कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पालिका प्रमुखमा मुख्य दलका महिला प्रत्याशी ५५ मात्र

सत्ता गठबन्धनका दलले तालमेल गर्दा महिलालाई पछि पारेका छन् भने प्रमुख प्रतिपक्षीले समेत प्रमुखमा ७ प्रतिशत मात्र महिला अघि सारेको छ
मकर श्रेष्ठ

काठमाडौँ — स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला हुनुपर्ने कानुनी प्रावधानमा दलहरू अनुदार देखिएका छन् । प्रमुख दलले स्थानीय निर्वाचनमा प्रमुख पदमा उम्मेदवार हुन महिलालाई रोकेका छन् । निर्वाचन आयोगका अनुसार दलहरुले प्रमुख/अध्यक्ष पदमा बढीमा ७ प्रतिशत मात्र हिस्सा महिलालाई दिएका छन् ।

पालिका प्रमुखमा मुख्य दलका महिला प्रत्याशी ५५ मात्र

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेपछि महिला उम्मेदवार संख्या घटेको छ भने एमाले र लोसपाले पनि प्रमुख पदमा उम्मेदवार बनाउन कन्जुस्याइँ गरेका छन् । यी ६ वटा पार्टीले गाउँपालिका अध्यक्ष, नगर, उपमहानगर र महानगरपालिका प्रमुखमा दिएको उम्मेदवारीको विश्लेषण गर्दा महिला उम्मेदवार संख्या अति न्यून उठाएका छन् ।

राष्ट्रिय चार पार्टीले गठबन्धन गरेर महिलाको भाग खोसेका छन् भने प्रमुख प्रतिपक्ष एमालेले प्रमुखमा न्यूनलाई अवसर दिएको छ । आयोगका अनुसार एमालेले ७ सय ३० पालिकामा उम्मेदवारी दिएकामा प्रमुख/अध्यक्षमा ५१ जना अर्थात् ६.९८ प्रतिशत मात्रै महिला छन् । अध्यक्षमा २७ र प्रमुखमा २४ जना प्रतिस्पर्धामा छन् । यसपालिको स्थानीय निर्वाचनमा महिलाको उपस्थिति विगतभन्दा बढे पनि प्रमुख पदमा समग्रमा कमी भएको एमाले सचिव योगेश भट्टराईले बताए ।

‘पहिला उपमेयर भएकाहरूले नै यसपालि मेयरमा उम्मेदवार छन् । नेतृत्व तहमा बिस्तारै महिलाको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘आगामी दिनमा बिस्तारै बढ्नेछ ।’ अर्को ठूलो दल कांग्रेसले ६ सय ३२ स्थानीय तहमा प्रमुखमा उम्मेदवार उठाएको छ । जसमा प्रमुखमा २५ जना अर्थात् ३.९५ प्रतिशत मात्रै महिला उम्मेदवार छन् । प्रमुखमा ११ र अध्यक्षमा १४ जना महिलाले उम्मेदवारी दिएका छन् । कांग्रेसका प्रवक्ता प्रकाशशरण महत भने पार्टीमा महिलाको सहभागिताअनुसार उम्मेदवार भएको दाबी गर्छन् । ‘पहिलाको भन्दा यसपालि प्रमुखमा उम्मेदवारी दिने बढेका छन् । गठबन्धनले गर्दा उपप्रमुखमा भने पहिलाको भन्दा केही कमी भएको पक्कै हो,’ उनले भने, ‘संख्या कम हुँदैमा महिलाप्रति भेदभाव भएको भन्न मिल्दैन । पुरुष कार्यकर्ताहरू पार्टीमा सक्रिय हुनु र महिलाहरू घरको काममा व्यस्त हुँदा पार्टीमा कम सक्रिय हुन्छन् । यसको असर उम्मेदवारी दिने बेलामा पनि पर्दो रहेछ । पार्टीले पनि भएका मध्येबाट राम्रो छान्नुपर्ने हुन्छ ।’ विगतको भन्दा महिलामा नेतृत्वको विकास बढ्दै गएको उनले दाबी गरे । यसकै असर पहिला उपाध्यक्ष, उपप्रमुख भएकाहरू यसपालि प्रमुखमा उम्मेदवारी दिने अवस्थामा आइपुगेको उनले बताए ।

