हेरालुका भरमा छ खुम्बु

गोरक्सेप, लोबुचे र दिङबोचेका अधिकांश बासिन्दा काठमाडौं पुगिसकेका छन्, उनीहरूका घर, होटल कामदारहरूले रुँगिरहेका छन्, कतिपय घरमा ताल्चा लगाइएको छ।

मंसिर २०, २०८२

भानुभक्त निरौला

Khumbu is on the lookout.

What you should know

सोलुखुम्बु — यतिखेर गोरक्सेप सुनसान छ । यहाँका घरधनीहरू जाडो छल्न काठमाडौं पुगिसकेका छन् । होटल र घर हेर्ने जिम्मा कामदारलाई दिइएको छ । अहिले एउटा होटलमा १ देखि ५ जनासम्म कामदार छन् ।

सर्वोच्च शिखर सगरमाथालगायत हिमालहरूको आधारशिविरनजिकै कालापत्थरको काखमा छ गारेक्सेप । यो समुद्री सतहबाट ५ हजार १ सय ६४ मिटर उचाइमा छ । यहाँ अहिले तापक्रम माइनस १२ डिग्रीभन्दा कम नै हुन्छ । गोरक्सेपमा होटल र भट्टीसमेत गरी ९ घर छन् । यो सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्छ ।

चिसोले पर्यटक आउन छाडेपछि होटल सञ्चालक काठमाडौं जाने वर्षौंदेखिको चलन हो । यहाँको होटल हिमालय लनका सञ्चालक पासाङ शेर्पा कामदारलाई होटलको चाबी जिम्मा लगाएर काठमाडौं पुगेका छन् । उनी अब फागुन–चैतमा मात्रै खुम्बु फर्किन्छन् । गाउँको विकासका आधारभूत पूर्वाधारसमेत नभएकाले १२ महिनै बस्न गाह्रो रहेको पासाङ बताउँछन् ।

‘अन्य कुरा त परै राखौं, नियमित रूपमा पानी आपूर्तिको व्यवस्था पनि छैन । ग्लेसियर (हिमनदी) बाट ड्रममा बोकेर पानी ल्याउनुपर्छ, त्यही ग्लेसियर पनि मंसिर लागेपछि जम्छ, हिउँ पगालेर पानी खानुपर्छ,’ उनी भन्छन् ।

गोरक्सेपमा बिजुलीको सुविधा छैन । सोलार र ब्याट्रीबाट उज्यालो पार्ने गरिन्छ । तर हिउँदमा घाम नलाग्दा सोलार चार्ज हुँदैन । ‘हिउँदमा हामीलाई बत्ती बाल्न र फोन चार्ज गर्न धेरै गाह्रो छ, सोलार र ब्याट्री पनि बिग्रिरहन्छ,’ पासाङले भने ।

Khumbu is on the lookout.

गोरक्सेपबाट नजिकको स्कुल भनेको नै खुम्जुङ स्कुल हो, जुन धेरै टाढा छ । त्यसैले यहाँका बासिन्दाले बालबच्चा प्रायः काठमाडौं नै पढाउने गरेका छन् । प्रायः सबैको घर काठमाडौंमा पनि छ । अधिक उचाइमा रहेकाले गारेक्सेपमा पशुपालन र खेतीपाती हुँदैन । त्यसैले गाउँ छाडेर हिँड्न स्थानीयलाई सहज छ । पर्यटक आउने याम सुरु भएपछि भने उनीहरू गाउँ फर्कन्छन् । पर्यटकीय चहलपहलकै कारण उनीहरूको आर्थिक स्तर उकासिएको छ ।

गोरक्सेपभन्दा अलि कम उचाइको गाउँ हो लोबुचे । यो समुद्री सतहबाट ४ हजार ९ सय ४० मिटर उचाइमा छ । ९ वटा होटल र ३ वटा भट्टी छन् । ती पनि अहिले कामदारका भरमा छन् । सिजनमा भने यहाँका होटल तथा लज पर्यटकले भरिभराउ हुन्छन् ।

नेसनल पार्क होटलका सञ्चालक बरुणिमा शेर्पा महाकुलुङका जेठा राई र अविन राईलाई रेखदेखको जिम्मा लगाएर सपरिवार काठमाडौं पुगिसकेका छन् । उनका अनुसार गाउँमा बिजुली छैन । सोलार र ब्याट्रीबाट बत्ती बाल्ने गरिन्छ । ‘हाम्रो गाउँमा टेलिफोन टावरसमेत टिप्दैन,’ बरुणिमाले भने, ‘पालिका, निुकञ्जलगायतले करोडौं राजस्व उठाउँछन् तर पर्यटकीय पूर्वाधारमा लगानी गर्दैनन् ।’

लोबुचेमा पनि खेतीपाती र पशुपालन हुँदैन । हिउँदमा घर हेरालुका लागि खाद्यान्न तथा तरकारी नाम्चेलगायत तल्लो क्षेत्रबाट बेलैमा ल्याएर भण्डारण गरिन्छ । यहाँका बासिन्दाको प्रमुख पेसा र व्यवसाय नै पर्यटन हो । यहाँका शेर्पाहरू ट्रेकिङसँग सम्बन्धित व्यवसायमा पनि छन् । यो गाउँमा अब फागुन लागेपछि मात्र चहलपहल सुरु हुन्छ ।

०००

हिउँदमा चिसोले गाउँ नै खाली हुने अनि मनसुनमा परम्पराका कारण मान्छे बस्न नमिल्ने विश्वास रहेको हिमाली गाउँ हो दिङबोचे । समुद्री सतहबाट ४ हजार ४ सय १० मिटर उचाइमा रहेको दिङबोचे गाउँका १ सय २० घर अहिले प्रायः बन्द छन् । केही घरमा कामदार छन् । प्रायः घरमा चाबी लगाइएको छ । अधिकांश घरधनी काठमाडौं पुगिसकेका छन् ।

दिङबोचेमा होटल–लज ३२ वटा छन् । साना भट्टीहरू प्नि ३० वटा बढी छन् । दिङबोचोको इम्जा भ्याली होटलका सञ्चालक गेलु शेर्पा अहिले नाम्चे झरेका छन्, केही दिनपछि काठमाडौं जानेछन् । ‘धेरै व्यापार नहुने, चिसोका कारण धेरै रोगले समात्ने भएकाले पनि हामी त्यहाँ बस्ने अवस्था छैन’ गेलु शेर्पाले भने, ‘जाडोमा गाउँ छोड्ने त हाम्रो परम्परा नै भइसक्यो ।’

खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा सगरमाथा पदमार्गमा पर्छ दिङबोचे । यहाँ पुग्न नाम्चेबाट २ दिन हिँड्नुपर्छ । यहाँ स्कुल छैन । स्थानीयले आफैं पाइप व्यवस्था गरेर घरमा पानी आपूर्ति गरिरहेका छन् । ‘हाम्रो गाउँमा विद्युत् र सञ्चार सुविधा पनि छैन,’ स्थानीय पेम्बा शेर्पाले भने ।

यहाँ खेतीपाती हुन्छ तर आलु र सागसब्जी मात्र उब्जाउ हुन्छ । हिउँदयाममा भने खेतीपाती हुँदैन । चौंरी र याक पाल्ने पनि चलन छ । ‘चौंरी र याक स्थानीय गोठालाले हेरिदिन्छन्,’ स्थानीय पासाङ शेर्पाले भने ।

Khumbu is on the lookout.

दिङबोचेमा मनसुनको करिब १ महिना आफ्नो घर बस्न नपाउने डि प्रथा छ । त्यतिबेला स्थानीय बासिन्दा नजिकैको गोठ र अन्य गाउँमा रहेका आफन्तकामा बस्छन् । स्थानीय पात्रोअनुसार लामाहरूले साइत हेरेर १ महिना १० दिनसम्म डि प्रथा लागू गराउँदै आएको वडा सदस्य पासाङनुरु शेर्पाले बताए । ‘केही वर्षअघि स्थानीयले विरोध गरेपछि १० दिन अवधि घटाउने सहमति भयो,’ उनले भने ।

डि लागू भएपश्चात् आफ्नै घरमा बस्न मिल्दैन । घरमा आगो बाल्न पाइँदैन । गाईबस्तु जंगलमा लगेर छोड्नुपर्छ । परापूर्वकालमा खुम्बु क्षेत्रका धेरै गाउँमा डि प्रथा रहेको तर धेरै स्थानमा हटिसकेको स्थानीय बताउँछन् । दिङबोचे गाउँका मानिसले घर छाडे/नछाडेको अनुगमन गर्न सगरमाथा मध्यवर्ती क्षेत्र उपभोक्ता समूहले नावा (अनुगमनकर्ता) समेत तोकेको छ । डि नमाने जरिवाना तिराइन्छ ।

डी प्रथा हटाएर आफ्नो घरमा बस्न पाउनुपर्ने भन्दै दिङबोचेका केही बासिन्दाको माग छ । नियम हटाउनुपर्ने र कायमै राख्नुपर्ने भन्ने विवादमा गत वर्ष २ समूहबीच झडपसमेत भएको थियो । दिङबोचेनजिकै करिब ३ घण्टाको पदमार्ग (नाम्चेतर्फ) पछि पाङबोचे गाउँ आउँछ । करिब २ सय घर रहेको पाङबोचेका बासिन्दाले दिङबोचेमा डि प्रथा कायम गर्नुपर्नेमा जोड दिने गरेका छन् । पाङबोचेमा भने डि प्रथा छैन ।

अहिले खुम्बु क्षेत्रमा सरकारी निकायको उपस्थिति भने हुने गरेको छ । वडा कार्यालय खुम्जुङमै छ । सबै सेवा हिउँदमा पनि सञ्चालन हुने खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले बताए । सुरक्षाका लागि दिङबोचे प्रहरी चौकीमा पनि प्रहरी तैनाथ रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी मनोजित कुँवरले बताए ।

भानुभक्त

Link copied successfully