जब गाउँमा हिउँ पर्छ, आगो बाल्ने दाउरा सकिन्छ, घाँस सकिन्छ, पानी जम्छ । कठिन जीवनबाट थोरै सजिलो खोज्दै ती त्यहाँ पुग्छन्, जहाँ घाम राम्रोसँग लाग्छ, घाँस पाइन्छ ।
What you should know
हिमालका झ्याल र ढोकाहरूमा हिउँदको सिरेटो पस्न थालेपछि उच्च हिमाली गाउँहरू तरंगित हुन्छन् । र, मनाङ, मुस्ताङ, रसुवा, दोलखा, हुम्ला, मुगु, डोल्पा, सोलु (ठाउँहरूको सूची लामै हुन सक्छ) का गाउँहरू सुनसान बन्छन् । पुरानो लय र परम्पराको डोरो समातेर बाक्लो हिउँले बाटो छेक्नुअघि नै मानिस गाईबस्तु, भेडा–बाख्रा र साना नानीहरू बोकेर तल्लो भेग अर्थात् न्यानो बेंसीतिर झर्छन् ।
यो हो– शताब्दीयौंदेखि चलिआएको जीवित परम्परा, संस्कृतिको अंग । जब गाउँमा हिउँ पर्छ, आगो बाल्ने दाउरा सकिन्छ, घाँस सकिन्छ, पानी जम्छ । कठिन जीवनबाट थोरै सजिलो खोज्दै ती त्यहाँ पुग्छन्, जहाँ घाम राम्रोसँग लाग्छ, घाँस पाइन्छ ।
नेपालका ५८ जनजाति समूहमध्ये १८ समूह हिमाली जिल्लामा बसोबास गर्छन् । ती सबै आदिवासी समूह हिउँदका तीनदेखि चार महिना जाडो छल्न कोही बेंसीतिरको आफ्नै पुरानो गोठ–खर्कमा पुग्छन्, कोही टाढा–टाढाका बस्तीहरूमा । हाम्रो सांस्कृतिक जीवनका अभ्यासहरूमा पनि बसाइँसराइ अभिन्न जोडिएको छ ।
जस्तो किरातहरूमा मौसमी बसाइँसराइका जीवन्त पर्व छन्– उँभौली र उँधौली । यी पर्व हिमाली–पहाडी बसाइँसराइको मौसमी चक्रसँग अभिन्न जोडिन्छन् । हिउँदको बसाइँसराइ जाडो छल्ने उपाय मात्रै होइन । यसले हिमाल, तराई र मध्यपहाडका समुदायमा संस्कृति र सद्भाव पनि आदानप्रदान गर्छ ।
दशकौंदेखिको यो परम्परा मौसमसँगै जीवित रहन्छ । फागुन–चैतमा हिउँ पग्लिन थालेपछि बन्द भएका हिमालका झ्यालढोका फेरि खुल्छन्, सुनसान गाउँहरू गुलजार बन्छन् । हिमालमा फेरि रङ फर्किन्छ । हिमाली व्यापार, संस्कृति र पर्यावरणसँग गाँसिएको जीवन प्रणालीको जीवित इतिहास हो न्यानो खोज्दै बेंसीतिर झर्ने परम्परा ।
‘कोसेली’ को यस अंकमा हामीले हिमालका मानिसको बाँच्ने कलामाथि विमर्श गर्ने प्रयास गरेका छौं ।
