सिंगापुरबाट आएको सिल्क एयरका नेपाली यात्रुलाई ओरालेर अरुलाई फिर्ता पठाइने

चैत्र ८, २०७६

मातृका दाहाल

काठमाडौँ — सिंगापुरबाट आएको सिल्क एयरमा रहेका नेपाली नागरिकलाई ओरालेर विदेशी नागरिकलाई फिर्ता पठाइने भएको छ ।

शनिबार बेलुका साढे ८ बजे त्रिभुवन विमानस्थलमा नेदरल्यान्डसलगायतका देशका यात्रु रहेको पाइएपछि नेपाली यात्रुलाई ओरालेर बाँकी विदेशी नागरिकलाई फिर्ता पठाउन लागिएको हो ।


त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यका अनुसार अहिले विमानस्थलमा सबै यात्रुको स्क्रिनिङ भइरहेको छ । विमानमा रहेका नेपाली यात्रुको ज्वरोलगायतका स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइनमा राख्नुपर्ने नपर्ने निर्क्यौल गरिने पनि विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । 


शनिबार साँझ सिल्क एयरको जहाज केही नेपाली यात्रु र नेदरल्यान्ड्ससहितका विभिन्न देशका नागरिकसहित त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । यताबाट सिंगापुर जानका लागि पहिले नै १६० जनाले बोर्डिङ पास लिएर बसेको पनि प्रमुख आचार्यले बताए । 


सरकारले भोलिबाट सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । त्यस्तै यसअघि नै सरकारले युरोपका सबै, पश्चिम एसिया, खाडी मुलुक र कोरोना प्रभावित मुलुकका नागरिकको प्रवेशमा रोक लगाइसकेको छ । 

कोरोना भाइरस

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully