कोरोना संक्रमणको जोखिमबाट ज्येष्ठ नागरिक कसरी जोगिने ?

काठमाडौँ — चीनको वुहानबाट सुरु भएर तीन महिनामै विश्वका डेढ सयभन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरस रोग–२०१९ (कोभिड–१९) संक्रमणको उच्च जोखिममा सबैभन्दा बढी ६० वर्ष उमेर समूह भन्दा माथिका छन् । विशेषज्ञहरूले यो संक्रमणबाट जोगिन सबै उमेर समूहका व्यक्तिलाई विशेष सावधानी अपनाउन आवश्यक हुने बताइरहँदा ६० वर्षभन्दा माथिका र जुनसुकै उमेरका दीर्घरोगी, रोग प्रतिरोधक क्षमता कम भएकालाई थप सावधानी आवश्यक हुने जनाएका छन् । 

कोरोना संक्रमणको जोखिमबाट ज्येष्ठ नागरिक कसरी जोगिने ?

यसै सन्दर्भमा इकान्तिपुरकी बुनु थारुले ह्याम्स अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा.रमेश कँडेलसँग गरेको कुराकानीः

कोरोना भाइरसको जोखिममा कुन उमेर समूह छ ?

कोरोनमा भाइरसको जोखिम सबै उमेर समूहमा छ । तथ्यांक हेर्दा ८० वर्षमाथिका ज्येष्ठ नागरिकहरुमा झण्डै १५ प्रतिशत मृत्युदर भेटिएको छ । त्यसैगरी ७० देखि ८० वर्ष उमेर समूहमा ८ प्रतिशतमा मृत्यु देखिएको छ । समग्र जनसंख्यामा भने लगभग ४ प्रतिशत मृत्यु दर छ । तथ्यांक हेर्ने हो भने ज्येष्ठ नागरिक नै बढी प्रभावित भएको देखिन्छन् ।

ज्येष्ठ नागरिकहरु नै किन बढी जोखिममा ?

सबै ज्येष्ठ नागरिकहरु कमजोर हुन्छन् भन्ने बुझाइ चाहिँ हामीले हटाउनुपर्छ । वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई हिँडेको र बोलेको देख्दा कसैले पनि उनी सय वर्षका हुन् भनेर पत्याउन सकिँदैन । उमेर ढल्किनु नै रोगलाई निम्त्याउनु हो भन्ने चाहिँ होइन । यो हामी सबैले बुझनुपर्छ ।

उमेर ढल्किदै जाँदा शरीरको रोगसँग लड्ने क्षमता विस्तारै कम हुँदै जान्छ । त्यसैले ज्येष्ठ नागरिकहरुमा बढी संक्रमणजन्य रोगहरुको जोखिममा हुन्छन् । ज्येष्ठ नागरिकहरु जो दीर्घरोगी छन् जस्तै मुटुको दीर्घरोग, मिर्गौलाको दीर्घरोग, फोक्सोको दीर्घरोग, कलेजोको दीर्घरोग आदि हुन सक्छन् । जो ज्येष्ठ नागरिकहरु जसले क्यान्सर विरुद्धका औषधिहरु सेवन गरिरहेका छन् उनीहरुलाई पनि जोखिम हुन सक्छ । त्यसैगरी जसले हालै अंग प्रत्यारोपण गरेका छन् र शरीरले प्रत्यारोपित अंगलाई रिजेक्ट नगरोस् भनेर औषधि खाइरहेकालाई पनि उच्च जोखिम हुन सक्छ । र, मृत्यु पनि यस्ता ज्येष्ठ नागरिकहरुलाई बढी देखिएको छ । हामी संक्रमण भएको मान्छेसँग कतिको सम्पर्कमा हुन्छौँ त्यसमा जोखिममा भरपर्छ ।

नेपालमा ज्येष्ठ नागरिकहरुको जनसंख्या कति छ ?

