कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

'झिल्को त उठिसक्यो, डढेलो लाग्यो भने?’

एक कान-दुई कान हुँदै संक्रमितका परिवारबारे सबैजसोले थाहा पाइसके। अहिले उनीहरुलाई संक्रमणको भन्दा बढी सामाजिक अवहेलनाको डर छ।
मोहन बुढाऐर

धनगढी — पहेँलिँदै गएको घाम सुदूरपश्चिमबाट पनि अझ पश्चिम झर्दै थियो। शुक्रबार एकाएक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा खबर फैलियो- कोरोनाका नयाँ संक्रमित धनगढीका युवा । 

'झिल्को त उठिसक्यो, डढेलो लाग्यो भने?’

लकडाउनका बेला पनि घर वरपर टहलिँदै गरेकाहरु थप त्रास बोकेर झटपट भित्र पसे। तरकारी, खाद्यान्न लगायत अत्यावश्यकीय सेवाका लागि निस्केकाहरुमा पनि झनै हतारो छायो। कतिले त झ्याल-ढोकासमेत बन्द गरे। शनिबार धनगढी झन् बढी सुनसान छ।


शुक्रबार बिहान घरअगाडि खन्दा कोइला भेटिने र त्यसको तिलक लगाउँदा कोरोना लाग्दैन भन्ने भ्रमपूर्ण हल्ला चलेको थियो। त्यसको पछि दौडिनेहरुले भुइँ खनेका पनि थिए। कतिपय भने ढोकाको दाहिनेतिरको माटो खनेर कोइलाको खोजीमा लागे। धनगढीमा संक्रमित भेट्टिएपछि यो भ्रमपूर्ण हल्लाले धेरैको मनमुटु हल्लाएको छ। प्रहरीले समाजिक सञ्जालमार्फत कोइलाको हल्ला फैलाउनेको खोजी गरिरहेको बताए ती व्यक्ति समातिएका छैनन् ।


कोरोनाको कहर काटिरहेका धनगढीवासीले शुक्रबार चैनको रात बिताएनन्। संक्रमित बिरामीको 'ट्राभल हिस्ट्री'को समाचार कहाँकहाँ छ भनेर त्यसकै खोजीमा मध्यरात कटाए।


सर्वसाधारण नागरिक मात्र होइन, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा पनि मनोवैज्ञानिक त्रासमा छन्। 'संक्रमित फेला परेपछि मनोवैज्ञानिक दबाब बढ्यो। फिल्डमा काम गर्ने प्रहरी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक सबैलाई त्रसित पारेको छ,’ उनले भने।


रातिसम्मै उनलाई अर्को दबाब आइलागेछ। केही व्यक्तिले संक्रिमत कहाँबाट कुन बाटो हुँदै आएको भनेर ट्राभल हिस्ट्री सार्वजनिक गर्न दबाब दिएछन्। ‘संक्रमितका परिवारजनलाई अस्पतालको आइसोलेनमा ल्याइसकेको र ती व्यक्तिको ट्राभल हिस्ट्री खोजी भइरहेको भनेर बुझाउनै गाह्रो भयो,' उनले भने।


दुबईबाट फर्केका धनगढी उपमहानगरपालिकाका ३४ वर्षे ती युवाको पहिचान गर्न स्थानीयलाई गाह्रो भएन। एक कान दुई कान हुँदै संक्रमितका परिवारबारे यहाँका सबैजसोले थाहा पाइसके। अहिले उनीहरु संक्रमणको भयभन्दा बढी सामाजिक अवहेलनाको त्रासमा देखिन्छन्।


‘कोरोना संक्रमण देखिँदैमा अपराध गरेको जस्तो भएको छ,’ संक्रमितका एक आफन्तले भने, ‘समाज त कोरोनाको भयबाट त्रस्त भएर टाढिएको होला तर सरकार र अस्पतालका स्वास्थ्यकर्मीबाट समेत अछुत व्यवहार भएको छ। अस्पतालमा आइसोलेसनमा रहेका संक्रमितले तातो पानीसमेत पाउन नसकेको सुनिएको छ।'


दुबईबाट ढिल्ली हुँदै काठमाडौं आएका उनी बुद्ध एयरमार्फत नेपालगन्ज झरेका थिए। सार्वजनिक हायसमा अत्तरिया र त्यहाँबाट बसमा धनगढी आएका थिए। हवाई अड्डा हुँदै उनले धनगढी बसपार्कमा अटोरिक्साको प्रयोग गरेका थिए। त्यसपछि घरपरिवार र आफन्तबाहेक सम्पर्कमा नआएको उनको भनाइ छ।


स्थानीय प्रशासनले परिवारका ८ जना सदस्यलाई अस्पतालमा आइसोलेन कक्षमा राखिसकेको जनाएको छ। संक्रमित व्यक्ति र परिवारको सम्पर्कमा आएकाहरुको खोजी र पहिचान भइरहेको प्रजिअ बोहराले जानकारी गराए।


प्रदेश सरकारलाई दबाब

सेती प्रादेशिक अस्पतालबाट करिब २ किलोमिटर दूरीमा छ, संक्रमित व्यक्तिको घर। संक्रमित परिवारलाई तत्काल अस्पताल पुर्‍याउन नसक्नु स्थानीय प्रशासन तथा प्रदेश सरकारको कमजोरीमा रुपमा स्थानीयले लिएका छन्। ‘पोजिटिभ रिपोर्ट आइसकेपछि प्रशासन र प्रदेश सरकारले परिवारलाई तुरन्तै अस्पताल पुर्‍याउन सकेनन्,’ स्थानीय भीष्मराज जोशीले भने, ‘संक्रमितलाई गोप्य नराखेको भए जनताले अझै सचेत हुने मौका पाउँथे।'


परिवारलाई लिन शुक्रबार साँझ नै प्रहरी टोली पुगिसकेको थियो। तर अस्पताल पुर्‍याउने एम्बुलेन्स नै नपाइएको बताइएको छ। व्यक्तिगत सुरक्षा सामग्री नभएकै कारण चालकले लैजान नमानेको एक स्थानीय बताउँछन्।


अस्पतालमा संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीले पनि पीपीई र मास्कसम्म नभएको गुनासो गरेका छन्। सरकारले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकको जाखिमलाई बुझ्न नसकेको उनीहरुको आरोप छ।


सुदूरपश्चिमका नाकामा भारतबाट फर्कने नेपालीको लर्कोले पनि बढी जोखिम देखिएको छ। स्थानीय लेखराज ओझाले प्रदेश सरकारले भारतबाट भित्रिएका हजारौं नेपालीको सीमा नाकामा राम्रोसँग स्वास्थ्य जाँच र क्वारेन्टाइनमा राख्न नसकेको बताए। कोरोना फैलिएको भारतका विभिन्न शहरबाट हजारौं नेपाली सुदूर पहाडका कुनाकाप्चा पुगिसकेका छन्,’ उनले भने, ‘उनीहरुमा संक्रमण रहेछ भने डरलाग्दो स्थिति सिर्जना हुनेछ।’ उनीहरुलाई क्वारेन्टाइनमा राख्न नसक्नु र सीमानाका शिल नगर्नु प्रदेश सरकारको प्रमुख कमजोरी भएको उनको बुझाइ छ।

सरकारले समयमै हवाई मार्गमा कडाइ नगर्दा पनि यस्तो अवस्था आइलागेको स्थानीय बताउँछन्। संक्रमित देशबाट हुने उडान रोकेको भए दुबईमा रहेका व्यक्ति कसरी धनगढी आइपुग्थे? उनीहरुको प्रश्न छ।


केही भन्दै छन्, 'झिल्को त उठिसक्यो, डढेलो लाग्यो भने?’

प्रकाशित : चैत्र १५, २०७६ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?