‘प्रेम गर्नु अपराध’ ठहर्याएर उपहारमा मृत्यु दिइन्छ- दलितहरूलाई । जबसम्म अपराधीलाई जेल पठाइँदैन, तबसम्म शवगृहमा कैद अजित मिजारको शवले मुक्ति पाउँदैन ।
What you should know
काभ्रे — काभ्रे, पाँचखालस्थित घरको भित्तामा सँगै टाँसिएका दुई तस्बिर हेरेको दिन हरिभक्त ढकाल निकैबेर टोलाउँछन् । सम्झनामा मात्र भएका यी दुवै पात्रका समान व्यथाले उनलाई अझैसम्म चहर्याउन छाडेको छैन । हरिभक्त मात्र होइन, उनको परिवारले नै मन माझेर हाँस्न छाडेको जुग बितिसक्यो ।
भित्ताका दुई तस्बिरमध्ये एक थिए– रामबहादुर ढकाल, जसले २०१८ सालमा बाटुली मिजारसँग प्रेमविवाह गरेकै कारण समाजमा तिरस्कार भोगे र ‘अछूत’ ठहरिए । रामबहादुर र बाटुलीकै छोरा हुन्– हरिभक्त । हरिभक्तलाई ऐंठन हुने अर्को तस्बिर हो– छोरा अजितको ।
समाजले ‘अछूत’ ठहर्याएका रामबहादुरकै नाति अजित मिजारले २०७३ सालमा काभ्रे ज्याम्दीकी पराजुली थरकी केटीसँग प्रेमविवाह गरे । जात व्यवस्थाको पिँधमा पिल्सिएका अजितले आफ्नो प्रेम मात्रै गुमाएनन्, ज्यानै गुमाए । ९ वर्षदेखि अजितको शव काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा छ । ९ वर्षदेखि नै अजितको परिवारले उत्सव र चाड मनाउन छाडेको छ ।
अरू वर्षहरूझैं यसपालिको दसैंमा पनि गाउँलेहरूको रातो निधार देखेर हरिभक्तको परिवारलाई खल्लो लाग्यो । हरिभक्तको एक मनले त भन्यो, ‘बेकार नजलाई राखिएछ कि क्या हो ।’ अजितकी आमा काली मिजारले बहसँगै भनिन्, ‘नजानु गइसक्यो । बरु जलाउनै पाएको भए जाति हुन्थ्यो ।’ तर, प्रेम गर्नुलाई अपराध ठहर्याएर छोराका हत्या गर्नेहरू सम्झँदा हरिभक्त उकुसमुकुस हुन्छन् । अनि मन दरिलो बनाउँदै भन्छन्, ‘न्याय नपाइन्जेल त निकाल्दै निकाल्दिनँ ।’
जिल्ला अदालत धादिङ र उच्च अदालतबाट न्याय नपाएपछि २ वर्षयता हरिभक्त सर्वोच्च अदालत धाइरहेका छन् । सर्वोच्चले तारिख हालिरहेको छ । पछिल्लो पटक गत भदौ २७ गते तारिख तोकिएको थियो । तर, जेन–जी प्रदर्शनका क्रममा सर्वोच्च अदालत नै जलेपछि काम ठप्प भयो । ‘जाँदा पाल टाँगेर काम गरिरहेका थिए । मलाई अब एक महिनापछि आउनू भनेका छन्,’ हरिभक्त भन्छन् ।
हरिभक्तलाई अहिले पनि आफ्नो छोरा आँगनमा टुप्लुक्क आइपुग्छ कि झैं लागिरहन्छ । उनी भन्छन्, ‘२०७९ साल असार २९ गते ऊ ममीसँग सय रुपैयाँ मागेर घरबाट निस्किएको थियो । आउँछ भनेर बाटो कुरिरह्यौं । तर, आइपुगेन,’ हरिभक्त ती कहालीलाग्दो दिनतर्फ फर्कन्छन् ।
अजित एसएलसीको रिजल्ट सुन्न भनेर घरबाट निस्किएका थिए । अचानक भक्तपुरबाट अजितकी दिदी (काकाकी छोरी) ले हरिभक्तलाई फोन गरेर सुनाइन्, ‘भाइले त केटी लिएर आएछ ।’ पाँचखालको सर्वमंगलामा २०७१ सालमा कक्षा ९ देखि अजित र पराजुली थरकी किशोरीबीच प्रेम बस्यो । ०७३ साल असार २५ मा उनीहरूले अन्तरजातीय प्रेमविवाह गरे ।
