कांग्रेसबाट विजेता थापाले निर्वाचनमा १२ हजार ३ सय ७२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७ सय ९६ मत प्राप्त गरे
What you should know
सुर्खेत — दैलेख–१ क्षेत्रबाट कांग्रेसकी बासना थापा प्रतिनिधिसभा सदस्यमा विजयी हुँदै कर्णालीमै एक्ली महिला सांसद बनेकी छन् । १५ जेठ २०३७ मा काठमाडौं महानगरपालिका–९ मा जन्मिएकी थापा ४५ वर्षको उमेरमा संसद्को यात्रामा छिन् ।
२०५७ सालमा दैलेख नारायण नगरपालिका–२ का रूपक थापासँग बिहे गरेर दैलेख आएकी बासना त्यसपछि यस क्षेत्रमा सामाजिक एवं राजनीतिमा सक्रिय थिइन् । पटक–पटक प्रतिनिधिसभामा निर्वाचित प्रतिस्पर्धी उम्मेदवारलाई पराजित गर्दै उनले संसद्को यात्रा तय गरेकी हुन् ।
कर्णालीका १२ क्षेत्रमध्ये ११ मा पुरुष उम्मेदवार विजयी भएका छन् । थापाले यस निर्वाचनमा १२ हजार ३ सय ७२ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्माले भने ११ हजार ७ सय ९६ मत प्राप्त गरे । रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १ सय ५१ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका अमरबहादुर थापाले ४ हजार २ सय ५६ मत प्राप्त गरे । रास्वपाको पक्षमा देशभर जनलहर चलेका बेला थापा उनै नेतृ हुन्, जो पुराना दलबाट एक मात्र प्रत्यक्ष महिला सांसद चुनिएकी हुन् । २०४८, २०५१ र २०६४ सम्मका सबै निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसले अविजित यात्रा निकालेको थियो ।
२०६४ सालसम्मका तीन निर्वाचनमा कांग्रेसका गणेशबहादुर खड्काले जितेका थिए । तर २०७० मा सम्पन्न दोस्रो संविधान सदस्यको निर्वाचनमा खड्कालाई हराएर तत्कालीन नेकपा एमालेका नेता अम्मरबहादुर थापाले जिते । त्यसयता सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले २०७४ मा हलो र २०७९ मा हँसिया हथौडामा भोट हालेको थियो ।
थापाको जनप्रतिनिधि बन्ने यो दोस्रो प्रयास हो । उनी २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दैलेखको नारायण नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी थिइन् । तर, उनी एमालेकी सावित्री मल्लसँग पराजित भइन् । उक्त निर्वाचनमा उनले ४ हजार ८ सय ५५ मत प्राप्त गरेकी थिइन् । ‘मेरा लागि पुराना र अनुभवी नेता रवीन्द्रराज शर्मा र अम्मरबहादुर थापासँग प्रतिपर्धा गर्नु त्यति सहज थिएन,’ उनले भनिन् ।
एकातिर महिला त्यसमाथि पुराना र अनुभवी नेता आफ्ना प्रतिस्पर्धी । कांग्रेसले दैलेखबाहेक अन्य जिल्लामा महिलालाई प्रत्यक्षको टिकट दिएको थिएन । रास्वपाबाहेक अन्य ठूला दलले कर्णालीमा महिलालाई प्रत्यक्षतर्फको टिकट दिएका थिएनन् । रास्वपाले जुम्लाबाट विनीता कठायत र हुम्लाबाट प्रत्यक्षतर्फ टासी लामालाई टिकट दिएको थियो । तर दुवै जनाको जमानत जफत भयो ।
काठमाडौंमा जन्मिए–हुर्किएकी बासना थापाको पारिवारिक पृष्ठभूमि राजनीतिक हो । तसर्थ सानैदेखि उनलाई राजनीतिमा चासो थियो । २०१५ सालमा बासनाका हजुरबुबा नरबहादुर थापा काठमाडौं–१ बाट सांसद निर्वाचित भएका थिए । सानै उमेरबाटै राजनीति कसरी गर्ने भन्ने सिकेकाले उनी नेपाली कांग्रेसको भातृ संगठनमा जोडिँदै आइन् । २०५७ सालमा कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघमा आबद्ध भइन् । नेविसंघ हुँदै दैलेखमा २०६१ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्य बनिन् ।
कांग्रेसको १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेकी थापा १४ औं महाधिवेशनमा सहासमिति सदस्य बनेकी हुन् । थापा दैलेख सदरमुकाममा रहेको होटल पार्किङकी सञ्चालकसमेत हुन् । भारतको भीमराव विश्वविद्यालयबाट सोसोलोजीमा स्नातकोत्तर गरेकी उनले सोही विद्यालयबाट विद्यावारिधि गरेकी छन् ।
बासनामा सानैदेखि नेतृत्व गर्ने स्वभाव रहेको बासनाकी साथी उमा थापा बताउँछिन् । उमा र बासना कक्षा दुईदेखि एसएलसीसम्म काठमाडौंको ज्ञानोदय माध्यमिक विद्यालय बाफलमा पढेका हुन् । ‘हाम्रो पारिवारिक सम्बन्ध पनि भएकले हामी धेरै समय सँगै बिताउँथ्यौं । बासना सानैदेखि सहयोगी स्वभावकी थिइन् । कसैलाई समस्या परे सहयोग गर्ने बानी थियो । हाम्रो कक्षामा उनको पहिलेबाटै नेतृत्व गर्ने र निकै हक्की स्वभाव थियो,’ उमाले भनिन् ।
बासना यो स्थानमा पुग्नुमा उनका श्रीमान् एवं ससुराबुबाको ठूलो सहयोग रहेको उमाले बताइन् । ‘बासनाको मिहिनेत र संघर्ष पनि धेरै थियो, उनले राजनीतिक मात्र गरिनन्, समाजमा सामाजिक सेवा पनि उत्तिकै गरेको देखिन्थ्यो,’ उनले भनिन् ।
‘निकै ठूलो चुनौती पार गरेर चुनाव जितें’
प्रतिनिधिसभा सदस्य निर्वाचित हुन बासना थापाले निकै संघर्ष र चुनौती सामना गर्नुपरेको बताएकी छन् । महिला उम्मेदवार भएकै कारण सामाजिक सञ्जालमा डिजिटल आक्रमण भएको उनको भनाइ छ । ‘महिलालाई यहाँ अघि बढ्न धेरै चुनौती सामना गर्नुपर्ने रहेछ,’ उनले भनिन्, ‘तर, हार मान्नु हुन्न रहेछ ।’
परिवर्तन चाहनेहरूले भोट दिएका कारण आफूलाई चुनाव जित्न सहज भएको उनले जनाइन् । ‘राजनीतिले मात्र चुनाव जित्न नसकिने रहेछ । सामाजिक कार्यको पनि उत्तिकै महत्त्व हुँदो रहेछ । म लायन्स क्लबलगायत संस्थाको सहयोगमा सामाजिक कार्यमा उत्तिकै सक्रिय रहें । यो निर्वाचनले मलाई लाग्यो, पार्टीभन्दा पनि व्यक्तिको विशेष भूमिका महत्त्वपूर्ण हुने रहेछ,’ उनले भनिन् ।
