फ्रान्सका लागि पूर्वराजदूत केशवराज झा बबरमहलस्थित आफ्नै घरमा र भारतीय नागरिक सत्यनारायण पारिक सानेपास्थित फ्ल्याटमा एक्लै सुतेका बेला मारिएका थिए
What you should know
काठमाडौँ — देशभर त्रास फैलाउने गरी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन मारिएको एक वर्षपछि अर्को ‘हाई–प्रोफाइल’ अपराध भयो, ४ भदौ २०७५ मा । परराष्ट्र सेवामा ३४ वर्ष बिताएका फ्रान्सका लागि पूर्वनेपाली राजदूत ८० वर्षीय केशवराज झाले बबरमहलस्थित आफ्नै घरभित्र ज्यान गुमाए । आयरल्यान्ड जान लागेका चिकित्सक छोराबुहारीलाई बिदाइ गरेर फर्किएको रात नै उनका लागि अन्तिम बन्यो ।
‘कोठा बन्द थियो, छुरा प्रहार गरेजस्तो देखिन्थ्यो,’ घटनास्थलमा पुगेका एक प्रहरी अधिकृत सम्झन्छन्, ‘उनको ओछ्यान छेवैमा छुरी थियो, जुन पहिले भान्सामा प्रयोग हुन्थ्यो ।’
आखिर बन्द कोठाभित्र पूर्वराजदूत झाको कसले हत्या गर्यो ? यस प्रश्नको जवाफ खोजिरहेका अनुसन्धान अधिकृतहरूको सोझो शंका भान्छे सानुकान्छा तामाङतिर गयो । प्रहरीको दाबीमा उनी पूर्वराजदूत झाले दिने तलबबाट खुसी थिएनन् । उनको तलब बल्लतल्ल बढेर १६ हजार रुपैयाँ पुगेको थियो । गर्जो टार्न उनले ५० हजार रुपैयाँ ऋणसमेत झासँग लिएका थिए ।
‘त्यो ऋण कहिले फिर्ता गर्ने भनेर वाक्कदिक्क पारेको पृष्ठभूमि रहेछ,’ अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन्, ‘तलब बढाइमाग्दा उल्टै ऋणको कुरा गर्न थालेपछि उनी बेस्सरी रिसाएका रहेछन् ।’ झाले नियमित रूपमा लेख्ने डायरीमा समेत ऋण दिएको विवरण उल्लेख थियो । पछि प्रहरी सोधपुछमा तामाङले भूकम्पका कारण घर भत्किएकाले सापटी लिएको स्वीकार गरेका थिए ।
घटनालगत्तै नेपाल प्रहरीको केनाइन महाशाखाबाट तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको थियो । प्रमाण सुँघाएर छाडिएको कुकुर घर वरिपरि मात्र घुमेपछि प्रहरीले त्यहीं अनुसन्धान केन्द्रित गरेको थियो । घर आसपास क्षेत्रका सीसीटीभी फुटेज हेर्दा नयाँ व्यक्ति प्रवेश भएको देखिएन ।
प्रहरीका अनुसार घटना भएको राति झाकी श्रीमती र सेफ तामाङ मात्र घरमा थिए । झा दम्पती बेग्लाबेग्लै सुत्ने गर्थे । साँझ ७ बजे समाचार हेरेर सुतेका उनलाई बोलाउन भोलिपल्ट पत्नी गएकी थिइन् । तर, केशवराज झा बोलेनन्, पत्नीको मनमा चिसो पस्यो । त्यसपछि उनले भान्छे तामाङलाई बोलाएकी थिइन् । ‘भित्रबाट कोठा बन्द थियो, पछाडिबाट म गएर हेर्दा रगत देखिएपछि प्रहरीलाई खबर गर्यौं,’ तामाङले प्रहरीसँग प्रारम्भिक बयानमा भनेका थिए ।
अनुसन्धानमा खटिएका अधिकृतका अनुसार बन्द कोठाभित्र घटना भएकाले बाहिरका व्यक्तिको संलग्नता हुन सक्ने आधार निकै कम थियो । प्रहरीले सुरुमा भान्छे तामाङ र दुई मालीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । तर पर्याप्त प्रमाण नभएको भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीनै जनालाई धरौटीमा छाड्यो । छानबिन चलिरहेका बेला तामाङलाई यातना दिइएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा परिवारबाट उजुरी परेपछि प्रहरी दबाबमा परेको थियो । उजुरीमा चरम यातना दिएर उनलाई कसुर स्वीकार्न लगाइएको भनिएको थियो ।
एक वर्षपछि प्रहरीले झा पत्नी ज्ञानुको जाहेरीको सहारा लिएर तामाङलाई नियन्त्रणमा लियो । तर उनले हत्याको आरोप स्वीकार गरेनन् । परिस्थितिजन्य प्रमाणका आधारमा दायर भएको मुद्दाकै भरमा तामाङलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । कारागारमा भएका बेलासमेत एक अनुसन्धान अधिकृतले तामाङलाई भेटेका थिए । त्यसबेला पनि उनले कसुरमा संलग्नताबारे बलियो इन्कार नगरेको ती अधिकृत बताउँछन् । प्रहरीले ‘नार्को’ र ‘पोलिग्राफ’ परीक्षण गर्न खोज्यो, त्यसका लागि तामाङ तयार भएनन् । यसले उनीमाथि शंका गर्ने थप आधार दियो । परीक्षण गर्न नमानेको विवरणसहितको कागजसमेत प्रमाणका रूपमा प्रहरीले पेस गर्यो ।
प्रहरीले तयार पारेको मिसिलमा उल्लेख भएको बयानमा केशवराज झाकी छोरी राजश्रीले घटनास्थलमा फेला परेको ‘क्याट फुड’ पनि केहीअघि तामाङलाई नै राख्न दिएको खुलाएकी छन् । ‘त्यो कहाँ थियो भन्ने उनीबाहेक अरूलाई थाहा थिएन,’ उनले भनेकी छन्, ‘बुबाको मुख छोपिएको तकिया पनि सानुकान्छाले नै स्टोर रुममा राखेका थिए ।’
तालिम प्राप्त कुकुरका ‘ह्यान्डलर’ कुमार थापाले अदालतमा गरेको बकपत्रअनुसार, हत्यामा प्रयोग भएको चक्कुको गन्ध सुँघाएर कुकुरलाई छाड्दा माथिल्लो तलामा छतमा गएर बसेको थियो । ‘त्यहाँबाट आरोपित आँपको बोट प्रयोग गरेर भागेको संकेत गरेकाले त्यसमुनि लगेर फेरि चक्कु सुँघाएका थियौं,’ उनले भनेका छन्, ‘कुकुरले घरभित्रकै कम्पाउन्डको केराघारीमा रहेको एकजोर पन्जामा संकेत गर्यो । त्यसपछि कुकुर तामाङको कोठासम्म पुग्यो ।’
तर सानुकान्छा तामाङविरुद्ध पर्याप्त भौतिक सबुत नभएको भन्दै जिल्ला अदालत काठमाडौंले २३ चैत २०७७ मा सफाइ दिने आदेश सुनायो । जिल्ला अदालतले व्यक्ति हत्याजस्तो गम्भीर फौजदारी कसुरमा शंका र अनुमानका भरमा तामाङलाई दोषी ठहर गर्न नमिल्ने आदेश न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले दिएको थियो ।
घटनालगत्तै पक्राउ परेका बेला तामाङलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो । त्यसबेला पोलिग्राफ, नार्को जाँच, सीसीटीभी फुटेज संकलन, छरछिमेकसँग बुझ्नेलगायत काम गर्दासमेत तामाङको घटनामा प्रत्यक्ष संलग्नता भेट्न नसकेको भन्दै प्रहरीले छाडेको अदालतले उल्लेख गरेको छ । एक वर्षपछि मृतककी श्रीमती ज्ञानुले घरको चाबी सानुकान्छासँग मात्र भएको, हत्यामा प्रयोग गरिएको चक्कु पनि उनले नै चलाउने गरेको लगायतका अनुमान व्यक्त गर्दै दिएको जाहेरीका आधारमा मात्र अभियोग दाबी पेस भएको देखिएको भनिएको छ ।
अदालतको यो आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा रिट दिएको थियो । तर उच्चले पनि जिल्ला अदालतकै फैसला सदर गरिदिएपछि पूर्वराजदूत झा हत्या प्रकरणको अनुसन्धान फेरि शून्यतिरै फर्किएको छ । औपचारिक कुराकानीमा काठमाडौं प्रहरी, उपत्यका अपराध अनुसन्धान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसन्धान अधिकृतहरू झा प्रकरणमा फेरि नयाँ शिराबाट जाँच भइरहेको बताउँछन् । अनौपचारिक संवादमा भने झा हत्या प्रकरण ‘प्राविधिक कारण’ ले लामो समयसम्म रहस्यकै गर्भमा स्थिति बनेको सुनाउँछन् ।
...
भारतको राजस्थान घर भएका सत्यनारायण पारिक २० वर्षदेखि नेपालमा बस्दै आएका थिए । उनले दुईकोठे फ्ल्याट भाडामा लिएका थिए । तर बस्ने उनी एक्लै । आठ वर्षअघि श्रीमतीको निधन भइसकेको थियो । एक छोरी थिइन् । छोरीको पनि विवाह भएको थियो । उनका भाइ सञ्जय पारिकले भारत फर्कन सल्लाह दिएका थिए । तर सत्यनारायणले काठमाडौंलाई नै आफ्नो बुढेसकालको सहारा बनाइसकेका थिए ।
सत्यनारायण प्रत्येक दिन नजिकैको राम मन्दिर जान्थे, पूजापाठ गर्थे । स्थानीयका अनुसार, उनी शान्त, एकान्तप्रिय र अनुशासित जीवन बिताउने व्यक्ति थिए । न्युरोडको एटलान्टिक कम्प्युटर कम्पनीमा ‘सेल्स पर्सन’ को काम गर्थे । उनले त्यहाँ काम थालेको दुई वर्ष भइसकेको थियो । तर एक वर्षअघि भएको दुर्घटनापछि उनी घरबाटै काम गर्थे । कोठाबाट कमै निस्कन्थे । एक्लो भएका कारण बिहान–बेलुका खाना पकाउन र सरसफाइका लागि दुई कामदार आउजाउ गर्थे ।
नुवाकोटकी सीता अधिकारी (४०) नौ वर्षदेखि ललितपुर–२ सानेपाको गुर्सिंगाल टोलस्थित सत्यनारायणको निवासमा बिहान काम गर्थिन् । मकवानपुरकी रुकु बस्नेत (२५) भने एक महिनादेखि बेलुका काम गर्न आएकी थिइन् । १८ असार २०७८ को साँझ ८ बजेतिर रुकुले भोलि काममा आउन नसक्ने भन्दै फोनबाटै खबर गरेकी थिइन् । १९ असार २०७८ को बिहान सधैंझैं सीता सत्यनारायणकामा पुगिन् । तर गेटमा बाहिरबाट ताल्चा लगाइएको थियो । उनले बारम्बार फोन गरिन् । उठेन, अनि घर फर्किइन् ।
भोलिपल्ट २० असारको बिहान पनि पुग्दा घरभित्र बलिरहेको बत्तीले सीताको मनमा अनेक प्रश्न उब्जियो । केही गडबड छ भन्ने आभास भयो । तुरुन्तै प्रहरीलाई खबर गरिन् । प्रहरी पुग्दा छरपस्ट कोठाभित्र सुक्नै लागेको रगतको आहाल, बजिरहेको टीभी, बलिरहेको बत्ती अनि भताभुंग स्टिलको दराज देखियो । सँगैको खाटमा खैरो हाफ पाइन्ट लगाएका, ब्ल्यांकेटभित्र टाउको पारेर घोप्टो अवस्थामा ५९ वर्षीय सत्यनारायण पारिक मृत भेटिए ।
घटनास्थलमा पुग्दा भान्साकोठाको झ्यालको सिसा फुटाइएको थियो । जाली च्यातिएको थियो । फलामको ग्रिल झिकिएको थियो । माथिल्लो तलामा रहेको कोठाको दराज फोडिएको थियो । कोठाभित्र एउटा ह्याम्बर पनि भेटियो । त्यही ह्याम्बरले सत्यनारायणको टाउकोमा पटक–पटक प्रहार गरिएको थियो । कोठामा कटकट्टिएर सुक्नै लागेको रगतको आहाल थियो ।
