सत्ताको शक्तिमा दबाइएको नमिता-सुनिता हत्याकाण्ड

जेठ २०३८ मा पोखरामा घटेको नमिता–सुनिता हत्याकाण्ड अझै रहस्यको गर्भमै छ, यो केवल दुई युवतीको हत्या होइन, बरु शक्तिशालीहरूले कसरी न्याय प्रणालीलाई आफ्नो मुठ्ठीमा राख्न सक्छन् भन्ने उदाहरण हो।

मंसिर ६, २०८२

दीपक परियार

The Namita-Sunita murder case was suppressed under the power of the government.

What you should know

पोखरा — १८ जेठ २०३८ को बिहान ७ बजे काठमाडौंको लाजिम्पाटस्थित दुई सम्पन्न परिवारका युवतीहरू नमिता भण्डारी, सुनिता भण्डारी र नीरा पराजुली पोखरा घुम्न निस्किए । उनीहरूसँग नमिता–सुनिताका दाजु (ठूलोबुबाका छोरा) बल्लभ भण्डारी, उनकी श्रीमती विजया, बहिनी शारदा र छोरा पनि थिए । त्यो यात्रा नमिता–सुनिताको पहिलो पोखरा भ्रमण थियो ।

दिउँसो अढाई बजे पोखरा पुगेपछि तीनै युवतीहरू बगाले टोलस्थित बल्लभको डेरामा आइपुगे । जनकपुर चुरोट कारखानाको पोखरा डिपोमा खरिदारका रूपमा कार्यरत बल्लभको सानो कोठामा बसोबास थियो । नीरा सोही साँझ आफ्नो काकाको घरतर्फ गइन् ।

पोखरामा केही दिन घुमफिर गरेपछि २३ जेठमा सुनिताले घरमा पत्र लेखिन् । त्यो पत्रमा उनले लेखेकी थिइन्, ‘आदरणीय बाबा तथा दिदीमा प्रणाम । प्रदीप दाजुको पत्र आएको छ कि छैन ? हामी अब दुई–चार दिनमा फर्की पनि हाल्छौं तर पनि रहरले यो पत्र लेख्दै छु । सबै कुरा नमिताको पत्रबाट ज्ञात हुने भएकोले यो पत्र यहीँ समाप्त गर्दछु । नीराको तर्फबाट मुमा, बुबामा प्रणाम सुनाइदिनुहोला । –उही सुनिता ।’ तर, त्यो पत्र कहिल्यै घर पुग्न सकेन ।

बेपत्ता र रहस्यमय मृत्यु

२४ जेठ शनिबार बिहान सबेरै तीनै युवतीहरू बेगनास ताल घुम्न जाने योजना बनाएर हिँडे । तर, त्यही दिनदेखि तीनै जना बेपत्ता भए । २९ जेठ बिहीबार एउटा भयावह खबरले परिवारलाई चकनाचुर बनायो । सेती नदी किनारमा पृथ्वीनारायण क्याम्पसमुनिको खोंचबाट एक युवतीको शव फेला परेको थियो । टाउको पूर्वतर्फ फर्केको र शरीर उत्तानो परेको अवस्थामा रहेको त्यो शव नमिताको थियो । उनको शरीरमा प्याजी रङको पाइजामा थियो, कम्मरमाथि लगभग निर्वस्त्र अवस्था थियो । घाँटीमै झुन्डिएको लेडिज ब्यागमा दुवै दिदी–बहिनीको परिचयपत्र र सुनको लकेट फेला पर्‍यो ।

नमिताको पोस्टमार्टमलाई गण्डकी अञ्चल अस्पतालका सुपरिन्टेन्डेन्ट डा. कुमारशमशेर राणाले ‘भोलिपल्ट गर्ने’ भनेर टार्दै गए । पोस्टमार्टम रिपोर्टमा अशिष्टताको पराकाष्ठा नाघ्दै ‘पानीमा डुबी श्वास लिन नसकी मरी’ भन्ने भाषा प्रयोग गरियो, जबकि शवको अवस्थाले हिंसा र बलात्कारको संकेत गरिरहेको थियो ।

त्यसको ठ्याक्कै ९ दिनपछि, ६ असारमा फेरि सेती नदी किनारमा अर्की युवतीको शव फेला पर्‍यो । सेती नदीको पानीको वेगभन्दा करिब चार हात बाहिर बगरमा घोप्टो परेको अवस्थामा रहेको त्यो शव सुनिताको थियो । उनले कलेजी रङको हाफ–बाहुले कुर्ता र तल्लो भागमा कालो बुट्टे भित्री वस्त्र लगाएकी थिइन् । दुवै हातमा चाँदी र सुनका औंठी थिए । नीरा भने आजसम्म फेला परेकी छैनन् ।

साक्षी चूडामणिको रहस्यमय हत्या

बाबु माधवराज भण्डारी आफैं अनुसन्धानमा लागे । असार ३ गते फूलबारी क्षेत्र डुल्ने क्रममा उनलाई एउटा महत्त्वपूर्ण सूत्र हात लाग्यो– जिल्ला वन कार्यालयमा कार्यरत वन–पाले चूडामणि अधिकारी । चूडामणि प्रायः क्याम्पसमुनिको काठेसाँघु तरेर सेती नदी पार गरी आफ्नो घर जान्थे । घटनास्थलनजिकै आवतजावत गर्ने उनीसँग केही जानकारी हुन सक्ने अनुमान थियो । 

४ असारमा माधवराजले वन कार्यालय गएर चूडामणिलाई भेट्ने अनुमति लिए । वन अधिकृत ललितरत्न शाक्यको सहमतिमा चूडामणिलाई सहकारी भवन लगियो । तर, कुराकानी चलिरहेकै बेला अकस्मात् दुई जना प्रहरी आइपुगे र चूडामणिसहित माधवराजलाई प्रहरी कार्यालय लगियो । दुवैलाई साँझसम्म थुनामा राखेर छोडियो । माधवराजलाई र चूडामणिलाई भोलिपल्ट बिहान १० बजे हाजिर हुन भनियो ।

५ असारको बिहान चूडामणि आफ्नो घरबाट प्रहरी कार्यालयतर्फ हिँडे । उनले आफ्नो हातको घडी जेठी श्रीमती टीकादेवीलाई दिएका थिए । फूलबारीमा बसोबास गर्ने ८० वर्षीय घान्द्रुके गुरुङले उनलाई अन्तिमपल्ट देखेका थिए । चूडामणिले भनेका थिए, ‘गुरुङ बा, मलाई प्रहरीले बोलाएको छ । म आज फर्किन पाइनँ भने बुढीलाई चिन्ता नगर्नुस् भनिदिनुहोस् ।’ त्यसपछि चूडामणि कहिल्यै फर्केनन् । उनको हत्या गरी शव कसरी गायब पारियो ? त्यो आज पनि रहस्यमै छ । चूडामणिकी जेठी श्रीमती टीकादेवी, अर्की सुस्त–मनस्थितिकी श्रीमती, ६ वर्षकी छोरी र दुई छोराहरू अनाथ बने । १६–१७ वर्षको जागिरे जीवनमा कसैको चित्त नदुखाउने गरिब कर्मचारी चूडामणि किन बेपत्ता पारिए ? कसैलाई थाहा छैन ।

सत्ताको दुरुपयोग र न्यायको हनन

विसं २०५८ मा राजा वीरेन्द्रको शाही संहार भएको मात्र १० दिनपछि यो मुद्दा गोप्य रूपमा टुंग्याइयो । २९ जेठमा पोखरास्थित तत्कालीन पुनरावेदन सरकारी वकिल कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयलाई गोप्य पत्र पठायो । पत्रमा भनिएको थियो– ‘हाललाई कोही कसैउपर मुद्दा नचलाउने गरी निकासा भएकाले कानुनबमोजिम गर्नू ।’ यसरी वादी ‘श्री ५ को सरकार’ र प्रतिवादी ‘नखुलेको’ भनिएको मुद्दा बन्द गरियो । मुलुकको गति ठप्प भएका बेला, राजा वीरेन्द्रको काजकिरिया पनि नसकिँदै यो मुद्दा किन यसरी हडबडीमा बन्द गरियो ? अझै खुलेको छैन । त्यसपछि प्रहरी प्रधान कार्यालयले फाइल बन्द गराउन चासो देखाएको थियो । क्रमसंख्या १०,८९९ को सञ्चार आदेशमार्फत ‘नमिता–सुनिता हत्याकाण्डसम्बन्धी मिसिल सुरक्षित तवरले अविलम्ब पठाउनुहुन’ भनेर ताकेता गरियो । १८ मंसिर २०६० मा फाइल काठमाडौं पठाइयो र मुद्दा पूर्णतया बन्द भयो ।

यो प्रक्रिया चलिरहँदा हालका राष्ट्रपति रामचन्द्र पौडेल उपप्रधान तथा गृहमन्त्री थिए भने मुद्दा पूर्णरूपमा बन्द हुँदा बद्रीप्रसाद मण्डल गृहमन्त्री थिए । नमिता–सुनितामाथि बलात्कार हुँदाचाहिँ मण्डल स्वास्थ्यमन्त्री थिए । 

झूटो अनुसन्धान र जबर्जस्ती बयान

२०५८ जेठका विभिन्न मितिमा पोखरावासीहरूलाई घर–घरमा पुगेर प्रशासनको पक्षमा सकारात्मक बयान दिन बाध्य पारियो । अर्जुनविक्रम राणा, विनोद पराजुली, रामभूषण पराजुली, रुद्रमणि पराजुलीजस्ता व्यक्तिहरूबाट झन्डै उस्तै प्रकारको बयान लिइयो । सबैको जवाफ एउटै थियो– ‘नमिता–सुनिता भण्डारीको सेती नदीको किनारमा लास फेला परेको थाहा पाएको हुँ, निजहरूलाई को–कसले हत्या गर्‍यो मलाई थाहा भएन, नीरा पराजुली कहाँ छिन्, थाहा भएन ।’ यो सबै नाटक एउटै उद्देश्यका लागि गरिएको थियो– हत्या साबित गर्न प्रमाण पुगेन भनेर दुनियाँलाई देखाउन ।

पीडित परिवारको व्यथा

छोरीहरू हराएको सूचना पाएपछि माधवराज भण्डारी पोखरा पुगे, तर त्यसबेलासम्म नमिताको शव फेला परिसकेको थियो । १८ सालमै असाध्यै व्यथाले च्यापेपछि २८ वर्षकै युवा उमेरमा आर्यघाट पुर्‍याइएर पनि पुनर्जन्म पाएका माधवराजले पनि कोरोनाकालमा ज्यान गुमाइसके ।

२०४६ को परिवर्तनपछि घटनाको निष्पक्ष छानबिन हुने र दोषीले सजाय पाउने आशा पलाएको थियो, तर त्यो आशा आशामै सीमित छ । नमिता–सुनिता मारिएको १० वर्ष पनि नपुग्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सनकमा अनिवार्य अवकाश पाउनु दुई वर्षअघि नै माधवराजको जागिर खोसिएको थियो । सुनिताका जेठा भाइ प्रदीप बेलायत पुगे । बहिनीहरूमाथि भएको क्रूरता सहन नसकेर उनी मानसिक रूपमा विक्षिप्त बनेका थिए । नीराका बुबा थीरमणि २०५७ मा बिते । 

षड्यन्त्रको जाल

यो घटनामा कसको संलग्नता थियो ? त्यो सार्वजनिक भइसकेको छ, तर कानुनी कारबाही हुन सकेको छैन । घटना हुनुभन्दा अगाडि नै काठमाडौंबाट यसको योजना बनाइएको दाबी गरिन्छ । राजदरबारका केही सदस्यहरू, उनीहरूका नजिकका मित्र र केही प्रभावशाली व्यक्तिको सहभागिता रहेको तथ्य समय–समयमा सार्वजनिक भइसकेको छ । 

विभिन्न स्रोतहरूले तत्कालीन अधिराजकुमार धीरेन्द्र शाह, उदयशमशेर जबरा (कोमल शाहका भाइ), कलाकार नीर शाह र व्यापारी विनोदशंकर श्रेष्ठको नाम उल्लेख गरेका छन् । यद्यपि, नीर शाहले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । नमिता–सुनिता हत्याकाण्डमाथि लेखिएको पत्रकार किशोर श्रेष्ठको पुस्तक ‘दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड’ मा गण्डकीका तत्कालीन अञ्चलाधीश गणेशमान श्रेष्ठले संदिग्ध व्यक्तिहरूको फोटो राखेको, तर त्यसलाई प्रयोग नगरिएको उल्लेख छ । धेरै अनुसन्धानकर्मीले घटना शक्तिशाली व्यक्तिहरूसँग जोडिएको र त्यसैले प्रमाण नष्ट गरिएको स्वीकार गरेका छन् । 

३२, जेठ २०३८ का दिन झलकमान राउतको खोजीका लागि प्रहरी निरीक्षक बाबुराम पुनले प्रहरी टोली खटाएका थिए । टोली हनुमानढोकासम्म पुगेको थियो, तर उनलाई पक्रन सकिएन । २०५८ मा फेरि उनको खोजी भयो, तर फेरि असफल भयो । ‘उनको के संलग्नता थियो ?’ भन्ने रहस्यको गर्भमै रह्यो । 

दरबार हत्याकाण्डसँगको सम्बन्ध

नमिता–सुनिता हत्याकाण्डको मुद्दा दबाइएको २० वर्षपछि १९ जेठ २०५८ मा शाही संहार भयो । र, त्यसको ठ्याक्कै १० दिनपछि नमिता–सुनिता हत्याकाण्डको मुद्दा बन्द गरियो । यो कुनै संयोग मात्रै नभएको जानकारहरू बताउँछन् । 

राजा वीरेन्द्रको वंश विनाश भएको शोकमा सिंगो राष्ट्र डुबिरहेको मौका छोपेर अपराधमा संलग्नलाई अभयदान दिने प्रक्रिया सुरु गरियो । जनताको ध्यान दरबार हत्याकाण्डतिर केन्द्रित भएको मौकाको दुरुपयोग गरी राज्य संयन्त्रले अर्को हत्याकाण्डको प्रमाण नष्ट गर्‍यो । 

कानुनी लडाइँ

१ असार २०३८ मा माधवराज भण्डारीले जिल्ला प्रहरी कार्यालय, पोखरामा जाहेरी दरखास्त दर्ता गराए । उनले ‘छोरीहरूले आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको’ जनाउँदै गुन्डाहरूले पिछा गरी हत्या गरेको हुन सक्ने आशंका व्यक्त गरेका थिए । दरखास्तको अन्त्यमा उनले लेखेका थिए– ‘अतः विशेष अभिरुचिपूर्वक खोजी भई अपराध घटेको भए अपराधीलाई उचित दण्ड र नघटेको भए पनि जीवित अथवा मृतक जेजस्तो अवस्था पाइन्छ, सोको निमित्त खोजतलास गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।’ तर, प्रशासन सक्रिय हुनुको सट्टा मुद्दा दबाउनतिर लाग्यो । भेटिएका बोटेहरू, दूध बेच्नेहरू, पाकेटमारहरूलाई पक्रेर अनावश्यक रूपमा उत्पीडन गरियो, तर वास्तविक अपराधी खोज्ने काममा कुनै ध्यान दिइएन ।

२१ औं शताब्दीमा पनि नेपाली न्याय प्रणाली शक्तिशालीहरूको कठपुतली बनेको यो घटनाले प्रमाणित गर्छ । विसं २०४६ को जनआन्दोलनपछि, विसं २०६२–०६३ को जनआन्दोलनपछि, गणतन्त्र घोषणा भएपछि पनि यो काण्डमा संलग्नलाई न्यायको कठघरामा उभ्याउन सकिएको छैन ।

सबैभन्दा अचम्मको कुरा, १९ जेठमा राजा वीरेन्द्रको वंश नाश भएपछि र ज्ञानेन्द्र राजगद्दीमा बसेको मात्रै १० दिनपछि तत्कालीन २० वर्ष पुरानो मुद्दा गुपचुप रूपमा टुंगो लगाइयो । अर्की युवती नीरा पराजुली आजसम्मै बेपत्ता छिन् । उनी के भइन्, कहाँ छिन्– यो रहस्यमै छ । महत्त्वपूर्ण साक्षी बन्न सक्ने चूडामणि अधिकारी कसरी र किन बेपत्ता भए ? अपराधमा संलग्न संदिग्ध धेरैको नाम आए पनि कसैमाथि औपचारिक अभियोग लागेन । किन र कसको आदेशमा मुद्दा दबाइयो ? 

०५८ मा नमिता–सुनिता हत्याकाण्डको फाइल बन्द हुँदा कास्की प्रहरी प्रमुख थिए, रमेशशेखर वज्राचार्य । उक्त घटनाको हदम्याद सकिएकाले फाइल बन्द भएको उनलाई सम्झना छ । ‘सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ मा ज्यानसम्बन्धी महलमा भएको व्यवस्थाअनुसार प्रतिवादी नखुलेको वा खुले पनि फरार रहेको अवस्थामा २० वर्षे हद म्याद लागू हुन्छ,’ एआईजीबाट निवृत्त उनले भने, ‘त्यतिबेला त्यही हद म्यादको बाध्यकारी व्यवस्थाअनुसार मुद्दा बन्द गर्न सरकारी वकिल कार्यालय पठाइएको थियो । तर, मिसिल मर्दैन । प्रतिवादी खुलेको अवस्थामा प्रक्रिया अगाडि बढ्छ । चार्ल्स शोभराजकै केसमा यस्तो भएको छ ।’ 

गणतन्त्र आइसक्दा पनि यो मुद्दा टुंगो लाग्न सकेको छैन । मुद्दा पुनः खोलेर स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गरी पुनः अनुसन्धान गर्ने बाटो खुला छँदै छ । अझै जीवित रहेका संदिग्ध व्यक्तिहरूलाई कानुनी कारबाहीमा ल्याउन सकिन्छ । नमिता–सुनिताका बुबा माधवप्रसादको निधनसँगै यो हत्याकाण्डको पुनः अनुसन्धान गर्ने प्रक्रिया पनि छुटेको पत्रकार किशोर श्रेष्ठ बताउँछन् । भन्छन्, ‘यस्तो हत्याकाण्डबारे लेख्न, बोल्न छोड्नु हुँदैन । नयाँ पुस्ताले पनि थाहा पाउनुपर्छ ।’ 

(यो आलेख विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचार, किशोर श्रेष्ठको पुस्तक ‘दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड’ र प्रत्यक्षदर्शीहरूको भनाइमा आधारित छ ।)

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully