१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

गठबन्धनमा आ-आफ्नै ताल

मधेस ब्युरो

जनकपुर — सत्तारूढ दलले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने गृहकार्य गरिरहेकै बेला मधेस प्रदेशमा भने ती दलभित्रै आ–आफ्नै तरिकाले चुनावी मैदानमा होम्मिने सहमति गर्न थालेका छन् । पर्सामा सत्तारूढ दलको बैठकले स्थानीय निर्वाचनमा आफ्नै तरिकाले छुट्टाछुट्टै निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति गरेको छ । धनुषामा भने कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकामा आफ्ना उम्मेदवार घोषणा गरिसकेको छ । 

गठबन्धनमा आ-आफ्नै ताल

सप्तरीमा पनि गत साता सत्ता साझेदार दलबीच सहमति नहुँदा चुनाव आ–आफ्नै तरिकाले लड्ने भएको छ । केन्द्रीय नेतृत्वको चाहना हुँदा पनि स्थानीय तहमा दलहरू गठबन्धन गर्ने सोचमा देखिन्नन् । चुनावी आँकडा विश्लेषण गरेर बसेका दल र उम्मेदवारहरू आफू नै जित्ने दाबीसहित गठबन्धन नगर्ने पक्षमा उभिएका हुन् ।

सर्लाहीमा भने अनिर्वाचनका लागि पाँचदलीय गठबन्धनबीचको तालमेलमा प्रगति शून्य छ । गठबन्धनमा औपचारिक छलफलका लागि तोकिएको समय सर्दै आएको छ । आइतबारका लागि तोकिएको छलफल सोमबारका लागि सारिएको छ । आफ्नै पार्टीभित्र मिलाउनुपर्ने भन्दै गठबन्धनमा आबद्ध दलले समय सार्दै आएका हुन् । अनौपचारिक रूपमा भने सबैसँग कुरा भइरहेको दलका नेताहरूले बताएका छन् ।

चुनावी तालमेलका लागि सर्लाही कांग्रेस जिल्ला सभापति सुरेन्द्र सिंहको संयोजकत्वमा एक कमिटी बनाइएको कांग्रेसका जिल्ला सचिव नीरज कार्कीले बताए । कार्कीले पहिला आफ्नै दलभित्र छलफल गर्नुपर्दा केही ढिलो भएको जनाउँदै छलफल पनि जारी रहेको जानकारी दिए । गठबन्धनमा आबद्ध दलले पालिकाहरूमा प्रमुख पद नै ताकेको भन्दै कार्कीले गठबन्धनका लागि दलहरू गम्भीर नभएको बताए । उनले गठबन्धनको प्रगति अहिलेसम्म शून्य रहेको जनाउँदै सोमबार फेरि गठबन्धनको बैठक बस्ने बताए ।

‘गठबन्धनको वार्ता भइरहेको छ । कुरा मिलाउन गाह्रो छ,’ उनले भने, ‘सबैको माग धेरैभन्दा धेरै पालिकामा मेयरकै भो, सबैलाई मेयर नै चाहियो भने कसरी मिल्न सक्छ ?’ गठबन्धनमा आबद्ध कतिपय दलले ०७४ को मत परिणामअनुसार जाने कुरा राखिरहेका छन्, भने कसैले अहिलेको अवस्था फरक रहेको बताइरहेका छन् ।

नेकपा एकीकृत समाजवादीसहित अन्य दलले पनि गठबन्धनको बैठक त्यति सकारात्मक नरहेको बताएका छन् । नेकपा एकीकृत समाजवादीका नेता चूडामणि वाग्लेले गठबन्धनमा आबद्ध दलले केन्द्रले लाद्यो भने त्यसैलाई मान्ने, नभए प्रमुख पद नछोड्ने मनस्थिति रहेको पाइएको बताए ।

‘स्थानीय तहको चुनावमा मेयर र उपमेयर मात्र भाइटल पोस्ट हो, एकले मेयर पाए, अर्कोले उपमेयरमा चित्त बुझाउन सक्छन्, अन्य तीन दल त वडामै झर्नुपर्छ,’ उनले भने, ‘यसको व्यवस्थापन गर्न गाह्रो हुन्छ, केन्द्रले नै तोकेर पठाइदिए हुन्थ्यो भन्ने मनस्थिति दलहरूमा देखिन्छ ।’

प्रकाशित : वैशाख ५, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?