सिंगापुरबाट आएको सिल्क एयरका नेपाली यात्रुलाई ओरालेर अरुलाई फिर्ता पठाइने

मातृका दाहाल

काठमाडौँ — सिंगापुरबाट आएको सिल्क एयरमा रहेका नेपाली नागरिकलाई ओरालेर विदेशी नागरिकलाई फिर्ता पठाइने भएको छ ।

सिंगापुरबाट आएको सिल्क एयरका नेपाली यात्रुलाई ओरालेर अरुलाई फिर्ता पठाइने

शनिबार बेलुका साढे ८ बजे त्रिभुवन विमानस्थलमा नेदरल्यान्डसलगायतका देशका यात्रु रहेको पाइएपछि नेपाली यात्रुलाई ओरालेर बाँकी विदेशी नागरिकलाई फिर्ता पठाउन लागिएको हो ।


त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यका अनुसार अहिले विमानस्थलमा सबै यात्रुको स्क्रिनिङ भइरहेको छ । विमानमा रहेका नेपाली यात्रुको ज्वरोलगायतका स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइनमा राख्नुपर्ने नपर्ने निर्क्यौल गरिने पनि विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।


शनिबार साँझ सिल्क एयरको जहाज केही नेपाली यात्रु र नेदरल्यान्ड्ससहितका विभिन्न देशका नागरिकसहित त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । यताबाट सिंगापुर जानका लागि पहिले नै १६० जनाले बोर्डिङ पास लिएर बसेको पनि प्रमुख आचार्यले बताए ।


सरकारले भोलिबाट सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । त्यस्तै यसअघि नै सरकारले युरोपका सबै, पश्चिम एसिया, खाडी मुलुक र कोरोना प्रभावित मुलुकका नागरिकको प्रवेशमा रोक लगाइसकेको छ ।

प्रकाशित : चैत्र ८, २०७६ २३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?