घटनास्थलको अवस्था हेर्दा प्रहरीले सजिलै सत्यनारायणको हत्या भएको अनुमान लगायो । महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय अपराध महाशाखाको टोलीले अनुसन्धान थाल्यो । प्रहरीले तत्काल फरेन्सिक टोली, कुकुर र विशेषज्ञ परिचालन गर्यो । छिमेकीको बयान लिइयो, मोबाइल फोनको डेटा विश्लेषण सुरु भयो र घटनास्थलको अध्ययन भयो । तर, कुकुरलाई प्रयोग गरेर अनुसन्धान गर्दा पनि ठोस सुराग फेला परेन । प्रहरीको अनुसन्धानले देखाएअनुसार घटनाकै रात (१८ असार) ८ बजेतिर रुकुसँग कुराकानी भएपछि सत्यनारायणको अन्य कसैसँग फोन सम्पर्क भएको थिएन ।
प्रहरीले चोरी डकैतीपछि हत्या भएको अनुमान गरेर अनुसन्धान थालेको थियो । तर कुनै ठोस प्रमाण भेटिएन । प्रहरीका अनुसार सत्यनारायणको घरभन्दा ५० मिटर पर रहेको सीसीटीभी क्यामेरामा राति १० बजेदेखि १२ बजेभित्रमा दुईवटा मोटरसाइकलमा चार जना संदिग्ध व्यक्ति आवतजावत गरेको देखिन्छ । प्रहरीले अहिलेसम्म ती चार व्यक्ति पहिचान गर्न सकेको छैन ।
प्रहरीले सत्यनारायणकहाँ काम गर्ने महिलादेखि सहकर्मी, साथीसंगी सबैलाई निगरानीमा राखेर अनुसन्धान गरेको थियो । कहिले कतै झगडा भएको थियो कि भनेर रिसिइबीको कोणबाट पनि अनुसन्धान थाल्यो । ‘तर रिसिइबी, दुस्मनी वा झगडाको कुनै ‘क्लु’ भेटिएन,’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन् ।
करिब एक महिनापछि प्रहरीले तीन व्यक्तिलाई शंकाका आधारमा पक्राउ गरेको थियो । तर बयान, कागजात र घटनासँगको सम्बन्ध पर्याप्त नदेखिएपछि उनीहरू रिहा भए । जिल्ला प्रहरी परिसर, ललितपुर र अपराध अनुसन्धान महाशाखाले कुनै ‘क्लु’ फेला पार्न नसकेपछि यस घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थालेको थियो । सीआईबीले पनि कुनै महत्त्वपूर्ण ‘लिड’ फेला पारेको छैन ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटीले यस घटनाबारे अहिले पनि अनुसन्धान भइरहेको बताए । ‘म सीआईबीमा हुँदा पनि यसबारे नियमित फलोअपमा काम भएको छ । त्यतिबेला एउटा डेडिकेटेट टिम नै खटिएर काम गरेका हौं,’ उनले भने, ‘म यता ललितपुर आएपछि पनि एउटा टिम बनाएर काम गरिरहेका छौं ।’ उनीसँग सम्बन्धित व्यक्तिहरूसँगको सोधपुछ र बयान लिने काम भइरहेको बोगटीले बताए । ‘केही ‘क्लु’ भेटेका छौं । प्रमाणित गर्न बाँकी छ । सत्यनारायणको जस्तै अन्य घटनाको प्रकृति हेरेर संदिग्धको खोजी गरिरहेका छौं,’ उनी भन्छन् ।
