२१ फागुन २०८२ को निर्वाचनमा रास्वपाबाट तीन मधेशी महिलाले निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतले पराजित गरेका छन् । मोरङ–५ बाट आशा झा, सप्तरी–१ बाट पुष्पाकुमारी चौधरी र महोत्तरी–४ बाट गौरी कुमारी निर्वाचित भएका हुन् ।
What you should know
जनकपुर — कांग्रेसकी सीतादेवी यादव र चित्रलेखा यादव हुन्– सिरहाबाट प्रत्यक्ष चुनाव जितेकी मधेशी महिला । राप्रपा छोडेर तत्कालीन मधेशी जनअधिकार फोरममा आएपछि सप्तरीबाट रेणु यादवले निर्वाचन मात्र जितिनन्, पार्टीको उपाध्यक्षसमेत भइन् ।
२०७९ को आमनिर्वाचनमा एमालेकी जुली महतो धनुषाबाट र ज्वाला साहले बाराबाट प्रत्यक्ष चुनाव जितिन् । महोत्तरीबाट दुई पटक उम्मेदवार बनेकी कांग्रेसकी किरण यादव २०८२ को निर्वाचनमा पनि चुकिन् । संसदीय राजनीतिमा महिलाको सहभागिता ३३ प्रतिशत सुनिश्चित गरिए पनि मधेशी महिला प्रत्यक्षतर्फ चुनाव भिड्न अनकनाउने तर दलले उम्मेदवार बनाउनै परे ‘असुरक्षित’ क्षेत्र भिडाइदिने प्रवृत्ति छ । समानुपातिकतिर आकर्षित हुने मधेशी महिलाहरूले प्रत्यक्ष निर्वाचन लड्ने आँट गर्नु नै ठूलो हिम्मत हो ।
२०८२ फागुन २१ को निर्वाचनमा तीन मधेशी महिलाले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा फराकिलो मतले विजय हासिल गरेका छन् । संयोगले तीनै महिला उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हुन् । मधेशमा ‘बालेन लहर’ बीच मोरङ–५ बाट ४२ वर्षीया आशा झा, सप्तरी–१ बाट ३६ वर्षीया पुष्पाकुमारी चौधरी र महोत्तरी–४ बाट ५४ वर्षकी गौरी कुमारीले फराकिलो मतले चुनाव जितेका छन् ।
मधेशी समुदायको बाहुल्य तर मिश्रित बसोबास रहेका मोरङ–५ का लागि झा नयाँ अनुहार थिइन् । त्यो क्षेत्रबाट चुनाव जितिसकेका नेकपाका शिवकुमार मण्डल, २०५९ को निर्वाचन जितेका स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल, जसपा नेपालका राजकुमार यादवलगायतका दिग्गज र पुराना उम्मेदवारलाई पछि पार्दै झाले कांग्रेसका नयाँ अनुहारका उम्मेदवार फुलकुमार लालबानीलाई निकटतम प्रतिद्वन्द्वी बनाउँदै चुनाव जितिन् । उनले ३० हजार ४ सय ३४ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी लालवानी ९ हजार ४ सय १५ मतमै सीमित भए ।
करिब १६ वर्षदेखि विभिन्न सामाजिक तथा जनस्वास्थ्य अभियानमा सक्रिय झाले समुदायसँग प्रत्यक्ष जोडिएर काम गर्ने महिला नेतृको पहिचान बनाएकी छन् । महिला सशक्तीकरण, स्वास्थ्य सचेतना, युवा रोजगारी र सामाजिक जागरणका अभियानमा उनको सक्रियता थियो । यही अनुभव र विश्वसनीयताले उनलाई मतदातामाझ फरक पहिचान दिलाउँदै संसद्सम्म उक्लिने सिँढी तय गरेको थियो । ‘सामाजिक क्षेत्रमा काम गरेकाले मतदातामाझ धेरै प्रश्न वा आलोचना खेप्नु परेन,’ झाले भनिन्, ‘मधेशी महिलालाई प्रत्यक्ष चुनाव लड्न गाह्रो हुन्छ सुनेको थिएँ तर मैले त्यस्तो महसुस गरिनँ ।’