परिवार, गाउँ र समाजको डरले उनीहरू भागेर अजितकी दिदी सम्झना पुर्कोटीको भक्तपुरस्थित घर पुगे । यता किशोरीको परिवारले थाहा पाएपछि अजितको परिवारलाई धम्कीसहितको दबाब दिन थालियो । २७ मा केटी पक्षका बाबुसहित आफन्तजनहरू इलाका प्रहरी चौकी पाँचखालमा गएका थिए । उक्त प्रहरी कार्यालयमा उपस्थित भएपछि प्रहरीको रोहवरमा दुवै पक्षका आफन्तबीच छलफल भयो ।
‘बिहे गराइदिने भनेर उनीहरूलाई नगरपालिकामा झिकाइएको थियो । तर, जब उनीहरूलाई नगरपालिका ल्याइयो, केटीकी दिदीचाहिँले बहिनीलाई कुटिन्, पोते चुँडालिदिइन्,’ हरिभक्त सुनाउँछन् । किशोरीकी दिदीले त्यतिबेला अजितलाई धम्की दिएकी थिइन्, ‘६/७ लाख खर्च गरेर भए पनि तँलाई माटोमाथि उभिन दिन्नँ ।’
विवाहका लागि उनीहरूको उमेर नपुगेको भन्दै दुवैलाई छुटाइयो । अजित र किशोरी दुवैको उमेर १८ वर्ष थियो । छुट्ने बेला अजित र किशोरी दुवै रोइरहेका थिए । ‘उनीहरू छुट्न मानेका थिएनन् । किशोरीलाई दुई जनाले उचालेर बाइकमा हाले । अनि जबर्जस्ती काठमाडौं लगे,’ हरिभक्त भन्छन् । किशोरीलाई काठमाडौंस्थित उनको फुपूको घर लगिएको थियो । उनले फोन गरेर अजितलाई ‘आफू जसरी पनि भागेर आउने’ बताएकी थिइन् । अजितले घरमा सुनाएका थिए, ‘ऊ आउने रे । लिन जाऊँ ?’ परिवारमा धम्की र दबाब आइरहेकाले हरिभक्तले भने, ‘तँ घरमै बस् । दायाँबायाँ नहिँड ।’
२८ असारमा अजित र उनकी आमालाई अपरिचित नम्बरबाट एक व्यक्तिले ‘वकिल हुँ’ भन्दै धम्की दिए । अनुसन्धानमा थाहा भयो, उनी कन्हैया कर्माचार्य नामका व्यक्ति रहेछन् । उनले आमा–छोरालाई नै फोनमार्फत ‘अजितलाई बलात्कार मुद्दामा जेल हाल्ने’ धम्की दिएका थिए । हरिभक्तका अनुसार, कन्हैयासँग फोनमा अजितको भनाभन पनि परेको थियो । किशोरीले धादिङमा दिएको बयानमा पनि कन्हैयाको नाम उल्लेख छ । किशोरीको बयानअनुसार, कन्हैयाले उनको हात हेर्दै भनेका थिए, ‘तेरो अजित तीन/चार दिनभित्र मर्छ ।’
२८ गते साँझ अजित तामाघाट निस्किएका थिए । उनलाई किशोरीका आफन्तहरूले माझमा पारेर वरिपरि बाइक घुमाए । अनि केही नभनी हुइँकिए । असार २९ गते दिउँसो १ बजेतिर अजितले आमासँग मोबाइलको चार्जर किन्न भनेर सय रुपैयाँ मागे । त्यो दिन घरबाट निस्किएका उनी साँझ फिरेनन् । उनको मोबाइलमा फोन गर्दा घण्टी घरभित्रै बज्यो । अजितले मोबाइल पनि घरमै छाडेर हिँडेका रहेछन् । ‘साथीकोमा गएको होला,’ परिवारले सोच्यो । तीन दिनसम्म पनि अजित नआएपछि उनीहरू आत्तिन थाले । साउन १ गते तामाघाटमा अजितको साथीले हरिभक्तलाई एउटा फोटो देखाए । धादिङको परेवाटरमा झुन्डिएको लास ‘आफ्नै छोराको’ ठम्याउँदा हरिभक्त छाँगाबाट खसेजस्तो भए । त्यो दिन सम्झँदा अहिले पनि हरिभक्त दम्पतीलाई रातभर निद्रा लाग्दैन ।
पाँचखाल प्रहरी चौकीमा ‘छोराको शव भेट्न’ पत्र लिएपछि रातको १० बजे उनीहरू धादिङ हिँडे । बिहान ७ बजे धादिङ पुग्दा त इलाका प्रहरी कार्यालय, गजुरीले अजितको शव पुरिसकेको थियो । जबकि बेवारिसे शव भेटियो भने ७ दिनसम्म पहिचानका लागि राख्नुपर्ने प्रावधान छ । तर, गजुरीका तत्कालीन प्रहरी निरीक्षक प्रकाश जगेबु (लिम्बू) ले ‘शव पहिचान नभएका कारण’ पुरेको बताए । उनीहरूले पोस्टमार्टम गरेको रिपोर्ट पनि देखाए । पोस्टमार्टम रिपोर्टमा ‘रक्सी खाएर झुन्डिएर आत्महत्या गरेको’ उल्लेख थियो ।
हरिभक्तहरूलाई ‘शव काटेको छ, उत्खनन गर्न मिल्दैन’ भनेर प्रहरीले आनाकानी गरिरहेको थियो । अजित पक्षले उत्खनन गर्ने अडान नछाडेपछि प्रहरीले फेरि बहाना झिके, ‘पाँच/छ फिट तल पुरिएको छ । जेसीबी ल्याएर निकाल्नुपर्छ । पैसा लाग्छ ।’ अजित पक्षले पैसा तिरेरै भए पनि निकाल्ने अडान नछाडेपछि प्रहरी बाध्य भए । ‘उनीहरूले पाँच/छ फिट तल गाडेको भनेका थिए । तर, एउटा ढुंगा पल्टाएर खोस्रिँदा आइहाल्यो नि । क्षतविच्छेद भनिएको थियो । तर, शवको सर्टको टाँक पनि खोलेको छैन । नाडीमा अजित भनेर लेखिएको ट्याटु छ । कपाल झरेको छ । अनुहार भने कालो छ,’ हरिभक्त सम्झन्छन्, ‘एउटा सूचना पनि जारी नगरी प्रहरीले सिधै कसरी पुर्न पाउँछ ?’
त्यतिबेला पोस्टमार्टममा संलग्न गजुरी स्वास्थ्य केन्द्रकी डा. अमृता श्रेष्ठले जिल्ला अदालत, धादिङमा ‘हतार भएकाले पोस्टमार्टम नगरी रिपोर्ट लेखेको’ स्विकारेकी थिइन् । त्यो फर्जी रिपोर्टमाथि पनि अनुसन्धान भएन । प्रहरीकै मुचुल्कामा लास खुम्चिएको र तल आँटीको भागमा टेकेको उल्लेख छ । तल टेकेपछि झुन्डिएर आत्महत्या गर्न कसरी सम्भव हुन्छ ? यो पनि अनुत्तरित प्रश्न छ ।
‘मुचुल्कामा त्रिपालको डोरीमा पासो लगाइएको भनिएको छ, तर त्यही त्रिपाल उत्खननका क्रममा शव बेरिएको अवस्थामा भेटिएको थियो,’ हरिभक्त बताउँछन् । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला औंठाछाप महाशाखामा पठाइएको सबुतको नमुनामा समेत त्रिपालको डोरी छैन ।
अजित दुई बजेदेखि हराएका थिए, घरबाट झुन्डिएको स्थानसम्म पुग्न सरासर गाडीमा जाँदा पाँच घण्टा लाग्छ, तर ३० गते बिहानै स्थानीयले लास देखेका थिए । गोजीमा पैसा नभएका अजित कसरी त्यहाँ त्यति छिटो पुगे र झुन्डिए ? जबकि त्यहाँ नजिकै प्रहरी चौकी छ । यसको पनि प्रहरीले अनुसन्धान गर्न आवश्यक ठानेन । घटनाका प्रत्यक्षदर्शीहरूले पनि यसलाई शंकास्पद मानेका थिए ।
दलित नागरिक समाजका तर्फबाट साउन ६, ७ र ८ गते गरिएको स्थलगत अनुसन्धानमा त्यहाँकी होटल सञ्चालिकाको भनाइ थियो, ‘तीन ठाउँमा हो कि एक –दुई ठाउँमा गाँठो पारेको थियो । डोरी तन्किएकै थिएन । हामीले देखेको हो, मर्न लागेको अवस्थामा देखेको भए हामी बचाउँथ्यौं । आफैं मरेको हो कि, कसैले मारेको हो ? हामीलाई थाहा भएन । मेरो विचारमा अन्तैबाट मारेर ल्याएर झुन्ड्याइएको हो कि भन्ने जस्तो लाग्छ । लासमा झिंगा नै भन्केको थिएन । त्यसपछि प्रहरीले लिएर गयो । डोरी पनि त्रिपालको थियो, तन्किएकै थिएन । त्यसरी मान्छे कसरी मर्छ ?’ जिल्ला प्रहरी कार्यालय, धादिङले उजुरी दर्ता गर्न नमानेपछि १७ दिनपछि दलित आयोग, दलित अधिकारकर्मी, मानवअधिकारकर्मीलगायत गएपछि बल्ल दर्ता भयो ।
शवलाई त्रिवि शिक्षण अस्पताल पुर्याउँदा भित्र लैजानै दिइएको थिएन । अधिकारर्मीहरूको दबाबपछि मात्रै भित्र लैजान दिइयो । त्यसयता अजितको शव त्रिवि शिक्षण अस्पतालभित्रै छ ।
६ असोज ०७३ मा जिल्ला अदालत, धादिङले प्रतिवादी टेकबहादुर पराजुली र सम्झना पराजुली (केटीकी दिदी) लाई २५ हजार जमानत दिएर तारिखमा छोड्न र भोजबहादुरलाई कारागार चलानको आदेश दियो । उच्च अदालत, पाटनले २८ पुस ०७३ मा भोजबहादुर पराजुली (केटीका बा) लाई २५ हजार जमानतमा तारिखमा छोड्न आदेश दियो । तर, घटनामा शंकास्पद भूमिकामा देखिएका भोजबहादुरका साथी कन्हैया कर्माचार्यमाथि अनुसन्धान नै भएन ।
हरिभक्तका अनुसार, उनलाई प्रतिवादी बनाउनुपर्छ भनेर दिएको जाहेरीसमेत दर्ता गरिएन । जबकि उनैले अजित, अजितकी आमालाई फोनमा पटक–पटक धम्की दिएका थिए । किशोरीको हात हेर्दै ‘अजित मर्छ’ भनेर भविष्यवाणी गरेका थिए । अजित हराउने दिन पनि उनको मोबाइलमा कन्हैयाको फोन आएको थियो ।
जनदबाबपछि संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले काभ्रेकै सांसद कमला दोङको नेतृत्वमा छानबिन उपसमिति बनाएको थियो । स्थलगत अध्ययनपछि उपसमितिले प्रहरीले आर्थिक प्रलोभनमा परेर मुद्दा कमजोर पारेको, सबुत प्रमाण नष्ट गरेको र पोस्टमार्टम जाँचमा लापरबाही गरेको प्रतिवेदन तयार पारेको थियो ।
दबाब बढ्दै गएपछि तत्कालीन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीको संयोजकत्वमा ६ माघ २०७३ मा छानबिन समिति बन्यो । त्यस समितिले पनि हत्यामा पराजुली परिवारलाई नै दोषी किटानी गरेको प्रतिवेदन बुझायो । तर, यसको पनि सुनुवाइ भएन । त्यही प्रतिवेदनका आधारमा सरकारले मिजार परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिएको थियो ।
सुरुदेखि नै अजितको मुद्दा लडिरहेका अधिवक्ता मोहन साह (शंकर) यो मुद्दामा घटना घट्नु अगाडिदेखि नै अस्वाभाविक परिस्थिति देखिएको बताउँछन् । ‘अदालतले पनि फैसला गर्दा अस्वाभाविकपन किन आयो भनेर विश्लेषण नगरी प्रमाणहरूलाई मात्र आधार बनाएर फैसला गरेको देखिएको छ । कतिपय प्रमाणलाई कसरी प्रमाणित गर्ने भन्ने कुरा न्यायाधीशको स्वविवेकमा भर पर्छ । न्यायाधीशलाई स्वविवेक प्रयोग गर्ने अधिकार न्याय प्रणालीले दिन्छ । स्वविवेक प्रयोग गर्दा पनि अवस्थामाथि विचार गर्नुपर्थ्यो, गरिएन भन्ने बुझाइ छ,’ साह भन्छन् ।
मृतकको मृत्यु भएको दुई दिन अगाडि पनि शंकास्पद व्यक्तिले बारम्बार फोन गरेको देखिनु, भोलिपल्ट अर्को जिल्लामा गएर मृत भेटिनु, प्रहरीले त्यस्तो खालको बेवारिसे लासलाई एक हप्ता पनि नकुरी पुर्नु, झूटो पोस्टमार्टम रिपोर्ट बनाउनु, मृतकको परिवार लास लिन जाँदा दिन नमान्नु, पोस्टमार्टमको झूटो रिपोर्ट बनाइसकेपछि पोस्टमार्टम गर्न खोज्दा पोस्टमार्टम नगरी जे रिपोर्ट तयार गरिएको छ, त्यही रिपोर्ट दिनुलाई साह अस्वाभाविक देख्छन् ।
‘अदालत जाँदा पनि यो सहज मृत्यु हैन, कर्तव्यबाट मृत्यु भएको देखिन्छ भन्ने सहज अनुमान गर्न सकिने ठाउँ थियो । सरकारी वकिलले पनि मर्नुभन्दा एक दिन अगाडि सम्पर्क भएको व्यक्तिलाई प्रतिवादी नबनाई मुद्दलाई ट्वीस्ट गरेर यो आत्महत्या मात्रै हो भनेर अदालत लगियो,’ साह भन्छन्, ‘अदालतले कुनै कुराको विश्लेषण नगरीकनै सरकारी वकिलले जे लिएर गयो, उसले आत्महत्या गरेको भन्ने ढंगले फैसला गर्यो । अनि त्यो फैसलामा स्वविवेक प्रयोग गर्ने अधिकारलाई गलत ढंगले प्रयोग गरिएको छ ।’
मृतकको अनुहारमा तत्काल एसिड दलिएको भन्ने जिकिर थियो । त्यो अनुहारमा एसिड दलिएको थियो कि थिएन भन्ने परीक्षण गर्नुपर्ने थियो । त्यही आधारलाई लिएर एसिड परीक्षणका लागि उच्च अदालतमा साहले माग राखे । अदालतले आदेश पनि गर्यो । तर, परीक्षण गर्ने निकायले धम्कीपूर्ण भाषा प्रयोग गरी परीक्षण नगरी पठाएको साहको गुनासो छ । उच्चले पनि पीडितको पक्षमा फैसला नगरेपछि यो मुद्दा सर्वोच्चमा पुगेको छ । हरिभक्तले अझै न्याय पाउने आस मारेका छैनन् ।
जात व्यवस्थाकै कारण दलितहरूमाथि हुने दमन, प्रेम गरेकै कारण समाजको बहिष्कारमा पर्नुपर्ने बाध्यता र उपहारमा मृत्युका घटना नेपालमा घटिरहन्छन् । २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सोतीगाउँमा प्रेम गरेकै कारण नवराज विकसहित ६ जनाको हत्या हुँदा पनि हरिभक्तलाई असाध्यै नरमाइलो लाग्यो । उनलाई छोराको याद आइरह्यो ।
२०६८ सालमा जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन त आयो । तर, अजित र नवराजहरूको हत्या शृङ्खला रोकिएको छैन । जहिल्यै जात व्यवस्थाले जितिरहेको समाजमा अब हरिभक्तलाई अब यो लडाइँ हार्ने छुट छैन । जबसम्म अपराधीहरूलाई जेल पठाइँदैन, तबसम्म शवगृहभित्र कैद अजितको शवले मुक्ति पाउँदैन । ‘म उसलाई र हामीलाई न्याय नदिलाइन्जेल लडिरहनेछु,’ हरिभक्त दृढ सुनिन्छन् ।
