली दूतावासलाई ३० हजार अमेरिकी डलर (हालको विनिमय दर अनुसार ३६ लाख नेपाली रुपैयाँ) बराबरका २ हजार किट सहयोग स्वरुप उपलब्ध गराएको थियो । यि सामाग्री आयात गर्नका लागि नेपाल सरकारले भन्सार छुट तथा भर्खरै खुलेको तातोपानी नाकाबाट जाँचपासको प्रबन्ध गरिसकेको थियो ।

चीनबाट हिँडेको यी किट समेत रोकिएको, नेपालमा मौज्दातको सकिंदै गएको र अब झन् धेरैलाई परिक्षण गर्नुपर्ने आवश्यकता रहेकाले परिक्षण सामाग्री तत्काल ल्याउनुपर्ने दबाब सरकारलाई छ । अहिलेसम्म कोरोना परिक्षण गर्ने किट बाहिरबाट नेपालले ल्याउन सकिरहेको छैन ।

कोरोनाको संक्रमण फैलनु पूर्व नेपालसंग यस्तो किट करिब २ हजार जनालाई परिक्षण गर्न पुग्ने मात्रै थियो । यसमध्ये ८ सय ७५ जनामा कोरोना परिक्षण भइसकेको छ । अब करिब १२ सय जनालाई परिक्षण गर्न पुग्ने किट मात्रै छ । व्यापारीहरुले चिनका गोञ्जाओमा खरिद गरेका समाग्रीहरु नेपाल वायुसेवा निगमको जहाजबाट भोलि आइपुग्दै छ । तर त्यसमा परिक्षणको किट भए नभएको विषयमा सरकारले यकिन गर्न सकिरहेको छैन । यो किटसहित अन्य परिक्षणका स्वास्थ्य सामाग्री नहुनदा नेपालमा पर्याप्त व्यक्तिहरुबीचमा परिक्षणको काम भने हुन ढिलाई भइरहेको छ ।


प्रकाशित : चैत्र १५, २०७६ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?