‘काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान निरन्तर हुने ?’
काठमाडौँ — कोरोना संक्रमणका कारण राष्ट्रिय सतर्कता र सावधानी अपनाउन आइतबार मध्यराति (मार्च २२) बाट सबै प्रकारका अन्तर्राष्ट्रिय उडान आवागमनमा रोक लगाउने निर्णय कार्यान्वयनमा आउन लागेकै बेला नागरिक उड्यन प्राधिकरणले शनिबार साँझ अर्को विज्ञप्ती निकाल्दै प्यासेन्जर फ्लाइटसहितका उडान मार्च २२ पछि पनि निरन्तर हुने बताएको छ ।
कोभिड–१९ को सन्त्रासका माझ सबै प्रकारका अन्तर्राष्ट्रिय उडानलाई आइतबार रातिबाट काठमाडौंमा अवतरण गर्न अनुमति नदिइने पूर्ववत सूचना दोहोर्याउँदै ‘तर, प्यासेन्जर फ्लाइट, फ्रेइटर फ्लाइट, रेस्क्यु, एयर एम्बुलेन्स, इमर्जेन्सी फ्लाइट’ भने नियमित रहने पछिल्लो सूचनामा जनाइएको छ ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले हस्ताक्षर गरी जारी भएको विज्ञप्तीमा देखिएको विरोधाभासबारे प्राधिकरणका प्रवक्ता देवचन्द्र कर्णले ‘यसलाई सामान्य रुपमा बुझ्नुपर्ने’ प्रतिक्रिया दिए ।
