२०७४ सालमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार हुँदा रञ्जु दर्शना २१ वर्षकी थिइन् । १७ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदा उनले समाजका पीडा र आशा देखेकी छन् । भन्छिन्, ‘आउने पुस्ताप्रतिको जिम्मेवारीले मलाई राजनीतिमा अघि बढायो ।’
What you should know
काठमाडौँ — आमनिर्वाचन– २०८२ मा चर्चाको शिखरमै थिइन् रञ्जु दर्शना । चुनावी घरदैलोमा आठ महिनाकी गर्भवती अवस्थामा उनको घरदैलो धेरैका लागि प्रेरणाको स्रोत बनेको थियो । साहस, दृढता र लगनशीलताको उदाहरण भन्दै मतदाताले उनको प्रशंसा गरिरहे ।
घरदैलो पुग्दा कतिले अँगालो हाल्दै स्वागत गरे भने कतिपयले २०७४ सालमा आफूले भोट दिएको रञ्जुलाई नै हो भनेर चिनाए । केहीले भने ‘यस्तो अवस्थामा किन हिॅडेको’ भन्दै चिन्ता व्यक्त गरे । र, ‘पानी खानु आफ्नो ख्याल गर्नु’ पनि भने । मतदाताबाट आएका यस्ता मिश्रित प्रतिक्रियाबीच रञ्जु निरन्तर अभियानमा जुटिरहिन् ।
चुनावी घरदैलोमा उनका श्रीमान् किशोर कुइँकेल पनि सँगै थिए । परिवारको साथले जस्तोसुकै परिस्थितिमा पनि अघि बढ्न सकिने आत्मविश्वास बढेको उनले बताइन् । कसैले उनको सक्रियतालाई गर्वका साथ सम्मान गरे भने कतिपय पुरुष मतदाताले आलोचनात्मक प्रश्न पनि सोधे । आलोचना सुन्दै, प्रश्नको जवाफ दिॅदै र साहस बटुल्दै उनी निर्वाचनमा विजयी भइन् ।
काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा उनले १५ हजार ४ सय ५५ मत प्राप्त गर्दै निर्वाचित भइन् । उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३ सय ६४ मत ल्याए भने रवीन्द्र मिश्र तेस्रो स्थानमा रहे । यसरी प्रत्यक्ष चुनावमा उठ्नुको कारण भने उनको पार्टीभित्रको असन्तुष्टि पनि थियो । समानुपातिक सूचीमा आफ्नो नाम पछाडि राखिएको भन्दै उनले प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिने निर्णय गरेकी थिइन् । मातृत्वको अवस्थालाई ध्यानमा राख्दै उनले सुरुमा समानुपातिकबाट उम्मेदवार बन्ने योजना बनाएकी थिइन् । पार्टीको प्राइमरी चुनावमा महिलातर्फ सर्वाधिक मत ल्याएकी उनलाई खस–आर्य महिला कोटामा पहिलो नम्बरमा सिफारिस गरिएको थियो, तर पछि सूची परिवर्तन हुँदा नाम तल राखिएको भन्दै उनले समानुपातिकबाट हटेर प्रत्यक्ष चुनाव लड्ने निर्णय गरिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–१ की उम्मेदवार बनेकी रञ्जु त्यसअघि विवेकशील साझा पार्टीमा सक्रिय थिइन् । विवेकशील साझा र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकीकरण भएपछि उनी रास्वपाकी केन्द्रीय सदस्य बनेकी हुन् । १७ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदा उनले समाजका धेरै पीडा र आशा देखेकी छन् । आउने पुस्ताप्रतिको जिम्मेवारीले आफूलाई राजनीतिमा अघि बढाइरहेको उनी बताउँछिन् ।
रञ्जुको राजनीतिक यात्रा २०७४ सालबाट सुरु भयो– काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार भएपछि । त्यसबेला उनी २१ वर्षकी थिइन् । कलिलो उमेरमा राजनीतिमा प्रवेश गरेकी उनी प्रस्ट वक्ता र खरो प्रश्न गर्ने युवतीका रूपमा चर्चामा आइन् । त्यसबेला उनको चर्चा देशैभर फैलिएको थियो । टेलिभिजन अन्तर्वार्ता, सामाजिक सञ्जाल र जनचासोका कारण उनी ‘चेलीबेटी’ बाट ‘सेलिब्रेटी’ बनेको अनुभूति गर्छिन् ।
सहर निर्माण, फोहोर व्यवस्थापन, यातायात र प्रदूषण जस्ता मुद्दा उठाउँदै उनी चुनावी मैदानमा उत्रिएकी थिइन् । मेयर चुनाव जित्न नसके पनि त्यसले उनलाई नेतृत्व, रणनीति र मतदातासँगको संवादमा अघि बढायो । मेयरको चुनावको अभियानको समय सम्झँदै उनले भनिन्, ‘चुनावमा जाँदै गर्दा म हार्न सक्ने कमेडीको पात्र बन्न सक्थें, तर त्यसलाई एउटा सिकाइका रूपमा लिएकी थिएँ । त्यही बिन्दुबाट राजनीतिप्रति झन् चासो बढायो ।’
मेयरको उम्मेदवारी दिनुअघि नै उनी सामाजिक अभियानमा सक्रिय थिइन् । २०७० सालदेखि विवेकशील नेपाली पार्टीमा संस्थापक उज्ज्वल थापाको विचारबाट प्रेरित हुँदै विवेकशील अभियानसँग जोडिएकी थिइन् । भ्रष्टाचारविरुद्धको आन्दोलनदेखि डा. गोविन्द केसीको समर्थनसम्म उनी सडक आन्दोलनमा देखिइन् । नेपालगन्जमा सडक नाटकमार्फत दाइजो प्रथाविरुद्ध सन्देश दिने अभियानमा पनि सहभागी भइन् । सामाजिक अभियानले आफूमा व्यावहारिक–राजनीतिक सोच विकास भएको उनी बताउँछिन् ।
अहिले ३० वर्ष पुगेकी रञ्जु पहिलेभन्दा धेरै परिपक्व भएको अनुभव गर्छिन् । छोराकी आमा भइसकेकी छन् । काठमाडौं विश्वविद्यालयबाट विकास अध्ययनमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरिसकेकी उनी नेतृत्वसँगै मातृत्वको जिम्मेवारी सम्हाल्दै राजनीतिक यात्रामा अघि बढिरहेकी छन् ।
आलोचना सुन्दै, प्रश्नको जवाफ दिॅदै र साहस बटुल्दै निर्वाचनमा विजयी भइन्– रञ्जु दर्शना । काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा उनले १५ हजार ४ सय ५५ मत प्राप्त गरिन्, मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३ सय ६४ मत ल्याए भने रवीन्द्र मिश्र तेस्रो स्थानमा रहे ।उनको बाल्यकाल भने सहज थिएन । उनी गर्भमै छँदा बुबाले परिवार छाडेका थिए । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा २०५२ सालमा जन्मिएकी रञ्जुको जीवनमा आमाको संघर्ष र मामाघरको साथ थियो । बुबाको माया कहिल्यै नपाए पनि आमालाई नै बुबाआमा मानेर हुर्किएकी उनले बुबाप्रति घृणा होइन, प्रश्न मात्र बोकेकी छन् । नागरिकता बनाउने क्रममा भने बुबा खोज्न बाध्य भइन् । आमाको नामबाट नागरिकता नपाउने व्यवस्थाले उनलाई पहिलो पटक राज्य संरचनाको जटिलता महसुस गरायो । बैंक खाता खोल्न नागरिकता आवश्यक भएपछि उनले बुबासँग भेट गरिन् । बुबाको अर्को परिवार भएकाले उनले हस्तक्षेप गर्न चाहिनन् । बुबाको अभावबारे उनी भन्छिन्, ‘मैले बाबाको माया नपाए पनि उहाँका अरू छोराछोरीको माया नखोसियोस् भन्ने सोच थियो ।’
विद्यालय जीवनमै उनी हक्की स्वभावकी विद्यार्थी थिइन् । छोटो कपाल, फरक पहिरन र केटा साथीहरूसँग खेल्ने बानीका कारण उनले आफूलाई कहिल्यै लैंगिक सीमाभित्र बाँधेर हेरेकी छैनन् । विद्यालयमै उनले ‘ब्रह्म कटेज हेल्पिङ ह्यान्ड’ नामको समूह बनाएर टोल सफा गर्ने, श्रमिकका छोराछोरीलाई अक्षर चिनाउने काम सुरु गरेकी थिइन् । उनले पढाएका विद्यार्थी अहिले कहाँ छन् भन्ने थाहा नभए पनि ‘रानी’ नामकी एक विद्यार्थी भने उनलाई अझै सम्झना छ । पाँच कक्षामा पढ्दा टोलको बाटो किन पिच हुँदैन भन्ने प्रश्नले उनलाई राजनीतितर्फ आकर्षित गर्यो । चुनाव आउँथ्यो, नेता आउँथे, तर बाटो कहिल्यै बन्दैनथ्यो । यही प्रश्नले उनलाई समाचार हेर्न, भाषण सुन्न र राजनीति बुझ्न प्रेरित गर्यो ।
एसएलसी सकेपछि उनले टेलिमार्केटिङको कामबाट पहिलो रोजगारी सुरु गरिन्, प्लस टुमा पढ्दै गर्दा कहिले पत्रकारिता त कहिले कानुनप्रति चासो बढ्यो । देश सुधार्ने र बस्नलायक समाज बनाउने उद्देश्यले उनलाई राजनीतितर्फ डोर्यायो । ‘नेपाल खुला छ’ अभियानको पर्चा बाटोमा भेटेपछि उनले त्यसबारे खोजिन् र त्यही अभियानमार्फत राजनीतिमा सक्रिय भइन् । २०७२ को भूकम्पका बेला उनी राहत वितरण र व्यवस्थापनमा अग्रपंक्तिमा थिइन् । त्यसबेला उनी शिक्षण अस्पतालमा मृतक व्यवस्थापनदेखि स्वयंसेवक समन्वयसम्मका काममा दिनरात खटिइन् । त्यो अनुभवले राज्यको तयारी कमजोर रहेको कुरा उनलाई झन् स्पष्ट बनायो ।
२०७५ मा विवेकशील पार्टी फुटेपछि उनले राजीनामा दिइन् । २०७९ मा काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडिन् । व्यवसायसँग जोडिएको ‘सेलरोटी’ नै उनको चुनाव चिह्न थियो । तर, त्यो चुनावमा उनले मात्रै ६ सय मत पाइन् र जमानत जफत भयो । त्यसबेला २०७४ जस्तो क्रेज पनि देखिएन । दुई पटकको हारपछि पनि उनले राजनीतिबाट पछि हट्ने सोच बनाइनन्् ‘मेरो उद्देश्य केवल चुनाव जित्नु थिएन, उत्तरदायी नेतृत्व सिर्जना गर्नु थियो,’ उनी भन्छिन् ।
दुई पटक हार बेहोरेकी उनी यस पटकचाहिँ निर्वाचित भइन् । व्यक्तिगत संघर्ष, सामाजिक अभियान र राजनीतिक अनुभवले उनलाई प्रतिनिधिसभा सदस्यको पहिचान दिएको छ । नयाँ पुस्ताप्रतिको जिम्मेवारी बोकेर राजनीति गरिरहेकी उनी भन्छिन्, ‘आफ्नो सन्तान र भावी पुस्ताले प्रश्न गर्ने दिन आउँछ, र त्यसको जवाफ दिन सक्ने समाज निर्माण गर्नु नै मेरो लक्ष्य हो ।’
