काठमाडौं महानगरमा प्रतिष्ठाको लडाइँ : नयाँ मतदाता निर्णायक

२०७४ को निर्वाचनमा कुन वडामा कसले कति मत ल्याएका थिए ? 

वैशाख ५, २०७९

जयसिंह महरा

काठमाडौँ — मुलुकको संघीय राजधानीसमेत रहेको सबैभन्दा ठूलो (जनसंख्याका हिसाबले) महानगर काठमाडौंमा उम्मेदवारी घोषणा गर्नेको लर्को लाग्न थालेको छ । र्‍यापर, मोडेल कलाकारदेखि पूर्वकर्मचारीले समेत उम्मेदवारी घोषणा गरेका छन् ।

राजनीतिक दलहरूले उम्मेदवार चयनको चाँजोपाँजो गरिरहेका बेला अभिनेता भूवन केसीले त उम्मेदवारी घोषणा गरिवरी फिर्तासमेत लिइसकेका छन् ।

काठमाडौं महानगरमा २०७४ चुनावमा एमालेबाट मेयर जितेका विद्यासुन्दर शाक्य फेरि उम्मेदवार बन्ने सूचीमा छन् । एमालेबाट महानगरको मेयर पदमा सिफारिस हुनेमा बहालवाला मेयर शाक्यसँगै पूर्वमन्त्री तथा संघीय सांसद रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्त छन् । 

अर्कोतिर सत्तामा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) दलहरू स्थानीय तहमा गठबन्धन बनाएर जाने घोषणा भए पनि काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार कसको पार्टीबाट हुने भन्ने टुंगो लागिसकेको छैन । कांग्रेसले पाएको अवस्थामा अहिलेकी उपमेयर हरिप्रभा खड्गीसँगै  नेता प्रकाशमान सिंहकी श्रीमती समेत रहेकी सिर्जना सिंह, तीर्थराम डंगोल, नीलकाजी शाक्य र सुसन वैद्यलगायतको दाबी छ ।

एकीकृत समाजवादीले काठमाडौं आफ्नो भागमा पार्न सके गठबन्धनको तर्फबाट सांसद जीवनराम श्रेष्ठ उम्मेदवार बन्ने निश्चित जस्तै छ भने माओवादीले दबिएको स्वरमा दाबी गरिरहेकोले उम्मेदवार बन्छ भन्ने निश्चित छैन । माओवादीले चितवनको भरतपुर महानगरपालिका पाएमा काठमाडौंसहितका ५ महानगरमा दाबी नगर्ने भएको छ । एकीकृत समाजवादीले पनि पोखरा महानगर आफूले पाउनुपर्ने जोड गरिरहेकाले काठमाडौंको दाबी त्यति बलियोसँग राखेको छैन । 

र्‍यापर बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका रूपमा मिडियादेखि सार्वजनिक कार्यक्रमसम्म चुनाव प्रचारमा लागेका छन् । त्यस्तै, काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी मोडेल सुनिता डंगोलले भने ८ खम्बे विकास नीति नै सार्वजनिक गरेकी छन् । 

२०७४ को निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएर तत्कालीन विवेकशील र साझा पार्टीले वैकल्पिक राजनीतिको बहसलाई बल दिएका थिए । यो ५ वर्षको दौरानमा दुवै पार्टी एक भएर विवेकशील साझा भएका छन् तर त्यतिबेलाका उम्मेदवार भने तितरवितर भएका छन् । विवेकशील साझा नै पनि अहिले वैकल्पिक राजनीतिको शब्द उच्चरण गर्न नसक्ने अवस्थामा पुगेको छ । उक्त पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिलाको नाम घोषणा गरेको छ । विवेकशील साझाबाट काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाएको छ ।

मुलुकको राजधानी रहेको महानगरलाई इमानदार, सक्षम र परिपक्व महिलालाई जिम्मा लगाउँ भन्दै विवेकशील साझाले चुनावी प्रतिज्ञापत्र पनि सार्वजनिक गरेको छ । अभिनेता भुवन केसीले यसबीचमा काठमाडौं महानगरपालिकाको मेयर उठ्ने घोषणा गरेका थिए । उन्नत लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी घोषणा गरेको हप्तादिन नबित्दै उनले सामाजिक सञ्जालबाट उम्मेदवारी फिर्ताको घोषणा गरेका थिए । 

राज्यको  पदीय मर्यादाक्रमअनुसार काठमाडौं महानगरपालिका प्रमुख १० औं नम्बरमा पर्छ । अरु महानगरपालिकाका मेयरहरूको मर्यादाक्रम भने ११ औं नम्बरमा रहेको छ । मर्यादाक्रममा माथि, मुलुकको सम्पन्न महानगर मुलुकको संघीय राजधानीसमेत रहेकाले राजनीतिक दलहरूका लागि प्रतिष्ठाको विषय बनेको छ । 

राज्यको पुनर्संरचना पछि पहिलोपटक  भएको  २०७४ सालको स्थानीय तह चुनावमा  वैकल्पिक राजनीतिकको नारा अघि सार्ने पात्रको व्यापक चर्चा  हुने गरको थियो । विवेकशीलकी रञ्जु दर्शना र साझाका किशोर थापाको काठमाडौं महानगरमा  चर्चा थियो । यसपटक  बालेन, सुनिता र प्रतिमा उठ्न खोजेका छन् । तर २०७४ जस्तो आयतनको चर्चा चाहिँ भइसकेको छैन ।

२०७४ सालको काठमाडौं महानगरपालिकाको निर्वाचनमा रन्जु दर्शना र थापाले पाएको मत यसपटक निर्णायक देखिने आकलन गरिएको छ । त्यतिबेला काठमाडौं महानगरपालिकाको मेयरमा विजयी विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत ल्याएका थिए । उनलाई कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत ल्याएर पछ्याएका थिए । 

तेस्रो नम्बरमा त्यतिबेला चर्चामा रहेकी विवेकशील नेपाली दलकी रन्जु न्यौपाने(दर्शना)ले २३ हजार ४३९ मत ल्याएकी थिइन् । चौथो नम्बरमा स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका पूर्वप्रशासक उम्मेदवार किशोर थापाले १८ हजार ४९६ मत ल्याएका थिए । उनी त्यतिबेला रवीन्द्र मिश्र नेतृत्वमा रहेको साझा पार्टीका नेता थिए । दल दर्ता नभएकाले उनी स्वतन्त्र उम्मेदवारी दिन पुगेका थिए । 

यी निर्वाचनमा त्यतिबेला रन्जु र किशोरले पाएको मत पनि निर्णायक हुने आकलन छ । त्यतिबेला एमाले र कांग्रेसका उम्मेदवार शाक्य र जोशी बीचमा १९ हजार ४४ मतको अन्तर थियो । यता न्यौपाने र किशोरको मत जोड्दा ४१ हजार ९३५ मतदाता हुन आउँछ ।

यसपटक काठमाडौं महानगरपालिकामा २०७४ सालको भन्दा करिब २१ हजार मतदाता बढेका छन् । आगामी स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरमा ३ लाख २४२ मतदाता छन् । 

२०७४ को निर्वाचनमा अहिले सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तमदास डंगोलले ७ हजार ९०६ मत पाएका थिए । तत्कालीन नयाँ शक्ति पार्टीका उम्मेदवार पवित्र बज्राचार्यले भने ६ हजार ५० मत पाएका थिए । नयाँ शक्ति पार्टी यसबीचमा जनता समाजवादी पार्टीमा एकीकृत भइसकेको छ । 

उक्त निर्वाचनमा काठमाडौं महानगरपालिकामा २८ जना मेयरका उम्मेदवार थिए । तीमध्ये एक सय मतको आँकडा पार गर्ने उम्मेदवार भने कमै थिए । जसमा नेमकिपाका कुलनारायण डंगोलले २ सय ६७,  स्वतन्त्र उम्मेदवार गोर्कीप्रसाद श्रेष्ठले १ सय ६४, नेकपा (माले)का उषाकुमारी टिवरेवालाले १ सय ४९ मत, राष्ट्रिय जनमोर्चाका निर्मलकुमार थापाले १ सय ३१ र तत्कालीन मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का शिवहरी रिजालले १ सय १८ मत ल्याएका थिए । १७ उम्मेदवारले भने तेहोरो अंकसमेत कटाउन सकेका थिएनन् । 

काठमाडौं महागनरपालिकाको उपप्रमुखमा राप्रपा उम्मेदवारलाई समर्थन गर्दै एमालेले उम्मेदवारी नै दिएको थिएन ।उपप्रमुख भने कांग्रेसले जितेको थियो । कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९५२ मत ल्याएर निर्वाचित भएकी थिइन् । एमालेको समर्थन पाएका राप्रपाका राजाराम श्रेष्ठ उपमेयरमा ३४ हजार ८५४ मत ल्याएर दोस्रो स्थानमा रहेका थिए । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार(तत्कालीन साझापार्टी) निरुपमा यादव ११ हजार ५३३ र चौथो नम्बरमा रहेकी माओवादीकी सुशिलाकुमारी पौडेलले १० हजार ४४८ मत ल्याएकी थिइन् ।

आगामी निर्वाचनमा प्रमुख पार्टीहरूलाई सैद्धान्तिक मत गएको भए पनि निर्णायक चाहिँ विगतको चुनावमा विवेकशील, साझा र थपिएका ६२ हजार मतदाता रहने आकलन गरिएको छ । 

२०७४ को निर्वाचनमा कुन वडामा कसको कति मत ?

काठमाडौं महानगरपालिका-१ को अध्यक्षमा एमालेका भरतलाल श्रेष्ठ १ हजार ३५ मत ल्याएर विजयी भएका थिए । त्यहाँ कांग्रेसका भोला थापा ६ सय ३९ मत ल्याएर दोस्रो भएका थिए । 

वडा नम्बर २ मा एमालेका राजेन्द्रकुमार श्रेष्ठ १ हजार ८४० मत ल्याएर विजयी भएका थिए । दोस्रो नम्बरमा रहेका कांग्रेसका प्रमोदराज शर्माले ६ सय ८४ मत ल्याएका थिए । 

वडा नम्बर ३ मा एमालेका दीपक केसीले ३ हजार ६२ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका विदुर कार्कीले १ हजार ५४१ मत प्राप्त गरेका थिए  । 

वडा नम्बर ४ मा ३ हजार ८१३ मत ल्याएर एमालेका मोहनबहादुर विष्ट विजयी भएका थिए भने कांग्रेसका अनिसराज शर्माले ३ हजार ४८० मत ल्याएका थिए । 

वडा नम्बर ५ मा कांग्रेसका रमेश डंगोल निर्वाचित भएका थिए । उनले १ हजार ६८० मत ल्याएका थिए भने एमालेका गणेश श्रेष्ठ ५ मतले मात्रै पछि परेका थिए । श्रेष्ठले १ हजार ६७५ मत प्राप्त गरेका थिए । 

वडा नम्बर ६ को अध्यक्षमा कांग्रेसका दिपेन्द्र लामा ३ हजार ६१५ मत ल्याएर निर्वाचित भएका थिए । दोस्रो नम्बरमा ३ हजार ६ मत ल्याएका एमालेका भुम्वो छेवाङ लामा रहेका थिए । 

वडा नम्बर ७ को अध्यक्षमा एमालेका शुद्धकुमार डंगोल ३ हजार ७२४ मत ल्याएर निर्वाचित भएका थिए । जहाँ कांग्रेसका प्रवेश लामिछानेले ३ हजार २२२ मत प्राप्त गरेका थिए । 

वडा नम्बर ८ मा कांग्रेसका दिनेशकुमार डंगोल १ हजार ६३६ मत ल्याएर निर्वाचित भएका थिए भने एमालेका कृष्णमान श्रेष्ठले १ हजार १९५ मत प्राप्त गरेका थिए । 

वडा नम्बर ९ मा एमालेका रामकृष्ण जयखु श्रेष्ठ २ हजार ५१७ मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार सुनिल गौतमले २ हजार १५६ मत प्राप्त गरेका थिए । यो वडामा राप्रपाका केशवध्वज राणाले १ हजार १८ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए भने माओवादीका नारायणप्रसाद लामिछानेले ५ सय ८५ मत प्राप्त गरेका थिए । 

वडा नम्बर १० मा कांग्रेसका रामकुमार केसी २ हजार ७०१ मत ल्याएर निर्वाचित भएका थिए भने एमालेका श्यामलाल तण्डुकार २५ सय २ मत ल्याएर दोस्रो स्थानमा रहेका थिए । यहाँ माओवादी ५ सय ७० मत ल्याएर तेस्रो स्थानमा रहेको थियो । 

वडा नम्बर ११ मा कांग्रेसका हिरालाल तण्डुकार १ हजार १८० मत ल्याएर विजयी भएका थिए । एमालेका योगेन्द्रमान श्रेष्ठले ८ सय ७२ मत ल्याएका थिए । 

वडा नम्बर १२ मा एमालेका विकास डंगोल १ हजार ६७० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका बालकृष्ण महर्जनले १ हजार ५९० मत ल्याएका थिए । माओवादी उम्मेदवार २६८ मत ल्याएर तेस्रो स्थानमा रहेको थियो । 

वडा नम्बर १३ मा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार ६४ मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका सुरेन्द्र मानन्धर १ हजार ९३६ मत ल्याएर दोस्रो तथा माओवादीका रामशरण डंगोल १ हजार ५३१ मत ल्याएर तेस्रो स्थानमा रहेका थिए । 

वडा नम्बर १४ मा एमालेकी शोभा सापकोटा ३ हजार ८०७ मत ल्याएर निर्वाचित भएकी थिइन् भने कांग्रेसका महेन्द्र थापा ३ हजार २९७ मत ल्याएर दोस्रो तथा माओवादीका आदेश्वर बुढाथोकी १ हजार ३१३ मत ल्याएर तेस्रो भएका थिए । 

वडा नम्बर १५ मा एमालेका ईश्वरमान डंगोल ४ हजार ९०५ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसका राजु खरेलले २ हजार २०२ मत ल्याएका थिए । 

वडा नम्बर १६ मा कांग्रेसका मुकुन्द रिजाल ४ हजार ३९९ मत ल्याएर निर्वाचित हुँदा एमालेका विश्वराम सापकोटाले ४ हजार ३३० मत र माओवादीका दिलीपराज वन्तले ८७५ मत ल्याइ तेस्रो भएका थिए । 

वडा नम्बर १७ मा कांग्रेसका नविन मानन्धरले २ हजार २२७ मत ल्याएर जितेका थिए भने एमालेका गोपालप्रसाद मालीले १ हजार ७७७ र माओवादीका निलकण्ठ मालीले ५६५ मत ल्याएका थिए । 

वडा नम्बर १८ मा एमालेका न्हुँछेकाजी महर्जन १ हजार ५६ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसका राजन महर्जनले ७५८ मत प्राप्त गरेका थिए । 

वडा नम्बर १९ मा कांग्रेसका शशिलाल श्रेष्ठ १ हजार ८९९ मत ल्याएर विजयी भएका थिए । एमालेका आनन्दबहादुर खड्गे शाहीले ८२१ मत प्राप्त गरेका थिए । 

वडा नम्बर २० मा कांग्रेसका राजेन्द्र मानन्धर ८६७ मत ल्याएर विजयी भएका थिए । जहाँ एमालेका विजयकृष्ण श्रेष्ठले ८४९ र माओवादीका रजिन स्थापितले ३२७ मत प्राप्त गरेका थिए । 

वडा नम्बर २१ मा एमालेका उदयचुडामणी बज्राचार्यले २ हजार ६५७ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका गोविन्द रंजितले ८३० मत प्राप्त गरेका थिए । 

वडा नम्बर २२ मा एमालेका चिनीकाजी महर्जन १ हजार ६५७ मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका शालिग्राम तन्दुकारले १ हजार ६४९ मत ल्याएका थिए । उनी ८ मतले पराजित भएका थिए । जहाँ माओवादीका मणिकरत्न स्थापितले १७० मत प्राप्त गरेका थिए । 

वडा नम्बर २३ मा एमालेका मचाराजा महर्जनले १ हजार १९८ मत ल्याएर विजय हासिल गरेका थिए भने कांग्रेसका लक्ष्मणनारायण मानन्धरले ८८० मत ल्याएका थिए । 

वडा नम्बर २४ मा एमाले का बालकृष्ण श्रेष्ठले १ हजार ४५२ मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका विनोदकुमार राजभण्डारीलाई ९१४ मत प्राप्त भएको थियो । 

वडा नम्बर २५ मा कांग्रेसका निजकाजी शाक्य १ हजार ५२५ मत ल्याएर अध्यक्ष निर्वाचित भएका थिए । एमालेका बाबुराजा महर्जनले १ हजार ४९० मत ल्याएका थिए भने माओवादीका सुभानकुमार श्रेष्ठले ७४८ मत ल्याएका थिए । 

वडा नम्बर २६ मा कांग्रेसका ख्यामराज तिवारी विजयी भएका थिए । उनले २ हजार ९७ मत ल्याएका थिए । एमालेका देवेन्द्रप्रसाद रिमालले १ हजार ८७३ मत ल्याएका थिए भने माओवादीका रामकाजी महर्जनले ६७२ मत ल्याएका थिए । 

वडा नम्बर २७ मा एमालेका चिनियामान बज्राचार्य १ हजार ५६८ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका योगेशकुमार खड्गीले १ हजार ३५८ मत ल्याएर दोस्रो भएका थिए । 

वडा नम्बर २८ मा कांग्रेसका भाइराम खड्गी प्रकाश १ हजार २०६ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका मधुसुदन तण्डुकारले १ हजार १२३ मत ल्याएका थिए । 

वडा नम्बर २९ मा कांग्रेसका कुश ढकाल १ हजार ५४५ मत ल्याएर निर्वाचित भएका थिए । यो वडामा स्वतन्त्र उम्मेदवार शिवराम राजवंशीले १ हजार ४९१ मत ल्याएका थिए । तेस्रो नम्बरमा रहेको एमालेले १ हजार ४३ मत प्राप्त गरेको थियो । 

वडा नम्बर ३० मा कांग्रेसका दलबहादुर कार्की २ हजार २३१ मत ल्याएर निर्वाचित भएका थिए जहाँ एमालेका सुरेन्द्र श्रेष्ठले १ हजार ३६७ मत ल्याएका थिए । 

वडा नम्बर ३१ मा एमालेका नारायणप्रसाद भण्डारी ४ हजार २९७ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसका रविन्द्रविक्रम राणाले ३ हजार ४२६ मत ल्याएका थिए भने माओवादीका वसन्तकुमार श्रेष्ठले १ हजार ६२ मत ल्याएका थिए । 

वडा नम्बर ३२ मा एमालेका नवराज पराजुलीले ५ हजार ८७९ मत ल्याएर जितेका थिए । कांग्रेसका कृष्णबहादुर केसी खत्रीले ४ हजार १९ मत ल्याएका थिए ।

स्थानीय तह निर्वाचन २०७९

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully