न्यानो मात्र होइन, सुरक्षा खोज्न पनि बेंसी

सर्वसाधारण भन्छन्– ‘नेपाल टेलिकमको टावरले काम गर्दैन, इन्टरनेट छैन, बिजुलीको केन्द्रीय प्रसारण लाइन पुगेको छैन, लघु जलविद्युत् आयोजनामा पानी जमेर विद्युत् उत्पादन हुँदैन, चिसोमा हरेक नागरिक हरेक तवरबाट असुरक्षित छन्’

मंसिर २०, २०८२

आश गुरुङ

Not only for warmth, but also for safety, the valley

What you should know

मनाङ — कात्तिक दोस्रो साता उत्पात हिउँ परेसँगै ८६ वर्षीया कर्साङ घलेको मुटु चिसोले काँप्न थाल्छ । माथि देखिने हिमाल र तल देखिने नार खोलाबाट एकै पटक बहने चिसोले उनी घर बाहिर निस्कन सक्दैनन् । नार गाउँ (४,२०० मिटर) का वृद्धवृद्धालाई बढी चिसोले सताउन थाल्छ । अनि उनीहरू बेंसी झर्ने सल्लाह गर्न थाल्छन् ।

चिसो छल्न साँझबिहान गाउँले आगोको सहारा लिन्छन् । आगोको न्यानोले महिना दिन कट्न गाह्रो परेपछि छोरालाई पछि आउन भनी घले छोरी र गाउँकै साथीहरूसँग केही दिनअघि काठमाडौं झरिन् । ‘हामी त काठमाडौं जान लागेको । झर्न त झरियो, पछि उकालोमा पो कसरी चढ्ने ?’ नार्पा भूमि गाउँपालिका–२, छ्याज्यामा भेटिएकी उनले भनिन् । मोटर बाटो बनेको छैन । सदरमुकाम चामे नजिकै कोतोसम्म हिँड्नुपर्छ ।

फू गाउँ (४,१०० मिटर) की कार्साङ लामा श्रीमान् लाक्पा सोनाम शेर्पासँगै काठमाडौं झरिन् । ‘चिसोले गाउँमा बस्न सकिन्न । हिउँदमा दाउरा खोज्न पनि गाह्रो । पानी जमेर खानेपानीसमेत पाइँदैन । बाटो छैन, केही छैन । बिरामी भए के गर्ने ? बरु सहर झरैकै राम्रो,’ उनले भनिन्, ‘गाउँका स्कुल र होटल पनि बन्द भए । कोही छैन, सबैको घरमा ताला लागेको छ ।’

हिमलुङ हिमाल (७,१२६ मिटर) जाने बाटोमा पर्ने फू गाउँ चीन स्वशासित तिब्बत सीमा क्षेत्रबाट करिब २ दिनको बाटोमा पर्छ । जौ र आलु मात्रै हुने यो गाउँमा यतिबेला कुनै खेती हुँदैन । खाद्यान्न सबै खच्चडमार्फत बोकाउनुपर्छ । ‘भएका बस्तुभाउ (याकचौंरी), घोडा, भेडा–च्याङ्ग्रा सबै गाउँ वरिपरिकै चरन क्षेत्रमा छाडेर बेंसी झर्ने हो । केही गोठाला बस्छन्,’ कार्साङका श्रीमान् लाक्पा भन्छन्, ‘फू गाउँमा त अहिले बास पनि पाइँदैन । कोही भए पो, सबै काठमाडौं झरिसके ।’

Not only for warmth, but also for safety, the valley

साविकको नार र फू गाउँ मिलेर संघीय संरचनासँगै नार्पा भूमि गाउँपालिका बनेको छ । २०७८ को जनगणनाअनुसार नार गाउँमा ९० घरपरिवारका २ सय ५८ र फू गाउँमा ३८ घरपरिवारका १ सय ३८ गरी सिंगो नार्पा भूमि गाउँपालिकामा १ सय २८ घरपरिवारका ३ सय ९६ जनसंख्या छन् । नार्पा भूमि गाउँपालिका नेपालमै सबैभन्दा कम जनसंख्या भएको स्थानीय तह हो । नारका बासिन्दा मेता (३,६०० मिटर) र च्याँखु (३,७५० मिटर) मा पनि बस्छन् । फू का बासिन्दा क्याङ (३,८५० मिटर) मा पनि बस्छन् । मेता नार र फू जानका लागि दोबाटो नजिकैको गाउँ हो । यहाँका नागरिकले करिब ४ महिना थातथलो छाड्छन् ।

मेता र च्याँखुमा घाम लागेका बेला केही न्यानो हुन्छ । नार र फू गाउँमा चिसोले बस्न सकिँदैन । ‘सहर झर्न नसक्नेहरू क्याङ र च्याँखुमा बस्छन् । होटल व्यवसायीहरू पनि केही बस्छन् । नत्र सबै झर्ने हो,’ गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाले भने । गाउँपालिका केन्द्र च्याँखुमा छ । यहाँ बस्ने धेरै नारका बासिन्दा हो ।

बाह्रै महिना चिसो हुने यो ठाउँका स्कुलमा विद्यार्थी कम छन् । चिसो पनि हुने र धेरै समय स्कुल पनि नचल्ने भएकाले धेरै केटाकेटीलाई अभिभावकले सहर पढाएका छन् । ‘धेरैका काठमाडौंमा घर छन् । घर नहुनेहरू केटाकेटीकामा गएर बस्छन् । कोही आफन्तकामा बस्छन् । कोही आफन्त मिलेर डेरा गरी बस्छन्,’ अध्यक्ष लामाले भने ।

होटल व्यवसाय गर्ने, याकचौंरी पालन, यार्चागुम्बुजस्ता जडीबुटी संकलनबाट भएको आम्दानीले घर खर्च चलाउँछन् । केही अमेरिका, युरोपसम्म पुगेका छन् । चिसो बढेसँगै करिब ८० प्रतिशत नागरिक सहर झरिसकेको लामाको अनुमान छ । पर्यटक जान छाडेपछि होटल व्यवसायीसमेत झर्छन् । नार्पा भूमिका स्कुले बालबालिकाका लागि भने गाउँपालिकाले काठमाडौंमा घुम्ती विद्यालय सञ्चालनको तयारी गरेको छ ।

नार्पाभूमिवासी मात्रै नभएर मनाङ ङिस्याङ गाउँपालिकाका बासिन्दासमेत चिसोका कारण काठमाडौं, पोखरा, बेंसीसहर झर्न थालेका छन् । माथिल्लो मनाङमा पर्ने मनाङ ङिस्याङ गाउँपालिकाको माथिल्लो पिसाङ, घ्यारु, ङावल, टंकी मनाङ, भ्राका र खाङसारका प्रायः नागरिक अहिले काठमाडौं झरेका छन् । ढिकुरपोखरी, तल्लो पिसाङ र माथिल्लो मनाङ गाउँमा होटल व्यवसायी भएकाले उनीहरू मंसिर अन्तिम वा पुस पहिलो साता मात्रै झर्छन् । होटल तथा घरहरूमा रुँग्नलाई मान्छे राखिएका हुन्छन् । याकचौंरी, भेडाच्याङ्ग्रा र घोडा हेर्न गोठाला राखिएका हुन्छन् ।

नार्पा भूमिको नार र फू स्थित नेपाल टेलिकमको टावरले काम गर्दैन । इन्टरनेट छैन । अधिकांश ठाउँ टेलिफोनको नेटवर्क क्षेत्रबाहिर छ । बिजुलीको केन्द्रीय प्रसारण लाइन पुगेको छैन । लघु जलविद्युत् आयोजनामा पानी जमेर विद्युत् उत्पादन हुँदैन । चिसोमा हरेक नागरिक हरेक तवरबाट असुरक्षित रहेको गाउँपालिका उपाध्यक्ष मेङमर फुन्चो लामा बताउँछन् । ‘सुरक्षित हुन मात्रै यहाँका नागरिक सहर झरेका हुन् । चिसो कम हुने र हिउँ पर्न छोडेपछि चैततिर फर्किन्छन्,’ उनले भने ।

Not only for warmth, but also for safety, the valley

चिसोका कारण मनाङीहरू सहर झर्ने एउटा संस्कार जस्तै बनेको पूर्वसांसद पोल्देन छोपाङ गुरुङको भनाइ छ । मनाङीहरू सहर कहिलेदेखि झरे भनेर कुनै तथ्य भेटिँदैन । पृथ्वी राजमार्गसँग लमजुङ सदरमुकाम बेंसीसहर सडक सञ्जालमा जोडिएपछि मनाङीहरू बढी मात्रामा काठमाडौं झर्न थालेका हुन् । सुरुमा धेरै मात्रामा लमजुङ झर्थे, त्यसपछि पोखरा बस्थे । अहिले माथिल्लो मनाङसम्मै सडक पुगेपछि उनीहरू काठमाडौं पुग्छन् । थोरै मात्रामा पोखरा हुन्छन् । बेंसीसहर धेरै बस्दैनन् ।

२०७८ को जनगणनाअनुसार मनाङ ङिस्याङ गाउँपालिकामा ५ सय ६१ घरपरिवारमा १ हजार ५ सय ९५ जना जनसंख्या छन् । यो पालिकामा रहेको तिलिचो ताल (४,९१९ मिटर) र थोराङ्ला भन्ज्याङ (५,४१६ मिटर) विश्वमै चर्चित छ । यहाँ आउने पर्यटकका लागि खोलिएका होटललाई कामदारले रुँग्न लगाएर मनाङीहरू सहर झर्छन् । केही भने आफ्नो होटल आफैं हेरेर बस्छन् ।

५० प्रतिशत हाराहारी नागरिकहरू सहर झरेको गाउँपालिका अध्यक्ष कान्छा घलेले जनाए । २४ मंसिरबाट विद्यालय बन्द हुने र त्यसपछि विद्यार्थी साथै शिक्षक पनि झर्ने उनको भनाइ छ । मंसिर अन्तिम साता र पुस पहिलो साता बाँकी रहेका मनाङ ङिस्याङका नागरिक सहर झर्ने उनले बताए ।

गाउँपालिका कार्यालय र प्रहरी चौकी सर्‍यो

अत्यधिक चिसोका कारण नार्पा भूमि गाउँपालिका कार्यालय सरेको छ । यस्तै, नार्पा भूमि गाउँपालिकामा रहेको २ वटा प्रहरी चौकीबाट पनि सुरक्षाकर्मी फिर्ता भएको छ । कार्यपालिका बैठक बसेर अत्यधिक चिसोको समय सदरमुकाम चामे नजिकै कोतोबाट सेवा सञ्चालन गर्ने गरी कर्मचारीले गाउँ कार्यपालिका कार्यालय छोडेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुशील लम्सालको भनाइ छ ।

कार्यपालिका बैठकले अत्यधिक चिसोका कारण १६ मंसिरदेखि १५ चैतसम्म गाउँपालिका केन्द्र च्याँखुबाट प्रदान गरिँदै आएको सबै सेवा सदरमुकाम चामेस्थित कोतोबाट प्रदान गर्ने निर्णय गरेको छ । ‘कार्यपालिका निर्णयअनुसार हामी ४ महिना कोतोमा बसेर काम गर्छौं । हामी सबै कर्मचारी यहीँ आएका छौं,’ उनले भने । आवश्यक कतिपय सामग्री कोतोस्थित कार्यालयमै रहेको र केही गाउँपालिका केन्द्रबाट बोकेर ल्याएको उनको भनाइ छ ।

Not only for warmth, but also for safety, the valley

चिसोका कारण गाउँमा मान्छे नबस्ने भएपछि कर्मचारी बसेर पनि काम भएन । आवश्यक परे काठमाडौंबाट चामे जान सहज हुने भएकाले कोतोबाट सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताए । जनप्रतिनिधि र वडाका कर्मचारीको कार्यालय झोलामै लिएर हिँडिएको छ । ‘आवश्यक पर्दा आपसी समन्वयमा हामीले झोलाबाटै कागजपत्र निकालेर सेवा दिने गरेका छौं,’ उनले भने ।

काठमाडौंबाट पनि सेवा प्रदान गर्न आफ्नै कार्यालयमा एउटा फ्ल्याट गाउँपालिकाको कामकाजका लागि व्यवस्थापन गरेको उनले बताए । कर्मचारी र जनप्रतिनिधि काठमाडौं रहँदाको समय काठमाडौंबाटै सेवा प्रदान गर्ने गरेको उनको भनाइ छ । ‘सबै जना काठमाडौं झरे । जनप्रतिनिधि सबै काठमाडौंमा । आवश्यक परेका बेला विगतमा कर्मचारी पनि यहीं बोलाएर काठमाडौंबाटै सेवा दिएका थियौं । यो वर्ष पनि दिन्छौं,’ उनले भने ।

नार्पा भूमि गाउँपालिका केन्द्र च्याँखुमा प्रहरी सहायक निरीक्षक (असइ) को कमान्डमा र मेतामा वरिष्ठ हवल्दारको कमान्डमा हतियारसहित प्रहरी बस्दै आएको थियो । कार्यरत प्रहरी १५ चैतदेखि कार्यस्थल छोडेर फिर्ता भएका छन् । च्याँखु र मेताको चौकीमा कार्यरत प्रहरी केहीलाई जिल्ला प्रहरी कार्यालय र केहीलाई अन्य चौकीहरूमा व्यवस्थापन गरिएको छ ।

Not only for warmth, but also for safety, the valley

नार्पा भूमि गाउँपालिकामै रहेको नेपाल बैंकको नार्फु शाखाका कर्मचारी ७ असोजमा हिँडेपछि फर्केका छैनन् । चिसो अगावै फर्किन गाउँपालिकाले अनुरोध गरे पनि उनीहरू फर्किएनन् । सदरमुकाम चामेमै चिसो बढेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालको भनाइ छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार च्याँखु र मेतामा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीलाई जिल्ला प्रहरी कार्यालय र मातहतका चौकीमा राख्ने निर्णय गरी फिर्ता बोलाइएको छ ।

२०७८ को जनगणनाअनुसार मनाङको जनसंख्या ५ हजार ६ सय ५८ जना छ । यीमध्ये प्रायः सर्वसाधारण जाडो छल्न काठमाडौं, पोखरा, बेंसीसहर झर्ने गर्छन् । यद्यपि कति जान्छन् भन्ने विषयमा अध्ययन भने भएको देखिँदैन । मानिसहरू बेंसी झरेपछि वरपरका क्षेत्रमा प्रहरीले गस्ती चलाउने गर्छन् । प्रशासन र सुरक्षा प्रमुखबाहेक अरू कार्यालयका प्रमुख तथा कर्मचारी भने बिदा मिलाएर झर्ने गर्छन् ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully