मंसिरमा मुस्ताङीहरू तल झर्छन् । फागुन अन्तिम सातादेखि उपल्लो मुस्ताङीको घर फिर्ती सुरु हुन्छ । मुस्ताङीको यो यात्रा नुन–चामलको परम्पराबाट सुरु भएर वैदेशिक रोजगारीको युगसम्म आइपुगेको एउटा अनन्त कथा हो ।
What you should know
पोखरा — हिमालपारिको जीवन आकाशजस्तो नीलो मात्रै हुँदैन, चिस्सिएर कक्रिएको ढुंगाजस्तो कठोर पनि हुन्छ । उपल्लो मुस्ताङको भूगोलमा हरेक हिउँद एउटा अनिवार्य पलायनको कथा बोकेर आउँछ । पुस्तौंदेखि चलिआएको ‘चिसो छल्न बेंसी झर्ने र जीविकाको न्यानो खोज्ने’ यो चक्र आज परिवर्तनको आँधीबेहरीमा उभिएको छ ।
बाजेको पालामा यो यात्रा नुन र चामलको व्यापार थियो– भेडाच्यांग्राको ढाडमा भोटबाट ल्याएको नुन बोकाएर, नुन बेचेको पैसाले तलबाट चामल, मकै किनेर फर्किने ! त्यो युगको कथा जीविकाको चरम संघर्ष थियो । तर, आजको कथा फरक छ । यो न्यानो कपडा बेचेर नगद भित्र्याउने र जीवनलाई सम्पन्नताको बाटोमा डोर्याउने कथा हो ।
मंसिरको पहिलो साता उपल्लो मुस्ताङको छोसेर गाउँमा बिहानको हावा कानमा सुई रोपेजस्तो चिसो छ । ५० वर्षे ल्हामु गुरुङ आफ्नो माटोको घरको ढोकामा ताल्चा झुन्ड्याउँदै छिन् । उनको काँधमा भेडाको ऊनबाट बनेका स्वेटर, टोपी, मफलरको भारी छ अनि झोलामा जिम्बु र सियोको गुच्छा ।
हिमालपारिको यो गाउँबाट पोखराको बाटो तताउनुअघि उनले एकपल्ट फेरि घरलाई नियालिन् । सोचिन्, ‘छतमा जमेको हिउँ छिमेकीले फालिदेलान् नि !’ यो विश्वासको परम्परा हो । ‘बाजेको पालादेखिको परम्परा हो यो,’ पोखराको हेम्जामा भेटिएकी उनले भनिन्, ‘हिउँदमा त्यहाँ बस्न सकिँदैन । पानी जम्छ, बाटो रोकिन्छ । त्यसैले हामी तल झर्छौं ।’
यो कथा ल्हामुको मात्रै होइन, हजारौं उपल्लो मुस्ताङीको नियति हो । लोमन्थाङ, छोसेर र छोन्हुप– यी तीन मुख्य गाउँ छन् लोमन्थाङ गाउँपालिकामा । छोसेरभित्र सिजा, भार्चा, आर्का, सामजुङ, न्यानोल र ढुक गाउँ छन् । छोन्हुपमा नाम्ढोक, चुमझुङ, किमिलिङ, ठिंगर, फुवा र नाम्ग्याल गाउँ पर्छन् ।
लोमन्थाङभन्दा तल छ लो–घेकर दामोदरकुण्ड गाउँपालिका । माराङ, चराङ, घमी, ढकमार, घिलिङ, सुर्खाङ, ढिं, यारा, घारा, धें, तांगेलगायतका गाउँहरू यसै क्षेत्रमा छन् । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ, झारकोट र कागबेनीमाथिका बस्तीका स्थानीय पनि हिउँदमा तल झर्छन् । सामजुङ र धें गाउँ पानीको अभावमा स्थानान्तरण गरिएका बस्ती हुन् ।
