विद्यालय पनि झर्छन् बेंसी

चिसो छल्न २५३ विद्यार्थी लिएर हिमाली भेगको ल्हो पेमा सम्भवा माध्यमिक विद्यालयले १७ कात्तिकबाट आरुघाट गाउँपालिका–४ थुमिको कोखेटार झरेर कक्षा चलाइरहेको छ।

मंसिर २०, २०८२

हरिराम उप्रेती

Schools also fall into the valley

What you should know

गोरखा — दुई दिन पैदलयात्रा गरेर जगत झरेकी चुमनुव्री–७ छेकम्पारकी हिसे ल्यामु जिप र बस चढेर तेस्रो दिन काठमाडौं पुगिन् । घरमा भएका चौंरी श्रीमान् टसीलाई जिम्मा लगाएर हिसे जाडो छल्न काठमाडौं झरेकी हुन् । काठमाडौंको बौद्धमा पढ्ने छोरासँगै जाडोभर बसेर उनी फागुन लागेपछि मात्र छेकम्पार फर्कनेछिन् ।

यस वर्ष हिमाली भेगमा कात्तिक दोस्रो साता नै हिमपात भयो । असोज अन्तिम साताबाट करु भित्राएर बारीमा आलु लगाइवरी हिमाली क्षेत्रका वासिन्दा जाडो छल्न हिसे जसरी नै काठमाडौं हिँडेका छन् । एक सातायता चिसो ह्वात्तै बढेको चुमनुव्री–७ छेकम्पारका पासाङ फुञ्जो लामाले बताए । ‘जाडो लागेपछि काठमाडौं जाने चलनै हो,’ उनले भने, ‘यो वर्ष पनि छेकम्पारबाट दुई सय जति स्थानीय काठमाडौं झरिसके, केही झर्ने तयारीमा छन् ।’

छेकम्पारमा मात्र होइन, सामागाउँ र ल्होका केही बासिन्दा पनि छाडो छल्न काठमाडौंलगायत सहर झर्ने गरेका छन् । ‘घरका एक जना भने चौंरी हेर्न भए पनि घरमै बस्नुपर्छ,’ पासाङले भने, ‘चौंरीका लागि तीन महिना पुग्ने घाँस भने पहिले नै काटेर राखेको हुन्छ, जाडोलाई भनेर दाउरा पनि जम्मा गरेको हुन्छ ।’ चिसो बढेसँगै उच्च हिमाली भेगमा रहेका चौंरी पनि बस्ती आसपास झारिसकेको उनले बताए ।

चुमनुव्री गाउँपालिका–७ छेकम्पारको. पनि अन्तिम गाउँ छुलेमा ३० र निलेमा २२ घरधुरी छन् । यहाँबाट चार घण्टा पैदल हिँडे चिनियाँ सीमा क्षेत्र ङुइला भन्ज्याङ पुगिन्छ । यस क्षेत्रका केही स्थानीय पनि चिसो वढेसँगै काठमाडौं झरेका छन् । गाउँमै रहेकाहरू भने घरेलु तानमा कपडा बुनिरहेका भेटिन्छन् । जाडो बढेसँगै छिमेकी ओरालो लागेपछि गाउँ सुनसान बनेको स्थानीय सेराप छेन्जोम बताउँछिन् । काठमाडौंमा अध्ययन गरिरहेका छोरालाई पठाउन सेरापले आठ दिन लगाएर गलैंचा तयार पारेकी छन् । ‘अब समय मिलाएर यो गलैंचा लिएर काठमाडौं जान्छु,’ उनले भनिन् ।

चुमनुव्री गाउँपालिकाअन्तर्गत छेकम्पार, सामागाउँ र ल्होका स्थानीय जाडो छल्न तल्लो क्षेत्र जाने चलन पुरानै हो । यस क्षेत्रका प्रायः बासिन्दा काठमाडौं र केही पोखरा जाने गरेको स्थानीय बताउँछन् । चिसो मौसम सुरु भएसँगै परिवारसहित एक महिनाअघि नै काठमाडौं पुगेकी चुमनुव्री–१ सामागाउँकी छोटेन डिकीले ल्होसारमा मात्र गाउँ फर्कने जनाइन् । सामागाउँ क्षेत्रमा होटल सञ्चालन गर्नेहरू गाउँमै रहे पनि अन्य स्थानीय काठमाडौं झरेको उनले सुनाइन् । चुमनुव्री–१ को सामागाउँमा करिब १ सय २० र साम्दोमा ३५ घरधुरी छन् ।

केही वर्षअघि भने यस क्षेत्रका वासिन्दा जिम्बुलगायत जडीबुटी बिक्री गर्न गोरखाकै तल्लो क्षेत्र पनि आउँथे । एक दशकयता भने जडीबुटी बिक्री गर्दै हिँड्ने चलन देखिन छाडेको स्थानीय बताउँछन् । धान खेती नहुने उत्तरी क्षेत्रमा गहुँ, फापर, आलुलगायत बाली लगाएर चिसोका बेला स्थानीय बेंसी झर्दै आएका छन् ।

Schools also fall into the valley

हिमाली क्षेत्रका प्रायः विद्यालयमा हिउँदे बिदा दिने गरिन्छ । उत्तरी गोरखाको एउटा विद्यालय भने हरेक वर्ष चिसो छल्न बेंसी झर्छ । २ सय ५३ जना विद्यार्थी लिएर यस वर्ष चुमनुव्री–२ स्यालाको ल्हो पेमा सम्भवा माध्यमिक विद्यालय कात्तिक तेस्रो साता बेंसी झरेको छ । १७ कात्तिकबाट आरुघाट गाउँपालिका–४ थुमिको कोखेटार झरेर कक्षा सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक बाबुराम धमलाले बताए ।

ल्होबाट दुई दिन यात्रा गरेर विद्यार्थी कोखेटार आइपुगेका हुन् । ‘९ सम्मको वार्षिक र १० को एसईई सकिएपछि नयाँ शैक्षिक सत्र सञ्चालन गर्न फेरि ल्हो जान्छौं,’ धमलाले भने, ‘६ महिना तल, ६ महिना माथि गरेर कक्षा सञ्चालन भएको छ ।’ ल्होमा हिउँ परेर चिसो बढ्दा पढाइलाई निरन्तरता दिन सकस बनेपछि एक दशकअघिबाट यसरी घुम्ती कक्षा सञ्चालन गरिएको उनले सुनाए । विद्यालयले दुर्गमका बालबालिकाको शैक्षिक गुणस्तर उकास्न २०७० सालबाट घुम्ती कक्षा सञ्चालन गर्दै आएको छ ।

Schools also fall into the valley

सात वडा रहेको चुमनुव्रीका प्रायः बालबालिका यस विद्यालयमा अध्ययन गर्छन् । भौगोलिक हिसाबले विकट क्षेत्र रहेकाले बालबालिकालाई आवासीय रूपमा राखेर अध्यापन गराउने गरिएको छ । हिमाली छात्रावासको कोटामा सरकारले विद्यार्थीलाई मासिक चार हजार रुपैयाँ दिने गरेको छ । अपुग रकम भने स्थानीय लामा गुरुले सहयोग गर्दै आएका छन् । हिउँदे कक्षा चलाउन भनेर कोखेटारमा अस्थायी संरचना नै बनाइएको छ ।

चौंरी र भेडीगोठ पनि बेंसीतिर

भेडाको बथान लिएर बारपाकका आसिराम घले बेंसी झरेका छन् । अहिले बारपाकस्थित पुचेकङमा लेकबाट बेंसी झरेका भेडाको बथान छ । ‘भेडाका लागि घाँस पनि हिउँले छोपिन्छ, लेकमा बस्न पनि गाह्रो हुन्छ,’ आसिरामले भने, ‘यो बेला बस्ती आसपास नै भेडा झार्ने गरिन्छ ।’

बारपाक, लाप्राक, गुम्दा, लापु, उहिया, सिर्दिवासका खर्कमा झन्डै दुई सय भेडीगोठ छन् । बर्खाका बेला लेकमा रहेका भेडीगोठ अहिले बेंसी झारिएको हो । चुमनुव्रीमा मात्र १६ हजार भेडा रहेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले जनाएको छ । व्यावसायिक भेडापालकले गर्मीमा चरिचरनका लागि तिब्बतको सीमा क्षेत्र तथा जाडो छल्न बेंसी झारिएको भेडीगोठ लमजुङको सीमा क्षेत्रसम्म पुर्‍याउँछन् ।

भेडालाई चिसोबाट बचाउन र न्यानो खोज्न यही बेला बर्सेनि भेडीगोठ बेंसी झार्ने गरिएको किसान बताउँछन् । उच्च हिमाली भेग सासिङ, लन्जे, रुबिनालालगायत खर्कसम्म पुग्ने भेडीगोठ अहिले तल्लो क्षेत्रको खर्क झारिएको छ ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully