बिना स्वीकृति विदेशबाट आउने नेपालीको संख्या ६१ पुग्यो

एयरलाइन्स र नागरिक उड्ययन प्राधिकरणसँग स्पष्टीकरण लिने तयारी
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल सरकारको स्वीकृति बेगर विदेशी एयरलाइन्स कम्पनीले बेकेर ल्याएका नेपालीको संख्या ६१ पुगेको छ ।


अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार एयर इन्डिया र थाइ एयरवेजले जापान, मलेसिया, भारतबाट क्रमशः १२ र ४९ जना नेपाली बोकेर आएको पुष्टि भएको छ । उनीहरुलाई खरिपाटी क्‍वारेन्टाइनमा पठाउन लागिएको पौडेलले बताए ।


स्वीकृति बेगर यात्रु ल्याएको आरोपमा नेपाल नागरिक उड्ययन प्राधिकरण र विमानस्थल व्यवस्थापनका पदाधिकारीसँग स्पष्टीकरण सोध्‍ने तयारी भइरहेको पौडेलले बताए ।


यो पनि पढ्नुहोस्ः

प्रतिबन्ध उल्लंघन गर्दै विदेशी एयरलाइन्सले ५५ नेपाली बोकेर आए


प्रकाशित : चैत्र ८, २०७६ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अमेरिकामा पनि जातकै कुरा

सन्दर्भ : अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस (मार्च २१)
दिवाकर बागचन्द

न्युयोर्क — म जातिप्रथा मान्दिनँ । बाबासाहेब भीम राव अम्बेडकरको जातिवादको अन्त्य (एन्हिलिसन अफ कास्ट) पढेपछि मेरो मान्यता झन् प्रगाढ भएर आयो । एन्हिलिसन अफ कास्टमा अम्बेडकरले जातिप्रथाको अन्त्य हुनुपर्ने जिकिर गरेका छन् ।

मलाई पनि के लाग्छ भने विभेदको जड जात हो । जातिप्रथा हो । त्यसैले, जातिप्रथाको अन्त्य हुन आवश्यक छ । जातिप्रथाको अन्त्य भने त्यति सजिलो छैन ।

केही दिन पहिले मलाई न्युयोर्कमा रहेकी दिदी रिमा नेपाली (नाम परिवर्तन) को फोन आयो । फोनमा दिदीले ‘भाइ म अप्ठेरोमा छु, भेटेर कुरा गर्न चाहन्छु’ भनिन् । मैले दिदीलाई ज्याक्सन हाइटमा बोलाएँ । मलिन अनुहार लिएर दिदी भेट्न आइपुगिन् । दुई दिदीभाइ एउटा रेस्टुरेन्टमा बस्यौं । दिदीले मलाई एउटा फ्ल्याट खोजिदिन भनिन् । मैले सोधे, ‘किन दिदी तपाईं बसेको फ्ल्याटमा के समस्या छ ?’

उनले दिएको जवाफ उदेकलाग्दो थियो । आफ्नो फ्ल्याटमा बस्ने अन्यले उनलाई जातिसूचक शब्द प्रयोग गरेर घोचपेच गर्ने गरेको सुनाइन् । फ्ल्याटमा बस्ने कथित उच्च जातिकाले आफूलाई ‘दमाइ/कामी घुरे झैं घुरेको’ भनेर हेलाहोँचो गर्ने गरेको उनले दुःखेसो पोखिन् । ‘केही समय नजरअन्दाज गरेँ, अब मेरो आत्माले मान्दैनँ,’ उनले भनिन्, ‘मेरो घुराइसँग समस्या हुनु स्वभाविक होला तर घुराइलाई जातसँग जोड्नु कत्तिको जायज छ ? यो त बायोलजिकअल प्रक्रिया हो । के अन्य जातकाले घुर्दैनन् ? नेपालमा त विभेद भोगियो, यहाँ भोग्नुपर्ला भन्ने कल्पना पनि गरेको थिइनँ ।’ यति भन्दाभन्दै दिदी रुन थालिन् । म हेरी रहेँ । उनलाई रोक्न सकिनँ । मलाई लाग्यो उनले रुन जरुरी थियो ।

रिमा दिदी नेपाल र नेपाली भन्दा हुरुक्कै हुन्छिन् । तर उनी आफ्नै नेपाली समुदायबाट जातीय विभेदको सिकार भइन् । त्यहीं पनि सात समुद्र पारी । जातीय विभेदको पीडा असह्य हुन्छ । सायद त्यहीं पीडा सहन नसकेर दिदीले आफूसँग घटेको घटना मसँग बाँडेकी थिइन् । मेरो मानसपटलमा भने रत्न विश्वकर्मा र चमेली परियारको तस्बिर दौडन थाल्यो ।

रत्न छात्रवृत्तिमा पढ्न आयोबा राज्यमा आएका थिए । पढाइ सकाएर रत्नले साथीमार्फत न्युयोर्कमा बस्न कोठाको व्यवस्था गरे । न्युयोर्क पुग्दा रात परिसकेको थियो । उनी आफ्नो कोठामा पुग्दा उनलाई जीवनकै ठूलो ‘सरप्राइज’ कुरेर बसेको थियो । फ्ल्याट मालिकले उनलाई कोठा दिन नमिल्ने बताए । कारण थियो, जात । ती घर मालिकले भने, ‘तपाईंको साथीले तपाईंको सही थर बताएनन् । सरी तपाईंलाई कोठा दिन मिल्दैन । तपाईं विश्वकर्मा हुनुहुँदो रहेछ ।’

चमेली परियारको कथा पनि फरक छैन । जातकै कारण फ्ल्याट नपाएका थुप्रै अनुभव छन उनीसँग । ‘तपाईंको जात के हो जस्ता प्रश्नको सामनादेखि नेपालबाट मान्छे आउँदै छन्, तपाईंलाई कोठा दिन मिल्दैन’ जस्ता रेडिमेड जवाफको उनले सामना गरेकी छन् ।

केही दिन भित्रै रिमैा दिदीका लागि फ्ल्याट खोजियो । दिदी स्वतन्त्रसँग एक्लै बस्न थालिन् । मलाई भने दिदीको व्यथाले पछ्याइ रह्यो । एउटै प्रश्नले मन व्याकुल भइरह्यो । आखिर किन गरिब हुन्छ देश ?

अमेरिकामा रंगभेद नभएको होइन । तर अमेरिकी समाजको विशेषता के हो भने विभेद गोराले गर्छन् र काला जातिको पक्षमा पनि गोरा जाति नै खडा हुन्छन् । जसलाई रंगभेदको आरोप लाग्छ उसले कानुनी कारबाही भोग्नै पर्छ । त्यो व्यक्तिका लागि ‘किस अफ डेथ’ सावित हुन्छ रंगभेद । रंगभेद विरुद्ध शून्य सहनशीलता पाइन्छ यहाँ । सायद यसै कारणले अमेरिका अनेक विषमताका बाबजुद सभ्य र उन्नत समाज मानिन्छ ।

कुनै पनि देशको सम्पन्नता उसको सामूहिक चेतना, सोचमा निर्भर गर्दछ । जुन देशमा जन्मको आधारमा आफूलाई सर्वोच्च ठानिन्छ, जुन देशमा सीप त स्वीकार्य हुन्छ तर त्यहीं सीप गर्ने शिल्पिजन अछूत हुन्छ, त्यो देशको विकास कसरी सम्भव छ ?

नेपालबाट सुनौलो सपना लिएर आएकी रिमा दिदी जातीय प्रताडनबाट यति आहत भइन् कि आफूले माया गर्ने नेपाली दाजुभाइ, दिदी बहिनीबाट टाढा जान बाध्य भइन् । नेपाली समाज मनोवैज्ञानिक रुपमा एक हुन नसकेको कुरा रिमा नेपाली दिदीको यस भोगाइले पुष्टि गर्छ । नेपाली समाज सदैव विभिन्न जातमा विभक्त रह्यो । एउटा बन्द समाज रह्यो । अन्तरघुलनले अवसर नै पाएन ।

जुन दिन रिमा नेपाली, रत्न विश्वकर्मा र चमेली परियारहरुले आफ्नै नेपालीबाट विभेद भोग्नुपर्ने अवस्था रहेन छैन त्यही दिनदेखि नेपाल सही अर्थमा खुला समाज बन्नेछ । विधिको शासन कायम हुने छ । विकास हुनेछ । लोकतन्त्र फस्टाउने छ । अनि जातीय विभेद अन्त्य हुने छ । फेरि जातकै कुरा गरिरहनु पर्ने छैन ।

प्रकाशित : चैत्र ८, २०७६ १६:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×