लोमन्थाङ– माटोका सहर भनेर चिनिने, मुस्ताङी राजाको दरबार र पौराणिक गुम्बाहरूको केन्द्र । हिउँदमा यो सहर मौनताको सन्नाटामा डुब्छ । ‘मेरा जिजुबाजेकै पालादेखि जाडोमा तल झर्ने चलन थियो,’ ल्हामु पुरानो दिन सम्झिन्छिन्, ‘त्यतिबेला व्यापार भनेको नुन–चामल साट्ने थियो । हामी भेडा र च्यांग्रालाई नुन बोकाएर तल झार्थ्यौं, सहरमा नुन बेच्थ्यौं र फर्कंदा तल्लो भेगको चामल लिएर फर्किन्थ्यौं ।’
उपल्लो मुस्ताङमा बर्खामा वैशाखदेखि गहुँ, उवा, केराउ, आलु लगाउन सुरु हुन्छ । जेठको दोस्रो साता मिठे फापर र असारको पहिलो साता तोरी, तीते फापर लगाइन्छ । भदौदेखि असोजको मध्यसम्म बाली भित्र्याइसक्छन् । त्यसपछि खेतबारी बाँझै राख्नुपर्छ । असोजदेखि अत्यधिक चिसो हुने र खेतीपातीको पनि काम नहुने भएपछि उपल्लो मुस्ताङवासी जाडो छल्न र त्यही मौकामा व्यापार गर्न बेंसी झर्छन् ।
पुरानो समयमा यो यात्रा जीविकाको अनिवार्य सर्त थियो । समयले फड्को मारेसँगै मुस्ताङीको व्यापारिक शैली पनि फेरियो । नुनको परम्परा टुट्यो र त्यसको ठाउँमा जिम्बु, सियो (धागो), न्यानो कपडा र जडीबुटीजस्ता वस्तुको कारोबार सुरु भयो । अहिले उपल्लो मुस्ताङका बलियाबांगा पुरुषहरू लमजुङ, गोरखा, धादिङ, नुवाकोट, चितवन, पाल्पालगायतका जिल्लासम्म पुगेर थोकमा न्याना कपडा किनेर बेच्ने गर्छन् । पहिले भारतको असम, उत्तर प्रदेश, बिहारसम्म स्वेटर बेच्न पुग्ने चलन थियो ।
छोसेरका स्थानीय एवं शिक्षक ताम्टिङ गुरुङका अनुसार, पञ्जाबको लुधियानाबाट होलसेलमा सामान ल्याएर अन्यत्र बेचिन्थ्यो । महिलाहरू भने पोखरा र त्यस वरपर नै बस्छन् । उनीहरू न्यानो कपडा, क्युरियो र जडीबुटीको बेचबिखनमा व्यस्त हुन्छन् । ‘व्यापार भयो भने दिन गएको पत्तै हुँदैन,’ उनी भन्छन् । औसतमा एक जनाले ४ महिनामा ३ लाख रुपैयाँ आम्दानी गरेर घर फर्किन्छन् । तर, यो कमाइ पनि अहिले चुनौतीपूर्ण बन्दै छ । ‘भारतमा लुधियानाबाट सामान खरिद गरेर अहिले भारतीयले नै बेच्न थालेका छन्,’ उनी भन्छन्, ‘पोखराको बजारमा जुम्लाबाट आएका व्यापारीले सस्तोमा सामान बेच्दा मुस्ताङीको व्यापार घटेको छ ।’
कोठा भाडामा लिएर बस्नेहरू असोजको अन्तिम साताबाटै व्यापारका लागि झर्न थाल्छन् । पोखरा वा काठमाडौंमा घर बनाइसकेकाहरू मंसिरको पहिलो साताबाट जाडो छल्न मात्र झर्छन् । पोखराको हेम्जा, काठमाडौंको बौद्ध र तनहुँको दुलेगौंडा मुस्ताङीको हिउँदे बसोबासको प्रमुख केन्द्र हो । पोखराको टोल–टोलमा ल्हामु गुरुङजस्ता मुस्ताङी महिला हरेक दिन पर्यटक र स्थानीयसँग मोलमोलाइ गरिरहेका भेटिन्छन् ।
