समाजमा व्याप्त बेथितिविरुद्ध आवाज उठाउँदै, असहयोग वर्ग/समुदायलाई सहयोग र संरक्षण गर्दै र अधिकार प्राप्तिको अभियान चलाउँदै आएका इन्दिरा रानामगर, आशिका तामाङ र रुबिना आचार्य राजनीतिक दलमा आबद्ध भएको छोटो समयमै नीति निर्माण तहमा पुगेका छन्
What you should know
काठमाडौँ — आशिका तामाङले दुई महिनाअघि जेन–जी घाइतेहरूसँगै बसेर व्यंग्यात्मक भिडियो बनाएकी थिइन् । जेन–जी आन्दोलनको आइकोनिक जुत्ताका हकदार घाइते प्रकाश बोहरालाई सडकमा साक्षी राखेर भनेकी थिइन्, ‘उसको जुत्ता सडकमा । त्यो जुत्ता बनाउने गोल्डस्टार मालिक्नीचाहिँ सदनमा । ल हेर्नुस् देशको हविगत । जुत्ताको राजनीति ।’
हिजो सडकमा बसेर बेथिति र गलत प्रवृत्तिविरुद्ध खबरदारी गरिरहने उनै आशिका अहिले सदनमा पुगेकी छन् । धादिङ–१ मा रास्वपाबाट उम्मेदवार बनेकी उनी ३९ हजार १ सय २८ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् ।
हिजो सडकमा बसेर बेथिति र गलत प्रवृत्तिविरुद्ध खबरदारी गरिरहने उनै आशिका अहिले सदनमा पुगेकी छन् । धादिङ–१ मा रास्वपाबाट उम्मेदवार बनेकी उनी ३९ हजार १ सय २८ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् ।हिजो सडकबाट घाइतेहरूको ‘घाउमा मलम’ लगाउने र गलत बेथितिविरुद्ध चर्को आवाज उठाउने आशिकाको शैलीसँग आमनागरिक परिचित छन् । अभिव्यक्ति र क्रियाकलापले आशिका सामाजिक सञ्जालमा छाएको करिब ८ वर्ष भयो । सन् २०१८ तिर उनले भिडियोमा रुँदै ‘निर्दोष खसीहरूलाई किन काट्ने ?’ भनेर कारुणिक प्रश्न गरेकी थिइन् । उनको प्रस्तुति नाटकीय र अस्वाभाविक लागेर फेसबुक प्रयोगकर्ताले ‘ट्रोल’ समेत गरे ।
त्यसपछि विभिन्न समयमा सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान खिचिरहेकी आशिका दुई वर्षयता सडकमा आक्रामक देखिन थालिन् । आँखामा रेबन चस्मा लगाएर उनी सडक, होटल, बसपार्कदेखि विमानस्थलका पार्किङसम्म पुगिन् । चस्मामा भएको क्यामेराले उनको गतिविधि रेकर्ड गर्थ्यो । उनी कहिले होटलमा गएर पानीको मूल्यलाई लिएर चर्को प्रश्न गर्थिन् । पार्किङस्थलमा पुगेर निःशुल्क पार्किङ हुनुपर्ने भन्दै त्यहाँका कर्मचारीलाई गाली गर्थिन् ।
आशिका राजमार्ग छेउका होटल–होटलमा पुगेर गुणस्तरहीन खानालाई महँगोमा बेचेको भन्दै खबरदारी गर्थिन् । उनी जहाँ–जहाँ जान्थिन्, दृश्य कैद गर्थिन् र सार्वजनिक गर्थिन् । उनको कामलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा, गाली र ‘ट्रोल’ सँगसँगै गरिन्थे ।
आशिकाको कतिपय कार्यशैली भने आलोचित र कानुनविपरीत थियो । उनको गतिविधिले कुनै कर्मचारी र व्यक्तिको गोपनीयता भंग भइरहेको हुन्थ्यो । मानिसलाई दुर्व्यवहार गरेको आरोपमा आशिका दुई पटक पक्राउ परिन् । २ माघ २०८१ मा पहिलो पटक उनलाई प्रहरीले काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो । दोस्रो पटक त्यही वर्ष १४ माघमा समातिइन् । १८ माघमा भक्तपुर जिल्ला अदालतले उनलाई २० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो ।
आशिकालाई जसले ट्रोल गर्थे, गाली गर्थे, कालान्तरमा उनीहरू नै आशिकालाई प्रेमको आँखाले हेर्न थाले । उनीप्रति मानिसको दृष्टिकोणमा अचानक कसरी ‘युटर्न’ आयो त ? यो बुझ्न जेन–जी आन्दोलनपछिका दृश्यहरूतर्फ फर्कनुपर्छ । गत २३ र २४ भदौमा ७६ जनाले ज्यान गुमाए, सयौं घाइते भए । घाइतेहरू अस्पतालमा छटपटाइरहेका थिए, उनीहरूको परिवार आर्थिक अभावसँग जुधिरहेको थियो । राज्यको उपस्थिति कमजोर भइरहेको त्यही समयमा घाइतेलाई प्रेमपूर्ण व्यवहार गर्दै आशिका अस्पतालका शय्या र अभावले रित्तिएका डेराहरू पुगिन् । त्यो दृश्य उनले फेसबुक पेजमार्फत सार्वजनिक गरिन् ।
पैसाकै कारण उपचार औषधि रोकिएकालाई पनि आर्थिक सहयोग गरिन् । खाद्यान्न बाँडिन् । अघिल्ला भिडियोहरूमा रुखो र आक्रोशित देखिने आशिकाको कोमल र स्नेहजडित स्वरूप देख्दा मानिस भावविह्वल भए । उनी डेरा वा अस्पतालमा पुग्दा परैदेखि घाइतेलाई स्नेही लवजमा बोलाउँथिन्, ‘बाबु, कान्छा । कस्तो छ तिमीलाई ?’ कतिपय घाइतेले आँखाभरि आँसुसहित भन्न थाले, ‘तपाईं त हाम्री दिदी हो । आशिका दिदी ।’
आशिका जनावर प्रेम पनि उत्तिकै व्यक्त गर्थिन् । जस्तो कि पशुपति परिसरमा उनी बाँदरहरूका लागि फलफूल बाँडिरहेको देखिन्थिन् । चराहरूलाई चारो खुवाइरहेको देखिन्थिन् ।
आशिका जनावर प्रेम पनि उत्तिकै व्यक्त गर्थिन् । जस्तो कि पशुपति परिसरमा उनी बाँदरहरूका लागि फलफूल बाँडिरहेको देखिन्थिन् । चराहरूलाई चारो खुवाइरहेको देखिन्थिन् । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आशिकाले अचानक २५ पुसमा काठमाडौं क्षेत्र नं. १ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिन् । उनले आफू एक्लै भए पनि परिवर्तनको यात्रामा निस्किएको बताएकी थिइन् । सुरुमा राजनीतिक दलबिना नै उठ्छु भनेकी उनी ५ माघमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरिन् ।
रास्वपाबाट टिकट पाएपछि आशिकाले केही अप्ठ्यारा परिस्थिति सामना गरिरहनुपर्यो । आशिकाका श्रीमान् थोमस जर्मन नागरिक भएकाले उनीसँग जर्मनीको ‘पीआर’ (स्थायी आवासीय अनुमतिपत्र) भएको हल्ला फैलाइयो । त्यसले उनको उम्मेदवारीमा प्रश्न उठ्यो । निर्वाचन आयोगले कागजात छानबिन गर्दा उम्मेदवारीका लागि चाहिने कानुनी मापदण्ड पूरा भएको पाइएपछि उनको उम्मेदवारी कायमै रह्यो ।
चुनावका बेला पनि आशिका ‘ट्रोल’ हुन छाडिनन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनी कहिले कुखुराको भालेसँग भोट मागिरहेको देखिन्थिन् त कहिले बाख्रासँग । चुनावको केही समयअघि उनले भाषण गर्ने क्रममा जिब्रो चिप्लिएर एउटा भन्न खोज्दा अन्यथा भएको थियो, ‘म यहाँ भ्रष्टाचार गर्न आएकी हुँ ।’ उनले भन्न खोजेको ‘भ्रष्टाचार रोक्न आएकी हुँ’ थियो । ट्रोल, गाली र प्रशंसाको लहरमा अन्ततः आशिकालाई धादिङ–१ का मतदाताले चुने । उनले भारी मतले चुनाव जितिन् ।
