लमजुङ — कोरोना भाइरस (कोभिड १९) भित्रन नदिन जिल्ला नाकामा कडाई गरिएको छ । प्रहरीले सवारी साधन रोकेर यात्रुलाई ओर्लन लगाई स्वास्थ्यकर्मीद्वारा यात्रुको स्वास्थ्य जाँच गर्ने गरिएको छ ।
मनाङ जिल्ला प्रवेशद्धार समेत रहेको लमजुङ प्रवेशद्वार तनहुँ सीमा पाउादीमा हेल्थ डेस्क (स्वास्थ्य सहायता कक्ष) राखेर स्वास्थ्यकर्मीले यात्रुको स्वास्थ्य जाँच गरेका छन् । चक्रीय अन्नपूर्ण पदमार्ग जाने पर्यटकलाई पनि निगरानीका साथ स्वास्थ्य जाँच गराइएको छ । सुन्दरबजार नगरपालिकाका स्वास्थ्यकर्मीले थर्मगनमार्फत हरेक यात्रुको तापक्रम नाप्ने र १०० दशमलव ४ डिग्रीभन्दा माथि तापक्रम रहेकालाई स्वास्थ्य संस्था रिफर गरेका छन् ।
काठमाडौं, पोखरा, चितवन साथै तराईबाट आउने नाका पाउँदी, तनहुँको दमौलीबाट भित्रने यात्रुका लागि मध्यनेपाल ४ दुईपिप्ले र कास्कीबाट भित्रने यात्रुका लागि मध्यनेपाल नगरपालिका ७, इशानेश्वर रामबजारमा हेल्थडेस्क राखिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए । ‘हामीले हरेक नागरिकलाई निगरानीका साथ स्वास्थ्य जाँचको व्यवस्था गरेका छौं’ उनले भने । कोरोना संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको उनले दाबी गरे ।
कोरोनाको संक्रमणको शंका लागेका व्यक्तिको उपचारका व्यवस्थापनका लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ५ बेडको आइसोलेसन कक्षा बनाइएको छ । पाउँदीमा रेडक्रसले टेन्टको व्यवस्था गरेको छ । शंकास्पद देखिएमा स्वास्थ्य परामर्श दिएर यात्रु विवरण भरी आवश्यक औषधि उपचारका लागि एम्बुलेन्समार्फत लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइने व्यवस्था मिलाएको प्रजिअ खड्काले बताए ।
सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्रका अनुसार एउटा सवारी साधनसहित ‘मोबाइल’ टिम बनाइएको छ । बिरामी देखिएमा उपचारका लागि नगरपालिकाले २ वटा एम्बुलेन्सको व्यवस्था गरेको छ । ‘बिरामी देखिएमा तत्काल अस्पताल लैजान्छौं । थप उपचार गर्नुपरेमा काठमाडौं रिफर गर्ने व्यवस्था गरेका छौं’ उनले भने । कोरोना संक्रमण फैलिन नदिन नाकामा उच्च सतर्कता अपनाएको उनले बताए ।
स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीका अनुसार कोरोना संक्रमण फैलन नदिन जिल्लास्तरमा समिति, गाउँपालिका र वडास्तरमा समिति निर्माण गरिएको छ । समितिले नागरिकमा सचेतना दिने र सुसूचित गराउने काम गरिएको छ । कोरोना बारे जानकारी गराउन स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गराएको उनले बताए । उनका अनुसार घरघरमा स्वास्थ्यकर्मी र जनप्रतिनिधि खटेर कोरोना संक्रमणबारे जनचेतना जगाइएको छ । विदेश गएर फर्केकालाई गाउँमै, घरमै १४ दिन होम क्वारेन्टाइन बस्न लगाएको उनले बताए । उनका अनुसार हरेक कार्यालयमा साबुन पानीले हात धोएरमात्रै प्रवेशको व्यवस्था गरिएको छ ।
