एकातिर अत्यधिक चिसो छ, अर्कातिर सडक, स्वास्थ्य, शिक्षा, सञ्चार सुविधाको अभाव, तैपनि मुगु र हुम्लाका उपल्लो भेगका बासिन्दा सधैंलाई बसाइँ सर्न सक्दैनन्, हिउँ पर्ने केही महिना अन्तै गए पनि गर्मी सुरु भएपछि फर्किहाल्छन्।
What you should know
सुर्खेत — मुगुस्थित मुगमकार्मारोङ गाउँपालिका–२ मुगुगाउँका ४८ वर्षीय सांगे तामाङले कात्तिक अन्तिम साता ५ जनाको परिवारसहित गाउँ छाडे । उनी चैत अन्तिम साता मात्रै गाउँ फर्कन्छन् । यस बीचमा जडीबुटी बेच्न नेपालगन्ज र काठमाडौंसम्म पुग्ने उनको योजना छ । तामाङको वर्षभरिको खर्च जडीबुटीको व्यापारले धानेको छ । ‘श्रीमती र छोराछोरी सुर्खेतमा कोठा लिएर बस्छन्,’ उनले भने ।
मुगुगाउँकै ३९ वर्षीय कर्मालोन्डुप लामाले पनि गाउँ छाडेको झन्डै एक महिना बित्यो । उनका जेठा छोरा १५ वर्षीय पेमा काठमाडौंको बौद्धस्थित एक गुम्बामा र कान्छा छोरा ९ वर्षीय पासाङ सुर्खेतमा अध्ययन गर्छन् ।
खच्चड व्यवसाय गरी चार वर्षअघि सुर्खेतमा पनि घर बनाएका उनी पत्नी आङ्मुसहित छोराहरूलाई भेट्न बाटो लागेका हुन् । हिउँदका पाँच महिना घुमीफिरीमै बित्छ । ‘अहिले त गाउँमा जताततै बरफ जमिसक्यो, त्यहाँ बस्न सक्ने अवस्थै छैन,’ उनले भने, ‘गाउँमा अहिले गुम्बाका पुजारी र २/४ जना गाउँ कुरुवा मात्र होलान् ।’
चिसो बढेर अधिकांशले गाउँ छोड्दा मुगमकार्मारोङ गाउँपालिकाका मुगु, चितै, डोल्फु, कार्ती, किम्रीलगायत बस्ती सुनसान छन् । पालिकाभरि १ हजार ३ सय घरधुरी रहेकामा उच्च हिमाली क्षेत्रका झन्डै ५ सय परिवारले बस्ती छाडिसकेको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उनका अनुसार स्थानीय बासिन्दा सदरमुकाम गमगढी, सिरानीचौर, चितै, कुना, गमगढीलगायत ठाउँ पुगेका छन् । ‘हिउँ परेपछि एक गाउँबाट अर्को गाउँ जानै सकिँदैन, सञ्चार सम्पर्क पनि पालिकाभरि नै विच्छेद हुन्छ,’ उनले भने, ‘त्यसैले हिउँ नपर्दै गाउँ सुनसान भइसके ।’
बस्ती सुनसान भएपछि वडा कार्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकीका कर्मचारी पनि औल झरिसकेका छन् । मुगुस्थित सीमा प्रहरी चौकीलाई पनि सदरमुकाम सारिएको छ । बालबालिका अभिभावकसँगै बाहिर गएपछि विद्यालयमा बिदा दिइएको छ । आधारभूत विद्यालय चितैका शिक्षक गुरुटसी तामाङका अनुसार केही ठाउँमा घुम्ती विद्यालय चलाउने गरिएको छ । ‘जता विद्यार्थी छन्, त्यतै गएर घुम्ती स्कुल चलाउँछौं,’ उनले भने ।
कात्तिकमा गाउँ छोडेका बासिन्दा चैत अन्तिम साता मात्र गाउँ फर्कन्छन् । ‘बाक्लो हिमपात र अत्यधिक चिसोले गाउँमा कोही बस्न सक्ने अवस्था हुँदैन, गाउँमा कोही नभएपछि वडा कार्यालयहरूको सेवा प्रवाह पनि ठप्प हुन्छ,’ शिक्षक तामाङले भने, ‘गाउँमा वर्षभरिमा एक बाली उवा मात्र फल्छ । जडीबुटी पाइने भएकाले मात्र स्थानीयले सधैंका लागि गाउँ छोड्न नसकेका हुन् ।’ उनका अनुसार फागुनदेखि असारसम्म हुने निर्माणले मात्र पालिकाभरिको विकास धानिएको छ ।
हिउँदमा अत्यधिक चिसो हुने भएकाले र वर्षायाममा टिपेको यार्चालगायत जडीबुटीको बिक्री तथा आफन्त–छोराछोरी भेट्न स्थानीय बासिन्दा गावै खाली गरेर बाहिर जाने गरेको स्थानीय कुन्जाङ लामाले बताए । उनका अनुसार अधिकांश बालबालिकाले बौद्ध शिक्षा लिने गरेका छन् । उनीहरू काठमाडौंको बौद्ध, लुम्बिनीलगायत भारतका विभिन्न ठाउँमा पुग्छन् । ‘अरू बेला पनि गाउँमा बस्ने बुढाबुढी मात्रै हो, युवा व्यापार र मजदुरीका लागि सहरतिर हुन्छन्, उनीहरूलाई भेट्न पनि हिउँदको समय सदुपयोग हुन्छ,’ उनले भने, ‘गाउँको उत्पादनले ३ महिना पनि खान पुग्दैन । मौसमी बसाइँसराइको विकल्प छैन ।’
उच्च हिमाली बस्तीमा मुख्य आयस्रोत जडीबुटी हो । गाउँमा चौंरी, घोडा, खच्चडलगायत पशुचौपाया पनि पाल्ने गरिएको छ । बस्ती छोड्नुअघि स्थानीयले पशुचौपायाका लागि झन्डै महिना पुग्ने घाँस जोहो गरिदिएका हुन्छन् । ‘कुरुवाको काम नै हिउँ नपरेका बेला पशुचौपाया चराउने र अरू बेला चौपायालाई घाँस, पराल दिने हुन्छ,’ डोल्फुका छिरिङदोर्जे लामाले भने, ‘कतिपयले आफ्नो परिवारसँगै पशुचौपायालाई औंलका बस्तीमा झार्छन् ।’
मुगुगाउँका अगुवा छिरिङगान्टु तामाङका अनुसार झारफुक र घरेलु जडीबुटीले बिरामी सन्चो नभए औषधि लिन दुई दिन हिँडेर गमगढी पुग्नुपर्ने बाध्यता छ । ‘गाउँमा स्वास्थ्य चौकी भए पनि औषधि हुँदैन, कोही जटिल बिरामी भए हेलिकोप्टर चार्टरको विकल्पै छैन,’ उनले भने, ‘गर्भवतीलाई समस्या भए ४/५ जना युवाले स्ट्रेचरमा एक दिन बोकेर पालिकाको केन्द्र पुलुसम्म पुर्याउनुपर्ने बाध्यता छ ।’
मुगमकार्मारोङका माथिल्ला १२ बस्तीमा सडक सुविधा छैन । कार्ती गाउँका कार्मानोर्बुल लामा भन्छन्, ‘सडक नपुग्दा बर्सेनि चामल र नुनको अभाव भोग्न बाध्य छौं, सडक पुगे कम्तीमा पेटभरि खान त पाइन्थ्यो ।’ सडक सुविधा नहुँदा कार्मारोङवासी लामो समययदेखि अत्यधिक महँगीको मारमा परेका छन् । गमगढीमा २५ किलोको एक बोरा चामल १८ सयमा पाइने भए पनि गाउँसम्म पुर्याउँदा त्यसको मूल्य ५ हजार रुपैयाँसम्म पर्ने दाउरागाउँका सोनाम तामाङले बताए । सडक नहुँदा गाउँको आलु, स्याउ, उवालगायतको कृषि उत्पादन खेर जाने गरेको उनको भनाइ छ ।
डोल्फुका पेमाछिरिङ तामाङका अनुसार एक संस्थाले निर्माण गरेको झन्डै एक सय किलोवाटको योजनाबाट डोल्फु, ताका, खारी, दाउरा, चित्तै, किम्रीलगायत ६ गाउँमा बत्ती पुगेको छ । घाम नलागेका बेला टेलिफोन टावरमा रहेको सौर्य ऊर्जाले काम गर्दैन । त्यतिबेला टेलिफोन सुविधाबाट वञ्चित हुनुपर्छ ।
गाउँमा सबै असुविधा भए पनि जडीबुटीकै भरमा जीविकोपार्जन भइरहेकाले गाउँ छाड्न नसकिएको डोल्फुका पेमाछिरिङ तामाङले बताए । ‘यार्चा, गुच्छीच्याउ, पाँचऔलेलगायत जडीबुटी प्रशस्त पाइन्छ, त्यसले जीविकोपार्जन सहज बनाएको छ,’ उनले भने, ‘केहीले गाउँमा जीविकोपार्जनका लागि भेडा र च्याङ्ग्रा पाल्ने गरेका छन् ।’
हिमाली बस्तीहरू अभावै अभावमा रहेको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामा बताउँछन् । उनका अनुसार कोरोना महामारीअघिसम्म स्थानीयले चिनियाॅ बजारबाट खाद्यान्न र दैनिक उपभोग्य सामानको जोहो गर्थे । ‘कोरोनापछि चीनले नाका बन्द गर्यो,’ उनले भने, ‘अहिले खाद्यान्न र उपभोग्य सामानको जोहो गर्न गमगढीतिर जानुको विकल्प छैन ।’
०००
हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमीका बासिन्दाले कात्तिक अन्तिम साता भेला गरे । वडाध्यक्षसहितका जनप्रतिनिधिसमेत उपस्थित भेलामा विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षालगायत विषयमा छलफल भयो । भेलालगत्तै स्थानीयले गाउँ छोडे । त्यसयता लिमीमा तीनपल्ट हिमपात भइसकेको छ ।
अत्यधिक हिमपात हुने लिमीमा तीन गाउँ छन्– तिल, हल्जी र जाङ । त्यहाँ १ सय ४७ घरधुरीको बसोबास छ । तीनै बस्तीका बासिन्दाले हरेक वर्ष झन्डै ५ महिनाका लागि गाउँ छोड्छन् । गाउँ छोड्नुअघि भेला गरिन्छ । ‘यसपालि छिट्टै अर्थात् कात्तिक दोस्रो साता नै हिउँ पर्यो, डोजरमार्फत हिउँ पन्छाएर सदरमुकाम पुगियो,’ नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले भने, ‘भेलामा भएका निर्णय र माग लिएर प्रदेश राजधानी र संघीय राजधानीसम्म पुग्छौं ।’ उनका अनुसार अहिले गाउँमा गुम्बाका लामा र १०/१५ जना कुरुवा छन् ।
चैत अन्तिम सातासम्मका लागि गाउँ छाडेकाहरू सुर्खेत, नेपालगन्ज र काठमाडौंसम्म पुग्ने गरेका छन् । ‘कोही त जडीबुटी व्यापारका लागि भारतसम्म पुग्छन्,’ स्थानीय कुञ्जोङ तामाङले भने, ‘धेरै युवा र बालबालिका बाहिर छन्, हिउँद उनीहरूसँग भेटघाट गर्ने समय हो । धार्मिक तीर्थयात्रा गएर पनि समय बिताउँछौं ।’ युवा व्यापार र बालबालिका बौद्ध शिक्षा लिन बाहिर बस्ने गरेको उनले जानकारी दिए । लिमीका केही बासिन्दाले सदरमुकाम सिमकोट, सुर्खेत, नेपालगन्ज, काठमाडौंलगायतका ठाउँमा घर बनाएकाले मौसमी बसाइ अप्ठ्यारो नभएको उनले बताए ।
लिमीका बासिन्दाको मुख्य आयस्रोतको माध्यम जडीबुटी संकलन र भेडा–च्याङ्ग्रापालन हो । तामाङका अनुसार केही युवा मजदुरीका लागि चिनियाॅ सहर ताक्लाकोट जान्छन् । ‘हाम्रा लागि विदेश भनेको ताक्लाकोट नै हो, ताक्लाकोटमा मजदुरी गर्दा महिनामा कम्तीमा डेढ लाख रुपैयाँसम्म कमाइ हुन्छ,’ उनले भने, ‘घरघरमा च्याङ्ग्रा र भेडा पालिएको छ, त्यसबाट पनि केही आम्दानी हुन्छ ।’ यो वर्ष लिमीका झन्डै ८० युवा ताक्लाकोट गएका थिए । उनीहरू झन्डै ६ महिना मजदुरी गरेर हिउँ पर्नुअघि गाउँ फर्किएका थिए ।
हिमालपारिको गाउँ भनेर चिनिने लिमीमा सिँचाइ असुविधा र अत्यधिक चिसो हुने भएकाले वर्षमा एक बाली उवा मात्र फल्ने गरेको हल्जीका पासाङ तामाङले बताए । ‘ताजा तरकारी केही हुँदैन, आलु र चोता (स्थानीय जातको मूला) मात्र फल्ने हो,’ उनले भने, ‘२/३ महिनासम्म आफ्नो उत्पादनले पुग्छ, अरू बेला त बाहिरकै खाद्यान्न खाने हो ।’
दुई वर्षअघि हिल्सा—सिमकोट सडक खुलेपछि लिमी सडकसँग जोडिएको छ । गाउँबाट सदरमुकाम सिमकोट पुग्न झन्डै ५ हजार मिटरको नारा र न्यालु लेक काट्नुपर्छ । ‘दुईवटै लेकमा चैतसम्मै बाक्लो हिउँ जम्छ, त्यो हिउँ नबिलाएसम्म हामी बाहिरै बस्छौं,’ तामाङले भने, ‘सडक बनेपछि गाउँमा विकास भित्रियो, सडकले सदरमुकामसम्मको ३ दिनको दूरी ६/७ घण्टामा छोटियो ।’
हल्जीखोला लघु जलविद्युत् आयोजनामार्फत गाउँमा बिजुली पुर्याइएको उनले बताए । गाउँमा झन्डै एक हजार वर्ष पुरानो हल्जीगुम्बा छ । ‘धर्मप्रति हाम्रो ठूलो श्रद्धा छ, गुम्बाकै कारण हामीले गाउँ छोड्न सकेका छैनौं,’ स्थानीय कोजुङ तामाङले भने, ‘धार्मिक आस्थाकै कारण अधिकांश अभिभावकले बालबालिकालाई बौद्ध शिक्षा पढाउने गरेका छौं ।’ अभिभावकको बौद्ध शिक्षाप्रति आकर्षणका कारण तिल र जाङका दुई आधारभूत विद्यालय बन्द भइसकेको वडाध्यक्ष तामाङले बताए । उनका अनुसार कक्षा ८ सम्म पढाइ हुने हल्जीस्थित सुनखानी आधारभूत विद्यालयमा २४ जना मात्र विद्यार्थी छन् । अहिले विद्यालयमा जाडो बिदा छ ।
लिमीमा कुनै निर्णय गर्नुपरे स्थानीयले जनप्रतिनिधिसहित गाउँ भेला गर्छन् । त्यसैका आधारमा वडा र स्थानीय तहले काम गर्ने वडाध्यक्ष तामाङले बताए । गाउँ भेलामार्फत निर्णय गरेर तामाङ वडाध्यक्षमा दुईपल्ट निर्विरोध निर्वाचित भएका थिए ।
चिसोका कारण नाम्खा गाउँपालिकाकै हिल्साका ३५ र यारीका झन्डै ४० परिवार बेंसीतिर बसाइँ सरेको नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामाले जानकारी दिए । उनका अनुसार अहिले न्यालु र नारा लेकमा झन्डै ३ फिट हिउँ जमेको छ । लिमीलगायत गाउँबाट आउजाउ रोकिएको छ । चिसोका कारण लिमीस्थित प्रहरी कार्यालय पनि सदरमुकाममा विस्थापित भइसकेको छ ।