नेपालमा लगभग ९ प्रतिशत जति ६० वर्षमाथिका छन् जसलाई हामी ज्येष्ठ नागरिक भन्ने गरेका छौँ । नेपालको लगभग पौने ३ करोडको जनसंख्यामा २७ देखि ३० लाख नेपालमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरु हुनुहुन्छ ।

कोरोना भाइरस नेपालमा फैलियो भने अरु देशभन्दा ज्येष्ठ नागरिकहरु कत्तिको जोखिममा पर्न सक्छन् ?

नेपालमा फैलियो भने त आम जनसंख्या नै प्रभावित बन्‍न पुग्छन् । तर अरु उमेर समूहका लागि रोगसँग लड्न सक्ने क्षमता बलियो हुँदा खासै त्यस्तो ठूलो प्रभाव पार्दैन । कडा खालको लक्षण जस्तै ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, श्वासप्रश्वासमा समस्या आउनु हुन् भनेर बुझ्नु पर्ने हुन्छ ।

क्यान्सरको उपचार गराइरहेका युवाहरु पनि हुन सक्छन् । उनीहरु पनि बढी जोखिममा हुन्छन् । तर स्वस्थ्य मान्छेमा भने त्यो लक्षणहरुलाई शरीरले ओभरकम गर्दिन्छ । तर ज्येष्ठ नागरिक तथा उपचार गराइरहेकाहरुमा यी लक्षणहरु अलि कडा रुपमै देखिन्छन् । एकदम जोखिमपूर्ण अवस्था भनेको कोभिडले निमोनिया गराइदिन्छ र त्यसको कारणले मानिसको मृत्यु हुन्छ । तर जोखिममा रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकहरुको सबैको मृत्यु नहुन सक्छ । धैरै जना उपचार पाएर घर फर्किएका उदाहरण पनि छन् । जोखिमपूर्ण अवस्था छन् कि छैनन् त्यसले निर्धारण गर्छ ।

अरु देशभन्दा नेपालका ज्येष्ठ नागरिकहरु बढी कि कम जोखिममा हुन सक्छन् ?

जोखिम बढी नै हुन्छ ज्येष्ठ नागरिकमा । पश्चिमा देशहरुमा ज्येष्ठ नागरिकहरु आफ्ना दैनिक आवश्यकता परिपूर्ति गर्न आफैं लाग्नुपर्ने हुन्छ । सामान किन्नु पर्ने, सार्वजनिक यातायात चढ्नुपर्ने हुन्छ । उनीहरुलाई एक प्रकारको बाध्यतात्मक अवस्था हुन्छ । नेपालमा भने अलि फरक अवस्था छ । हामी कहाँ त्यस्तो नभएपनि अन्य कुनै कारणले ज्येष्ठ नागरिकहरु भिडभाडमा जानुपर्ने गर्छन् । जस्तै पुजा, भजनकिर्तन, जात्रा, पर्व, विवाह समारोह जहाँ ज्येष्ठ नागरिकहरु जानुपर्ने अवस्था रहन्छ । यदि त्यो भिडभाडमा कोही कोरोना संक्रमित छ भने ज्येष्ठ नागरिकहरुलाई पनि फैलिन सक्ने एकदम बढी हुन्छ ।

घरमा रहेका ज्येष्ठ नागरिकहरुलाई कोरोना भाइरसबाट बचाउन के गर्नुपर्छ ?

कोरोनाको केश होस् वा अरु सांक्रामक रोग जस्तै इन्फ्लुएन्जा । इन्फ्लुएन्जा पनि संसारभरी ज्येष्ठ नागरिकहरुमा एकदम महामारीको रुपमा नै देखिएको छ । बच्‍ने तथा बचाउने तरिका भनेको सावधानी अपनाउनु नै हो । अलि भिडभाड युक्त ठाउँमा ज्येष्ठ नागरिकहरुलाई जान निरुत्साहित गर्ने, सकेसम्म यो एक दुई महिना भिडभाडमा नजाने, विभिन्‍न खालको चाडपर्व केही समयसम्म सार्ने ।

घरमै पनि कोही मानिसलाई पनि ज्वरो तथा रुघाखोकी लाएको छ भने सकेसम्म ज्येष्ठ नागरिकहरुको नजिक नजाने । स्वस्थ्य मान्छेले पनि ज्येष्ठ नागरिकहरुलाई भेट्नु भन्दा पहिले मज्जाले साबुन पानीले हात धोएर जाने गरियो भने पनि कोभिडको संक्रमणबाट बचाउन सकिन्छ ।विभिन्‍न देशबाट आएका व्यक्तिले कम्तीमा २ देखि ३ हप्तामा बुढापाकालाई नभेट्ने । उनीहरु स्वस्थ्य नै छन् भने पनि मास्क लगाएर अनि राम्रोसँग साबुन पानीले हात धोएर भेट्न जाने ।

ज्येष्ठ नागरिकहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउनलाई के गर्ने ?

रोगसँग लड्न सक्ने क्षमता कम छ भने उनीहरुलाई नै कोभिडको उच्च जोखिम हुने हो । उमेरलाई त चाहेर पनि घटाउन सक्दैनौं । उचित खानपान जस्तै पौष्टिक आहारविहार जस्तै ताजा सागसब्जी तथा फलफूलमा ध्यान पुर्‍याउन सक्यौँ र उनीहरुले कमसेकम आफ्नो शारीरिक अवस्थाले भ्याउन सक्ने गरी शारीरिक अभ्यासमा संलग्‍न गराउन सक्यौँ भने एक हिसाबाले रोगसँग लड्न सक्ने क्षमता बढ्छ ।

जो विभिन्‍न रोग भएका हुन्छन् सुगर, प्रेसर, दम पनि नियन्त्रणमा छन् किन छैनन् भनेर परिवारका सदस्यले एकदम ध्यान पुर्‍याउनुपर्ने हुन्छ । कोभिडबाट उनीहरु उच्च जोखिममा रहेका छ हुन्छन् नै रोगहरु नियन्त्रणमा भएनन् भने संक्रमण हुने अवस्थामा एकदम बढाइदिन्छन् । शारीरिक अभ्यास घरभित्रै बसेर गर्न सकिन्छ । आफ्नै घरवरिपरि टहलिने, हिँड्ने आधा तथा १ घण्टा हिँड्डुल गर्ने, घरायसी काममा सघाउने, सकिन्छ भने करेसाबारीमा सकृय हुने भयो भने एक प्रकारको शारीरिक अभ्यास हुन्छ ।

सरकारले ज्येष्ठ नागरिकहरुलाई सुरक्षित राख्न के कदम चाल्नुपर्छ ?

अहिले जति पनि सरकारले काम गरिरहेको छ त्यो सराहनीय छ । सीमित जनशक्ति तथा पूर्वाधार भएको देशले यति गर्न सक्नु पनि सकरात्मक अभ्यासको कुरा हो । प्रयोगशालाको कोभिडको परीक्षण प्रदेशहरुमा पनि जिम्मेवारी बाँडफाँड गर्न सकियो भने रिपोर्टहरु पनि छिटो आउँथ्यो । जनचेतना एकदम आवश्यक छ । किनकी औषधि तथा खोप बनिसकेको छैन यो भाइरसको । सरकारका संयन्त्रहरुलाई पनि परिचालन गर्ने । यसबाट आत्तिनु हुन्न, सतर्क रहनुपर्छ । अनावश्य रुपमा आँखा, नाक तथा मुख छुनुभएन । सरुवा रोग सर्नुको मुख्य कारण नै सरसफाइमा ध्यान दिएन भने फैलिने हो त्यसैले सफा बस्‍नुपर्छ ।

प्रकाशित : चैत्र ८, २०७६ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?