अधिकांश मानिस सहर झरे पनि गाउँ पूर्ण रूपमा रित्तिँदैन । केही बुढापाका गाउँ कुर्न र गाईबस्तु हेरचाह गर्न बस्छन् । घरमा गाई पाल्ने परिवारका एक सदस्य अनिवार्य घर कुर्छन् । व्यापार गर्न नसक्ने वा नेपाली भाषा नजान्ने पनि माथि नै बस्छन् । ‘छिमेकीहरू ताल्चा लगाएर झर्दा उनीहरूलाई नै हाम्रो पनि हेरिदेऊ भनेर घरको जिम्मा लगाइन्छ,’ ताम्टिङले भने, ‘गाउँमा बस्नेले छिमेकीको घरको छतमा थुप्रिएको हिउँसमेत फालिदिन्छन् ।’
भेडा, च्यांग्रा र चौरीलाई सामूहिक गोठमा राखेर कुरुवा राखिन्छ र दिनगन्तीको ज्याला दिइन्छ । फागुन अन्तिमतिर भेडा, च्यांग्राले पाठापाठी पाउने समय हुन्छ । चैतमा पहिलो साता पशुधनी पुगेर पाठापाठीको जिम्मा लिनुपर्छ । बाक्लो हिउँ पर्दा चरण नहुने भएकाले उवा, फापरको नल, पहिले काटेर राखेको घाँस, गहुँ र तलबाट लगिएको मकै खुवाइन्छ । हिउँदमा धारा र खोला जम्छन् । मानिस र गाईबस्तु दुवैले हिउँ तताएर पानी खानुपर्ने बाध्यता हुन्छ । बोटबिरुवामा पात हुँदैन, हरियाली कतै देखिँदैन ।
विद्यालय नै बेंसी झर्छ
हिउँदको अत्यधिक चिसोमा विद्यालय बन्द गर्नुको सट्टा उपल्लो मुस्ताङबाट तिनलाई तल सारिन्छ । यसलाई ‘घुम्ती विद्यालय’ भनिन्छ । दिव्य दीप मावि, लोमन्थाङ गाउँपालिका–२ छोसेरको एक मात्र माध्यमिक विद्यालय हो, जहाँ मुस्ताङसहित म्याग्दी, बागलुङ, जाजरकोट, धनुषासम्मका ६५ जना विद्यार्थी अध्ययन गर्छन् । प्रधानाध्यापक कमलेशकुमार त्रिपाठी यस परम्पराको पृष्ठभूमिबारे बताउँछन्, ‘पहिला जाडोमा ६ महिना बिदा हुन्थ्यो । त्यसले विद्यार्थीको शैक्षिकस्तर खस्कियो । त्यसपछि स्थानीयकै खर्चमा २०६१ देखि हिउँदमा विद्यालय पोखरा झार्न थालियो ।’
तिहारपछि यो विद्यालय पोखरा महानगरपालिका–२६ विजयपुरमा रहेको आफ्नै भवनमा झरेको छ । २०७१ मा स्थानीयले रकम संकलन गरी जग्गा खरिद गरेको र गाउँपालिका तथा संघीय अनुदानबाट ४ करोडको लागतमा २०८१ मा भवन बनाएर घुम्ती विद्यालय सञ्चालन भइरहेको छ । असोजदेखि चिसो बढ्ने, बालबालिका बिरामी हुने, पानी जम्ने र खानेपानीको अभाव हुने भएकाले विद्यालयलाई तल सारिएको हो ।
छोन्हुपको झिन्जु आधारभूत विद्यालय पोखरा–२५ हेम्जाको स्विखेतमा छ । लोमन्थाङकै राष्ट्रिय आधारभूत विद्यालय पोखरा–३१ किमबेंसीमा सरेको छ । लो–घेकर दामोदरकुण्डको जनज्योति मावि, घिलिङ तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा झर्छ । बारागुङ मुक्तिक्षेत्रको छुसाङमा रहेको विद्यालय दुई वर्ष तल झरे पनि खर्च धान्न नसकेर हाल माथि नै सञ्चालनमा छ ।
पर्यटन, वैदेशिक रोजगारी र कोरला नाकाको प्रभाव
सन् १९९२ देखि विदेशीका लागि उपल्लो मुस्ताङ खुला गरेपछि स्थानीयले पर्यटन व्यवसायबाट पनि लाभ लिइरहेका छन् । होटल, रेस्टुरेन्ट बनेका छन् । स्थानीयको आयआर्जनमा वृद्धि भएको छ । मुस्ताङका गाउँ–गाउँमा बिजुली, खानेपानी, यातायात, सञ्चार, स्वास्थ्य सुविधा पुगेका छन् ।
मुस्ताङी समाजको अर्थतन्त्र पछिल्लो तीन दशकमा निकै फेरिएको छ । पहिले पशुपालन र व्यापार आयस्रोत थियो भने अहिले मुख्य आयस्रोत वैदेशिक रोजगारी बनेको छ । ताम्टिङ गुरुङका अनुसार, अहिले उपल्लो मुस्ताङका ९० प्रतिशत युवा विदेशमा छन् । अमेरिका, बेलायत, युरोप, जापान, कोरियासम्म पुगेका छन् । युवा पलायनका कारण व्यापारमा लाग्ने मानिसको संख्या पनि कम भएको छ । ‘पहिले नारायणगढमा मात्र ५० जनासम्म मुस्ताङी व्यापारी हुन्थे, अहिले ७ जना मात्र छन्,’ उनले व्यापारी घटेको तथ्यांक प्रस्तुत गरे ।
हिउँदमा मात्रै नभई बसाइँ नै सरेर पोखरा, काठमाडौं पुग्नेहरू बढ्दै छन् । पलायनको एउटा अनौठो कारण अमेरिकामा भिसा पाउन लामालाई सजिलो हुने प्रचलन पनि बन्यो । धेरै युवाले नक्कली लामा बनेर वा ‘कागजी विवाह’ गरेर अमेरिका प्रवेश गरेको र ग्रिन कार्ड पाएपछि कागजी विवाह गरेर महिलालाई लैजाने एउटा व्यवसाय नै बनेको मुस्ताङीहरू बताउँछन् । युरोप प्रवेश गरेपछि तिब्बती शरणार्थी बनेर बस्ने प्रचलन पनि बढेको छ । युवाहरू विदेश गएर राम्रो आम्दानी गर्न थालेपछि बुबाआमाले व्यापार गर्न छोड्दै गएका छन् ।
युवाहरू विदेश जाँदा, गाउँमा श्रमिकको अभाव भएको छ । अहिले हिउँदमा रुकुम, रोल्पाबाट निर्माण र गोठ रेखदेख गर्न मानिसहरू उपल्लो मुस्ताङ जान्छन् र कमाएर फर्किन्छन् । लोमन्थाङ–१ छोसेरका वडाध्यक्ष पेमा अंग्याल पनि ६ महिनाअघि राजीनामा दिएर फ्रान्स पुगेका छन् । कार्यवाहक वडाध्यक्ष पेमा छिरिङ हिउँदमा पनि वडा सम्हालेर बसेका छन् । ‘पहिले खेतीपातीले ६ महिना पनि नधान्ने आर्थिक अवस्था अहिले फेरिएको छ,’ उनले भने, ‘युवाले पठाएको रेमिट्यान्सले गर्दा उपल्लो मुस्ताङवासी सम्पन्न हुँदै गएका छन् । खान–लाउन नपुग्ने कोही छैन ।’
कोरोला नाकामा भन्सार खुलेपछि गाउँमै रोजगारीका अवसर सिर्जना भएका छन् । ट्रक चलाउने, सामान लोड–अनलोड गर्ने, होटल र गेस्टहाउसमा काम गर्नेजस्ता धेरै अवसर सिर्जना भएका छन् । दिनको ४–५ हजार रुपैयाँ कमाइ हुन्छ । यसले तत्कालका लागि चहलपहल बढाएको छ तर युवाको अभावमा घुम्ती जीवन पनि घट्दो छ ।
लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्बु गुरुङका अनुसार, गत वर्ष यही समयमा बेंसी झर्नेको संख्या ९० प्रतिशत पुग्थ्यो । तर, अहिले ५० प्रतिशतले मात्रै गाउँ छोडेका छन् । ‘कोरोला नाकाले गाउँमा जीवन फर्काएको छ,’ उनी भन्छन्, ‘पहिले बाध्यताले झर्नुपर्थ्यो । अहिले विकल्प छ ।’ यद्यपि, पुस–माघको अत्यधिक चिसोमा भने ९० प्रतिशत स्थानीय सहर झर्ने उनको अनुमान छ । लोमन्थाङमा ५ सय २० घरधुरी र जनसंख्या १ हजार ८ सय ९९ छ ।
हिउँदमा सेवाग्राही सहरमा हुने भएकाले गाउँपालिकाले पोखरा र काठमाडौंमा घुम्ती सेवा सञ्चालन गर्छ । उनी भन्छन्, ‘एउटा सिफारिस लिनकै लागि माथि आउनु भन्ने कुरा हुँदैन । हामी तल झरेर सेवा दिन्छौं ।’ स्वास्थ्यकर्मी र सुरक्षाकर्मी भने गाउँमै बस्छन् । कोरला नाकाको नेचुङ भन्सारमा सशस्त्र प्रहरी र नेपाल प्रहरी १२ महिनै बस्छन् । लोमन्थाङ, ठिंगर, घमी, चराङका प्रहरी चौकीमा पनि प्रहरी तैनाथ रहन्छन् ।
उपल्लो मुस्ताङमै पहिलेको तुलनामा कम चिसो भएको अध्यक्ष गुरुङको अनुभव छ । ‘पहिला मंसिरमा ४–५ फिट हिउँ जमेको हुन्थ्यो,’ उनले सुनाए, ‘४–५ वर्ष भयो बाक्लो हिउँ नपरेको । यो राम्रो हो कि नराम्रो, भन्न गाह्रो छ । चिसो कम हुँदा बस्न सजिलो हुन्छ । तर, हिउँ कम पर्दा खेतीमा असर पर्छ । पानीको स्रोत सुक्दै जान्छ ।’ बाक्लो हिउँ पर्दा बिजुलीका पोल ढल्छन् । सञ्चार र यातायात अवरुद्ध हुन्छ ।
सहरमा झरेका मुस्ताङीहरू माघमा पर्ने सोनाम ल्होछार पर्वलाई आफ्नो समाज–घरमा भेला भएर एक सातासम्म मनाउँछन् । यसरी सहरको बसाइमा पनि उनीहरू आफ्नो संस्कृति–परम्परा जीवन्त राख्छन् । लोमन्थाङ र लो–घेकरमा रहेका ८ वटा पौराणिक गुम्बाका लामाहरू पनि जाडो छल्न पोखराको नाम्ग्याल गुम्बा, हेम्जा र दुलेगौंडाका गुम्बाहरूमा झर्छन् । गुम्बा कुर्न थोरै लामा मात्रै माथि बस्छन् ।
अझै पनि हरेक मंसिरमा मुस्ताङीहरू तल झर्छन् । फागुन अन्तिम साताबाट उपल्लो मुस्ताङीको घर फिर्ती सुरु हुन्छ । संख्या कम हुँदै छ तर परम्परा जीवित छ । हरेक फागुनमा उनीहरू आफ्नो जरामा फर्कन्छन् । मुस्ताङीको यो यात्रा नुन–चामलको परम्पराबाट सुरु भएर वैदेशिक रोजगारीको युगसम्म आइपुगेको एउटा अनन्त कथा हो । यो कथा हिमाली जीवनको कठिनाइ, शिक्षाप्रतिको प्रतिबद्धता र बदलिँदो अर्थतन्त्रसँगै जीवनलाई निरन्तरता दिने मुस्ताङीको जुझारुपनको प्रतीक हो ।