बाल श्रमिकदेखि सामाजिक अभियन्तासम्म
आशिकाले केही महिनाअघि सञ्जय सिलवाल गुप्तासँगको पडकास्टमा भनेकी थिइन्, ‘कसैले बाल श्रमिक भाइबहिनी देख्यो भने आशिका दिदी सम्झनू ।’ उनी चाहन्नन् कि कोही लेखपढ गर्ने उमेरमा श्रम गरोस् ।
किनकि बाल श्रमिकको पीडा आशिकाले बाल्यकालमै भोगेकी छन् ।
धादिङको मलेखुमा १ असोज २०४५ मा जन्मिएकी हुन् आशिका । जन्मेको केही वर्षमै आमा र बाको सम्बन्धविच्छेद भयो । आशिका बासँगै रहिन् । बुझ्ने हुँदादेखि नै गरिबी र अभावमा हुर्किएकी उनलाई धेरै वर्षसम्म थाहा थिएन कि उनीहरू बसिरहेको घर पनि आफ्नो होइन भनेर । त्यसमाथि अर्की आमाको अपहेलना र घरको आर्थिक अभावका कारण आशिकाले ८ वर्षकै उमेरमा बाको साथ छाड्नुपर्यो ।
उनी चितवनमा अर्कैको घरमा बाल श्रमिक बनेर स्कुल पढ्न थालिन् ।
थोमससँग आशिकाको भेट अघिल्लो पटक नै भएको थियो । उनीहरूबीच कुरा भइरहन्थ्यो । दोस्रो पटक जर्मनी पुगेपछि आशिकाले थोमससँग विवाह गरिन् ।केही वर्ष चितवन बसेर पुनः मलेखु फर्किइन् उनी । तर अर्की आमाले सहिनन् । उनलाई बाले मीतको घरमा लगेर राखे । घरको पिँढीमा आशिकालाई बस्नका निम्ति एउटा सानो कोठा बारिएको थियो । ‘त्यही घरमा बसेर मैले एसएलसी दिएँ,’ आशिकाले सुनाइन् ।
एसएलसीपछि आशिका नर्सिङ पढ्न काठमाडौं आइन् । नर्सिङमा भर्ना भइन् । उनले स्कुलदेखि नै जर्मन संस्थाको ‘स्कलरसिप’ मा पढेकी थिइन् । खर्च जर्मन संस्थाले बेहोरिदिन्थ्यो । मासिक ३ हजार ७ सय खर्च पनि आउँथ्यो । त्यही खर्चले उनले काठमाडौंको खर्च धानिन् । नर्सिङ कोर्स सकाएलगत्तै उनले कन्सल्टेन्सीमा गएर जर्मन भाषा पढ्न थालिन् । आशिकाको बाको चाहना थियो, छोरी जहाज चढेको हेर्ने । छोरीलाई पासपोर्ट बनाउन पनि उनले सहयोग गरेका थिए । आशिकालाई भन्थे, ‘तँ जर्मनी गएको हेर्ने ठूलो सपना छ ।’ दुर्भाग्य, आशिकाको भिसा लागेकै दिन बाले संसार छाडे ।
आशिका जर्मनी त गइन् । तर सुरुमा ६ महिनाभन्दा बढी टिक्न सकिनन् । फर्केर नेपाल आइन् । मलेखुमा भएका भाइबहिनी बिचल्ली भएको देखिन् । उनीहरूलाई काठमाडौं ल्याएर पढाउन थालिन् । त्यो बेला उनी आफैंले कन्सल्टेन्सी सुरु गरेकी थिइन् । तर आर्थिक बोझ बढ्दै गएपछि पुनः जर्मन जाने तयारी गरिन् । थोमससँग आशिकाको भेट अघिल्लो पटक नै भएको थियो । उनीहरूबीच कुरा भइरहन्थ्यो । दोस्रो पटक जर्मनी पुगेपछि आशिकाले थोमससँग विवाह गरिन् ।
कुनै समय आर्थिक अभावले ठूलो संघर्ष गर्नुपरेकी आशिकाका निम्ति यस्तो दिन पनि आए, उनीसँग धेरै विकल्प थिए । उनलाई आफू चिनिन मन थियो । उनले फिल्म रोजिन् । आफैं लगानी गरेर सन् २०१५ मा फिल्म ‘सुश्री’ बनाइन्, जहाँ अभिनेता आर्यन सिग्देलसँग स्क्रिन सेयर गरिन् । तर १ करोडभन्दा बढी नोक्सानी उनले बेहोरिन् । आफूलाई मानिसले चिनुन् भन्ने थियो आशिकालाई । तर न फिल्म चल्यो न चिने कसैले । उनी गहिरो पीडामा पुगिन् । त्यसपछि जर्मनी फर्किइन् । शुभचिन्तकले सम्झाए, ‘थोमसको पनि उमेर ढल्किँदै छ । अब आमा बन ।’
२०१६ मा उनले पहिलो सन्तानका रूपमा छोरा आरोनलाई जन्म दिइन् । आशिकाकी ४ वर्षीया छोरी आना पनि छिन् । ‘पहिलो पटक म आमा भएपछि मात्र फिल भयो कि म पनि कसैको पेटबाट जन्मेकी रहेछु,’ आशिकाले सञ्जय सिलवालसँगको पोडकास्टमा भनेकी छन् । कहिल्यै देख्न नपाएकी आमा यो धरतीमा छन् कि छैनन् पनि थाहा छैन आशिकालाई । ‘अहिले मलाई संसारले चिन्छ तर मेरी आमाले चिन्नु हुन्न,’ भावुक हुँदै उनले भनेकी छन् ।
आशिकाले जर्मनीबाट फर्केपछि देशमा भएका फोहोर याद गरेकी थिइन् । सन् २०१९ तिर ‘ग्रिन एन्ड क्लिन फाउन्डेसन’ खोलेर उनले सचेतना र सरसफाइ अभियान सुरु गरिन् । कोभिड महामारीका बेला उनले फाउन्डेसनमार्फत सहयोग गरिन् । ज्याला मजदुरी गरेर काठमाडौंमा बसेकाहरूलाई खाद्यान्न वितरण गरिन् । जाजरकोटका भूकम्पपीडितका लागि पनि उनले त्रिपालहरू सहयोग गरिन् ।
पशुपति विकास कोषका करार कर्मचारीलाई एक्कासि हटाइएको विषयमा प्रश्न उठाउँदा प्रहरीले २ माघ २०८१ मा उनलाई पक्राउ गरेर हिरासतमा राखेको थियो ।सन् २०१८ को दसैंमा सामाजिक सञ्जालमा राखिएको एउटा भिडियोले आशिकालाई भाइरल बनायो ।
राजनीतिमा लाग्ने सोच उनमा पलाएको भने धेरै भएको छैन । पशुपति विकास कोषका करार कर्मचारीलाई एक्कासि हटाइएको विषयमा प्रश्न उठाउँदा प्रहरीले २ माघ २०८१ मा उनलाई पक्राउ गरेर हिरासतमा राखेको थियो । ‘त्यति बेला व्यवस्था सुधार गर्न कानुनी र नीतिगत रूपमा काम गर्नुपर्छ भन्ने निष्कर्षमा पुगें अनि राजनीतिक रूपमा अगाडि बढ्ने निर्णय लिएँ,’ आशिकाले सुनाइन् ।
अबको पाँच वर्ष आशिका संसद्मा हुनेछिन् । त्यस अवधिका लागि उनका योजनाहरू के–के छन् ? ‘मेरा मुख्य प्राथमिकता भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अपनाउने, बालबालिकालाई विद्यालय जान प्रोत्साहन गर्ने, डिजिटल शिक्षाको व्यवस्थामा पहल गर्ने, जनतासँग नियमित संवाद गरेर नीतिगत सुधार गर्ने विषय हुनेछन्,’ आशिका भन्छिन् । ‘मेड इन धादिङ’ अभियान चलाएर किसानलाई मल, बीउ तथा कृषि सामग्री सहज रूपमा उपलब्ध गराउनका लागि कानुनी व्यवस्था गर्ने लक्ष्य पनि उनले राखेकी छन् ।
सडकमा आफ्नै शैलीमा खबरदारी गरिरहेकी आशिका अब नीति निर्माण गर्ने र जवाफदेही रहने ठाउँमा आफैं उभिएकी छन् । अबको पाँच वर्षमा उनी कति सबल र सफल देखिनेछिन्, त्यसको लेखाजोखा भने हुन बाँकी छ ।
०००
सयौं बालबालिकाकी आमा
रास्वपाकी इन्दिराले यस पटक झापा–२ बाट चुनाव जित्दै संसद्को यात्रा तय गरेकी हुन् । उनले ६० हजार १ सय १० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी पूर्वसभामुख देवराज घिमिरेले ११ हजार ३ सय ६८ मत मात्र प्राप्त गरेका थिए । घिमिरे एमालेका हुन् ।इन्दिरा रानामगर संसद्मा नयाँ अनुहार होइनन् । फरक यति हो, पहिले उनी समानुपातिक प्रणालीबाट चुनिएकी थिइन्, अहिले प्रत्यक्ष निर्वाचन प्रणालीबाट । अघिल्लो संसद्मा उनी उपसभामुख थिइन् । त्यति बेला जो सभामुख थिए, उनैलाई यसपालि इन्दिराले चुनावमा हराएकी हुन् ।
रास्वपाकी इन्दिराले यस पटक झापा–२ बाट चुनाव जित्दै संसद्को यात्रा तय गरेकी हुन् । उनले ६० हजार १ सय १० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी पूर्वसभामुख देवराज घिमिरेले ११ हजार ३ सय ६८ मत मात्र प्राप्त गरेका थिए । घिमिरे एमालेका हुन् ।
लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै इन्दिरा ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनको संघारमा रास्वपामा आबद्ध भएर राजनीतिमा लागेकी हुन् । त्यसपछि समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य हुँदै उनी उपसभामुख बनिन् । त्यसपछि पनि सामाजिक न्याय, बाल अधिकार, शिक्षा र मानवअधिकारका विषयलाई प्राथमिकतासाथ उठाउँदै आएकी थिइन् । उपसभामुख पदमा रहँदा केही व्यक्तिको भिसाको अन्तर्वार्ताका लागि अमेरिकी दूतावासलाई सिफारिस गरेको विषयले भने उनी विवादमा तानिएकी पनि थिइन् ।
इन्दिरा २०२७ मा झापाको शनिश्चरेमा जन्मिएकी हुन् । उनको परिवार उदयपुरबाट बसाइँ सरेर झापा पुगेको हो । उनको बाल्यकाल संघर्षपूर्ण थियो । पढ्ने उमेरमा विद्यालय जान पाउनु अरूका लागि सामान्य भए पनि इन्दिराको जीवनमा त्यो सहज थिएन । उनले करिब १० वर्षसम्म विद्यालय जान सकिनन् ।
ढिलो सुरु भए पनि अध्ययनलाई निरन्तर अघि बढाउँदै स्नातकसम्मको अध्ययन पूरा गरिन् । काठमाडौंमा शिक्षण गरिरहेका बेला उनले बालबालिकाको जीवनलाई नजिकबाट बुझ्ने अवसर पाइन् । त्यसपछि उनी समाजसेवामा अग्रसर भइन् । उनले एक मात्रै सन्तान (सुबानी रानामगर) लाई जन्म दिइन् तर सयौं सन्तानलाई कर्म दिएकी छन् । त्यसैले उनलाई सयौं बालबालिकाकी ‘आमा’ पनि भन्ने गरिन्छ ।
इन्दिराले विशेष गरी जेलमा रहेका कैदीबन्दीका बालबालिका र अभिभावकविहीन बालबालिका देखेपछि शिक्षा र संरक्षणमा लाग्ने संकल्प गरेको इन्दिरा बताउँछिन् । त्यस्ता बालबालिकालाई सहयोग गर्न उनले बन्दी सहायता नेपाल नामक संस्था स्थापना गरिन् । कैदीबन्दीका बालबालिका र तिनका परिवारलाई सहयोग गर्ने अभियान चलाइन् । दुई दशकभन्दा बढी समयदेखि संस्थाले जोखिममा परेका बालबालिकाको संरक्षण, शिक्षा र समग्र विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
समाजमा गरेको योगदानका कारण उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा धेरै सम्मान र पुरस्कार प्राप्त गरेकी छन् । सन् २०१७ मा बीबीसीले उनलाई विश्वका १०० प्रभावशाली महिलाको सूचीमा उनलाई राखेको थियो । सूचीमा परेपछि उनको कामले अन्तर्राष्ट्रियस्तरमा चर्चा पाएको थियो ।इन्दिराको संस्थाले १२ बालगृह, दुई विद्यालय र चार दिवा हेरचाह केन्द्र सञ्चालन गरिरहेको छ । यी केन्द्रमार्फत करिब १ हजार ५ सय बालबालिकाको हेरचाह भइरहेको संस्थाको भनाइ छ । संस्थाले बालबालिकालाई आश्रय त उपलब्ध गराउँछ नै, शिक्षा, स्वास्थ्य, मानसिक सहयोग र जीवन उपयोगी सीपका अवसर पनि प्रदान गर्छ । कोभिड–१९ महामारीका कठिन दिनहरूमा पनि इन्दिराले समाजसेवालाई निरन्तरता दिइन् । महामारीका कारण धेरै मानिस बेरोजगार र घरबारविहीन बनेका थिए । यस्तो अवस्थामा उनले ‘भोकका लागि खाद्य कार्यक्रम’ सञ्चालन गरिन् ।
असहाय बालबालिकाका लागि निरन्तर काम गर्दै आएकी इन्दिरा नेपालमा बाल अधिकारका क्षेत्रमा अग्रणी महिला अभियन्तामध्ये एक मानिन्छिन् । समाजमा गरेको योगदानका कारण उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा धेरै सम्मान र पुरस्कार प्राप्त गरेकी छन् । सन् २०१७ मा बीबीसीले उनलाई विश्वका १०० प्रभावशाली महिलाको सूचीमा उनलाई राखेको थियो । सूचीमा परेपछि उनको कामले अन्तर्राष्ट्रियस्तरमा चर्चा पाएको थियो ।
विश्वमा उत्कृष्ट समाजसेवा गर्ने व्यक्तिलाई प्रदान गरिने अन्तर्राष्ट्रिय मानवतावादी अवार्ड २०२० को शीर्ष तीन स्थानमा पनि इन्दिरा परिन् । यो पुरस्कार सामाजिक परिवर्तनका लागि नवीन पहल गर्ने व्यक्तिलाई प्रदान गरिन्छ । सन् २००९ मा उनलाई एसिया–२१ युवा नेता सार्वजनिक सेवा पुरस्कार प्रदान गरिएको थियो । सन् २०१४ मा उनले ‘अनररी अवार्ड’ प्राप्त गरिन् भने सोही वर्ष विश्व बाल पुरस्कारका लागि मनोनयनमा परेका तीन व्यक्तिमध्ये उनी पनि एक थिइन् ।
नेपालभित्र पनि इन्दिराले धेरै महत्त्वपूर्ण पुरस्कार प्राप्त गरिसकेकी छन् । समाजसेवाको क्षेत्रमा गरेको योगदानका कारण लीलाराम–कुन्तीदेवी न्यौपाने समाजसेवा पुरस्कार, नईखरु गौरव पुरस्कार, उत्कृष्ट समाजसेवी पुरस्कार, सामाजिक विकास पुरस्कारलगायतका विभिन्न सम्मान उनले प्राप्त गरिन् । संघर्षरत महिला विकास पुरस्कार र संघर्षकारी महिला पुरस्कारजस्ता सम्मानले पनि उनको योगदानको कदर गरेका छन् ।
कोइराला विरासत ढलाउने रुबिना
विराटनगरकी रुबिना आचार्य कांग्रेस नेता शेखर कोइरालालाई ठूलो मतान्तरले पराजित गरेर चर्चामा छिन् । मोरङ–६ मा रुबिना ५५ हजार ५ सय १३ मतसहित विजयी हुँदा कोइराला १२ हजार ८ सय ५० मतमा सीमित भए । कोइराला परिवारको विरासत मानिने यस क्षेत्रमा २०७९ मा शेखरले चुनाव जितेका थिए । रुबिना विराटनगर–४ मा जन्मिएकी हुन् । उनले प्रारम्भिक शिक्षा विराटनगरमै लिइन्, काठमाडौं विश्वविद्यालयबाट एमबीए पूरा गरिन् ।
रुबिना पारिवारिक राजनीतिक पृष्ठभूमिबाट आएकी होइनन् । उनी २२ वर्षको उमेरदेखि वैकल्पिक शक्तिका रूपमा आएको विवेकशील नेपाली पार्टीमा सक्रिय थिइन् । युवा पुस्तालाई राजनीतिमा सहभागी गराउने, पारदर्शिता, सुशासन र नागरिक अधिकारका सवाललाई उठाउने अभियानमा सक्रिय भइन् । त्यति बेला पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको आवाज उठाउँदै आएको विवेकशील अभियानले धेरै युवालाई आकर्षित गरेको थियो । यही अभियानमा सक्रिय रहँदै रुबिनाले विभिन्न आन्दोलन र कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह गरिन् । विशेष गरी महिलाका अधिकार, नागरिक सहभागिता र सामाजिक न्यायका विषयमा उनले निरन्तर आवाज उठाइन् ।
संकटका बेला नागरिकलाई सहयोग गर्न रुबिना सधैं अघि सर्थिन् । महिला हिंसाविरुद्धका अभियानमा पनि उनी निरन्तर सक्रिय रहिन् ।रुबिना सामाजिक अभियानहरूमा पनि सक्रिय थिइन् । चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीले सञ्चालन गरेको आन्दोलनमा उनले सक्रिय सहभागिता जनाएकी थिइन् । त्यति मात्र होइन, युवालाई सहभागी गराउँदै आन्दोलनलाई सशक्त बनाउन पनि भूमिका निर्वाह गरिन् । कोरोना महामारीका कठिन दिनहरूमा सञ्चालन गरिएको ‘तातो भात अभियान’ मा पनि उनी सक्रिय रहिन् । महामारीका कारण आर्थिक संकटमा परेका धेरै मानिसलाई निःशुल्क खाना उपलब्ध गराउन उक्त अभियान चलाइएको थियो ।
संकटका बेला नागरिकलाई सहयोग गर्न रुबिना सधैं अघि सर्थिन् । महिला हिंसाविरुद्धका अभियानमा पनि उनी निरन्तर सक्रिय रहिन् । विवेकशील र साझा पार्टीबीच एकता भएपछि रुबिना युवा संगठन र महिला अभियानमा अझ सक्रिय भइन् । संगठन निर्माण, अभियान सञ्चालन र नीति बहसमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरिन् । विवेकशील साझा पार्टीको प्रथम केन्द्रीय महाधिवेशनपछि उनी केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भइन् । यसले उनलाई पार्टीभित्र नेताका रूपमा स्थापित गर्यो ।
रुबिनाले २०७४ को निर्वाचनमै सक्रिय भूमिका निभाएकी थिइन् । उनले त्यतिबेला काठमाडौं–२ मा चुनावी रणनीति निर्माण र स्वयंसेवक परिचालनमा भूमिका निर्वाह गरेकी थिइन् । युवा स्वयंसेवकलाई संगठित गर्ने, अभियान सञ्चालन गर्ने र नागरिकसँग प्रत्यक्ष संवाद गर्ने काममा उनी सक्रिय थिइन् । विवेकशील साझा युवा संगठनको बागमती प्रदेश समितिमा नेतृत्वदायी भूमिका निर्वाह गरिन् ।
विवेकशील साझा र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता भएपछि रुबिनाले मोरङ–६ का लागि टिकट पाइन् । संसदीय चुनावमा यो उनको पहिलो प्रतिस्पर्धा थियो । उनी युवा स्वयंसेवक परिचालन, घरदैलो कार्यक्रम, सामाजिक सञ्जालमार्फत संवाद र नागरिकसँग प्रत्यक्ष भेटघाटमार्फत उनी मतदाताबीच चिनिएकी थिइन् । त्यसले पनि उनलाई चुनाव जित्न सहयोग गर्यो ।
सामाजिक अभियान, युवा आन्दोलन र वैकल्पिक राजनीतिक अभ्यासमार्फत निर्माण गरेको पहिचानले रुबिनालाई राष्ट्रिय राजनीतिमा स्थापित गरेको छ । अब संसद्मा उनको भूमिका, उनले उठाउने मुद्दा र उनले प्रस्तुत गर्ने राजनीतिक दृष्टिकोणले नेपाली राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा धेरैको ध्यान केन्द्रित भएको छ ।
