१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कोरोना राेकथामका लागि अमेरिकासँग एक डलर पनि लिएका छैनौं : चीन

एजेन्सी

बेइजिङ — कोरोना भाइरस(कोभिड–१९) को प्रकोपले विश्व आक्रान्त भइरहँदा अमेरिका र चीनबीचको वाकयुद्ध फेरि सतहमा आएको छ । कोभिड–१९ उत्पत्तिदेखि यसको रोकथामका विषयलाई दुई देशबीच आरोपप्रत्यारोप चलिरहेको छ । शुक्रबार फक्स न्युजसँगको अन्तर्वार्तामा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चीनले नोवल कोरोना भाइरस पत्ता लाग्नेबित्तिकै यसको रोकथामका लागि महत्वपूर्ण कदम नचालेको आरोप लगाएका थिए ।

कोरोना राेकथामका लागि अमेरिकासँग एक डलर पनि लिएका छैनौं : चीन

भाइरसको संक्रमण फैलिएपछि पनि चीनले लाखौं मान्छे बाहिर जान दिएको उनले आरोप लगाएका थिए । पोम्पियोले वुहानबाट इटालीलगायतका देशमा थुप्रै मान्छे गएको आरोप लगाएका थिए । बिहीबार रातिदेखि कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा इटालीमा धेरै भइसकेको छ । पोम्पियोले चीनले लापरबाही गरेका कारण धेरै मानिसको ज्यान जोखिममा पारेको आरोप लगाएका थिए । तर चीनले शुक्रबार साँझ अमेरिकी विदेशमन्त्री पोम्पियोको आरोपको कडा शब्दमा खण्डन गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्यिङले अमेरिकाले हुँदै नभएको कुरा बनाएर भनेको बताएकी छिन् । ट्विटरमा अंग्रेजी भाषामा ट्वीट गर्दै उनले लेखेकी छिन्, ‘भ्रम नफैलाउ ।

डब्लुएचओका विज्ञहरुले भनिसकेका छन्, चीनको अथक प्रयासका बीच लाखौं मानिसहरु संक्रमण हुनबाट बचेका छन् ।’ चीनले अमेरिकालाई जनवरी ३ मै कोभिड–१९ को बारेमा जानकारी दिँदै वुहानमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह गरेको प्रवक्ता चुन्यिङ बताएकी छिन् । ‘अहिले आएर ढिला गर्यो भनेर चीनलाई आरोप लगाउने ? साँच्चिकै ?,’ उनले ट्विटरमा लेखेकी छिन् । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता मोर्गन ओर्टागसले पनि चिनियाँ समकक्षी चुन्यिङको कुरा सही भएको बताउँदै अहिले सबै मिलेर यसको खोजीमा लाग्नुपर्ने बताएकी छिन् ।

पहिलेदेखि टकरावको अवस्थामा रहेका चीन र र अमेरिकाबीच कोभिड–१९ को महामारीले सम्बन्धमा झन् तिक्तता ल्याएको छ । त्यस्तै महामारीका बारेमा सत्यतथ्य उजागर गर्छन् भनेर वुहानबाट चीनले केही अमेरिकी पत्रकारलाई फिर्ता पठाएको भन्ने पोम्पियोको अभिव्यक्तिको पनि चुन्यिङले खण्डन गरेकी छिन् । ‘यदि त्यस्तो हो भने चीनले ६० जना आफ्ना पत्रकारलाई मार्च १३ सम्म घर फर्कन देउभन्दा अमेरिकाले किन नदिएको त ?’ प्रवक्ता चुन्यिङले लेखेकी छिन् । अमेरिकालाई आफ्नै राजनीतिक व्यवस्थाप्रति भरोसा नभएर चीन र चिनियाँ पत्रकारसँग डराएको हो भनेर उनी सोध्छिन् । ‘यदि अमेरिकालाई आफ्नो राजनीतिक सर्वोच्चतामा विश्वास छ भने चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ सञ्चारमाध्यमसँग किन यति धेरै डराउँछ ?,’ उनी सोध्छिन् ।

साथै अमेरिकाले चीनलाई एक सय मिलियन अमेरिकी डलर सहयोगको प्रस्ताव गरेकोमा अमेरिकी नागरिकलाई धन्यवाद दिँदै चुन्यिङ लेख्छिन्, ‘अमेरिकी अधिकारीहरुले चीनलाई सय मिलियन डलर सहयोगको प्रस्ताव राखेको बताएका छन् । अमेरिकी नागरिकको सद्भाव र सहयोगका लागि धन्यवाद । तर साँचो कुरा के हो भने हामीले अमेरिकासँग एक डलर पनि लिएका छैनौं । के डब्लूएचओलाई तिर्न रहेको पैसा अमेरिकाले तिर्यो त ?’ साथै अमेरिकी राष्ट्रपतिले कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’को संज्ञा दिएकोमा पनि चीन रुष्ट बोको छ ।

सन् २०१५ बाटै कुनै पनि रोगको नाम भौगोलिक क्षेत्र, राष्ट्रियता, क्षेत्रीयता र आदिवासी जनजातिलाई जोडेर राख्न नहुने डब्लएचओले अभ्यास गर्दै आएको पनि उनले उल्लेख गरेकी छिन् । अमेरिकी रोक नियन्त्रण केन्द्रकै अनुसार मौसमी ज्वरोका कारण ३६ लाखभन्दा बढी संक्रमित भएको र २२ हजार व्यक्तिको मृत्यु हुँदा डब्लुएचओले अनुसन्धानका लागि अमेरिका विज्ञ किन नपठाउने भनेर उनले प्रश्न गरेकी छिन् । अमेरिकी नागरिकलाई बढीभन्दा बढी सही सूचना र पारदर्शी विश्लेषणको आवश्यकता रहेको पनि उनले बताएकी छिन् ।

डब्लुएचओले गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको यो संक्रमणलाई कोरोना भाइरस(कोभिड–१९) संज्ञा दिए पनि अमेरिकी राष्ट्रपति ट्रम्पले भने बारम्बार ‘चाइनिज भाइरस’ भनिरहेका छन् ।

प्रकाशित : चैत्र ८, २०७६ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?