बेग्लाबेग्दै पेसाबाट राजनीतितिर

फरक पेसामा आफूलाई सावित गरिसकेका यी महिलाले संसद्मा आफूलाई कसरी उभ्याउलान् ? उनीहरूको संसदीय यात्रा कस्तो होला ? उनीहरूले आफ्ना वाचा पूरा गर्लान् कि नगर्लान् ?

फाल्गुन ३०, २०८२

रीना मोक्तान

Moving from profession to politics

What you should know

काठमाडौँ — कोही व्यवसाय गर्दागर्दै राजनीतिमा होमिए, कोही समाजसेवा हुँदै । कसैले पत्रकारिता गर्दा देखेका विसंगतिलाई सुधार्न राजनीति रोजे त कसैले मसला बनाउँदा बनाउँदै देश बनाउनुपर्ने दायित्वबोध गरे । जे होस्, प्रतिनिधिसभाको यो निर्वाचनले फरक पेसा र दृष्टिकोण बोकेका महिला उम्मेदवारलाई विजयी बनायो ।

आफ्ना प्रतिद्वन्द्वीलाई ३६ हजार ३ सय १० मतको फराकिलो अन्तरले हराउँदै सर्लाही–१ बाट विजयी नीतिमा भण्डारी (कार्की) पनि राजनीतिक पृष्ठभूमिकी होइनन् । बाजेको सेकुवा सम्हाल्दै आएकी नीतिमा करिब २० वर्षदेखि व्यवसायमा सक्रिय छिन् । उनी रेस्टुरेन्ट व्यवसायी मात्रै होइन, मसला व्यवसायी पनि हुन् । उनी विभिन्न रेस्टुराँका लागि मसलाको ‘रेसिपी सेट’ गर्छिन् । मसला ‘व्यञ्जन’ का लागि पनि ‘रेसिपी सेट’ गरेकी नीतिमा अलैंचीको व्यापार गर्छिन् । व्यवसायको यही लामो यात्रामै आफूले नीतिगतदेखि कृषकका समस्याहरू अनुभव गरेकै हुनाले उक्त समस्या समाधान गर्न राजनीतिमा होमिएको बताउँछिन् । उनलाई थाहा छ, नीति बनाउने ठाउँमै पुगेपछि किसानले सहँदै आएको समस्या समाधान गर्न सकिन्छ ।

‘व्यवसाय गर्दा मैले धेरै कानुनी अड्चन देखें । कानुनका कति क्राइटेरिया पूरा गर्न सक्दैनौं, रहेछौं हामीले । हामीसँग प्रोडक्ट हुँदाहुँदै पनि हामीले राम्रो बजार पाउँदैनौं, कानुनी अड्चन भएकै कारण,’ नीतिमाले भनिन्, ‘यो सबै किसानसँग सीधा जोडिएको काम हो । मेरो जुन क्षेत्र छ सर्लाही–१, यहाँ ९९ प्रतिशत नै किसान छन् । त्यहाँको समस्या भनेको भाउकै हो, बजार व्यवस्थापनकै हो । त्यसैले मेरो विज्ञता यही समाजलाई फिर्ता गर्न सकिन्छ कि भनेर नै राजनीतिमा आएकी हुँ ।’

Moving from profession to politics

व्यवसायमा हुँदा नीतिमाले उत्पादन र बजार व्यवस्थापनको समस्या नजिकबाट महसुस गरिनन् मात्र, स्वदेशभित्र भित्रिने ती विदेशी उत्पादनले कसरी यहाँका उत्पादनलाई विस्थापन गर्न खोज्छ भन्ने कुरालाई नियालेकी छन् । त्यसैले नीतिमालाई कृषिसँग प्रविधि जोड्नु छ । अनि बाहिरबाट आयात गर्दा विदेशिने नेपाली पैसालाई देशमै रोक्नु छ । ‘सर्लाही–१ नेपालकै सबैभन्दा बढी टमाटर उत्पादन हुने ठाउँ हो । तर त्यहाँ नजिकै सीमा छ, त्यहाँबाट विदेशी टमाटर आइदिन्छ । अनि हाम्रा किसानले भाउ पाउँदैनन् । हामीकहाँ केचअपदेखि रेस्टुरेन्टलाई चाहिने विभिन्न टमाटर पल्ब विदेशबाट आयात हुन्छ । यस्ता सामग्री उत्पादन गर्न मिल्ने उद्योगसँग हाम्रो उत्पादनलाई जोड्यौं भने त्यहाँको समस्या समाधान हुन्छ,’ नीतिमाले भनिन् ।

ज्ञानोदय स्कुलबाट विद्यालय अध्ययन गरेकी नीतिमाले पद्मकन्याबाट आईए गरेकी हुन् । बेलायतको ह्युस्टनमा रहेको वर्ल्ड स्ट्रिट कलेजबाट एकवर्षे बीटेक गरेकी उनले भिजन कलेजबाट कम्प्युटरमा डिप्लोमा गरिन् । बेलायतमा पुगेपछि नीतिमाले ‘फ्रेन्चाइज मोडल’ देख्ने र बुझ्ने मौका पाइन् । बेलायतबाट फर्केको ५–७ वर्षको तयारीपछि नै बाजेको सेकुवाले ‘फ्रेन्चाइज’ अभ्यास गरेकी हुन् ।

‘विदेशमा गएको अनुभवले नै यहाँ फ्रेन्चाइज मोडल कसरी सुरु गर्न सकिन्छ भनेर अभ्यास गरेका हौं,’ नीतिमाले भनिन्, ‘बाजेको सेकुवा नै नेपालको पहिलो रेस्टुरेन्ट बन्यो, जसले विदेशमा फ्रेन्चाइज बेच्यो । अमेरिकामा आउटलेट खोल्ने पनि हामी नै पहिलो हौं । फ्रेन्चाइजको आइडिया त पहिला हेर्दा छक्क परें, कसरी यति धेरै आउटलेट हुन्छ भनेर । तर पछि बुझ्दै गएँ, अनि नेपालमा आएर अभ्यास गरें ।’

व्यवसाय हुँदै राजनीतिमा होमिएकी कोमल ज्ञवालीको अनुभव नीतिमाको जस्तै छ । व्यवसाय गर्दै जाँदा आफूले किसान, मजदुर र स्थानीय समाजका समस्या नजिकबाट देखेकै हुँदा उनीहरूका ती समस्यालाई सदनबाट उठाएर समाधान गर्न आफ्नो यात्रा राजनीतिमा मोडिएको कोमल सुनाउँछिन् ।

Moving from profession to politics

‘व्यवसायले मलाई समाजसँग जोड्यो, तर धेरै समस्या नीतिगत र संरचनागत रहेछन् भन्ने कुरा स्पष्ट हुँदै गयो । त्यस्ता समस्या व्यक्तिगत प्रयासले मात्र समाधान हुँदैनन्, त्यसका लागि राज्यको नीति र कानुन चाहिन्छ,’ कोमलले भनिन्, ‘त्यसैले ती समस्या सदनमार्फत उठाएर समाधानको बाटो खोज्न सकिन्छ भन्ने विश्वासले मलाई राजनीतितिर ल्यायो । मेरो उद्देश्य केवल राजनीति गर्नु होइन, आफूले देखेका र भोगेका समस्या नीतिगत रूपमा समाधान गर्न प्रयास गर्नु हो ।’

कोमलले टीकापुर क्षेत्रका जातीय विभाजनका समस्या र भूमिहीनताको समस्या ‍देखेकी मात्रै छैनन्, आफैंले भोगेकी छन् । समाजमा ती समस्याले गहिरो असर पार्छ भन्ने जानेकी कोमलले संसद्मा यी विषय उठाउनेछिन् । उनी थारू समुदाय र कृषिलाई जोडेर रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विश्वास गर्छिन् । कोमल भन्छिन्, ‘थारू समुदायको जीवन र संस्कृति कृषिसँग गहिरो रूपमा जोडिएको छ । त्यसैले कृषि, स्थानीय परम्परा र पर्यटनलाई जोडेर रोजगारी सिर्जना गर्न सकिन्छ ।’ स्थानीय अन्नबाली र परिकारलाई ‘ब्रान्ड’ बनाउने, परम्परागत खेती र संस्कृतिलाई कृषि–पर्यटनसँग जोड्ने, युवालाई आधुनिक कृषि र उद्यमतर्फ आकर्षित गर्ने उनको उद्देश्य छ । कृषि र संस्कृतिलाई जोड्दा रोजगारी मात्रै होइन, पहिचान जोगिन्छ भन्नेमा उनी विश्वस्त छिन् ।

कोमलले ०७८ देखि कृषियन्त्र र बीउबिजनको व्यवसाय सुरु गरेकी हुन् । सुरुवातमा सानो स्तरबाट किसानलाई आवश्यक बीउ र उपकरण उपलब्ध गराउने काम गरिन् । बिस्तारै किसानसँग नजिकिएर काम गर्दा उनीहरूको वास्तविक समस्या बुझिन् । उत्पादन बढाउन र कषिलाई व्यवस्थित कसरी बनाउने उनीसँग अनुभव पनि छ । ‘यस यात्रामा मेरो मुख्य भूमिका किसानलाई उन्नत बीउ, आधुनिक कृषियन्त्र र प्राविधिक जानकारी उपलब्ध गराउने थियो । यसले उत्पादन बढाउन र कृषिलाई अलि व्यवस्थित बनाउन सहयोग गरेको अनुभव छ,’ कोमलले भनिन् ।

संसदीय यात्रामा व्यवसायको यही अनुभवलाई उपयोग गर्न चाहन्छिन् उनी । ‘व्यवसाय गर्दा मैले व्यावहारिक समस्या र समाधान दुवै नजिकबाट देखेको छु । त्यसैले संसद्मा पुगेपछि म नीति निर्माणमा त्यही अनुभव उपयोग गर्न चाहन्छु,’ कैलाली–१ बाट विजयी कोमलले भनिन्, ‘किसानमैत्री नीति बनाउन, कृषि प्रविधि र बजार प्रणाली सुधार गर्न, साना उद्यमीलाई प्रोत्साहन गर्ने कानुन बनाउन काम गर्नेछु । व्यवसायले मलाई सिकाएको कुरा के हो भने नीति व्यावहारिक हुनुपर्छ, कागजमै सीमित हुनुहुँदैन । संसद्मा मेरो प्रयास त्यही दिशामा हुनेछ ।’

निशा डाँगीले पत्रकारिता हुँदै ०७९ को आमनिर्वाचनमा रास्वपाबाट समानुपातिक कोटा (खस–आर्य समूह) मार्फत निर्वाचित हुँदा संघीय संसद्कै सबैभन्दा कम उमेरकी ‘कान्छी सांसद’को पहिचान पाइन् । यस पटक प्रत्यक्षतर्फबाट झापा–१ मा विजयी हुँदै दोस्रो संसदीय यात्रा सुरु गरेकी निशा पूर्णकालीन राजनीतिमा आउनुअघि पेसाले पत्रकार थिइन् ।

Moving from profession to politics

२९ वर्षीया डाँगीले राजनीतिलाई बुझ्न थालेको त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गर्दा नै हो । त्यसअघि राजनीतिमा रुचि नै नराख्ने भन्ने त होइन । तर पत्रकारिताले उनलाई अझ राजनीति बुझ्न लगायो । निशाले स्नातकोत्तर पढ्न सुरु गर्दा ‘हेल्थ टेलिभिजन’ भर्खर खुलेको थियो । त्यहींबाट निशाले पत्रकारिता गरिन् ।

कोभिडका बेलामा पत्रकारिता गरिरहँदै स्वास्थ्य क्षेत्रको विसंगतिबीच आम सर्वसाधारणको हालत कस्तो थियो भन्ने उनले नजिकैबाट देखिन् । स्वास्थ्यका क्षेत्रमा भएकाहरूले पनि खासै यो समस्या समाधान गर्ने निश्चित उद्देश्य नराखेको देख्दा उनलाई लाग्यो, राजनीतिमा छिरेपछि मात्रै यी समस्या समाधान गर्न सकिन्छ । तर, त्यतिञ्जेल पनि डाँगीले राजनीति प्रवेश गर्ने ठोस निर्णय लिइसकेकी थिइन् ।

टेलिभिजनपछि लेख्ने अभ्यास गर्न अनलाइन पोर्टल ‘डाक्टर साप डटकम’मा पत्रकारिता गरिन् । त्यतिबेला अटिजम, क्यान्सर ‘सर्भाइभर’देखि मिर्गौला पीडितकहाँ पुगेर समाचार संकलन गर्दा पैसाको अभावमा मृत्यु पर्खिरहेका परिवारहरूलाई भेटिन् । उनको मनमा प्रश्न उठ्थ्यो, ‘किन राज्यले सबैलाई उपचार गराउन सक्दैन । पैसा नभएकै कारण मर्नुपर्ने बाध्यता जनताको ?’

गरिब जनताले स्वास्थ्यमा भोग्दै आएको पीडा बुझेरै राज्यलाई यस क्षेत्रमा जिम्मेवार बनाउने हेतुले नै डाँगीले राजनीति थालेकी हुन् । ‘गरिब जनतालाई उपचार गर्न सक्ने बनाउनुपर्छ राज्यलाई । १४/१५ वर्षको बच्चालाई उपचार गर्न नसकेर परिवारले हात उठाएको देखेकी छु मैले । अनि मलाई राज्यले किन स्वास्थ्यमा केही गर्न सकेन, किन सक्दैन भन्ने लाग्यो,’ निशा सुनाउँछिन् ।

‘डाक्टर साप’मा काम गरिरहँदा पनि डाँगीलाई राजनीतिमा आउँछु भन्ने लागिसकेको थिएन । राष्ट्रिय स्वतन्त्र पार्टी खुल्दै छ भन्ने त थाहा पाएकी थिइन् । तर, त्यतिबेला उनी सरकारी जागिर खान्छु भन्ने दौडमा थिइन् । नेपाल टेलिभिजन र राष्ट्रिय समाचार समितिको परीक्षाका लागि फर्म भरेकी थिइन् । तर, त्यतिबेला परीक्षा एक वर्षका लागि सर्‍यो ।

लोक सेवाको तयारी गरिरहेकै बेलामा देशमा निर्वाचन सुरु भयो । रास्वपाको केन्द्रीय सदस्य बन्ने अवसर पाउँदा पनि ‘सरकारी जागिर खान्छु’ भनेरै नकारिरहेकी थिइन् । ‘रुचि त थियो राजनीतिमा । तर परिवारले पनि सरकारी जागिर खाइदियोस् भन्ने चाहनुहुन्थ्यो,’ डाँगी सुनाउँछिन् । तर त्यतिबेला उनले रास्वपालाई निर्वाचनमा सहयोग गर्ने सोचिन्, उम्मेदवारहरूतर्फ आँखा डुलाइन्– आफूले खोजेको जस्तो नीति निर्माण गर्ने नयाँ अनुहार खोजिन् । समानुपातिक महिला अनुहार खोजिन्, चित्तबुझ्दो कोही देखिनन् । त्यसपछि कसैलाई थाहा नदिई उम्मेदवारका लागि आफैंले आवेदन भरिन् ।

‘मजस्तो पढे–लेखेको, राजनीति गर्न रुचि भएको, राजनीति सुध्रिनुपर्छ, महिला नेता चाहिन्छ भनेर खोजिरहने त अरू पनि होलान्, त्यसरी पर्खेर बसेर अरू नआउनुभएको होला । त्यसैले मैले आफैं फर्म भरें । म गएपछि अरू महिलालाई तान्न सजिलो हुन्छ भन्ने थियो । प्राइमरी इलेक्सनमा राम्रै मत पाएँ, त्यसरी राजनीतिमा आएकी हुँ म,’ डाँगीले राजनीतिक यात्रा सुनाइन् ।

यो निर्वाचनमा जनतामाझ पुगिरहँदा डाँगीले धेरै वितृष्णा भेटिन् । अन्य दलको प्रचारमा हिँडेकाहरूले आफैंलाई मत दिँदा अझ बढी त्यसलाई अनुभव गरिन् । ‘हामी एउटा जालोमा फसिसकेका छौं, तपाईंहरू नै चाहिएको छ यो पालि भन्ने कुरा मैले धेरै सुनें,’ डाँगी सुनाउँछिन् । निर्वाचनको अवधिमा निशा पितृसत्तात्मक सोचहरूसँग पनि ठोक्किइन् ।

निशालाई पाँच वर्षको पत्रकारिताको अनुभवले स्वास्थ्यका लागि लड्नैपर्छ भन्ने सिकाएको छ । यसबीच पूर्वाधारको क्षेत्रमा गरेको कामले त्यतातर्फ पनि केन्द्रित भएर काम गर्ने जोस लगाइदिएको छ । ‘मैले यी क्षेत्रमा म प्रभावकारी भूमिका खेल्न सक्छु,’ डाँगी सुनाउँछिन्, ‘पैसा हुँदैमा राम्रो शिक्षा पाउने प्रणालीको अन्त्य गर्न म सय प्रतिशत दिएर काम गर्छु । पैसा भएकाले उपचार राम्रो पाउला, तर पैसा नभएर मर्नुपर्ने बाध्यताको अन्त्य गर्नैपर्छ ।’

नीतिमा, कोमल र निशा मात्रै होइन । यस पटकको निर्वाचनमा प्रत्यक्ष निर्वाचित हुने प्रायः महिला फरक पेसाकर्मकै छन् । कास्की–३ बाट रास्वपाको उम्मेदवार हुँदै विजयी हासिल गरेकी बिना गुरुङले पनि समाजसेवा हुँदै राजनीतिको बाटो समाएकी हुन् । प्रतिद्वन्द्वी कांग्रेसका मनोज गुरुङलाई २४ हजार ९ सय ७० मतान्तरले जित हासिल गरेकी ५३ वर्षीया गुरुङको कर्मथलो पोखरा हो । उनी सञ्जीवनी दिदीबहिनी संघ नेपालकी संस्थापक अध्यक्ष हुन् ।

Moving from profession to politics

महिला एकता र सशक्तीकरणका लागि वर्षौंदेखि काम गर्दै आएकी गुरुङ लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीकी पूर्वअध्यक्ष हुन् । समाजसेवा मात्रै गुरुङको पहिचान होइन । पञ्चासे केबलकार सञ्चालक समितिकी सदस्यसमेत हुन् । महिलालाई सामाजिक र आर्थिक रूपले सशक्त बनाउन नै उनले राजनीतिको बाटो चुनेकी हुन् । उनलाई महिलाका विभिन्न सवाल र समस्यालाई नीतिगत रूपमै संसद्मा उठाउनुछ । जनताको सेवा गर्नु छ ।

चिकित्सक तोसिमा कार्कीले पनि फरक पेसाबाटै राजनीति रोजिन् । ४३ हजार ९६ मतसहित नेकपाका रामकाजी महर्जनलाई पराजित गरेकी तोसिमाले जनरल सर्जरीमा मेडिसिनमा स्नातकोत्तर गरेकी हुन् । सहिद धर्मभक्त माविबाट एसएलसी र चोभारको मोर्डन इन्डियन स्कुलबाट १२ पास गरेकी उनले ललितपुरको किस्ट मेडिकल कलेजबाट एमबीबीएस गरेकी हुन् ।

काठमाडौं विश्वविद्यालयबाट चिकित्सा शिक्षामा स्नातकोत्तर तोसिमाले केही समय पाटन अस्पतालमा समेत काम गरिन् । ०७१/७२ देखि मेडिकल कलेजका विकृति विसंगतिविरुद्ध आवाज उठाउँदै आएकी उनी चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको अभियानमा पनि सक्रिय थिइन् । ‍०७९ को प्रतिनिधिसभामा ललितपुर–३ बाट निर्वाचित भएकी उनी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनिन् । यो उनको दोस्रो संसदीय यात्रा हो ।

Moving from profession to politics

दोस्रो संसदीय यात्रामै छिन्, सोविता गौतम पनि । चितवन–३ मा नेकपाकी उम्मेदवार रेनु दाहाललाई ३८ हजार ६ सय ६२ मतान्तरले पराजित गराउँदै विजयी बनेकी सोविता पेसाले वकिल हुन् । कानुनमा स्नातक उत्तीर्ण सोवितालाई लाग्छ, कुनै व्यक्तिको राजनीतिमा प्रवेश गर्ने विषय उक्त व्यक्तिलाई राजनीतिमा रुचि छ कि छैन भन्ने कुराले निर्धारण गर्छ ।

जुन बेला उनले रास्वपा प्रवेश गरिन्, उनी राष्ट्रिय राजनीतिमा निकै चासो राख्थिन् । राजनीतिमा केही हुँदा सामाजिक सञ्जालतिर आफ्नो विचार राखिहाल्थिन् । पुरानो दलको राजनीतिक संरचनाभित्र कहिल्यै आफूलाई राखिनन् । कुनै दलसँग जोडिएर विद्यार्थी राजनीति गरिनन् । पुरानो दलको संरचनाभित्र पसेर कहिल्यै पनि आफ्नो आवाज निर्णायक बिन्दुसम्म पुर्‍याउन सकिन्छ भन्ने आँट उनमा आएन ।

रास्वपा पार्टी स्थापनाकालदेखि जोडिएकी उनी राष्ट्रिय राजनीतिलाई सही दिशामा डोर्‍याउनुपर्छ भनेर पहिल्यैदेखि प्रस्ट थिइन् । ‘दल निर्माण गरेर नेपालमा राजनीतिक यात्रा आरम्भ गर्दै राष्ट्रिय राजनीतिलाई हामीले डोर्‍याउनुपर्छ भनेर प्रस्ट भएरै हामी आएका हौं,’ उनले भनिन् ।

Moving from profession to politics

कानुन पृष्ठभूमिबाट राजनीतिमा आएकाहरूले त्यहाँ राम्रै उपस्थिति जनाएको देखेर पनि सोवितालाई राजनीतिमा आउन प्रेरणा मिल्यो । ‘मेरो शिक्षा पनि राष्ट्रिय राजनीतिमै चासो राख्ने किसिमको भएकाले म राजनीतिमा आएँ,’ सोविताले भनिन् । सन् २०१९ मा स्नातक सकेर सोविताले बारको लाइसेन्स लिइन् ।

कानुन अध्ययन गरिरहँदा सोविता नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोता थिइन् । सँगसँगै उनी वकालतमा पनि उत्तिकै सक्रिय थिइन् । लाइसेन्स लिनेबित्तिकै मुद्दामामिला हेरिन् । तर बीचमा कोभिड भइदियो । ‘नेपाल हेल्थ काउन्सिल’मा कानुनी सहायक भएर काम गरेकी सोवितालाई यस्तै कामले नीतिगत क्षेत्रसँग जोडिदियो । ‘मुद्दा मामिला गर्दा पनि मानिसका समस्या थाहा हुँदै गयो । कानुनका समस्या पनि थाहा हुँदै गयो । अनि यहाँ परिवर्तन गर्नुछ भन्ने सचेतना भयो । राजनीतिमा मेरो त्यो अनुभव त प्रयोगमा आउने नै भयो,’ सोविताले भनिन् ।

जेहोस्, यस पटकको निर्वाचनमा जनताले फरक पेसा, फरक आवाज, उद्देश्य र अठोट अनि नयाँ प्रतिज्ञासहितका महिला उम्मेदवारलाई विश्वास गरिदिएका छन् । फरक पेसामा आफूलाई सावित गरिसकेका यी महिलाले संसद्मा आफूलाई कसरी उभ्याउलान् ? उनीहरूको संसदीय यात्रा कस्तो होला ? उनीहरूले आफ्ना वाचा पूरा गर्लान् कि नगर्लान् ? मूल्यांकनको जिम्मा जनतालाई ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully