संक्रमण स्थिर, मृत्युदर घटेन

प्रदेश १, प्रदेश २, सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढ्दो छ भने गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा संक्रमण दर घट्दो

जेष्ठ १०, २०७८

अतुल मिश्र

काठमाडौँ — मुलुकमा कोभिड–१९ संक्रमणको पछिल्लो अवस्था हेर्दा केही कमी आएको देखिएको छ । विज्ञहरूका अनुसार हाल समग्र नेपालको अवस्था हेर्दा कोभिडको पिक (उत्कर्ष) मा पुगेको जस्तो देखिए पनि एक सातापछि स्पष्ट अवस्था देखिनेछ । एक साताको विश्लेषणले संक्रमण लगभग स्थिर जस्तो देखिन्छ । तर मृत्युदर भने घटेको छैन ।

‘गत साताको दाँजोमा यो साता समग्र नेपालमा नयाँ देखिने संक्रमितको संख्यामा ५.७ प्रतिशत कमी आएको छ,’ काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सका महामारीविद् डा. अर्चना श्रेष्ठले कान्तिपुरसँग भनिन्, ‘दैनिक संक्रमणको अवस्थामा केही कमी देखिए पनि क्लस्टर (समूह) अनुसार हेर्दा स्थान विशेषअनुसार संक्रमणमा घटबढ देखिएको छ ।’

आइतबार भएको १८ हजार ९ सय ६५ नमुनाको पीसीआर परीक्षणमा ४०.०६ प्रतिशत अर्थात् ७ हजार ५ सय ९८ जना पोजिटिभ देखिएका छन् । १ सय ९३ जनाको मृत्यु भएको छ । गत वर्षदेखि हालसम्म कोभिडले मुलुकमा ६ हजार ३ सय ४६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो साताको तुलनामा एक सातायता कोभिडले मृत्यु हुनेहरूको संख्या भने बढेको छ । यो साता हालसम्मकै बढी १ हजार ३ सय ४५ जनाको मृत्यु भएको छ भने पछिल्लो साता १ हजार २ सय ८१ जनाको मृत्यु भएको थियो । दोस्रो लहरअन्तर्गत वैशाख १ देखि हालसम्मको ४० दिनमा कोभिडले ३ हजार २ सय ८८ जनाको मृत्यु भएको छ । 

हाल नेपालमा प्रतिलाख जनसंख्यामा २७.८ जना नयाँ कोभिड संक्रमित देखिएको छ । दोस्रो लहर विभिन्न ठाउँमा फरक अवस्थामा छ । प्रदेश १ र २ एवं सुदूरपश्चिम र कर्णाली प्रदेशमा संक्रमित बढ्दै छन् भने गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा घट्दो अवस्थामा देखिएको डा. श्रेष्ठको भनाइ छ । देशभरिको समग्र संक्रमणमा आशातित नभए पनि संक्रमणको ट्रेन्ड घट्दो अवस्थामा रहेको जनाउँदै स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘काठमाडौं जिल्लामा संक्रमण दर घटेर २३ प्रतिशत पुगेको छ ।’ मुलुकमै सर्वाधिक संक्रमित भएको जिल्ला काठमाडौंमा यो साता संक्रमण घट्दो देखिएको छ भने उपत्यका बाहिर बढ्दो अवस्थामा देखिएको ईडीसीडीको तथ्यांक छ । निषेधाज्ञा र त्यसपछि संक्रमितहरू काठमाडौंबाट बाहिर गएर नियमपूर्वक होम क्वारेन्टाइनमा नबस्दा गाउँगाउँमा संक्रमण फैलिएको औंल्याउँदै डा. पौडेल भन्छन्, ‘आवागमनमा कमी आएन भने उपत्यका बाहिर संक्रमण नियन्त्रण चुनौतीपूर्ण हुन्छ । स्थान विशेषमा कडाइ गर्नुपर्छ ।’

अहिले देशभरिमा मात्र ६० प्रतिशत आवागमन घटेको तथ्यांक छ । स्वास्थ्य मन्त्रालयका विज्ञहरूले आशा गरे जति आवागमन घटेको छैन । आवागमनमा अपेक्षित कमी नआएकाले उपत्यका बाहिर संक्रमणमा विस्तार देखिएको प्रारम्भिक आकलन गरिएको छ । 

कोभिड संक्रमणमा कमी ल्याउन स्वास्थ्य मन्त्रालयले रोकथामको सूक्ष्म योजना परिवार, टोल, अपार्टमेन्ट तथा आवासीय क्षेत्र, वडा र पालिकास्तरमा लागू गर्दै छ । यसअन्तर्गत कोभिड बिरामीको व्यापक खोज पड्ताल, तिनीहरूको परीक्षण, उचित व्यवस्थापन र आइसोलेसन सुनिश्चितता गरिनेछ । यस्तै कोभिड बिरामीका सम्पर्कमा आएकाहरूको निगरानी गरी क्वारेन्टाइनमा बस्ने, परीक्षण गर्ने स्वास्थ्य मापदण्ड अनुसरण गरे/नगरेको सुनिश्चितता गरिनेछ । डा. पौडेलका अनुसार यो सूक्ष्म योजनाले समुदायमा फैलिरहेको संक्रमणको चक्रलाई तोड्ने विश्वास लिइएको छ । हाल कोभिडले देखिने मृत्यु उच्च नै रहेको औंल्याउँदै उनले भने, ‘यो साता जेठ ३ देखि ९ गतेसम्म सबैभन्दा बढी १३ सय ४५ जनाको मृत्यु भएको छ ।’ 

कोरोना खोपकोरोना भाइरस

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully