रसुवाली किसान : जता भेडा, उतै बास

गोठमै बस्ने सेनाम फुर्पु घले चौंरीपालक कृषक हुन्, उनी भर्खरै ५९ वटा चौंरीका धनी भएका छन्, जो १२ महिनामा १४ ठाउँमा गोठ सर्छन् । भन्छन्- चौंरी गोठालाको स्थायी ठेगाना हुँदैन । गर्मी चढेपछि चैतदेखि असोज १५ सम्म माथि–माथि लेक चढ्नुपर्छ– गोसाइँकुण्डसम्मै पुगिन्छ ।

मंसिर २०, २०८२

विश्वास नेपाली

Rasuwali farmer: Wherever there are sheep, there they live

What you should know

रसुवा — हिमाली जिल्ला रसुवाका उच्च भूगोललाई वर्षैभरि हिउँले ढाकिबस्छ । यहाँका बासिन्दा कृषि, पशुपालन, जडीबुटी संकलन र पर्यटन व्यवसायमा संलग्न छन् । संघीयताको अभ्यासपछि भने गाउँघर आएको सडकले परिवर्तन ल्याएको छ । र, गाउँदेखि राजधानी मोडिएको सडकले हिमाली गाउँ–ठाउँका नवपुस्तालाई सहरतिर तानेको छ । केही विदेश पुगेका छन् । यद्यपि अघिल्ला पुस्ता भने कृषि–पशुपालनमै तल्लीन छन् ।

रसुवाबाट राष्ट्रिय पञ्चायत उपाध्यक्ष भएका दावा फिन्जो तामाङको पुस्तक ‘भेडीगोठदेखि राष्ट्रिय पञ्चायतसम्म’ मा उनले लेखेका छन्, ‘मेरो जन्म नै च्योलङखर्कको गोठमा भयो, यसर्थ जन्मजात–गोठालो ।’ जीवनको लामो कालखण्ड गोठालो जीवन बिताएका तामाङका भेडासँगै गाई, गोरु र चौंरीका पाँच गोठ थिए । ०२७ सालमा तत्कालीन युवराज वीरेन्द्र गोसाइँकुण्ड भ्रमण जाँदा दावाको सहयोगबाट प्रभावित भएपछि उनी दरबारनिकट भएका थिए ।

उच्च चुचुरामा टल्किने सेता हिमशृङ्खला देख्दा आकर्षक लाग्छन् । केही दिन घुम्न आउनेलाई ‘वाह’ लाग्छन् । तर, यहीं जन्मे–हुर्केर जीवन बिताइरहेका मानिसको दैनिकी असाध्यै कठिन छ— अजंगका पहाड, भिराला जमिन, वन–जंगलले ढाकेका अधिकांश क्षेत्र ! चिसो याममा बसाइँ सरिबस्ने यो कठिन भूगोलका किसानका व्यथा अनेकन् छन् ।

गोठमै बस्ने सेनाम फुर्पु घले (४५) चौंरीपालक कृषक हुन्, उनका ५६ चौंरी छन् । मोबाइल–फोन सम्पर्कमा आएका उनी कुटुमसाङ सिन्धुपाल्चोकबाट थप ३ वटा चौंरी खरिद गरी रसुवा लाग्दै रहेछन्, ‘नुवाकोटको शिखरबेंसी पुगें’ भन्दै थिए । अब ५९ वटा चौंरीका धनी भएका छन् । सानैदेखि चौंरी गोठालो उनी गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका हुन् । ‘चौंरी गोठालाको स्थायी ठेगाना हुँदैन’ भन्ने घले १२ महिनामा १४ ठाउँमा गोठ सर्छन् । भन्छन्, ‘गर्मी चढेपछि चैतदेखि असोज १५ सम्म माथि–माथि लेक चढ्नुपर्छ– गोसाइँकुण्डसम्म पुगिन्छ ।’

Rasuwali farmer: Wherever there are sheep, there they live

असोजपछि भने तल झर्दै धुन्चे पुगिन्छ । घले मात्रै होइन, उनका अघिल्ला पुस्ताले पनि पनि चौंरीपालन नै गर्थे । ‘चौंरीको दूध बेचेर छोराहरूलाई काठमाडौं राखेर पढाउन सकें, एउटा छोरो जापान पढ्न गएको छ, अर्को काठमाडौंमा,’ उनी भन्छन् । वार्षिक न्यूनतम ७ लाख रुपैयाँसम्म कमाइ गर्छन् घले ।

गोसाइँकुण्ड–४ लाङटाङ हिमालको फेदीमा बस्छन्— ग्याल्वो तामाङ (५०) । उनी पहिले चौंरीपालक कृषक थिए, अहिले गाउँवासीले पालेको चौंरीको दूध संकलक हुन् अर्थात् चिज उत्पादन गर्ने केन्द्र प्रमुख । भन्छन्, ‘हामीले यहाँबाट स्थानीय याक–चौंरी पालक किसानलाई सेवा दिइरहेका छौं ।’ तामाङका अनुसार, दक्षिण एसियाकै पहिलो याक–चिज उत्पादन केन्द्र, लाङटाङमा वि.सं. २००९ सालमा स्थापना भएको थियो, जहाँ उनका बुबाले लामै समय काम गरे ।

रसुवाका पत्रकार ज्ञानेन्द्र न्यौपाने भन्छन्, ‘रसुवाको उच्च हिमाली भेग याक–चौंरीका लागि अत्यन्तै लाभदायक ठाउँ हो । किसानलाई दूध बिक्री गर्न सहज होस् भनेर हिमाली खर्कमै विभिन्न ५ ठाउँमा चिज उत्पादन केन्द्र स्थापना गरिएको छ । स्वादिलो यहाँको चिज काठमाडौंसम्मै पुग्छ ।’

‘लाङटाङ उपत्यका आसपास ४ वटा–लाङसिसा, झाङ्बु, नाङकाङ र याला खर्कहरू छन्, जहाँ याक–चौंरी चराउन किसानहरू गर्मीमा उकालो चढ्छन् । चिसो सुरु भएपछि तल्लो भाग लामा होटलसम्मै झर्छन्’, ग्याल्वो तामाङ भन्छन्, ‘०७२ को भूकम्पले लाङटाङ तहसनहस भयो । किसानहरूले पहिले जस्तो चौंरी पाल्दैनन् । धेरैजसो गाउँवासीहरू होटल–व्यवसायतिर लागे ।’ भूकम्पमा लाङटाङ पहिरोले १७५ स्थानीय मानिस र ७०० भन्दा बढी चौंरी बितेका थिए ।

Rasuwali farmer: Wherever there are sheep, there they live

आमाछोदिङ्मो गाउँपालिका–२ सानोहाकुका चिप्पु छिरिङ तामाङ (४४) भेडा–बाख्रापालक कृषक हुन् । उनी वर्षैभरि भेडा–बाख्राको पछि लाग्दैलाग्दै लेक–बेंसी गर्छन् । साथमा बोक्छन्– डोको, चित्रो, केही थान बर्को (ओढ्ने), नुन अनि सातु–सामल । यतिबेला उनी लेकबाट बेंसी (उनकै गाउँ– सानो हाकु) झरेका छन् । उनीसँग छ, १०० भन्दा बढी भेडा–बाख्रा र ३ भैंसी । पुर्ख्यौली पेसा नै कृषि र पशुपालन भएको तामाङको ७ जनाको परिवार यसैबाट चलेको छ । मौसम तात्न थालेपछि भेडा–बाख्रासँगै लेक चढ्छन् र पुग्छन् उच्च हिमाली भेगका सोमदाङ, साङ्जेन र जागेश्वर खर्कहरू ।

खर्कहरू चरिचरनका लागि राम्रो ठाउँ हो भन्छन्, उनी । त्यही खर्कमा चित्रा–प्लास्टिकको घर बनाएर बस्छन्, चिप्पुहरू । चिप्पु भन्छन्– गाउँबाट खर्क पुग्न बाटोमै १०–१२ दिन बिताउनुपर्छ । खर्क पुग्न सजिलो छैन, न खाने ठेगान, न बस्ने । जताजता भेडा–बाख्रा, उतैउतै बास । भन्छन्, गोठालो पेसा सहज छैन । बेलाबेला उनलाई सघाउँछन्, श्रीमती कार्चुङ र छोरा निर्मलले । पशुपालनको आयले १ छोरा र ४ छोरीलाई काठमाडौंमै राखेर पढाइरहेका छन् ।

गोसाइँकुण्ड– ५ ठूलो भार्खुका पासाङ डिन्डुप तामाङ (५५) चौंरीपालक किसान हुन् । उनी २० चौंरीका धनी हुन् । गोठालो सहयात्रामा लाक्पा तामाङ, च्याङ्वा तामाङ र नुर्वसोनाम तामाङ पनि छन् । उनीहरू चौंरीपालन गर्छन् । गर्मी छल्न उनीहरू गोसाइँकुण्ड आसपासका लौरीबिना, चोलाङपाटी र चन्दनबारीका खर्कहरू पुग्छन् भने जाडो छल्न ठूलोभार्खु हुँदै त्रिशूली किनारासम्मै झर्छन् । यस्तो चक्र वर्षैभरि चलिरहन्छ । पासाङ भन्छन्, ‘चौंरीपालक कृषकको निश्चित गोठ र खर्क नहुने रहेछ, पाइने घाँसपात र तातो–चिसो मौसमले निर्धारण गर्छ ।’

यतिबेला रसुवाका गाउँ–पाखामा चिसो बढ्न थालेको छ, पासाङ चौंरीसँगै ठूलोभार्खुमुनि पाखोमा छन् । ‘माघसम्म यतै बस्नुपर्छ, मौसम बिस्तारै तात्न थालेपछि मात्रै उँभो लाग्ने हो । चन्दनबारीमा दुग्ध विकास संस्थानको चिज उत्पादन केन्द्र छ, हामी त्यहीं दूध बिक्री गर्छौं,’ पासाङ भन्छन् । सानैदेखि गोठालो पासाङपछिका नयाँ पुस्ता भने अब गोठालो छैनन्, जेठो छोरा–बुहारी र छोरी–ज्वाइँ फ्रान्स पुगेका छन् भने कान्छो जर्मन । पशुपालनकै आम्दानीले उनले तल स्याफ्रुबेंसी बजारमा २ तले पक्की घर पनि बनाएका छन् ।

Rasuwali farmer: Wherever there are sheep, there they live

आमाछोदिङ्मो–३ गत्लाङका फुर्पु छोवाङ तामाङ (५१) चौंरीपालक किसान हुन् । उच्च हिमाली गाउँ गत्लाङका फुर्पुको जीवन चौंरीसँगै विभिन्न खर्कमा विचरण गर्दै बितिरहेको छ । फुर्पुको गोठमा यतिबेला २४ वटा चौंरी छन् । र, अहिले उनी बेंसी झरेका छन्, भार्खु गाउँ आसपास । भन्छन्, ‘चिसो बढ्दै जाँदा अझ तल हाकुसम्म झर्छौं ।’ उनको गोठालो यात्रा संघर्षपूर्ण छ । कहिले उच्च हिमाली भेगका खर्कमा उक्लिनुपर्छ, कहिले बेंसी । माङचेत, गोठेन, सोमदाङ, जागेश्वर र साङ्जेन खर्क उनका चौंरीका चरन–क्षेत्र हुन् । उनलाई सघाउँछिन्, ४५ वर्षीया श्रीमती युक्रे तामाङले । फुर्पु भन्छन्, ‘हाम्रा छोराछोरी भेडा–चौंरी पेसामा छैनन् । काठमाडौंमा राखेर पढाएका छौं । पहिले पो विद्यालय थिएन, पैसा थिएन, हामी बा–आमासँगै खर्क–गोठालो जान्थ्यौं, अबका पुस्ताले त्यो छाडे ।’

पत्रकार एवं सामुदायिक वन उपभोक्ता महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा भन्छन्, ‘कहिलेकाहीं पशुबस्तु चराउने विषयमा गाउँलेहरूबीच खर्क विवाद हुन्छ । केही वर्ष पहिले साङ्जेन खर्कमा गाउँलेबीच ठूलो विवाद भयो । पशुपालक किसानलाई चरिचरनका लागि वन तथा खर्कहरू खुला नगरिने हो भने, पशुपालनको जुन लेक–बेंसी चक्र छ, त्यसमा खलल पुग्छ । अर्कोतर्फ पालिकामा भएको आधारभूत सेवा किसानका लागि पर्याप्त छैन, जिल्लामै भेटेनरी अस्पताल र पशुविज्ञ नहुँदा नुवाकोट र काठमाडौं धाउन बाध्य छन्, किसानहरू, त्यसले पनि पछिल्लो समय पशुपालन पेसामा कमी आएको छ ।’

डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङ भन्छन्, ‘चौंरी र भेडापालन रसुवाको माथिल्लो भेगको पहिचानसँगै परम्परागत पेसा हो । यसलाई मास्न दिनु हुँदैन भनेर बहुसरोकावाला छलफल सुरुवात गरेका छौं । किसान र पशुपालनसँगै वन र खर्क संरक्षणको योजनामा काम गरिरहेका छौं ।’

Rasuwali farmer: Wherever there are sheep, there they live

आमाछोदिङ्मो गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङ भन्छिन्, ‘खर्कका विषादीयुक्त झारपात, घाँस हटाउने र नयाँ उन्नत जातको घाँस छर्ने काम गरी पशुपालक किसानलाई उत्प्रेरित र सहजता प्रदानको प्रयास गरिरहेका छौं । आउँदो फागुन–चैतमा ड्रोनबाट खर्कहरूमा घाँस छर्ने योजना छ । र, आाउँदो वैशाखमा गत्लाङ ‘चौंरी–महोत्सव’ नै आयोजना गर्दै छौं ।’

गत्लाङका किसान मिङमर तामाङ भन्छन्, ‘हाम्रो पालिकामा ६७ वटा याक–चौंरी, गाई–गोरु गोठ छन्, करिब २५०० चौंरीहरू छन् । पहिलो पटक महोत्सव नै आयोजना गर्दै छौं । महोत्सवमा सबै चौंरी र किसानहरू सहभागी हुनेछन् ।’ किसान भन्छन्– न बासको ठेगान, न खानाको । मौसमले जता डोर्‍याउँछ, त्यतै यात्रा–चिसो सुरु हुँदा तलतल (बेंसी) र गर्मी चढेपछि भने उँभोउँभो (लेक) । फेरिने मौसम र समयकालअनुसार गोठालो–जीवन निर्भर हुन्छ ।

किसानहरूको लेक–बेंसी यात्रा गर्मी र जाडो मौसमले निर्धारण गर्छ । रसुवाको उच्च हिमाली भेगमा मुख्य गरी याक–चौंरी र भेडा–च्याङ्ग्रा पालिन्छ । जागेश्वर, साङ्जेन, यासा, लाङसिसा, झाङ्बु, नाङकाङ, याला, चन्दनबारी, ढिक्सा, लौरीबिना, गोसाइँकुण्ड, सोमदाङ, मानचेत यहाँका उच्च हिमाली क्षेत्रका खर्कहरू हुन् । त्यहाँ पुग्न कठिन छ, तर गर्मी बढ्ने समय भेडा–च्याङ्ग्रा–चौंरीलाई यी खर्कमा पुर्‍याइन्छ । जब लेकमा चिसो बढ्न थाल्छ, फेरि बेंसी झर्छन् । किसानको लेक–बेंसी यात्रा कठिन छ, तर रोचक पनि छ ।

विश्वास नेपाली भूमि तथा कृषि अधिकार अभियानमा क्रियाशील अभियन्ता हुन् ।

Link copied successfully