‘गायत्री परिवार’ सँग आबद्ध भएर उनले नैतिक तथा सांस्कृतिक शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएकी थिइन् । उनले विभिन्न सामाजिक तथा आध्यात्मिक जागरण कार्यक्रम आयोजना गर्नुका साथै स्वयंसेवक व्यवस्थापन र समुदाय समन्वयमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । सामाजिक सुधार, वातावरण संरक्षण र समुदाय सचेतनाजस्ता अभियानमा उनको सक्रिय सहभागिता देखिँदै आएको छ । ‘मधेशी महिला नागरिक समाज’ मार्फत झाले मधेशी महिलाको हक अधिकार, कानुनी सचेतना र नागरिकतासम्बन्धी मुद्दा उठाउँदै आएकी थिइन् । शिक्षाशास्त्रमा स्नातक झाले प्रतिनिधिसभामा पनि मधेशी महिलाको सवालमा बुलन्द आवाज उठारहने वाचा गरिन् ।
०००
महोत्तरी–४ को आफ्नै कथाव्यथा छ । महोत्तरीको दक्षिण–पश्चिमी ग्रामीण इलाका समेटेर निर्धारण गरिएको यो क्षेत्र आधारभूत आवश्यकतामा जिल्लाको अन्य क्षेत्रभन्दा पुछारमा छ । सम्सी गाउँपालिका, सोनमा गाउँपालिका, रामगोपालपुर नगरपालिकाका सबै वडा र औरही नगरपालिका तथा मनराशिसवा नगरपालिकाका केही वडा समेटेको महोत्तरी–४ विकास पूर्वाधारमा पनि कमजोर छ । मधेश प्रदेशकै कमजोर कडी रहेको शिक्षा, स्वास्थ्य, रोजगार त यो क्षेत्रको झन् साझा समस्या छँदै छ ।
महोत्तरी–४ का मतदाताले २०७४ को निर्वाचनमा चुनेका उम्मेदवार जसपा नेपालका डा. सुरेन्द्र यादव संघीय सरकारमा लामो समय स्वास्थ्य राज्यमन्त्री रहे । २०७९ र त्यसअघिको निर्वाचन २०५६ मा जितेका कांग्रेसका महेन्द्रकुमार राय उद्योग, वाणिज्य तथा आपूर्ति सहायकमन्त्री भइसकेका छन् । महोत्तरी–४ को (क) बाट प्रदेशसभामा जितेका एमालेका सरोजकुमार यादव केही समय मधेश प्रदेशका मुख्यमन्त्रीसमेत भए । १ लाख ७ हजार ६ सय ६ मतदाता रहेका महोत्तरी–४ बाट भने २१ फागुन २०८२ को निर्वाचनबाट नयाँ अनुहार ५४ वर्षीया गौरीकुमारी यादव उदाएकी छन् । उनले ३० हजार १ सय ३२ मत ल्याएर त्यो क्षेत्रको दिग्गज उम्मेदवारहरूलाई फराकिलो मतान्तरणले पछि पारिन् ।
विजयी रास्वपा उम्मेदवार गौरीका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका डा. यादव ८ हजार ७ सय ४२ मतमै समेटिए । कांग्रेसका महेन्द्रकुमार राय ६ हजार ९ सय ४४ मतमै सीमित भए । एमालेकी उम्मेदवार नीलम अधिकारी नयाँ अनुहार भए पनि उनले ६ हजार १ सय ९२ मत मात्र ल्याउन सकिन् । प्रदेश सांसदबाट राजीनामा गरेर नेकपाबाट उम्मेदवार बनेका भरतप्रसाद साहले ५ हजार ३ सय ३६ मत मात्र ल्याउन सके ।
महोत्तरीको सम्सी गाउँपालिकास्थित संग्रामपुर निवासी गौरी स्थानीय परिवेशमै हुर्के–बढेकी हुन् । उनी आफ्नो क्षेत्रको सामाजिक संरचना, भौगोलिक अवस्था र जनजीवनसँग नजिकबाट परिचित छिन् । यही अनुभवले उनलाई स्थानीय समस्या बुझ्ने र समाधान खोज्ने नेतृत्वका रूपमा स्थापित गरेको छ । गौरीले विज्ञान संकायमा प्रमाणपत्र तहसम्म अध्ययन गरेकी छन् । शिक्षा र सामाजिक चेतनालाई उनले आफ्नो सार्वजनिक जीवनको आधार बनाएको बताउँछिन् । ‘महोत्तरी–४ मा समस्याका चाङ छन् । धेरै समस्यासँग जानकार छु,’ गौरीले भनिन्, ‘मधेशमा समस्याको हल पुरुषले मात्र निकाल्छ भन्ने मनोविज्ञान छ । त्यसलाई मैले चिर्ने अठोट गरेकी छु ।’
महिला सशक्तीकरण, सुशासन र सामाजिक सुधारका मुद्दा निरन्तर उठाउने बताउँदै उनले अब संसद्मार्फत ती एजेन्डालाई नीतिगत तहमा लैजाने बताइन् । गौरीको राजनीतिक यात्रा नयाँ राजनीतिक धारसँग जोडिएको छ । वैकल्पिक राजनीति र पारदर्शिताको नारासहित उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध भएर सक्रियता देखाइन् । चुनावी मैदानमा स्थापित र प्रभावशाली दलका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपरे पनि गौरीले शिक्षा, सामाजिक चेतना र परिवर्तनको एजेन्डालाई आधार बनाएकै कारण मतदाताले विश्वास गरेको बताइन् । ‘विशेषगरी शिक्षित महिला नेतृत्वमा जानुपर्छ भन्ने मेरो बुझाइ छ,’ गौरीले भन्छिन्, ‘त्यही वैकल्पिक दृष्टिकोणले मतदातालाई आकर्षित गर्न सफल भएँ ।’
०००
उदयपुर जिल्ला छोएको बेल्टार हुँदै सप्तरीको दक्षिणी भूभागसम्म तोकिएको सप्तरीको निर्वाचन क्षेत्र नं. १ को भीमकाय समस्या भनेकै सप्तकोशीको बाढी, डुबान र कटान हो । तटीय क्षेत्रका मतदाता त यो समस्यासँग झन् नजिकबाट जुझिरहेका छन् नै, अशिक्षा, गरिबी, बेरोजगारी र स्वास्थ्य जटिलता त सप्तकोशीको दुःखभन्दा पीडादायी छ ।
सप्तकोशी नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, तिरहुत गाउँपालिका, कञ्चनरूप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिका गाभेर बनाइएको सप्तरी–१ मा १ लाख १९ हजार ४३ जना मतदाता छन् । २०४८ को निर्वाचनमा एमालेका हिरालाल चौधरी, २०५१ र २०५६ को निर्वाचनमा कांग्रेसका जयप्रकाश गुप्ता (आनन्द), २०६४ को निर्वाचनमा मधेशी जनअधिकार फोरमका हेमराज तातेड, २०७० को चुनावमा माओवादीका मानपुर चौधरी, २०७४ को चुनावमा संघीय समाजवादी पार्टीका सूर्यनारायण यादव र २०७९ को निर्वाचनमा जनता समाजवादी पार्टीका नवलकिशोर साह सुडी सप्तरी–१ बाट निर्वाचित भएका थिए । बहुदलपछि लगभग सबै दलका उम्मेदवारलाई मौका दिएको सप्तरी–१ ले भने २०८२ को चुनावमा रास्वपाकी पुष्पाकुमारी चौधरीलाई पनि ठूलो मतसहित भरोसा गरेको छ ।
रास्वपाकी चौधरीले ३८ हजार १ सय ९५ मत ल्याएर विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी स्वाभिमान पार्टीका सुमितकुमार साहले ७ हजार ८ सय ४७ मत मात्र ल्याउन सके । एमालेका उपल्ला नेता सुमनराज प्याकुरेल तेस्रो भए । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका दाजु जयकान्त राउत पाँचौं भए । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियाकी चौधरी अनमी पढेकी हुन् । ५ मंसिर २०४६ मा जन्मिएकी उनी यसअघि २०७९ मा रास्वपाबाट समानुपातिक उम्मेदवार थिइन् । तर, थारू सूचीको पाँचौं नम्बरमा रहेकी उनी त्यसबेला सांसद बन्न सकिनन् ।
