दिल्लीमा पाँच जनाभन्दा बढी भेला हुन रोक, ‘मर्निङवाक’ नगर्न आग्रह

चैत्र ८, २०७६

सुरेशराज न्यौपाने

नयाँदिल्ली — कोरोना भाइरस (कोभिड–१९)को त्रास बढने क्रमसँगै दिल्ली सरकारले शनिबारदेखि थप कडा कदमहरु उठाएको छ । मुख्यमन्त्री अरविन्द केजरीवाल शनिबार आयोजित पहिलो डिजिटल पत्रकार सम्मेलनमार्फत ती निर्णयहरु सार्वजनिक गरेका हुन् । नयाँ निर्णयअनुसार दिल्लीमा पाँच जनाभन्दा बढी भेला हुन रोक लागेको छ । यसअघि बढीमा बीस जनामात्र भेला हुन पाउने व्यवस्था थियो । दिल्लीमा हालसम्म २० जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

यसैगरी दिल्ली सरकारले कोरोनाका कारण व्यापार व्यवसायलगायतका सबै क्षेत्रमा प्रभाव परेको भन्दै अनुदानको खाद्यान्नमा पचास प्रतिशतले वृद्धि गरिएको छ । र, त्यो वृद्धि गरिएको खाद्यान्न पनि सित्तैमा उपलब्ध हुने बताइएको छ । दिल्लीमा ७२ लाख जनाले सुपथ मूल्यमार्फत् अनुदानमा खाद्यान्न पाउने गर्छन् । ‘कोरोना सकंटका बीच हामीहरु दैनिक ज्यालादारी काम गर्ने र अन्य मजदुरका रुपमा अत्यन्त चिन्तित छौं, कोही पनि भोकै नरहोस् भन्ने चाहन्छौं’ केजरीवालले भनेका छन् । त्यसबाहेक विभिन्न आश्रयस्थलमा रहेका घरबारविहिनहरुलाई सित्तैमा खाना उपलब्ध गराउने निर्णय समेत दिल्ली सरकारले लिएको छ । 


त्यसैगरी केजरीवालले बिहानको मर्निङवाकलाई केही समयका लागि स्थगित गर्न आग्रह गर्दै आवश्यक परेको खण्डमा पूरै दिल्ली लकडाउन गर्न सकिने समेत जनाएका छन् । यसका अतिरिक्त केजरीवालले आगामी अप्रिल महिनामा विधवा, जेष्ठ नागरिक र दिव्यागंहरुका लागि पेन्सन दुई गुणाले वृद्धि गर्ने समेत जानकारी दिएका छन् । 


यसैबीच भारतमा कोरोनाको संक्रम दिनप्रतिदिन बढ्दै गएपछि इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले कोरोनाको विरुद्धको रणनीतिमा परिमार्जन गर्दै स्वास्थ्य परीक्षणको दायरालाई थप फराकिलो बनाएको छ । भारतको कोरोना परीक्षणको विधिलाई लिएर प्रश्न उठेपछि आईसीएमआरले रणनीतिमा परिवर्तन गरेको हो । नयाँ रणनीतिअनुसार अब श्वासप्रश्वासको समस्याका कारण अस्पतालमा भर्ना भएका सबै बिरामीको पनि कोरोना परीक्षण गरिने भएको छ । 


यसअघि पछिल्लो चौध दिनभित्र विदेश भ्रमण गरेकाहरुलाई अनिवार्य रुपमा घरमै क्वाराइन्टाइनमा बस्न भनिएको थियो । त्यसैगरी उनीहरुमा ज्वरो, खोकी र सास फेर्न गाह्रो लगायतका लक्षण देखिएको खण्डमा मात्र परीक्षण गर्नुपर्ने जनाइएको थियो । यसैगरी कोरोना संक्रमित मुलुकबाट फर्केका  एवं संक्रमण लक्षण देखिएका व्यक्ति वा संक्रमितहरुको उपचार संलग्न स्वास्थ्यकर्मीहरुको मात्र त्यस्तो परीक्षण गर्ने गरिएको यिथो । तर, अब भने कोरोना पुष्टि भएका व्यक्तिको सम्पर्क पुगेका व्यक्तिदेखि ज्वरो र खोकी लगायतका श्वासप्रश्वाससम्बन्धी समस्या भएर अस्पतालमा भर्ना भएका सबै व्यक्तिको कोरोनाको परीक्षण गरिने भएको छ । यसैगरी स्वास्थ्य मन्त्रालयले कोरोनाको शंका गरिएका बिरामीहरुलाई अनिवार्य रुपमा अस्पताल भर्ना गर्न र त्यसको जानकारी सरोकारवाला निकायहरुमा जानकारी गराउन पनि निर्देशन जारी गरेको छ । 


आईसीएमआरले शनिबार बिहानसम्म देशभरमा १५ हजार ७०१ जनाको नमुना परीक्षण गरिएको र हालसम्म २७१ जनामा कोरोना पुष्टि भएको जनाएको छ । त्यसमध्ये २३ जना भने उपचार निको भइसकेको र चार जनाको मृत्यु भएको आईसीएमआरले जनाएको छ ।

कोरोना भाइरस

सुरेशराज दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका न्यौपाने कान्तिपुरका समाचार संयोजक हुन् ।

Link copied successfully