बेंसी झर्दै उपल्लो डोल्पावासी

हिउँद सुरु भएसँगै उपल्लो डोल्पाका बासिन्दा जिम्मु, छुर्पी, भोटे चियालगायतका खाद्यवस्तु याकमा बोकाएर बेंसी ओर्लन्छन्, मकै, धानलगायतका अन्नबालीसँग साट्छन् अनि गर्मी सुरु भएपछि घर फर्कन्छन्।

मंसिर २०, २०८२

रामचन्द्र न्यौपाने

Upper Dolpa residents descending the valley

What you should know

डोल्पा — उपल्लो डोल्पा क्षेत्रमा दिन प्रतिदिन चिसो बढ्दै गएको छ । खोलानाला र खोल्सामा बरफ जमेको छ । स–साना बुकी घाँसलाई जरैसम्म तुसारोले छोपेको छ । समुद्री सतहबाट ५५ सय मिटरसम्म उचाइसम्म बस्ती छन् । माथिल्लो भेगका बासिन्दा न्यानो खोज्दै बेंसी झर्ने क्रम सुरु भइसकेको छ ।

उपल्लो डोल्पामा बाह्रै महिना चिसो नै हुन्छ । तर कात्तिकदेखि चैतसम्म भारी हिमपात हुने भएकाले बस्न कठिन हुन्छ । अत्यधिक चिसो छल्नै केही बस्तीका मानिस हरेक वर्ष कात्तिक–मंसिरमा अस्थायी बसाइँ सर्छन् । यसरी बसाइँ सर्ने एउटा बस्ती हो शे–फोक्सुन्डो गाउँपालिका–८ मा पर्ने रिग्मो बस्ती । नेपालकै गहिरो फोक्सुन्डो तालछेउमै रहेको यो बस्ती हिउँदमा रित्तो हुन्छ ।

समुद्री सतहबाट तीन हजार छ सय मिटर उचाइमा रहेको रिग्मोमा ६५ घरधुरी छन् । हिउँदमा चिसो बढ्नुका साथै घरमा पालिएका याक, चौंरीका लागि घाँसपातसमेत अभाव हुने भएकाले रिग्मोवासी बेंसी झर्ने गरेको वडाध्यक्ष निमा लामा बताउँछन् । ‘यस पटक भने केही महिनाअघि मात्र निर्माण भएको माइक्रो हाइड्रोका दुईचार घर हिउँदमा पनि बस्ने सम्भावना छ,’ उनी भन्छन्, ‘हिटर बालेर बस्न सकिन्छ कि भनेर म पनि गाउँ नछाड्ने सोचमा छु ।’

वडाध्यक्ष लामाका अनुसार हिउँदमा रिग्मोमा बादल लाग्नेबित्तिकै हिउँ पर्छ । दिउँसो १२ बजेपछि तीव्र गतिमा हावा लाग्न सुरु हुन्छ । हिउँले सेताम्य हिमालबाट सोरिएर आउने हावाले ठिहिर्‍याउने गर्छ । त्यसैले रिग्मोका अधिकांश घरधुरी कोही पशुबस्तुका लागि खरको खोजी गर्दै, कोही काम विशेषले, कोही औषधि उपचारका लागि भन्दै गाउँ छाड्छन् । आफन्त भेटघाट गर्न निस्कने समय पनि यही बेला हो ।

बस्ती माथितिर मूल र खोला छैन । फोक्सुन्डो तालबाट निकास भएको पानी मोटरले तानेर प्रयोग गर्नुपर्छ । हिमपात भइरहेका बेला आँगनमा परेको हिउँ पगालेर पानीका रूपमा प्रयोग गर्नुपर्ने बाध्यता हुने स्थानीय बताउँछन् ।

रिग्मो बस्तीसम्म मोटरबाटो पुगेको छैन । जिल्ला सदरमुकाम दुनैबाट दुई दिनमा गाउँ पुगिन्छ । पुसदेखि चैतम्म हिउँले बाटाघाटासमेत बन्द हुन्छन् । हिउँदमा बसाइँ नसर्नेहरूले याक, घोडा, खच्चडमा खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री जोहो गरेर राख्ने गर्छन् ।

रिग्मोबासीको आर्थिक उपार्जनको मुख्य स्रोत भनेको होटल व्यवसाय र जडीबुटी संकलन हो । चैतदेखि कात्तिक अन्तिमसम्म फोक्सुन्डो ताल हेर्ने पर्यटक भित्रिने भएकाले उनीहरू होटल व्यवसायबाट आम्दानी गर्छन् । रिग्मो बस्तीमा ४० भन्दा धेरै होटल र होम स्टे सञ्चालनमा रहेका छन् । रिग्मोवासीले यार्चागुम्बा टिपेरसमेत आम्दानी गर्छन् । जेठदेखि असारसम्म दुई महिना यार्चागुम्बा संकलन गरिन्छ ।

रिग्मोबासीले बौद्ध धर्मअनुसारका चाडपर्व मनाउने गर्छन् । यस समुदायका मानिसको सबैभन्दा ठूलो पर्व ल्होसार हो । मासुका लागि काटमार गर्न उनीहरू अन्य समुदायका मानिसको सहारासमेत लिने गर्छन् । रिग्मोको मुख्य उत्पादन आलु, फापर र चिनो हो । वर्षमा एक बाली मात्र लगाइने रिग्मोमा कात्तिकमा बाली भित्र्याएपछि जग्गा खाली हुने गर्छ ।

प्रत्येक हिउँदमा अस्थायी प्रहरी चौकी र शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनासमेत बसाइँ सर्ने गर्छन् । स्थानीय बासिन्दा भने घर, गोठमा ताल्चा मारेर पशुचौपाया बेंसी झर्छन् । बसाइँ सर्दा स्थानीयले त्यस क्षेत्रमा पाइने जिम्मु, छुर्पी, भोटे चियालगायतका खाद्यवस्तु याकमा बोकाएर सँगै लैजाने गर्छन् । जाडो छल्न झरेका बेला यी खाद्यवस्तु बेच्ने वा मकै, धान लगायतका अन्नबालीसँग साट्ने गर्छन् । साटिएका अन्न याक, घोडालाई बोकाएर चैतपछि फर्कने गर्छन् । रिग्मोलगायतका उपल्लो डोल्पाका स्थानीयले अझै पनि वस्तु विनिमय प्रणाली अपनाउने गर्छन् । हिमाली चिसो हावापानीका कारण रिग्मोमा मकै, खुर्सानीलगायतका अन्नबाली फल्दैन ।

पहिलादेखि नै हिउँदमा तल्लो डोल्पा झर्दा मितेरी साइनो जोड्ने, इष्टमित्र बनाएर बस्ने चलनचल्ती रहेको त्रिपुरासुन्दरी नगरपालिका–१ का दुर्गाप्रसाद देवकोटाले बताए । उनका अनुसार चिसो छल्न झरेका रिग्मोका बासिन्दा तल्लो डोल्पामा पर्ने त्रिपुराकोट, पहाडा, लिकु, दुनै, काइगाउँ, चौंरीकोटलगायतका ठाउँमा बस्ने गर्छन् ।

अत्यधिक चिसोका कारण कात्तिकदेखि छ महिनाका लागि उपल्लो डोल्पाका विद्यालय बन्द हुन्छन् । शे–फोक्सुन्डो गाउँपालिकामै पर्ने साल्दाङ, भिजेर, कु गाउँ, कराङलगायतका गाउँका बासिन्दासमेत चिसो छल्न बेंसी झर्ने गर्छन् । गाउँपालिकाका करिब ३० प्रतिशत मानिस हिउँदमा बेंसी झर्ने गरेको गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङले बताए । उनी भन्छन्, ‘यसरी जाडो छल्न झर्ने चलन पहिलादेखि नै चलिआएको छ ।’

उपल्लो डोल्पामा पर्ने छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका सर्वसाधारण पनि प्रत्येक हिउँदमा चिसो छल्न बेंसी झर्ने गर्छन् । यी दुई गाउँपालिकाका मानिस पनि हिउँदमा बेंसी झर्ने गरेको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धार्के गुरुङले बताए । यस समयमा उपल्लो डोल्पा भौगोलिक नाकाबन्दीमा रहने भएकाले पनि कतिपय मानिस चिसो छल्न बेंसी झर्ने गरेको उनको भनाइ छ ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully