गोरक्सेप, लोबुचे र दिङबोचेका अधिकांश बासिन्दा काठमाडौं पुगिसकेका छन्, उनीहरूका घर, होटल कामदारहरूले रुँगिरहेका छन्, कतिपय घरमा ताल्चा लगाइएको छ।
What you should know
सोलुखुम्बु — यतिखेर गोरक्सेप सुनसान छ । यहाँका घरधनीहरू जाडो छल्न काठमाडौं पुगिसकेका छन् । होटल र घर हेर्ने जिम्मा कामदारलाई दिइएको छ । अहिले एउटा होटलमा १ देखि ५ जनासम्म कामदार छन् ।
सर्वोच्च शिखर सगरमाथालगायत हिमालहरूको आधारशिविरनजिकै कालापत्थरको काखमा छ गारेक्सेप । यो समुद्री सतहबाट ५ हजार १ सय ६४ मिटर उचाइमा छ । यहाँ अहिले तापक्रम माइनस १२ डिग्रीभन्दा कम नै हुन्छ । गोरक्सेपमा होटल र भट्टीसमेत गरी ९ घर छन् । यो सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्छ ।
चिसोले पर्यटक आउन छाडेपछि होटल सञ्चालक काठमाडौं जाने वर्षौंदेखिको चलन हो । यहाँको होटल हिमालय लनका सञ्चालक पासाङ शेर्पा कामदारलाई होटलको चाबी जिम्मा लगाएर काठमाडौं पुगेका छन् । उनी अब फागुन–चैतमा मात्रै खुम्बु फर्किन्छन् । गाउँको विकासका आधारभूत पूर्वाधारसमेत नभएकाले १२ महिनै बस्न गाह्रो रहेको पासाङ बताउँछन् ।
‘अन्य कुरा त परै राखौं, नियमित रूपमा पानी आपूर्तिको व्यवस्था पनि छैन । ग्लेसियर (हिमनदी) बाट ड्रममा बोकेर पानी ल्याउनुपर्छ, त्यही ग्लेसियर पनि मंसिर लागेपछि जम्छ, हिउँ पगालेर पानी खानुपर्छ,’ उनी भन्छन् ।
गोरक्सेपमा बिजुलीको सुविधा छैन । सोलार र ब्याट्रीबाट उज्यालो पार्ने गरिन्छ । तर हिउँदमा घाम नलाग्दा सोलार चार्ज हुँदैन । ‘हिउँदमा हामीलाई बत्ती बाल्न र फोन चार्ज गर्न धेरै गाह्रो छ, सोलार र ब्याट्री पनि बिग्रिरहन्छ,’ पासाङले भने ।
गोरक्सेपबाट नजिकको स्कुल भनेको नै खुम्जुङ स्कुल हो, जुन धेरै टाढा छ । त्यसैले यहाँका बासिन्दाले बालबच्चा प्रायः काठमाडौं नै पढाउने गरेका छन् । प्रायः सबैको घर काठमाडौंमा पनि छ । अधिक उचाइमा रहेकाले गारेक्सेपमा पशुपालन र खेतीपाती हुँदैन । त्यसैले गाउँ छाडेर हिँड्न स्थानीयलाई सहज छ । पर्यटक आउने याम सुरु भएपछि भने उनीहरू गाउँ फर्कन्छन् । पर्यटकीय चहलपहलकै कारण उनीहरूको आर्थिक स्तर उकासिएको छ ।
गोरक्सेपभन्दा अलि कम उचाइको गाउँ हो लोबुचे । यो समुद्री सतहबाट ४ हजार ९ सय ४० मिटर उचाइमा छ । ९ वटा होटल र ३ वटा भट्टी छन् । ती पनि अहिले कामदारका भरमा छन् । सिजनमा भने यहाँका होटल तथा लज पर्यटकले भरिभराउ हुन्छन् ।
नेसनल पार्क होटलका सञ्चालक बरुणिमा शेर्पा महाकुलुङका जेठा राई र अविन राईलाई रेखदेखको जिम्मा लगाएर सपरिवार काठमाडौं पुगिसकेका छन् । उनका अनुसार गाउँमा बिजुली छैन । सोलार र ब्याट्रीबाट बत्ती बाल्ने गरिन्छ । ‘हाम्रो गाउँमा टेलिफोन टावरसमेत टिप्दैन,’ बरुणिमाले भने, ‘पालिका, निुकञ्जलगायतले करोडौं राजस्व उठाउँछन् तर पर्यटकीय पूर्वाधारमा लगानी गर्दैनन् ।’
लोबुचेमा पनि खेतीपाती र पशुपालन हुँदैन । हिउँदमा घर हेरालुका लागि खाद्यान्न तथा तरकारी नाम्चेलगायत तल्लो क्षेत्रबाट बेलैमा ल्याएर भण्डारण गरिन्छ । यहाँका बासिन्दाको प्रमुख पेसा र व्यवसाय नै पर्यटन हो । यहाँका शेर्पाहरू ट्रेकिङसँग सम्बन्धित व्यवसायमा पनि छन् । यो गाउँमा अब फागुन लागेपछि मात्र चहलपहल सुरु हुन्छ ।
०००
हिउँदमा चिसोले गाउँ नै खाली हुने अनि मनसुनमा परम्पराका कारण मान्छे बस्न नमिल्ने विश्वास रहेको हिमाली गाउँ हो दिङबोचे । समुद्री सतहबाट ४ हजार ४ सय १० मिटर उचाइमा रहेको दिङबोचे गाउँका १ सय २० घर अहिले प्रायः बन्द छन् । केही घरमा कामदार छन् । प्रायः घरमा चाबी लगाइएको छ । अधिकांश घरधनी काठमाडौं पुगिसकेका छन् ।
दिङबोचेमा होटल–लज ३२ वटा छन् । साना भट्टीहरू प्नि ३० वटा बढी छन् । दिङबोचोको इम्जा भ्याली होटलका सञ्चालक गेलु शेर्पा अहिले नाम्चे झरेका छन्, केही दिनपछि काठमाडौं जानेछन् । ‘धेरै व्यापार नहुने, चिसोका कारण धेरै रोगले समात्ने भएकाले पनि हामी त्यहाँ बस्ने अवस्था छैन’ गेलु शेर्पाले भने, ‘जाडोमा गाउँ छोड्ने त हाम्रो परम्परा नै भइसक्यो ।’
खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा सगरमाथा पदमार्गमा पर्छ दिङबोचे । यहाँ पुग्न नाम्चेबाट २ दिन हिँड्नुपर्छ । यहाँ स्कुल छैन । स्थानीयले आफैं पाइप व्यवस्था गरेर घरमा पानी आपूर्ति गरिरहेका छन् । ‘हाम्रो गाउँमा विद्युत् र सञ्चार सुविधा पनि छैन,’ स्थानीय पेम्बा शेर्पाले भने ।
यहाँ खेतीपाती हुन्छ तर आलु र सागसब्जी मात्र उब्जाउ हुन्छ । हिउँदयाममा भने खेतीपाती हुँदैन । चौंरी र याक पाल्ने पनि चलन छ । ‘चौंरी र याक स्थानीय गोठालाले हेरिदिन्छन्,’ स्थानीय पासाङ शेर्पाले भने ।
दिङबोचेमा मनसुनको करिब १ महिना आफ्नो घर बस्न नपाउने डि प्रथा छ । त्यतिबेला स्थानीय बासिन्दा नजिकैको गोठ र अन्य गाउँमा रहेका आफन्तकामा बस्छन् । स्थानीय पात्रोअनुसार लामाहरूले साइत हेरेर १ महिना १० दिनसम्म डि प्रथा लागू गराउँदै आएको वडा सदस्य पासाङनुरु शेर्पाले बताए । ‘केही वर्षअघि स्थानीयले विरोध गरेपछि १० दिन अवधि घटाउने सहमति भयो,’ उनले भने ।
डि लागू भएपश्चात् आफ्नै घरमा बस्न मिल्दैन । घरमा आगो बाल्न पाइँदैन । गाईबस्तु जंगलमा लगेर छोड्नुपर्छ । परापूर्वकालमा खुम्बु क्षेत्रका धेरै गाउँमा डि प्रथा रहेको तर धेरै स्थानमा हटिसकेको स्थानीय बताउँछन् । दिङबोचे गाउँका मानिसले घर छाडे/नछाडेको अनुगमन गर्न सगरमाथा मध्यवर्ती क्षेत्र उपभोक्ता समूहले नावा (अनुगमनकर्ता) समेत तोकेको छ । डि नमाने जरिवाना तिराइन्छ ।
डी प्रथा हटाएर आफ्नो घरमा बस्न पाउनुपर्ने भन्दै दिङबोचेका केही बासिन्दाको माग छ । नियम हटाउनुपर्ने र कायमै राख्नुपर्ने भन्ने विवादमा गत वर्ष २ समूहबीच झडपसमेत भएको थियो । दिङबोचेनजिकै करिब ३ घण्टाको पदमार्ग (नाम्चेतर्फ) पछि पाङबोचे गाउँ आउँछ । करिब २ सय घर रहेको पाङबोचेका बासिन्दाले दिङबोचेमा डि प्रथा कायम गर्नुपर्नेमा जोड दिने गरेका छन् । पाङबोचेमा भने डि प्रथा छैन ।
अहिले खुम्बु क्षेत्रमा सरकारी निकायको उपस्थिति भने हुने गरेको छ । वडा कार्यालय खुम्जुङमै छ । सबै सेवा हिउँदमा पनि सञ्चालन हुने खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले बताए । सुरक्षाका लागि दिङबोचे प्रहरी चौकीमा पनि प्रहरी तैनाथ रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी मनोजित कुँवरले बताए ।
