मोरङ — प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा कर्मचारीले आफ्ना नातासम्बन्ध, हितैषी तथा परिचितहरूलाई कोरोनाविरुद्ध खोप लगाउने व्यवस्था गरेकाले पहिलो मात्रा लगाएकाहरू दोस्रो मात्रा खोप लगाउनबाट वञ्चित भएका छन् ।
प्रदेश १ का प्रमुख प्रतिपक्षी कांग्रेसले सर्वसाधारणबाट लुकाएर मुख्यमन्त्रीदेखि कर्मचारीसम्मले नातागोतालाई कोरोनाविरुद्ध खोप लगाउने गरेको आरोप लगाएको छ । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले कोभिसिल्ड खोप प्रदेश प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, प्रदेशका मन्त्री तथा उच्चपदस्थ कर्मचारीहरूले कार्यालय तथा निवासमा नातागोतालाई बोलाएर लगाउने गरेको बताएका छन् ।
‘सरकारले अनुदान सहयोगमा पाएको कोभिसिल्ड खोप कसैको पनि पेवा वा दाइजो होइन,’ उनले भने । सर्वसाधारण भ्याक्सिन नपाएर छटपटाइरहेका बेला प्रदेश सरकारले खोपको ब्रह्मलुट गरिरहेको भन्दै कार्कीले विरोध जनाए । ‘पहिलो मात्रा लगाएकाहरू दोस्रो मात्रा लगाउने समय पुगिसकेकाले खोप लगाउन नेताहरूको घरघर धाउन बाध्य छन्,’ उनले भने ।
पहिलो प्राथमिकता प्राप्त ९ हजार तीन सय ३१ जनाले खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन् । पहिलो चरणमा यस प्रदेशका अग्रमोर्चामा खटिने ५२ हजार ९५ जनाले पहिलो मात्रा लगाएकामध्ये हालसम्ममा ४२ हजार ७ सय ६४ जनाले मात्रै दोस्रो मात्रा खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।
सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले यस प्रदेशमा अहिले ८ सय जनालाई लगाउन पुग्ने मात्रै खोप रहेको बताएका छन् । यसले अग्रमोर्चामा खटिएका ८ हजार ५ सय ३१ जनाले खोपको दोस्रो मात्रा लगाउनबाट वञ्चित हुने निश्चित भएको छ ।
