कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नवीन मुद्दा उठाउँदै स्वतन्त्र उम्मेदवार

स्थानीय तहलाई स्वतन्त्र बनाउने भन्दै मिस नेवादेखि हिमाल आरोहीसम्मले विभिन्न पालिका प्रमुखमा उम्मेदवारी घोषणा गरेका छन्, पोखराबाट सुरु गरिएको ‘अटेरी अभियान’ अन्तर्गत मात्रै करिब डेढ सयले उम्मेदवारीको तयारी गरेका छन्

काठमाडौं, पोखरा — हिमाल आरोही माया गुरुङले कामको सिलसिलामा देश–विदेश घुम्ने अवसर पाइन् । उतै बस्ने अफर पनि आए तर उनलाई आफ्नै गाउँ–ठाउँको माया लाग्यो । आफू जन्मेको दुर्गम बस्तीमा केही गर्ने धोको जाग्यो । कुनै राजनीतिक दलमा आबद्ध नभएकी ४७ वर्षीया गुरुङले आगामी स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी छन् ।

नवीन मुद्दा उठाउँदै स्वतन्त्र उम्मेदवार

२०६५ वैशाख ९ मा सगरमाथा आरोहण गरेकी उनी सातवटै महादेशको अग्लो हिमाल चढ्ने विश्वकै पहिलो टिममा पर्छिन् । सगरमाथा चढेर आएपछि गाउँमा पर्यटनसम्बन्धी थुप्रै काम गरिन् । युवालाई पर्यटन तालिम दिनेदेखि भूकम्पले भत्किएका स्कुल पुनर्निर्माण गर्न उनले पहल गरिन् । उनकै पहलमा पालिकाभित्र १९ वटा अस्थायी स्कुलका टहरा र दुईवटा पक्की शैक्षिक भवन निर्माण भएका छन् ।

प्रचारप्रसारका क्रममा पाँचपोखरीमा माया गुरुङ ।

विश्व समावेशी साहसी संस्थाकी अध्यक्ष रहेकी उनी गाउँमा समाज सेवा गरेकाले दलीय उम्मेदवारसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको बताउँछिन् । ‘नेताहरूले गाउँको विकासमा सोचेनन्, त्यसैले उम्मेदवारी दिन लागेकी हुँ,’ उनले भनिन् । उनले आफ्नो घोषणापत्रमा पर्यटन र कृषि विकासलाई विशेष महत्त्व दिएकी छन् । पाँचपोखरीको पर्यटन विकास गर्न सके त्यहाँका युवा रोजीरोटी खोज्दै भौंतारिनु नपर्ने उनको बुझाइ छ । पालिकाभित्र करिब ६० प्रतिशत खाली रहेको जमिनलाई कृषिमा रूपान्तरण गर्ने उनको उद्देश्य छ । यसले स्वदेशी उत्पादनमा जोड दिने र रोजगारी सिर्जना गर्ने उनको तर्क छ । ‘सीप र शिक्षा भयो भने युवा बिदेसिनु पर्दैन,’ उनी भन्छिन् ।

***

पूर्वमिस नेवाः सुनीता डंगोलले पनि स्वतन्त्र रूपमै काठमाडौं महानगरपालिकाको प्रमुखका लागि तयारी गरिरहेकी छन् । उनले चुनावी घोषणापत्र पनि सार्वजनिक गरिसकेकी छन् । २०१२ मा मिस नेवाःको ताज पहिरिएपछि ३० वर्षीया डंगोलले नेवार समुदायको संस्कृति जगेर्नामा काम गर्दै आइन् । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगमा आबद्ध भई चार वर्ष काम गरिन् । समुदायस्तर र सरकारी कार्यक्षेत्रको अनुभव सँगालेपछि उनलाई स्थानीय विकास राजनीतिबाटै सम्भव हुन्छ भन्ने लाग्यो । उनी भन्छिन्, ‘युवाको आवाज सधैं कुण्ठित हुन्छ राजनीतिमा, त्यसैले आफैं मेयरमा उठ्न खोजेकी हुँ ।’

आठबुँदे घोषणापत्रमा डंगोलले काठमाडौं महानगरपालिकाको समृद्धिलाई जोड दिएकी छन् । स्वच्छ वातावरण, यातायात व्यवस्थापन, पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल, युवा, खेलकुद, रोजगारी तथा उद्यमशीलता र अध्ययन–अनुसन्धानात्मकमा जोड दिनु उनको चुनावी एजेन्डा हो । उनी स्वतन्त्र रूपले चुनावी प्रचारमा जुटेपछि विभिन्न पार्टीले भित्र्याउन चाहेका छन् । उनले आफ्ना एजेन्डा समावेश गर्ने पार्टीमा आबद्ध भएर उम्मेदवार दिन सक्ने बताइन् ।

***

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा बालेन शाह पनि छन् । स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३१ वर्षे शाह म्युजिकल आर्टिस्ट हुन् । उनी स्थानीय तह निर्वाचनमा राजनीतिक पार्टीबाट टिकट पाउने प्रक्रियाको विरोधी हुन् । दलबाट टिकट पाउन पैसा खर्च गर्नुपर्ने, चाकडी गर्नुपर्ने र कार्यकर्तालाई पोस्नुपर्ने बाध्यता उनले देखेका छन् । चुनाव जितेपछि आफ्नै पार्टीका नेताले गरेका गल्ती ढाकछोप गर्ने, अरू पार्टीको भए आलोचना गर्ने प्रवृत्तिप्रति उनको आपत्ति छ । उनले भ्रष्टाचार न्यूनीकरण गर्न पनि स्वतन्त्र उम्मेदवार जरुरी रहेको बताए ।

शाहले काठमाडौं महानगरपालिकामा शिक्षा, स्वास्थ्य, रोजगार र फोहोर व्यवस्थापनका विषयमा चुनावी घोषणापत्र तयार पारेका छन् । महानगरमा च्याउजस्तै छरिएका विद्यालयलाई समायोजन गरेर गुणस्तरी शिक्षा दिने उनको योजना छ । त्यस्तै, हरेक ६/६ महिनामा वडावासीको निःशुल्क स्वास्थ्य जाँच, काठमाडौंको फोहोर प्रशोधन गर्ने, खाली जमिनको उत्पादनमा जोड दिने उनका मुख्य चुनावी एजेन्डा हुन् ।

***

डोल्पाका प्रेमबहादुर बोहरा पनि स्वतन्त्र उम्मेदवार उठ्दै छन् । तत्कालीन नयाँ शक्ति पार्टी (हाल जसपा) मा आबद्ध भएका उनले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताए । स्थानीय तह जनताको हस्तक्षेप हुने थलो हो तर पार्टीको प्रभुत्व देखिने भएकाले प्रभावकारी काम हुन नसकेको उनको तर्क छ । उनले पार्टी परित्याग गरी ठूली भेरी नगरपालिकाको प्रमुखका लागि उम्मेदवार दिने भएका हुन् ।

८ वर्षदेखि सामाजिक संस्थामा आबद्ध भई शिक्षा क्षेत्रमा काम गरेका उनले स्रोत र साधनको पहुँचमा पुग्न नगरपालिका उपयुक्त केन्द्र भएको बताए । नगरपालिका नै दुर्गममा टेलिफोन, पानी, सञ्चार, इन्टरनेट प्रविधिलगायत विकासका आधारबाट वञ्चित छ । उनी भन्छन्, ‘पाँच वर्षमा नगरपालिका मात्रै सुविधा सम्पन्न बनाउन सके पनि ठूलै उपलब्धि हुन्छ ।’ डोल्पालाई दुर्गमको ट्यागबाट हटाउन शिक्षा, स्वास्थ्य, यातायातजस्ता विकासका पूर्वाधारामा जोड दिने उनले बताए ।

***

एक दशकसम्म युवा सशक्तीकरणको क्षेत्रमा सक्रिय भई काम गरेका ३७ वर्षे राजन कोइरालालाई पहिले राजनीतिमा खासै रुचि थिएन । अमेरिकामा ९ वर्ष बसेपछि उनी स्वदेशमै केही गर्ने निष्कर्षसहित राजनीतिमा लागे । ‘हामीले नै देश बिर्सियौं भने कसले बनाउँछ ?’ उनी भन्छन्, ‘राजनीतिमा युवा शक्ति जरुरी छ ।’ काठमाडौंको नागार्जुन नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका उनी घोषणापत्र लेखन तयारीमा छन् । उनको मुख्य नारा नगरपालिकालाई सूचना प्रविधियुक्त गराउनु हो । घरमै बसेर वडावासीले इन्टरनेट प्रविधिको प्रयोग गरी आधा काम गर्न सक्ने उनको तर्क छ ।

नागार्जुन काठमाडौंको पश्चिम भेगमा पर्ने हुँदा यहाँ जंगल क्षेत्र बढी छ । घोषणापत्रमा साइकल मार्ग खोल्ने, प्राकृतिक, धार्मिक क्षेत्रको संरक्षण गर्ने, ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा, युवालाई रोजगार र बालबालिकालाई शिक्षामा जोड दिने उनका घोषणापत्रका मुख्य बुँदा हुन् ।

चुनावी प्रसारप्रसार गर्ने शैली पनि नौलो छ । उनी गाउँघर पुगेर स्थानीयका गुनासा टिपोट गर्न थालेका छन् । उनी भन्छन्, ‘पार्टीका नेताहरू आफ्नो विचार लाद्छन्, म जनताका समस्या सुनेर समाधान निकाल्छु ।’

***

बूढानीलकण्ठ नगरपालिकामा चार वर्ष सचिवालयमा काम गरेको अनुभव बटुलेपछि ३१ वर्षे सुमित खरेललाई आफैं प्रमुख बन्ने इच्छा लाग्यो । पालिकामा आएका नागरिकका समस्या समाधान नभएको देखेर आफैं उम्मेदवार बन्ने निर्णयमा पुगेको उनले बताए । तथ्यांकमा आधारित सुशासन, समावेशितासहितको दिगो विकास र शिक्षा, स्वास्थ्य गरी तीन विषयमा उनले जोड दिएका छन् ।

नागरिकले एउटा फाइल खोज्न पूरै नगरपालिका घुम्नुपर्ने, अनावश्यक दुःख दिने प्रवृत्ति चिर्न उनले ‘वान डोर फाइल सिस्टम’ लागू गर्ने बताए । त्यस्तै, साप्ताहिक रूपमा नागरिकको गुनासो सुन्ने र सम्बोधन गर्ने परिपाटी बसाल्ने उनको योजना छ । उनी भन्छन्, ‘हाम्रो पालिकाको कार्य प्रणाली नागरिकमुखी छैन । तथ्यांक, थिति र नीति बसाल्नु जरुरी छ ।’

***

‘जित वा हारभन्दा पर पनि यौटा लडाइँ हुन्छ, दशकौंको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एक थरी अटेरी मत हुन्छ’ भन्दै लेखक गनेस पौडेलले माघ अन्तिम साता पोखरा महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे । स्थानीय तहलाई स्वतन्त्र बनाउने उद्देश्य रहेको ‘अटेरी अभियान’ अहिले देशभरि फैलिएको छ ।

पौडेलका अनुसार अभियानमा जोडिएर हालसम्म करिब डेढ सय जनाले पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार दिने घोषणा गरिसकेका छन् । वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नेको संख्या ठूलो छ । तीमध्ये अधिकांश ४० वर्षमुनिका छन् । स्वतन्त्र उम्मेदवार अभियानअन्तर्गत २ सयभन्दा बढी युवाले उम्मेदवारी घोषणा गरिसकेका छन् । अटेरी अभियानले पोखरामा चुनाव लक्षित छलफल गरिरहेको छ । विभिन्न क्षेत्र, वर्गका अभियन्ता, युवा मतदाता, विद्यार्थीसँग भेटेर स्थानीय तहलाई किन दलरहित बनाउनुपर्छ भन्नेबारे बुझाइरहेको छ । छलफलमा घोषणापत्रमा भएका मूलभूत विषयबारे सारांश साथै उम्मेदवारहरूको आचारसंहिता पनि जारी गरिएको छ । काठमाडौंबाट स्वतन्त्र उम्मेदवाारी अभियान सुरू गरिएको हो । यसअभियान अन्तर्गत हालसम्म १,९९८ जनाले निर्वाचनमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

‘पैताला’ उपन्यासका लेखक पौडेल स्थानीय तहलाई दलविहीन बनाउँदा धेरै काम गर्न सकिने बताउँछन् । ‘दलबाट जतिसुकै राम्रो मान्छेले चुनाव जिते पनि काम गर्न सक्दैनन्,’ उनी भन्छन्, ‘निजी सचिवदेखि हरेक नियुक्तिसम्म पार्टीको हस्तक्षेप हुन्छ । कार्यकर्ता व्यवस्थापनमै स्रोत र समय खर्चिनुपर्छ । आफूलाई कसले भोट हाल्यो/हालेन भनेर बजेट छुट्याइन्छ । भ्रष्टाचार गर्‍यो भने पनि कुनै निकायले कारबाही गर्न सक्दैन । स्वतन्त्र व्यक्तिले नेतृत्व गर्ने हो भने यी सबै समस्या देखिँदैनन् ।’

प्रकाशित : वैशाख ५, २०७९ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?