माओवादी केन्द्रले ४ सय १८ स्थानीय तहमा उम्मेदवारी दिएकामा २३ जना अर्थात् ५.५ प्रतिशत महिलालाई मात्रै अवसर दिएको छ । माओवादीबाट अध्यक्षमा उम्मेदवारी दिने १३ जना छन् भने प्रमुखमा १० जना छन् । माओवादी नेता शक्तिबहादुर बस्नेतले महिलालाई प्रमुख पदमा उम्मेदवारी दिने पार्टीको नीति भए पनि गठबन्धन बनेपछि सन्तुलन मिलाउन पुरुषलाई उठाउनुपर्ने बाध्यात्मक अवस्था आएको बताए । ‘गठबन्धन बनेपछि महिला उम्मेदवारी केही कमी भएको हुन सक्छ,’ उनले भने । गठबन्धन गरेर माओवादीले ४१ पालिका प्रमुखमा उम्मेदवारी दिएको छ । यसमा महिला चार जना मात्रै उम्मेदवार छन् । माओवादीले गठबन्धन गर्दा आफ्नो भागमा पाएको मध्ये खोटाङको जन्तेढुंगा गाउँपालिका, सिन्धुलीको सुनकोसी गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिकामा मात्रै महिलालाई प्रमुखमा उठाएको छ ।

राष्ट्रिय मान्यता प्राप्त दलमध्येकै जनता समाजवादी पार्टीले ३ सय १६ पालिकाको प्रमुखमा उम्मेदवारी दिएकामा महिला १९ जना मात्रै छन् । त्यस्तै एकीकृत समाजवादी पार्टीले २ सय ७४ पालिकामा उम्मेदवारी दिएकामा २२ जना अर्थात् ८ प्रतिशत महिलालार्ई उठाएको छ । राष्ट्रिय दलमध्ये महिलालाई सबैभन्दा बढी प्राथमिकता एकीकृत समाजवादीले दिएको देखिन्छ । लोकतान्त्रिक समाजवादी पार्टीले १ सय ६८ पालिकाको प्रमुखमा उम्मेदवारी दिएकामा महिला ८ जना अर्थात् ४.७६ प्रतिशत छन् ।

गठबन्धनकै कारण महिलाले पाउने अधिकार खोसिएको कांग्रेस नेत्री डिला संग्रौलाले बताइन् । ‘महिलालाई प्राथमिकता दिएर उम्मेदवारी दिने व्यवस्था गरिदिन सभापतिलाई पनि ध्यानाकर्षण गराएका थियौं,’ उनले भनिन्, ‘गठबन्धनले गर्दा कानुन र संविधानमा भएको अधिकार पनि कटौती भयो ।’ यसको नमुनाका रूपमा पाँचथर र उदयपुरलाई लिन सकिन्छ । पाँचथरको ६ वटा पालिकामा ५ दलको गठबन्धन भएको छ, जहाँ प्रमुख र उपप्रमुखमा फरक पार्टीका उम्मेदवार छन् । जति उम्मेदवार छन्, सबै पुरुष । ५ वटामा कांग्रेस र माओवादीको गठबन्धन छ भने एउटामा कांग्रेस र एकीकृत समाजवादीको उम्मेदवार उठेका छन् । त्यस्तै उदयपुरको उदयपुरगढी, रौतामाई र लिम्चुङबुङमा गठबन्धन गरेर अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार उठाएका छन् । यी तीनै पालिकाको प्रमुख र उपप्रमुखमा पुरुष मात्रै छन् । यी तीनै गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसका पुरुष उम्मेदवार छन् ।

प्रकाशित : वैशाख २४, २०७९ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?