कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कोरोना रोकथामबारे प्रधानमन्त्रीका घोषणा कार्यान्वयन गर्न ६ कार्यदल गठन

भारतसँगका सीमा बन्द गर्नेबारे परराष्ट्रमन्त्रीले कूटनीतिक पहल गर्ने 
जयसिंह महरा

काठमाडौँ — कोरोना भाइरस (कोभिड-१९) लाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रका नाममा सम्बोधनका क्रममा गरिएका घोषणा कार्यान्वयनका लागि योजना तय गरिएको छ ।

कोरोना रोकथामबारे प्रधानमन्त्रीका घोषणा कार्यान्वयन गर्न ६ कार्यदल गठन

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार राति सकिएको बैठकले प्रधानमन्त्रीको घोषणामा आएका विषयलाई कार्यान्वयन गर्नका लागि योजना तय गरेको हो ।


बैठकमा सहभागी एक मन्त्रीका अनुसार उच्चस्तरीय समितिको शनिबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्रीले गरेका घोषणाका विषयमा चर्चा हुनुका साथै ती घोषणालाई कसरी कार्यान्वयनमा लैजाने भन्ने छलफल भएको थियो ।


प्रधानमन्त्रीले गरेका घोषणा कार्यान्वयनका कार्ययोजना पनि संयोजक पोखरेल र अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना रोकथामका लागि विभिन्न कार्यक्रमको घोषणा गरेका थिए ।


त्यस्तै, कोरोनाका कारण अर्थतन्त्र र जनजीवनमा पर्ने प्रभावलाई कसरी कम गर्ने भन्ने बारेमा सरकारले तयारी गरिरहेको प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख थियो । समितिको आजको बैठकले ती विषयलाई कसरी सम्बोधन गर्ने भन्ने कार्ययोजना तय गर्दै कार्यान्वयनका लागि कार्यदल गठन गरेको छ ।


कोरोनाको विभिन्न क्षेत्रमा पर्ने जोखिम न्यूनीकरणका लागि समितिको बैठकले ६ वटा कार्यदल गठन गरेको सरकारका प्रवक्ताको समेत जिम्मेवारी पाएका मन्त्री खतिवडाले जानकारी दिए ।


ती कार्यदल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति मातहत काम गर्नेछन् । स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्य मन्त्री भानुभक्त ढकालको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । मुलुक बाहिरबाट औषधि लगायतका सामग्री खरिद तथा आयात गर्नका लागि उक्त कार्यदलले परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने पनि मन्त्री खतिवडाले जानकारी दिए ।


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको संयोजकत्वमा अत्यावश्यक वस्तुको आपूर्ति अनुगमन तथा व्यवस्थापन गर्नका लागि कार्यदल गठन गरिएको छ । कोरोना भाइरसबारे राजनीतिक तथा सामाजिक विषयमा समन्वय गर्ने जिम्मेवारी कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाललाई दिइएको छ ।


कोरोना भाइरसको संक्रमित तथा आशंका गरिएका व्यक्तिलाई राख्न स्थापना गरिएका क्वारेन्टाइनको व्यवस्था गर्ने कार्यदलको संयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई जिम्मेवारी दिइएको छ । यी क्षेत्रमा चाहिने बजेटको व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने मन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।

उच्चस्तरीय समिति र कार्यदलहरूले गरेका निर्णय तथा निर्देशन कार्यान्वयनको अवस्था अनुगमन गर्ने जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलाई जिम्मेवारी दिइएको छ ।


भारतसँगका सीमानाका बन्द गर्नेबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई कूटनीतिक तहमा छलफल गर्न भनिएको एक मन्त्रीले जानकारी दिए । नाम उल्लेख नगर्न आग्रह गर्दै ती मन्त्रीले भने, 'भारतसँग जोडिएका सीमा बन्द गर्ने जिम्मेवारी परराष्ट्रमन्त्रीलाई दिइएको छ । उहाँले भारतसँग कुराकानी गरेपछि निर्णयमा पुग्ने भनिएको छ ।'

भारतमा कोरोनाको प्रकोप फैलिँदै गएको अवस्थामा नेपालले नाका बन्द गर्नुपर्ने विषय समितिमा उठेको थियो । केही दिनयता भारतबाट नेपाल आउने नेपालीसँगै भारतीयको संख्या पनि ठूलो छ । त्यसलाई कूटनीतिक पहल गरेर रोक्नुपर्ने भन्दै तत्काल मन्त्री ज्ञवालीलाई भारतीय अधिकारीहरूसँग कुरा गर्न भनिएको छ ।


क्वारेन्टाइन बनाउन घर तथा जग्गा दिने घोषणा गरेका नागरिकहरूसँग स्थानीय र प्रदेश सरकारमार्फत सहकार्य गरेर निर्णय लिइने मन्त्री खतिवडाले जानकारी दिए । केही व्यक्तिहरूले कोरोना संक्रमण फैलिएमा आफ्नो घर र जग्गामा क्वारेन्टाइन बनाउन दिने स्वघोषणा गरेका थिए ।

प्रकाशित : चैत्र ८, २०७६ २३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?