निर्मला हत्या प्रकरण : ७ वर्ष बितिसक्दा पनि अनुसन्धान अधुरै

प्रहरीले १२४ जनाको डीएनए परीक्षण गर्‍यो, १ हजारभन्दा बढीलाई सोधपुछ गर्‍यो । अनुसन्धानमा खटिने प्रहरी अधिकृतकै डीएनए परीक्षण गरिएको घटना पनि सम्भवतः यही मात्रै हो ।  सबैभन्दा धेरै छानबिन समिति गठन भएको र चासो दिइएको घटनामध्ये पनि यही प्रकरण पर्छ । तर, अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन ।

मंसिर ६, २०८२

भवानी भट्ट

Nirmala murder case: Investigation still incomplete even after 7 years

कञ्चनपुर — भीमदत्त नगरपालिका–२ उल्टाखामकी दुर्गादेवी पन्तलाई हिजोआज घरमा आउने नयाँ मान्छेसँग उतिसारो कुरा गर्न मन लाग्दैन । न्यायको खोजीमा उनले बिताएका ७ वर्षको दौडधुप र हैरानीले उनी गलेकी छन् । घरमा आउनेहरूले छोरी निर्मलाबारे सोधखोज नगरून् र प्रहरीको अनुसन्धान कहाँ पुग्यो भनेर नसोधून् भन्ने उनी चाहन्छिन् । कान्तिपुरले प्रसंग निकाल्नासाथ दुर्गादेवीले भनिन्, ‘यसबारे कुरै नगरम् ।’ 

१० साउन २०७५ मा साथीको घरमा पढ्न गएकी १३ वर्षीया निर्मला दोस्रो दिन बिहान घरभन्दा केही टाढा भीमदत्त–१८ स्थित उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । घटनालगत्तै सीआईबीका तत्कालीन डीएसपी अंगुर जीसी नेतृत्वको टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले संयुक्त रूपमा अनुसन्धान सुरु गरेको थियो । उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटना लगत्तैदेखि हत्यारा पत्ता लगाउन दबाबमूलक रूपमा आन्दोलन पनि भएको थियो । 

सम्बन्धित समाचार

निर्मलाको शव भेटिएदेखि नै प्रहरीले घटनास्थलको सुरक्षादेखि प्रमाण संकलनसम्ममा लापरबाही गरेको स्थानीयको आरोप छ । घटनामा ‘भीआईपी’ को संलग्नता रहेकाले प्रहरीले प्रमाण मेटाउने प्रयास गरेको उनीहरू दाबी गर्छन् । घटनास्थलमा निर्मलाको कपडा धोएको, घटनास्थलको सुरक्षा नगरेको जस्ता गतिविधि भिडियोमा सार्वजनिक भएका थिए । 

निर्मलाको शव भेटिएको चौथो दिन १४ साउनमा महाकालीमा अन्तिम संस्कार भएको थियो । ४ भदौमा प्रहरीले मुख्य अभियुक्तका रूपमा भीमदत्त–२ उल्टाखामका दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । उनलाई सार्वजनिक गरेपछि आन्दोलन झनै भड्कियो । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाउनुपर्‍यो । 

८ भदौमा प्रहरीको गोली लागेर भीमदत्त–१८ का सन्नी खुनाको मृत्यु भयो । त्यसको अघिल्लो दिन पनि प्रहरीले अश्रुग्यास र गोली प्रहार गरेको थियो । गोली लागेर १० जनाभन्दा बढी घाइते भएका थिए । 

गृह मन्त्रालयले ७ भदौमा तत्कालीन एसपी डिल्लीराज विष्टलाई विभागमा तानेर कुवेर खड्कालाई खटायो । त्यही दिन गृह मन्त्रालयका तत्कालीन सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन भयो । समितिले ८ भदौमा महेन्द्रनगर पुगेर छानबिन सुरु गर्‍यो । त्यस समितिले पनि प्रमाण जोगाउने र अनुसन्धान गर्ने विषयमा प्रहरीबाट लापरबाही भएको निष्कर्ष निकाल्यो । 

तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समेत महेन्द्रनगर पुगेर अनुसन्धानमा प्रहरीबाट त्रुटि भएको बताएका थिए । २१ भदौमा निर्मलाको परिवारलाई भेटेका उनले भोलिपल्ट महेन्द्रनगरमा आयोजित सार्वजनिक कार्यक्रममा नालायक प्रहरीका कारण प्रहरी संगठन बदनाम भएको अभिव्यक्ति दिएका थिए ।

राष्ट्रिय मानवअधिकार आयोग र तत्कालीन एआईजी धिरु बस्न्यात नेतृत्वका छुट्टाछुट्टै छानबिन समितिले पनि अनुसन्धानमा लापरबाही भएको ठहर गरेका थिए । यही कारण तत्कालीन एसपी डिल्ली विष्टसहित ८ प्रहरी निलम्बनमा परे । प्रमाण नष्ट गरेको र अनुसन्धानका क्रममा यातना दिएको भन्दै उनीहरूविरुद्ध जिल्ला अदालतमा मुद्दा पनि चल्यो । अदालतबाट उनीहरूले सफाइ पाए । 

निर्मलाको न्यायका लागि बुबा यज्ञराज पन्त र आमा दुर्गादेवीसहित परिवारका अन्य सदस्य र नागरिक समाजका अगुवाले जिल्ला प्रशासन कार्यालय अगाडि महिनौं धर्ना दिए । पटक–पटक जुलुस निस्कियो । पीडित परिवारले गृहमन्त्री र प्रधानमन्त्रीलगायतलाई पनि भेटेर आफ्ना पीडा राख्यो । 

निर्मला प्रकरणमा जोडिएका प्रहरी अधिकारीहरूमध्ये कतिले त अवकाश पनि पाइसके । जिल्ला प्रहरी कार्यालयमा ९ प्रहरी प्रमुख पनि फेरिइसके । अहिले पनि जिल्ला प्रहरी कार्यालयमा नयाँ आउने एसपीले सुरुमै झेल्ने प्रश्न ‘निर्मलाको अनुसन्धान कसरी अगाडि बढ्छ ?’ भन्ने हो । प्रहरीले आयोजना गर्ने हरेक किसिमका पत्रकार सम्मेलनमा पनि नियमितझैं आउने प्रश्न हो, ‘निर्मलाको अनुसन्धान के भइरहेको छ ?’ यसमा प्रहरीबाट आउने पनि सदाबहार उत्तर हो, ‘हामी अनुसन्धानमै छौं, अहिले नयाँ कुरा केही खुलिसकेको छैन ।’ 

प्रहरीले अनुसन्धानका क्रममा १ सय २४ जनाको डीएनए परीक्षण गरिसकेको छ । अनुसन्धानकै लागि मात्रै १ हजारभन्दा बढीलाई सोधपुछ गरिसकेको छ । अनुसन्धानमा खटिने प्रहरी अधिकृतकै डीएनए परीक्षण गरिएको घटना पनि सम्भवतः यही एक मात्र हो । सबैभन्दा धेरै छानबिन समिति गठन भएको र धेरै खर्चसँगै चासो दिइएका घटनामध्येमा पनि निर्मला प्रकरण पर्छ । तर अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्री अहिले पनि अनुसन्धान चलिरहेको बताउँछन् । ‘सोधपुछ गर्ने, प्रमाण हेर्ने, फेरि अर्को शिराबाट अनुसन्धान गर्ने क्रम चलिरहेको छ,’ उनी भन्छन्, ‘अब अपराधी पत्ता लागे मात्रै नयाँ हुन्छ ।’ 

एसपी खत्रीका अनुसार अहिले जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहरालाई अनुसन्धान अधिकृत तोकिएको छ । ‘सीआईबीले पनि छुट्टै अनुसन्धान गरिरहेको छ । त्यसमा हामीसँग समन्वय भएको छैन,’ उनले भने, ‘हाम्रा लागि चुनौती बनेको घटना हो, सूक्ष्म ढंगले लागेका छौं ।’ 

१७ फागुन २०७९ मा गृहमन्त्री भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पदभार ग्रहण गर्ने क्रममा भनेका थिए, गृहमन्त्रीका रूपमा मैले पहिलो निर्णय निर्मला पन्तको न्यायका लागि गरेको छु । असार २०८१ मा दोस्रो पटक गृहमन्त्री भएका बेला लामिछानेले निर्मला प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको अभिव्यक्ति दिएका थिए । उनले त्यति बेला भनेका थिए, ‘निर्मला पन्तका विषयमा अत्यन्तै नजिक पुगेका छौं ।’ 

यस अवधिमा प्रहरी प्रमुख र गृहमन्त्री ७–७ पटक फेरिए । गृह जिल्लाका र निर्मलाको न्यायका लागि सडकमै उत्रिएका कांग्रेस नेता रमेश लेखक यसबीचमा गृहमन्त्री बने । कञ्चनपुरको प्रहरी प्रमुख भएर आउने हरेकले निर्मला पन्तलाई न्याय दिलाउने विषयमा केही न केही बोलेकै छन् । तर दुर्गादेवीलाई यस्ता कुरा त अब पत्यार पनि लाग्न छाडिसक्यो ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको निम्बुखेडाको उखुबारी पनि मासिइसकेको छ । त्यहाँ गहुँबारी छ । तर त्यो बाटो हुँदै कतै जान पनि दुर्गादेवीलाई दकस लाग्छ । अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ वा छैन भन्नेबारेमा पनि उनलाई जानकारी छैन, चासो पनि दिएकै छैनन् । ‘अब सोच्न सक्ने अवस्था पनि छैन, रुन पनि सकिँदैन, आँखाबाट आँसु आउन छाडिसक्यो,’ कान्तिपुरसँगको कुराकानीमा दुर्गादेवीले भनिन्, ‘अब त न्यायको आस मरिसक्यो ।’ 

नसुल्झिएका अपराधहरू

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully