भोटे ताल्चाको जिम्मामा बस्ती

गाउँका सबै जना एकै पटक चेने झर्थे र याङ्मा फर्किन्थे, त्यस अवधिमा गाउँ रुङ्थ्यो– तिब्बतको भोटे ताल्चाले । तर, गत वर्षदेखि भिन्न अभ्यास प्रारम्भ गरेका छन्– याङ्माका बासिन्दाले । परम्परागत शैलीमा परिवर्तन ल्याउने प्रयास स्वरूप तिनले २० दिन मात्रै बस्ती छाडे, बाँकी दिन चिसो सहेरै गाउँमै बसे ।

मंसिर २०, २०८२

आनन्द गौतम

Settlement under the jurisdiction of Bhote Talcha

What you should know

ताप्लेजुङ — ४२ सय मिटर उचाइको फक्ताङलुङ गाउँपालिका–७ याङ्माका दोर्जे शेर्पा भोटिया ओलाङचुङगोला नजिकै दोबाटो छेउको चेनेमा धमाधम आलु ओसारिरहेका छन् । बारीबाट खनेर घरमा थुपारेको आलु बोरामा प्याक गर्नु र चौंरीको डढाल्नुमा राखेर चेने सार्नु अहिले उनको दैनिकी बनेको छ ।

आफैंलाई खान, पशु चौपायलाई खोले बनाएर खुवाउन र इष्टमित्र आउँदा दिनबाहेक यस वर्ष ५० मुरी आलु बिक्री गर्ने उनको तयारी छ । मानापाथीको चलन रहेको यहाँ ८ मानाको एक पाथी हुन्छ, २० पाथीको एक मुरी । एक मुरीमा ६० किलो हुन्छ भने ५० मुरीमा कम्तीमा तीन क्विन्टल । बिक्री गर्नेभन्दा बढी आलु उनले घरायसी प्रयोजनका लागि राखेका छन् ।

याङ्माबाट चौंरी लिएर चेने आइपुग्न उनलाई पूरै दुई दिन लाग्छ । पहिलो दिन मयाथोकमा बस्छन् । त्यहाँ बस्न वडाले भवन बनाइदिएको छ । दोस्रो दिन चेने पुग्छन् । आफूसँग भएका ७२ वटा याकलाई ढाडको दुईतिर आलु बोकाएर झर्छन् उनी । एक वयस्क याकले एक पटकमा एक मुरी (१०/१० पाथीको बोरा दुईतिरको ढाडमा) सम्म आलु गन्तव्यमा पुर्‍याउँछ ।

यो दैनिकी उनको मात्रै होइन । ताप्लेजुङको सबैभन्दा दूरदराज र उच्च स्थानको याङ्माका पूरै १० परिवारको जीवनशैली अहिले यही हो । गत कात्तिकमा दुई पटक हिउँ परेपछि अहिले यस क्षेत्रको मौसम खुलेको छ । त्यही खुलेको मौसम उपयोग गर्दै उनीहरू आलु र दाउरा ओसार्दै छन् ।

याङ्माका बासिन्दाले यसरी आलु ओसार्न थालेको दशकौं वर्ष भयो । ओढ्ने–ओछ्याउने कपडा, पकाउने भाँडाकुँडा, खाने चामल, नुन, तेललगायत घरायसी सामग्री आलुसँगै लिएर झर्थे । हरेक परिवारले पाल, प्लास्टिक अनिवार्य बोकेका हुन्थे । चेनेमा हरेकका आ–आफ्ना एक–एक वटा झुपडी छन्, तिनलाई सम्हाल्थे ।

याङ्माको तुलनामा चेने १४ सय मिटर कम अर्थात् २८ सय मिटर उचाइमा रहेकाले न्यानो आभास गर्थे । कहिले सर्ने ? ठ्याक्कै मिति यकिन हुँदैनथ्यो । चिसोले याङ्मामा बस्ने अवस्था कमजोर हुँदै गएपछि झर्ने क्रम सुरु हुन्थ्यो । झरिसकेपछि कम्तीमा तीन महिना त्यहीं बिताउँथे । चेने झर्ने र याङ्मा फर्कने क्रम बस्तीका सबै परिवारको एकै पटक हुन्थ्यो । बस्तीका पूरै मानिस गाउँबाट सँगै उठेर हिँड्थे । यस अवधिभर यहाँका सबै घर चीनको तिब्बतबाट किनेर ल्याएको भोटे ताल्चाले रुङ्थ्यो, जुन ताल्चा एकअर्कोमा मिल्दैनथ्यो । हराए, फुटाउनैपर्थ्यो ।

Settlement under the jurisdiction of Bhote Talcha

तर, गत वर्षदेखि भिन्न अभ्यास प्रारम्भ गरेका छन् याङ्माका बासिन्दाले । परम्परागत शैलीमा परिवर्तन ल्याउने प्रयासस्वरूप तिनले २० दिन मात्रै बस्ती छाडे । बाँकी समय चिसो सहेरै गाउँमै बसे । यस वर्ष त्यसलाई पनि छोट्याएर हिउँदैभरि गाउँ बस्ने सल्लाह मिलाएका छन् । यसमा ३१ सय मिटर उचाइमा रहेका ओलाङचुङगोलावासीको साथ पाएका छन् ।

उनीहरूको आलु राख्न वडा कार्यालयले चेनेमा गोदाम घर बनाइदिएको छ, जहाँ मिलाएर राखे पाँच सय मुरी (३० क्विन्टल) भन्दा बढी नै आलु गोदाम गर्न सकिन्छ । उनीहरूको आलु ओलाङचुङगोलाका व्यवसायीले पूरै किनिदिन्छन् । अर्थात् चेनेमा बसेर औलबाट आएकालाई बिक्री गर्नु वा साट्नु पर्दैन । गत वर्षसम्म दुई पाथी आलुमा एक पाथी साटेका थिए । अहिले कोदो पाथीको १ सय ५० रुपैयाँसम्म छ । यो दरले उनीहरूको आलुको मूल्य ७५ रुपैयाँ पाथी पर्छ ।

यसमा केही सहुलियत दिएर ओलाङचुङगोलाका व्यापारीलाई बिक्री गर्छन् । किन्ने र बेच्ने प्रायः आफन्त नाता भएका र धेरैजसो घरपरिवारकै भएकाले यसमा ठूलो समस्या नभएको फक्ताङलुङ गाउँपालिका–७ का निवर्तमान अध्यक्ष छेतेन शेर्पा भोटे बताउँछन् । अहिले तिनले बोरामा किन्नेको नाम लेखेर गोदाम घरमै आलु छोडेका छन् ।

गत वर्ष गोलाका व्यापारीले यसरी खरिद गरेको आलु चेनेबाट खच्चडलाई बोकाएर उत्तर–दक्षिण लोकमार्गसम्म निकालेका थिए । त्यहाँबाट ट्याक्टरमा लेलेप, तापेथोक पुर्‍याए र बिक्री गरे । यस वर्ष पनि त्यही गर्ने तयारीमा व्यापारी रहेको ओलाङचुङगोलाका तेन्जिङ वालुङ बताउँछन् ।

वालुङका अनुसार, याङ्माका किसान र ओलाङचुङगोलाका व्यापारीबीच कसको आलु कसले राख्ने भन्ने आपसी सहमति भइसकेको छ । औसतमा प्रतिपरिवार ५० मुरीका दरले १० परिवारको आलु पाँच सय मुरीको हाराहारीमा बिक्री हुन्छ । यहाँको आलु बीउका लागि लेलेप, तापेथोक, इखाबु, सावादिन, खेजेनिमका किसानले रुचाएर किन्छन् । बीउलाई राम्रो मानिने भएकाले बिक्रीमा कुनै समस्या नहुने तेन्जिङ बताउँछन् ।

Settlement under the jurisdiction of Bhote Talcha

उत्पादित सबै आलु एकमुष्ट बिक्री भएर पनि उनीहरूलाई याङ्माको चिसो सामना गर्न सहज भएको तेन्जिङले बताए । यस्तो अभ्यास घुन्साका बासिन्दाले एक दशकयता गरिरहेका छन् । तर, घुन्सामा भने याङ्माको जस्तो पूरापुर सहमति हुँदैन । आधा/आधा, कहिले ७०/३०, ६०/४० हुने गरेको छ । आधाभन्दा बढी परिवार चिसो छल्न बस्ती छोड्छन् । केही त्यहीँ रहने गर्छन् । घुन्साका डन्डु शेर्पाका अनुसार, एक दशक अघिसम्म पूरै बस्ती घुन्सा छोडेर हिँड्थ्यो ।

सदरमुकाम फुङलिङ, काठमाडौं, भारतको दार्जिलिङ, सिक्किमलगायतका स्थानमा जान्थे । केही डेढ घण्टाको दूरीमा रहेको फलेमा सर्थे । छोटो दूरी भए पनि पारिलो भएकाले घुन्साका लागि फले चिसो छल्ने बस्ती बनेको थियो । पछिल्ला वर्ष धेरैले गाउँ छोडेर हिँड्दा पनि कोही न कोहीचाहिँ गाउँमा हुन्छन् । गाउँमा हुनेलाई यहाँ रहेको प्रहरी चौकीले साथ दिने गरेको छ ।

चौकीका प्रहरी छोडेर हिँड्दैनन् । प्रहरी गाउँलेको र गाउँले प्रहरीको सहारामा बस्ने गरेका छन् । सशस्त्र द्वन्द्वपछि पुनःस्थापना भएको सीमा प्रहरी चौकीका प्रहरी प्रधान कार्यालयले सर्ने अनुमति नदिएर दुईवर्षर् ेहिउँद गाउँमै बिताएपछि स्थानीय पनि बस्ने क्रम सुरु भएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टाँसी शेर्पा बताउँछन् ।

पशु चौपायाको अभ्यास

मान्छेसँगै याङ्माका बासिन्दाले गत वर्ष अर्को पनि अभ्यास गरे । आफूहरू चेने अर्थात् औलमा नबसेपछि आफूले पालेका पशु चौपाया पनि औल झारेनन् । उल्टो लेक (हिमाल) तिरका खर्कमा खेदाइदिए । पुस, माघको ठण्डीमा पनि ५ हजार मिटर उचाइको छेर्छेन ताल आसपाससम्म पुर्‍याए, जुन बस्तीभन्दा आठ सय मिटरसम्मको उचाइ हो । तिनको रेखदेखका लागि तीन/चार, तीन/चार परिवार मिलेर संयुक्त रूपमा गएर हेर्ने र कहिले गोठमै बस्ने गरे ।

गत वर्षको भोगाइबाट पशु चौपायामा चिसोको खासै समस्या नदेखिएको र आफूहरूलाई पनि अप्ठेरो परिस्थिति नभएको दोर्जेको भोगाइ र बुझाइ छ । यस वर्ष पूरै समय याङ्मामै बस्ने भएपछि फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामा मंसिर पहिलो साता याङ्मा पुगेर फर्किएका छन् ।

Settlement under the jurisdiction of Bhote Talcha

टेलिफोन सम्पर्कसमेत नहुने यहाँका जनतालाई भेट्न चिसोका लागि औषधिलगायत सामग्री लिएर पुगेको उनले बताए । ‘टेलिफोन लाग्दैन, हिउँ पर्ला, अप्ठेरो पर्ला, नबस्नु राम्रो होला भनेर सम्झाएँ,’ छेतेनले भने । छेतेनले स्वास्थ्यकर्मीसमेत लगेर साह्रै चिसो भए कस्तो खानेकुरा खाने, औषधि कुन खाने भन्नेसम्मको विषयमा स्थानीयसँग कुरा गराएको बताए ।

अब भने मिक्वाखोला–५ तोक्पेगोला, फक्ताङलुङ–६ खम्बाछेन, लोनाक, पाङ्पेमा, चेइरामका बस्ती मात्रै पूरापुर बन्द हुने भएका छन् । तर, यहाँका सबै व्यवसायीको घर औल क्षेत्रमा पनि छ ।

यसरी गर्छन् पूर्वतयारी

३१ सय मिटर उचाइको ओलाङचुङगोलाका बासिन्दाले कात्तिक तेस्रो सातामा जोङ्गीनदेखिको भुइँ घाँस काटेर संकलन गर्छन् । बस्तीदेखि तीन घण्टाको दूरीमा रहेको यहाँको घाँस काटेर सुकाएपछि बोरामा हाल्छन् र चौंरीलाई बोकाएर बस्तीमा पुर्‍याउँछन् । याङ्माकाले गत वर्ष र यस वर्ष मैयाथोक, जरिटार आसपासको क्षेत्रमा दाउरा र घाँस काटे । त्यही दाउरा र घाँस चेनेमा आलु पुर्‍याउन ल्याएको याकलाई बोकाएर बस्ती पुर्‍याए । घुन्साका किसानले पनि ठाङ्गेन, ग्याब्लादेखिको खर्कको घाँस र दाउरा बस्तीमा पुर्‍याए ।

गाउँलेहरू त्यसरी लगेको घाँस–दाउरा घरको भुइँ तलामा राख्छन् र घरका मानिस दोस्रो तलामा मात्रै बस्छन् । याक, नाक र चौंरीलाई ठूला खर्क र टारतिर निकालिदिन्छन् । याङ्माका चौंरी चीनसँगको सीमानाका नजिकसम्म पुग्ने गरेको ओलाङचुङगोलाका नुपु शेर्पा बताउँछन् । उनका अनुसार, यतिबेला दुहुना वस्तु प्रायः हुँदैनन् । भएका एकादुईलाई घर आसपासै राख्छन् र नुन–भुससहितको खोले र घाँस दिन्छन् । मसिना बाच्छाबाच्छी पनि मानिसको पहुँच पुग्ने ठाउँमा राखिन्छ ।

कात्तिकपछि हिमाली क्षेत्रमा चिसो बढ्न थाल्छ । वडाध्यक्ष छेतेनका अनुसार, अहिले नै पनि बिहान–बेलुका पानी जम्न थालेको छ । तीन वर्षअघि माइनस–१४ डिग्रीसम्म तापक्रम रेकर्ड गरेको तर अहिले तापक्रम मापन गर्ने मेसिन नभएको छेतेन बताउँछन् । मंसिरपछि हिमाली क्षेत्रमा हमेसा पानी पर्दैन । आकाश धुमिल भएर बर्सन थाले पानीको साटो हिउँ झर्छ । त्यही हिउँ र चिसोबाट सुरक्षित हुन गज्जबले पूर्वतयारी गर्छन् उनीहरू । ‘मंसिर/पुसदेखि हुने हिमपात फागुन/चैतसम्मै रहन्छ,’ ओलाङचुङगोलाका नुपुले भने, ‘बेमौसमी हिउँ त असोज–कात्तिक र वैशाख–जेठमा पनि पर्न थालेको छ ।’

हिमाली क्षेत्रका बासिन्दाको मुख्य पेसा पशुपालन भएकाले कम्तीमा ८/१० वटादेखि डेढ–दुई सयसम्म पशु चौपाया पालेका किसान प्रशस्त छन् । चौंरी, याक, बाख्रा, च्यांग्रा, कुखुराजस्ता पशु चौपायालाई सुरक्षित राखेपछि मान्छेहरू सुरक्षित हुन थाल्छन् । मान्छेका लागि खाद्यान्न, न्यानो कपडा, दाउरा, गोबरको गुइँठाको बन्दोबस्त भइसकेको छ ।

यी बस्तीका प्रत्येक घरले वैशाखसम्म पुग्ने गरी चामल, दाल, नुन, तेल, साबुन, मरमसलाको बन्दोबस्ती मिलाइसकेको वडाध्यक्ष छेतेनको दाबी छ । बाल्नका लागि दाउरा घरको वरिपरि खात लगाएर राखेका छन् । बाख्रा, कुखुराजस्ता घरैमा पालिने चौपाया राख्ने खोर सकेसम्म न्यानो हुने गरी बनाएका छन् । मानिस बस्ने घर पनि गुमुक्क न्यानो हुने, हावा नछिर्ने खालको बनाएको हुने छेतेनको कथन छ ।

Settlement under the jurisdiction of Bhote Talcha

यहाँको तापक्रम माइनस हुँदै गएपछि पानी जाम हुन्छ । धाराबाट पानी खस्न छोड्छ । घुन्साका धार्के शेर्पाले भने, ‘हरेक दिन माइनस तापक्रम हुने र त्यो क्रम महिनौंसम्म रहने हामी हिमाली बस्तीका बासिन्दाले आफ्नै बलबुताले चिसोबाट बच्ने पूर्वतयारी मज्जैले गर्नुपर्छ । हिउँ पर्न थालेपछि कहिले घरभित्रै थुनिएर बस्नुपर्छ । धेरैजसो बस्तीबाट बाहिर जानै नसक्ने अवस्था हुन्छ र गाउँमै बन्धक बन्नुपर्छ ।’

हिउँ परेका बेला बाहिर निस्किन सकिँदैन । ‘यस्तो बेला निस्कनु पनि हुँदैन,’ नुपुले भने, ‘हिउँ पर्ने क्रम कम भएपछि भने पशु चौपायाको रेखदेख गर्नुपर्छ ।’ नुपुका अनुसार, हिउँ परेपछि मालिंगोलगायतका हरिया घाँस नहुने, जंगल र भीरतिर गएर त्यो तान्न खोज्दा लडेर मर्ने सम्भावना धेरै हुन्छ ।’

तीन महिना स्कुल बिदा

सामुदायिक विद्यालयमा हिउँदे र बर्खे गरी ४५ दिन बिदा गर्ने अनुमति सरकारले दिएको छ । त्यसमा पाँच दिन विद्यालय व्यवस्थापन समितिको निर्णयमा बिदा गर्न पाइन्छ । यसलाई मीनपचास बिदा भनिन्छ । औल क्षेत्रका विद्यालयले बर्खायाममा एक महिना र दसैंतिहारबीच तथा चिसो समयमा यस्तो बिदा गर्छन् ।

हिमाली क्षेत्रमा भने हिउँ पर्ने हिउँदको समयमा तीन महिनासम्म बिदा हुन्छ । घुन्सा, ओलाङचुङगोला, याङ्मा, फले, ग्याब्लाका विद्यालयमा यसरी बिदा हुने गरेको छ । ‘पहिले मंसिरदेखि माघ महिनासम्म बिदा गर्थ्यौं,’ घुन्सा आधारभूत विद्यालयका प्रधानाध्यापक सिंहबहादुर सिंहले भने, ‘यस वर्ष पनि सानो कक्षाका विद्यार्थीलाई मंसिर लाग्दै बिदा दिइसक्यौं, ठूलो कक्षाका लागि गाउँबाट मानिसहरू हिँड्न थालेपछि बिदा गर्छौं ।’

Settlement under the jurisdiction of Bhote Talcha

घुन्साभन्दा बाहिरबाट आएका विद्यार्थीमा चिसोयाम सुरु भएपछि घाँटी, टाउको दुख्नेजस्ता समस्या हुने भएकाले समयमै बिदा गर्नुपर्ने शिक्षक बताउँछन् । पछिल्ला वर्ष मंसिर अन्तिम सातादेखि फागुन अन्तिम सातासम्म बिदा गर्ने प्रचलन छ । चैतसम्मै हिउँ पर्न थालेपछि पुसदेखि फागुनसम्म चाहिँ विद्यालय बन्दै रहने अभिभावक बताउँछन् ।

उनीहरूका अनुसार, हिउँदमा चार महिनासम्म पनि विद्यालय बिदा हुन सक्छ । घुन्सा आधारभूत विद्यालयमा पुस–माघमा दिउँसो १ बजे घाम देखिने र ३ बजे नै अस्ताउने भएकाले चिसोले बालबालिकालाई असाध्यै गाह्रो हुने शिक्षक सुनाउँछन् । हिउँपहिरो झर्न सक्ने भएकाले यस्तो बेला हिँडडुलमा समस्या हुने गरेको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully