कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उम्मेदवार छान्नै सकस

सत्ता गठबन्धन केन्द्रको निर्णय कुर्दै, तालमेल र आकांक्षी धेरै हुँदा एमालेमा पनि उम्मेदवार छनोटमा विलम्ब

मकवानपुर, सिन्धुपाल्चोक — स्थानीय तह निर्वाचनको मिति नजिकिए पनि मकवानपुरमा चुनावी चहलपहल भने सुरु भएको छैन । सत्तारूढ र प्रतिपक्षी दलहरूबीच गठबन्धनका कारण उम्मेदवार टुंगो नलाग्दा वैशाख ३० मा हुने निर्वाचनको माहोल अझै सुरु नभएको हो ।

उम्मेदवार छान्नै सकस

सत्तारूढ दल कांग्रेसको नेतृत्वमा रहेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमोर्चा र जसपा सम्मिलित सत्ता गठबन्धनले अझैसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन । प्रतिपक्षी दल एमाले र राप्रपा नेपालबीच गठबन्धन भए पनि आगामी कार्यदिशाबारे दुवै दल निचोडमा पुग्न सकेका छैनन् । उम्मेदवारी दर्ता गर्न अब एक साता मात्रै छ ।

एमालेले अधिकांश वडामा उम्मेदवार तय गरे पनि राप्रपा नेपालसँगको नयाँ समीकरणसँगै चुनावी कार्यक्रम अगाडि बढाउन सकेको छैन । मकवानपुर राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह जिल्ला हो । जसका कारण एमालेले आगामी कार्यदिशा तय गर्न सकेको छैन । राप्रपा नेपालका प्रतिनिधिसँग छलफल भइरहेकाले केही दिनभित्रै उम्मेदवार टुंगो लाग्ने एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले बताए ।

जिल्लामा हेटौंडा उपमहानगरसहित १ नगर र ८ गाउँपालिका छन् । उपमहानगरमा उम्मेदवार सत्ता र प्रतिपक्षी दुवैले केन्द्रबाटै टुंग्याउने निर्णय गरेका कारण पनि चुनावी चहलपहलका लागि केही समय अझै कुर्नुपर्ने देखिन्छ । अघिल्लो निर्वाचनमा एमाले ६ पालिकामा विजयी भएको थियो । कांग्रेस र माओवादीले २/२ पालिकाको नेतृत्व हत्याएका थिए । एमालेले पार्टी विभाजनको असर नपरेको दाबी गरे पनि एकीकृत समाजवादीको वडा तहैसम्म संरचना निर्माण भएको छ । कैलाश र इन्द्रसरोवर गाउँपालिकाका प्रमुखहरू टंक मोक्तान र जीवन लामा एकीकृत समाजवादीतर्फ खुलेका छन् ।

सत्तारूढ दलबीच पनि पटक–पटक बैठक भए पनि अन्तिम निर्णयका लागि केन्द्रकै निर्देशन पर्खिरहेका छन् । कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले केन्द्रको निर्देशनअनुसार जिल्ला, पालिका र वडा तहमै गठबन्धनको संयन्त्र तयार गरिएको र सोहीअनुसार उम्मेदवार छनोट गरिने बताए । दलहरूले संघीय संरचना निर्माण गरे पनि निर्वाचनमा टिकट वितरणमा केन्द्र नै हावी हुने देखिएपछि जिल्लाका आकांक्षी नेताहरू काठमाडौं धाइरहेका छन् । एमाले नेता पनि विशेष गरी हेटौंडाको उम्मेदवार बन्न दौडधुप गरिरहेका छन् ।

भागबन्डामा आ–आफ्नै अडान

सिन्धुपाल्चोकमा ३ नगर र ९ गाउँपालिका छन् । तर, सत्ता गठबन्धनमा कांग्रेस र माओवादीले बराबर हिस्सा दाबी गर्दा उम्मेदवार छनोटमा अन्योल कायमै छ । आकांक्षी बढी हुँदा एमालेमा पनि उस्तै तनाव देखिन्छ । गत निर्वाचनमा जिल्लामा एमालेले ७, कांग्रेसले ३ र माओवादीले २ वटा पालिकामा जित हात पारेका थिए । यसपटक कांग्रेस, माओवादीलगायत ५ दलबीच गठबन्धन हुने भएपछि एमालेलाई विरासत जोगाउने चुनौती देखिन्छ । त्यसमाथि पार्टी विभाजनले समेत उसलाई थप सकस पर्ने देखिएको छ ।

‘तल्लो कमिटीबाट छनोट भएर आएका आकांक्षीको नाम सिफारिस गरेर पार्टीको माथिल्लो तहमा पठाइएको छ, आवश्यक छलफल हुँदै छ,’ एमाले जिल्ला अध्यक्ष कमल नेपालले भने । एमालेले भोटेकोसी गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा अमृतकुमार खड्का र उपाध्यक्षमा सुन्तली लामा श्रेष्ठको नाम सर्वसम्मत चयन गरेको छ । बाह्रबिसे नगर प्रमुखको उम्मेदवारमा हालका प्रमुख निमफुञ्जो शेर्पा, युद्धविक्रम तामाङ डीबी र कल्याणी घिसिङको नाम सिफारिस गरिएको छ । उपप्रमुखमा सुशीला पाख्रिनको नाम सिफारिस गरे पनि अन्तिम निर्णय भइनसकेको अध्यक्ष नेपालले बताए ।

सत्ता गठबन्धनको केन्द्रीय संयन्त्रले ३ वैशाखभित्र उम्मेदवारको सिफारिस गर्न जिल्लालाई पत्राचार गरेको थियो । तर, जिल्ला तहमा दुवै दलका नेतृत्वबीच ३ पटक बैठक बसे पनि ठोस निर्णय हुन सकेको छैन । आगामी शनिबारसम्म उम्मेदवार टुंग्याउने योजनामा रहेको माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले बताए ।

गठबन्धनमा कांग्रेसका तर्फबाट बाह्रबिसेमा बालकृष्ण बस्नेत, त्रिपुरासुन्दरीमा भक्तध्वज बोहरा, सुनकोसीमा श्रवणकुमार जीसी र मेलम्चीमा आइतमान तामाङको नाम अघि सारिएको छ । त्यसैगरी, माओवादीबाट लिसंखुपाखरमा राजु लामा, बलेफीमा गंगा तामाङ, चौतारा साँगाचोकगढीमा कृष्णप्रसाद सापकोटा उम्मेदवार बन्ने सम्भावना रहेको बताइएको छ । ‘गठबन्धन दलबीच छलफल र बैठक निरन्तर चलिरहेको छ, हालसम्म ठोस निर्णय भएको छैन,’ कांग्रेस जिल्ला सभापति जगबहादुर तामाङले बताए ।

अघिल्लो निर्वाचनमा प्राप्त जितकै आधारमा कांग्रेसले एक सिट बढी पाउनुपर्ने दाबी गरेको छ । तर, मतभार पछिल्लो समय बढेको संगठनको आधारलाई मान्नुपर्ने दाबी गर्दै माओवादीले बराबरी सिट पाउनुपर्ने अडान छाडेको छैन । यसअघि एमालेले जितेका स्थानमा आफूहरूको उपस्थिति बलियो रहेको एकीकृत समाजवादीका नेताहरूले दाबी प्रस्तुत गरेका छन् । उसले कम्तीमा एक स्थानीय तहको नेतृत्व पाउनुपर्ने माग गरेको गठबन्धन बैठकमा निरन्तर सहभागी एक नेताले बताए । माओवादीले एकीकृत समाजवादीलाई आफ्नो भागबाट एक सिट दिनुपर्ने कांग्रेसको माग छ ।

प्रकाशित : वैशाख ५, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?