चितवन — स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरु उम्मेदवार छनौटमा व्यस्त छन् । उम्मेदवार चयनका विषयमा अहिले सबैभन्दा बढी चर्चामा भरतपुर महानगरपालिका छ । यहाँ सत्तारुढ गठबन्धनबीच मेयर पदको विषयलाई लिएर रस्साकसी चलेको छ । चुनावी तालमेल गर्ने निर्णय गरेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुवैले भरतपुरको मेयर पदमा दाबी गरेपछि उम्मेदवार तोक्ने विषय पेचिलो बनेको छ ।
माओवादीले अहिलेकी मेयर रेणु दाहाललाई नै दोहोर्याउने योजना बनाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल लगातारजसो चितवन भ्रमण गरेर रेणुका लागि माहोल बनाउँदै आएका छन् । चैतमा मात्र चारपटक चितवन आएका दाहाल वैशाख लागेपछि पनि शनिबार चितवन आएर चौरासी पूजाजस्ता धार्मिक कार्यक्रमहरुमा सहभागी भए । उता सत्ता सहयात्री नेपाली कांग्रेस चितवनका कार्यकर्ता भने मेयर छाड्न नहुने अडानमा छन् ।
चितवनमा तालमेल गर्ने तर भरतपुरमा मेयर नछाड्ने कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा निर्णय भइसकेको छ । कांग्रेसको भरतपुर महानगरपालिकाको वडा कार्यसमितिका सभापतिहरुले संयुक्त बैठक राखेर भरतपुरको मेयर नछाड्न चेतावनी दिँदै आएका छन् । कुनै वडाहरुमा मेयर नपाए पार्टी छाडेर स्वतन्त्र हुने अभियान सुरु गर्ने घोषणा भइसकेको छ । जिल्लाको टोली काठमाडौं आएर नेताहरुलाई भेटेको पनि छ ।
चितवनबाट कांग्रेसका केन्द्रीय सदस्य रहेका टेकप्रसाद गुरुङ र दिनेश कोइराला मेयर कांग्रेसले पाउनु पर्ने अडानमा छन् । गुरुङले मेयर पद माओवादीलाई दिए केन्द्रीय सदस्यबाट विद्रोह गर्ने सार्वजनिकरुपमा चेतावनी नै दिएका छन् । वडादेखि जिल्ला हुँदै केन्द्रसम्म रस्साकसी चले पनि भरतपुरको मेयर कुन पार्टीले पाउँछ अझै प्रस्ट भएको छैन । चुनावको मुखमा कांग्रेसभित्र देखिने यस्तो असन्तुष्टि नौलो भने होइन ।
देशको पहिलो संसदीय निर्वाचनबाटै यस्ता असन्तुष्टिको सुरुवात भएको देखिन्छ । ‘चितवन दर्पण’ नामक पुस्तकमा डा. राजेन्द्रप्रसाद रेग्मी ‘चितवनको रानीतिक विकास’ शीर्षक लेखको उपशीर्षक ‘२०१५ सालको आम निर्वाचनमा दलहरुको भूमिका’मा लेख्छन् ‘चितवनमा नेपाली कांग्रेसको मात्र सांगठनिक संरचना गठन भएका कारण आम निर्वाचनमा कांग्रेसको विजय लगभग निश्चित जस्तै थियो ।’
यो सम्भावनाले पार्टीभित्र टिकटका आकांक्षीहरुको संख्या बढायो । टिकटका लागि नेताहरुबीच प्रतिस्पर्धा चल्यो । ‘पश्चिम चितवनमा १७ वटा नयाँ बस्तीहरु बसाउने र ती बस्तीहरुमा सहकारी कार्यक्रम सञ्चालन गरी जनसमुदायमा सहयोग पुर्याउन सफल रहेका बखानसिंह निकै लोकप्रिय थिए । केन्द्रमा बीपी कोइराला पनि बखानसिंहलाई नै चितवनको उम्मेदवार बनाउने पक्षमा थिए’ राजेन्द्रको लेखमा उल्लेख छ ।
तर टिकट विश्वबन्धु थापाले पाए । बीपीले बखानसिंहलाई उपल्लो सदनमा लैजाने बचन दिएर विश्वबन्धुलाई टिकट दिएको डा.रेग्मीले लेखेका छन् । तर यो निर्णयले चितवन कांग्रेसमा हलचल ल्यायो । बखानसिंहलाई टिकट दिइयोस भन्दै सूर्यभक्त अधिकारीहरुले कार्यकर्ताको हस्ताक्षरसहित केन्द्रलाई दबाब दिए । चितवनको असन्तुष्टी मिलाउन केन्द्रले कृष्णप्रसाद भट्टराईलाई नै जिल्लामा खटायो ।
बखानसिंह र सूर्यभक्त अधिकारीले भट्टराईको कुरा मानेको डा.रेग्मीले आफ्नो लेखमा लेखेका छन् । तर हरिकुमार श्रेष्ठ र मैयादेवी श्रेष्ठ उम्मेदवारी दिने अडानमा यथावत रहे । उम्मेदवारी दर्ता गराए पनि मैयादेवीले नाम फिर्ता लिने समय गुज्रिएपछि विश्वबन्धुलाई समर्थन गर्ने भइन् । बीपीको आग्रहमा मैयादेवीले यो निर्णय लिएको लेखमा उल्लेख छ । तर हरिकुमार चुनावी मैदानमै खटिए । जसलाई विश्वबन्धुले चुनौती ठाने ।
अधिकांस असन्तुष्टको मत हरिकुमारले पाउन सक्ने आशंका थियो । त्यो बेला नेकपाका उम्मेदवार चितवनका नभएर भिमफेदीका थिए । गैरकांग्रेसी मत पनि हरिकुमारले पाउन सक्ने आकलन थियो । आफन्तहरु बन्दीपुरबाट आएर नारायणगढमा बसेकाहरुको सद्भावपूर्ण मत पनि पाउने र विजयी हुने सम्भावना देखेर हरिकुमार पछाडी नहटेको डा.रेग्मीको लेखमा उल्लेख छ । जसका कारण विश्वबन्धुले चुनावी अभियानमा चलाखी अपनाए ।
थापाले चुनावी माहौल ल्याउन चितवनमा चारवटा साइकल भित्राए । लेखक रेग्मीलाई दिएको अन्तवार्तामा ती चारवटा साइकल नै चितवन भित्रिएका पहिलो साइकल थिए भनेर थापाले दाबी गरेका छन् । मान्छेहरु साइकल हेर्न नै भिड लाग्न थाल्यो । यसरी थापाले चुनावी माहौल बनाउँदै गए । निर्वाचन उनैले जिते । टिकट पाउनदेखि निर्वाचन जित्नसमेत विश्वबन्धु थापाले ‘योजनाबद्ध चलाखीपन’ अपनाएको लेखमा उल्लेख छ ।
भरतपुर नगर पञ्चायतको लफडा
१५ सालको निर्वाचनपछि १७ साल पुसमा राजा महेन्द्रले 'कु' गरेर पञ्चायती शासन कायम गरे । पञ्चायतकालमा पार्टीहरु चुनाव लड्ने कुरा भएन । तैपनि व्यक्तिगत रुपमा कांग्रेसका समर्थक र नेताहरु चुनाव लड्न सुरु गरे । २०४४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा सहभागी हुने भनेर पार्टीले घोषित रुपमा नै निर्णय लिएको नेपाली कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटाले आफ्नो पुस्तक ‘जीवन यात्रा’मा लेखेका छन् ।
त्यो बेला नेपाली कांग्रेस पार्टी प्रतिबन्धित थियो । सापकोटा पार्टीको जिल्ला सचिव थिए । नगरपञ्चायतको प्रधानपञ्च उपप्रधानपञ्चको उम्मेदवार तोक्ने विषयमा पार्टीको बैठक बस्यो । तत्कालिन भरतपुर नगरपञ्चायतका विषयमा भने नामहरुलाई लिएर मतान्तरहरु आए । बैठकमा नगरपञ्चायतको प्रधानपञ्चका लागि हरिकुमार श्रेष्ठ र गंगाधर लम्सालको नाम आयो । हरिकुमार स्वयंले पनि उठ्ने चाहना देखाए ।
'निकै बेरको छलफलमा पनि हरिकुमारभन्दा गंगाधर लम्सालको पक्ष बलियो भयो । मैले हस्तक्षेप गरेको भए फेरिन पनि सक्थ्यो । हो, म चुप लागे । गंगाधर लम्साल प्रधानपञ्च र भूपतिदास सापकोटा उप्रधानपञ्चको उम्मेदवार हुने निर्णय भयो’ सापकोटाले आफ्नो पुस्तकमा लेखेका छन् । हरिकुमारको पाको उमेरका कारण दौडधुप गर्न र निर्वाचन जितेपछि खट्न नसक्ने सम्भावनालाई ख्याल गरेर मात्रै गंगाधरलाई पार्टीले अगाडी सार्यो ।
तर निर्णयपछि लफडा सुरु भयो । प्रधानपञ्चका लागि पार्टीले निर्णय गरेको नाममा असहमत युवाहरु सापकोटाको घरमै आएर उनको गर्धन समाएर घोक्राउँदै बेलचोक तिर लान्छन् । कालोमोसो दलेर बजार घुमाउने भन्छन् । तर ठाकुर कँडेल आएर जोगाउँछन् । त्यसपछि उम्मेदवारको नाम परिवर्तन हुन्छ । हरिकुमार प्रधानपञ्च र उपप्रधानपञ्च गंगाधर लम्साल हुन्छन् । निर्वाचनमा हरिकुमारले चुनाव हार्छन । लम्सालले भने जित्छन् ।
बहुदलमा पनि विवाद यथावत
0४६ सालको आन्दोलन चल्दा नेपाली कांग्रेसको चितवन पार्टी सभापति कृष्णलाल सापकोटा थिए । अनेक तरिकाले लुक्दै छिप्दै गिरफ्तारीबाट जोगिएर सापकोटाले आन्दोलन हाँके । आन्दोलन सफल भएपछि ४८ सालमा आम निर्वाचन भयो । सापकोटा आफ्नो किताब ‘जीवन यात्रा' मा लेख्छन् ‘निर्वाचनको मिति तोकिएपछि उम्मेदवारी सिफारिस गर्नु पार्टीको पहिलो दायित्व भयो । त्यसताका चितवनमा तीनवटा निर्वाचन क्षेत्र थिए ।’
सापकोटालाई क्षेत्र नम्बर २ र ३ बाट उठ्न विभिन्न कमिटीहरुबाट सर्वसम्मत निर्णय भएको रहेछ । तर दुई नम्बर क्षेत्र आफूलाई रोजेर एक र तीनमा अरुलाई सिफारिस गरेको सापकोटाले लेखेका छन् । जिल्ला समितिले गरेको सिफारिस विपरित गएर केन्द्रले उम्मेदवार तोकेको सापकोटाले लेखेका छन् । त्यो निर्वाचनमा सापकोटाले टिकट पाएनन् । ४८ सालको निर्वाचनमा तीनवटै क्षेत्रमा कांग्रेस पराजित भयो ।
‘पार्टीभित्र कार्यकर्ताको व्यक्तिगत विवरण तयार गर्ने, उनीहरुको योग्यता, क्षमता, अनुभव र योगदानको आधारमा मुल्याङ्कन गर्ने परिपाटीको विकास हुन नसकेको स्थिती रहेछ भन्ने थाहा भयो’ टिकट नपाउँदाको आफ्नो मनोभावना सापकोटाले किताबमा यसरी पोखेका छन् । चितवन कांग्रेसभिको मतान्तर संविधानसभाको निर्वाचनमा पनि देखियो । पहिलो संविधान सभा निर्वाचनमा आकाक्षी रहे पनि सापकोटाले टिकट पाएनन् ।
सापकोटाले स्वतन्त्र उम्मेदवारी दर्ता गराए । पछि गिरिजाप्रसाद कोइरालाको आश्वासनमा उनले उम्मेदवारी फिर्ता लिए । गिरिजाप्रसादले मनोनित गर्ने कोटामा पार्ने आश्वासन दिएका रहेछन् । तर चितवनमा पहिलो संविधान सभाका पाँचवटै निर्वाचन क्षेत्रमा कांग्रेस पराजित भयो । सापकोटाका कारण पार्टी हार्यो भन्ने विवरण केन्द्रमा पुर्याएर संविधान सभाको मनोनित सदस्य हुनबाट रोकेको सापकोटाले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
महानगर हुँदा पनि भरतपुरमा लफडा यथावत
भरतपुरका सन्दर्भमा कांग्रेसभित्र चल्ने मतान्तरको रोग पञ्चायत हुँदै गणतन्त्रमा महानगरपालिका हुँदासम्म यथावत छ । संविधान सभाको दोस्रो निर्वाचनमा पनि पार्टीभित्र असन्तुष्टी नभएको हैन । त्यो बेला चितवन–४ मा पार्टीका केन्द्रीय सभापति सुशील कोइराला उठेका थिए । उनका विरुद्ध चितवन कांग्रेसको जिल्ला सभापति भइसकेका विकास कोइरालाले स्वतन्त्रमा उम्मेदवारी दिए । तैपनि सुशील कोइरालाले भारी मतान्तरले जिते ।
२०७४ सालको स्थानीय निर्वाचनमा भरतपुरको महानगरपालिकामा कांग्रेसले मेयरमा दिनेश कोइराला र उपमेयरमा पार्वती शाह ठकुरीलाई उम्मेदवार बनायो । पार्टीलाई त्यो बेलामा पनि उम्मेदवार तोक्न निकै सकस भएको थियो । मनोनयन दर्ता सुरु भएको थियो । तर कांग्रेसको मेयर उपमेयरको निधो थिएन । काठमाडौंमा नाम टुङ्गो लगाएर उम्मेदवारी दर्ता गर्न अबेला हुने भएका कारण हेलिकप्टर चढेर उम्मेदवारहरु भरतपुर आएका थिए ।
यसरी मनोनयन दर्ता गराएर घोषणापत्रसहित मेयर उपमेयरका उम्मेदवार प्रचारमा जुटेका थिए । तर मनोनयन फिर्ता लिने अन्तिम दिन पार्टीले मेयर पद माओवादी केन्द्रलाई छाड्ने निर्णय लियो । दिनेश कोइराला यसका लागि तयार भएनन् । केन्द्रीय सभापति शेरबहादुर देउवाले नै भरतपुरको निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएपछि कोइरालाको उम्मेदवारी फिर्ता लियो । यसले पार्टीभित्र हलचल ल्यायो ।
मतका हिसाबले तुलनात्मकरुपमा कांग्रेस भरतपुरमा बलियो छ । तर मेयर नै अर्को पार्टीलाई बुझाएपछि तालमेलअनुसार नतिजा निकाल्न निकै सकस पर्यो । मेयरमा रेणु दाहाल झिनो मतान्तरले विजयी भइन् । यो बीचमा गणना हुँदै गर्दा मतपत्र च्यातिएका कारण भरतपुर–१९ मा दोहोर्याएर निर्वाचन गराउनु पर्यो । अहिले उनै रेणुलाई मेयर पद छाड्नु पर्ने चर्चा चलेपछि कांग्रेसभित्र असन्तुष्टि चुलिएको देखिन्छ ।
