खुमबहादुरका अंगरक्षक कुवेरको हत्या रहस्यको घेरामै

घटनाको रात आफन्तको विवाहमा सहभागी कार्की भोज नसकिँदै श्रीमती र छोरीसहित घर पुगेका थिए । अरू बेला विवाह/भोजलगायतमा अन्तिमसम्मै बस्ने कार्कीलाई त्यस दिन कसले छिटो घर जान उक्सायो ? त्यो विषयलाई प्रहरीले ‘क्लु’ का रूपमा लिएको थियो । 

मंसिर ६, २०८२

मातृका दाहाल

The murder of Khum Bahadur's bodyguard Kuber remains shrouded in mystery

What you should know

काठमाडौँ — २१ मंसिर २०६३ को मध्यरात । साबिकको गोठाटार गाविस–८, काँडाघारी नजिकै भर्खरै बनेको आफ्नै एकतले घरमा पत्नी रञ्जु भट्टराई कार्की र ५ वर्षीया छोरीसहित बस्थे नेपाल प्रहरीका नायब निरीक्षक (सइ) कुवेरविक्रम कार्की । कार्की संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत ‘युनाइटेड नेसन्स पुलिस’ (अनपोल) को तयारी गर्दै थिए । पकनाजोलतिर लामै समय डेरा गरी बसेका कार्की गोठाटारमा घर बनाएर सरेको केही समय मात्रै भएको थियो ।

भदौ २०५१ मा सहायक निरीक्षक (असइ) बाट सेवा प्रवेश गरेका कार्की त्यसको ७ वर्षपछि सइमा बढुवा भएका थिए । सेवा प्रवेशपछिको करिब ७ वर्ष विभिन्न युनिटमा रहेर उनले काम गरे । प्रहरीमा तालिम सकेर पास आउट हुँदा देशमा तत्कालीन नेकपा माओवादीले सशस्त्र द्वन्द्व सुरु गरिसकेको थियो । त्यसबेला माओवादी निसानामा प्रहरीका ब्यारेक तथा कार्यालय परेका थिए ।

२०५२ देखि २०६२/६३ सम्म माओवादी द्वन्द्वमा परी प्रहरीका मात्रै १५ सय बढीको ज्यान गएको थियो । माओवादी हमलामा चिनेजानेका प्रहरी मात्रै होइन, सयौं ब्यारेक र कार्यालय जलेको पनि सामुन्ने देखेका थिए कार्कीले । त्यस बेला उनले काठमाडौं र उपत्यका बाहिर विभिन्न स्थानमा रहेर काम गरे । त्यस क्रममा आफैं भने अप्रिय घटनाबाट जोगिए । २०५८ मा उनी सइमा बढुवा भए ।

बढुवाको केही महिनामै प्रहरी प्रधान कार्यालयले उनलाई पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्काको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) मा खटायो । त्यसबेला माओवादीप्रति खड्का निकै आक्रामक थिए भने सशस्त्र एवं हिंसात्मक गतिविधिको विरोध गर्थे । सोही कारण सरकारले खड्काको सुरक्षामा सावधानी अपनाएको थियो । कार्की खड्काको दैनिकीअनुसार चल्नुपर्ने भयो । दिनभर खड्काको सुरक्षार्थ, राति परिवारसँग । आफ्नो सुरक्षामा खटिने प्रहरीलाई खड्का औधी माया गर्थे, परिवारको हालचाल सोध्थे । खड्का बहालमा हुन् वा बाहिर, उनको पहुँच र प्रभाव उस्तै थियो । कहिलेकाहीं परिवारका सदस्यलाई घरमै बोलाउँथे । 

खड्काको सुरक्षार्थ खटिएपछि राजनीतिक भेटघाटमा आउने–जानेसँग निरन्तर संगत र भेटघाटले कार्कीको व्यक्तिगत सम्बन्ध विस्तार हुन पुग्यो । कार्कीलाई नै माध्यम बनाएर त्यस बेलाका कतिपय उच्च प्रहरी अधिकारीहरू खड्कासँग भेट्न जान्थे । एक हिसाबले आफ्नै सिनियर अधिकृतहरूको पनि खड्कासँगको भेटघाटका लागि सम्पर्क व्यक्ति बनेका थिए, कार्की । यस क्रममा काठमाडौंदेखि खड्काको गृह जिल्ला दाङ र उनलाई भेट आउने नेता–कार्यकर्तासँग कार्कीको सम्बन्ध निकट र बाक्लो भइसकेको थियो । उनी करिब ५ वर्षसम्म खड्काको अंगरक्षक बने । 

२०६२/६३ को आन्दोलनपछि देशमा शान्ति प्रक्रिया सुरु भयो । माओवादी शान्तिपूर्ण राजनीतिमा आए । कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र कांग्रेसकै कृष्णप्रसाद सिटौला गृहमन्त्री बने । कोइराला नेतृत्वको सरकारमा माओवादी पनि सामेल भयो । द्वन्द्वबाट शान्ति प्रक्रियामा आएपछि कृष्णबहादुर महराको नेतृत्वमा माओवादी सरकारमा थियो । यो बेलासम्म सइ कार्की प्रहरी सेवा प्रवेश गरेको १२ वर्ष भइसकेको थियो । यस बेलासम्म उनी खड्काकै अंगरक्षकका रूपमा तैनाथ थिए । त्यही बेला नेपाल प्रहरीका लागि शान्ति मिसनअन्तर्गतको ‘अनपोल’ मा प्रतिस्पर्धा गर्न स्याट परीक्षाको तयारी भइरहेको थियो । त्यसमा भाग लिनेमध्येका एक थिए, सइ कार्की । 

दिनभर पूर्वगृहमन्त्री कार्कीको सुरक्षामा खटिनुपर्ने, राति परिवारसँग । २१ मंसिर २०६३ को दिउँसो आफन्तको विवाह भोजमा सहभागी हुन श्रीमती र ५ वर्षीया छोरीसहित पुगेका थिए कार्की । साँझ उनी घर फर्के । केहीबेर स्याट परीक्षा तयारी गरेर सुतिसकेका थिए । तर, त्यही रात कार्कीका लागि भने जीवनको अन्तिम क्षण बन्न पुग्यो । मध्यरात १ बजे, सुतिरहेकै अवस्थामा खाटबाट तानेर कोठा बाहिर ल्याई कार्कीलाई टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको थियो । त्यस बेलाको अनुसन्धानको प्रारम्भिक सोधपुछ र घटना विवरणअनुसार उक्त अज्ञात समूहसँग केहीबेर प्रतिकार गरे पनि कार्कीको केही लागेन । 

रक्ताम्य हुने गरी प्यासेजमा ढलेपछि अज्ञात समूह फरार भयो । त्यसको केही समयपछि उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुर्‍याएलगत्तै चिकित्सकले कार्कीलाई मृत घोषणा गरेका थिए । यो घटनाले एउटा सुरक्षाकर्मीको मात्रै ज्यान गएन, परिवारको भरोसा पनि ढल्यो । आफन्तले प्रियजन गुमाए । प्रहरीले आफ्नो सदस्य गुमायो । तर, २० वर्षअघिको त्यो हृदयविदारक घटनामा कसको संलग्नता थियो ? दोषी किन पक्राउ पर्न सकेनन् ? अनुसन्धान गर्ने प्रहरी निकाय पनि आजसम्म अन्योलमै छ । तत्कालीन प्रहरी प्रवक्ता डीआईजी किरण गौतमले घटनामा संलग्न व्यक्तिबारे संगठन अन्योलमा रहेको बताएका थिए । अहिलेसम्म घटनाका दोषी पत्ता नलगाएपछि प्रहरी अन्योलमै छ ।

...

दोलखाको घ्याङ गाविस–१ का कार्की भदौ २०५१ मा सहायक निरीक्षकको परीक्षामा नाम निकाल्ने ४ सय ३२ जनामध्ये पहिलो लटमा उत्तीर्ण हुने ३ सय ५० मा थिए । पहिलो लटमा उत्तीर्ण टोलीलाई प्रहरीमा १ सय ५ ब्याचीका रूपमा चिनिन्छ । सुरु लटमै उत्तीर्णमध्ये १ सय ३० जना प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जबाट तालिम लिने सूचीमा समेटिए ।

१ सय ७ बुटवल गए, वैकल्पिक सूचीका ८२ जना बुटवल र विराटनगर तालिम केन्द्र गएका थिए । वैकल्पिक लटका १ सय ७ ब्याचीका रूपमा चिनिए । कार्कीसँग असइमा सेवा प्रवेश गरेका कतिपय पछि प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेर एसएसपीसम्म भए । उनीहरू गत वर्ष भदौमा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गइसकेका छन् । 

सेवामै भइदिएका भए सायद कार्की पनि गत वर्ष अनिवार्य अवकाशमा जाने थिए । तर दुर्भाग्य, निवासमै सुतिरहेका बेला भएको क्रूर घटनाबाट कार्की मारिन पुगे । घटना भएको स्थान तत्कालीन महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर मातहत थियो । हत्याको केही समयमै प्रहरी घटनास्थल पुगेको थियो । बानेश्वर वृत्तमा थिए, डीएसपी दिवस उदास । अपराध अनुसन्धानमा काबिल अफिसरका रूपमा चिनिएका उदास आफैं राति नै घटनास्थल पुगेका थिए ।

डीएसपी उदासकै टोलीले घटनाबारे तयार पारेको संक्षिप्त नोटमा भनिएको छ, ‘२०६३ मंसिर २१ को राति अन्दाजी १ बजे ३५ वर्षका प्रहरी नायब निरीक्षक कार्कीलाई निजकै घरमा सुतिरहेका बेला अपरिचित व्यक्तिहरूले बाहिर निकाली धारिलो हतियार (खुकुरी) ले टाउको, गर्धन, ढाड तथा खुट्टामा प्रहार गरी घाइते बनाई फरार रहेको र निजलाई उपचारार्थ काठमाडौं मेडिकल कलेज लैजाने क्रममा बाटोमा मृत्यु भएको ।’ 

एसपी भएपछि प्रहरीबाट राजीनामा दिएका उदास हाल देशबाहिर छन् । कान्तिपुरसँगको कुराकानीमा उदास २० वर्षअघिको त्यस घटनालाई क्रूर र अमानवीय रूपमा चित्रण गर्छन् । ‘मलाई स्मरण भएअनुसार मध्यरात दुई अपरिचित मानिस छिरेर सुतिरहेको कोठाबाट बाहिर निकाली क्रूर र अमानवीय हिसाबले घरेलु हतियारले टाउको, छाती र शरीरका अन्य भागमा प्रहार गरेको र केहीबेरमा त्यहाँबाट भागेको कुरा हाम्रो प्रारम्भिक अनुसन्धानमा खुलेको थियो, जुन कुरा उहाँ (कार्की) सँगै रहनुभएका परिवारका सदस्यले पनि सोधपुछमा खुलाउनुभएको थियो,’ उदास 

घटनाबारे भन्छन्, ‘यस विषयमा वृत्त, परिसर, अपराध महाशाखा हुँदै प्रहरी प्रधान कार्यालयले पनि उत्तिकै महत्त्वका साथ अनुसन्धान र छानबिनमा आफ्ना संयन्त्र परिचालन गरेको थियो, पछि म पनि अन्यत्र सरुवा भएर गएँ, त्यसको केही वर्षमा सेवाबाटै अलग भएका कारण यस विषयमा के–कसो भएको थियो ? अनुसन्धान कहाँ पुग्यो भन्नेबारे थप अपडेट छैन ।’

त्यस घटनालाई नजिकबाट नियालेका र पछि निरन्तर अनुसन्धानमा खटिएका केही प्रहरी अधिकृतका अनुसार घटना भएको दिन आफन्तको विवाह भोजमा सहभागी कार्की भोज नसकिँदै श्रीमती र छोरीसहित घर पुगेका थिए । अरू बेला विवाह/भोजलगायत समारोहमा अन्तिम समयसम्म बस्ने कार्कीलाई त्यस दिन कसले छिटो घर जान उक्सायो ? त्यो विषयलाई प्रहरीले ‘क्लु’ का रूपमा लिएको थियो । यस विषयमा कार्कीकी श्रीमतीसँग पनि सोधपुछ गर्दा ‘घर वरिपरि चोरको बिगबिगी छ, छिट्टै घर जाऔं’ भनेर आफूले पनि श्रीमान्लाई भनेको कुरा प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । 

‘भोजमा सहभागी भएर फर्किएपछि कार्की परिवार सुतिसकेको थियो, त्यहीबीच कार्की पत्नी भट्टराई अकस्मात् उठेर बाहिर निस्किएको देखिन्छ, त्यसपछि उनी फेरि बिस्तारामा आएको अनुसन्धानबाट खुल्छ,’ हाल अवकाशमा गइसकेका तत्कालीन एक प्रहरी अधिकृत भन्छन्, ‘घटनाअघि किन तपाईं बाहिर निस्कनुभयो भनेर सोधेका पनि थियौं, उहाँले ‘कस्तो गन्ध आयो, के रहेछ भनेर बाहिर निस्किएकी थिएँ’ भनेर भन्नुभएको थियो, त्यसको केही समयमै कार्कीमाथि अपरिचित व्यक्तिहरू छिरेर धारिलो हतियार प्रहार गरेका थिए, प्रारम्भिक जाँचबुझ कागजमा पनि यो विषय उल्लेख छ ।’

किरियामा बसेका बेला पनि श्रीमतीले ‘म कामबाट बाहिर निस्केर सबै कुरा भन्छु, मलाई सबै कुरा थाहा छ’ भनेर पनि अनुसन्धान अधिकृतहरूसँग भनेको तर पछि यसबारे पहिले भनेका कुरामा फेरबदल भयो, उहाँले भन्न पनि चाहनु भएन ।’ 

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार संकलित सबुतमा कार्कीलाई कोठाबाट लगेर धारिलो हतियार हान्न थालेपछि केहीबेर उनले प्रतिकार गरेका थिए । ‘तिमी र छोरी सुरक्षित होऊ’ भन्दै प्रतिकार गरेका कार्कीले सिरानमुनि पिस्तोल छ, देऊ भनेर भनेका पनि थिए रे, तर त्यस रातचाहिँ पिस्तोल दराजमा रहेछ । यदि सिरानमै पिस्तोल थियो भने अवस्था अर्कै हुन सक्थ्यो । घटनापछि धारामा रगतका निसाना पनि भेटिएको थियो । प्रहरीका अनुसार सायद कार्कीमाथि प्रहार गरेको हतियारमा लागेको रगत पखालेर भागेको हुन सक्छ ।

कार्कीको घर नजिकै उनकै ब्याची (हाल एसएसपीबाट अवकाश) जीवनकुमार श्रेष्ठले पनि घर बनाइरहेका थिए । घटना बिहान मात्र थाहा पाएका थिए श्रेष्ठले । ‘हामी १०५ टोलीका सदस्य, सँगै परीक्षा दिएर उत्तीर्ण भएका, पछि विभिन्न स्थानमा पोस्टिङ भयौं, पछि ‘ऊ (कुवेर कार्की) एकतले घर बनाएर भर्खर सरेको थियो, म पनि नजिकै घर बनाएर सर्ने योजनामा थिएँ, मेरो घर निर्माणका क्रममा थियो, हामी छिमेकी थियौं,’ श्रेष्ठ भन्छन्, ‘तर पछि म त्यहाँबाट सरेर अन्यत्रै हिँडे, त्यस घटनामा को संलग्न थिए भन्ने कुरा आजसम्म पनि खुल्न सकेन, त्यो घटनाले आज पनि कहालीलाग्दो अवस्थाको स्मरण गराउँछ ।’

लामो समय खड्काको अंगरक्षक बनेका कार्कीको हत्यापछि उनी निकटहरूसँग पनि सोधपुछ भएको थियो । घटनापछि प्रहरीले खड्कासँग सामान्य सोधपुछ गरे पनि अनुसन्धानका हिसाबले कस्ने गरी केरकार नै गरेन । त्यस बेला चोरीका गाडीका ‘स्पेयर्स पाटर््स’ बेचबिखन गर्ने गिरोहहरू पनि सक्रिय थिए ।

वर्कसप सञ्चालकसँग पनि कार्कीको चिनजान र सम्पर्क बाक्लै थियो भन्छन् त्यसबेलाका प्रहरी कर्मचारी । भर्खर माओवादी शान्ति प्रक्रिया हुँदै सरकारमा आएको थियो । द्वन्द्वकालमा लुटेका/चोरी भएका गाडीका ‘स्पेयर्स पार्ट्स’ पनि वर्कसपमार्फत किनबेच हुन्थे । यसबाट आउने गैरकानुनी लेनदेन पनि बढ्दै गएको थियो । घटनाबारे जानकार त्यसबेलाका एक प्रहरीका अनुसार कार्कीको हत्यापछि बानेश्वरमा एक जना भारतीय नागरिक हरभजन सिंह केही समयमै वर्कसप छाडेर भारत गएका थिए । 

प्रहरीले त्यसबेला पूर्वगृहमन्त्री खड्काको जिल्ला दाङसहित कपिलवस्तु, बाँकेलगायत विभिन्न जिल्लामा पुगेर पनि गुपचुप अनुसन्धान गर्‍यो । तर, खड्कामाथि भने मिहिन केरकार हुन सकेन । ‘त्यस बेला कसको आँट खड्कासँग बोल्ने, बयान लिने ?’ एक पूर्वप्रहरी भन्छन्, ‘परिवारकै मान्छेले सुरुमा खड्कासँग सोधे थाहा हुन्छ भन्ने विषय पनि उठाएका थिए, श्रीमतीले पनि कामबाट निस्केर भन्छु भन्नुभएको थियो तर त्यो भन्ने दिन कहिले आएन, न खड्कासँग नै बयान भयो,’ आखिर एउटा हृदयविदारक घटनाको अनुसन्धानले आज पनि पार पाएको छैन । खड्काको १६ चैत २०७४ मा निधन भएपछि भने घटनालाई जोडेर ‘उनकै हात छ’ भनेर कार्कीकै परिवारका मान्छेले भनेको एक प्रहरी अधिकारी बताउँछन् । 

यस घटनामा काठमाडौं प्रहरी, तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोले पनि अनुसन्धान गरेका थिए । घटनालगत्तै प्रहरी प्रधान कार्यालयले तत्कालीन डीआईजीको नेतृत्वमा समिति नै बनाएको थियो । २०७१ मा सीआईबीले घटनाबारे पुरानो फाइल खोल्दै केही व्यक्तिसँग सोधपुछ अघि बढाएको थियो ।

खड्कासँग पनि सीआईबीको टोलीले सोधपुछ गरेको थियो । तर, त्यसपछि फेरि सीआईबीमा यो विषय उठेन । २०७४/७५ तिर अपराध महाशाखाले पनि यो घटनाको पुनः अनुसन्धान अघि बढाएको थियो । महाशाखाका ती अनुसन्धान अधिकृत भन्छन् । ‘अनुसन्धान र सोधपुछमा तानिएपछि मृतककै श्रीमतीले ‘मलाई प्रहरीले अनावश्यक दुःख दियो, जबर्जस्ती प्रहरी कार्यालय बोलायो’ जस्ता कुरा गरेर मानवअधिकार आयोगमा उजुरी दिने, अधिकारकर्मीलाई लिएर आउने गर्नुभयो, त्यसपछि हामीले यस विषयलाई अघि बढाएका छैनौं ।’

कार्कीकै ब्याची रहेका पूर्वएसएसपी बेलबहादुर पाण्डे यो घटनाको अनुसन्धान केवल अनुसन्धानका लागि मात्रै नभएर बहालवाला प्रहरी कर्मचारी हत्यासँग जोडिएकाले निचोडमा पुर्‍याउनु प्रतिष्ठाको विषय भएको बताउँछन् । ‘अहिले अनुसन्धानलाई बजारका हल्ला, दबाब र प्रभावबाट निर्देशित गर्ने क्रम बढ्दो छ, यस्तो अवस्थामा वर्षौं पुरानो जघन्य अपराधमा संलग्नलाई कठघरामा उभ्याउन चुनौती त छ नै, तर यो प्रहरीको प्रतिष्ठाको पनि विषय हो, आफ्नै सहकर्मीको हत्या भएको विषय हो,’ पाण्डे थप्छन्, ‘त्यसैले यसलाई महत्त्व दिएर अनुसन्धान होस् भन्ने मेरो मान्यता हो ।’

आफ्नो ब्याचमेट भए पनि कार्की उति बेला जल्दोबल्दो प्रहरीका रूपमा उदाएको र हिमचिम पनि ठूल्ठूला मानिससँगै हुने गरेको आफूले थाहा पाएको पाण्डेको भनाइ छ ।

‘हामी एउटै ब्याचका भए पनि उठबस, संगत, हेलमेलमा ऊ राजनीतिक शक्तिकेन्द्रसँग पनि निकट भइसकेको थियो, हाटहुट र एक हिसाबले भन्ने हो भने नेताको जस्तो स्वभाव थियो, हामी यस मानेमा पछि थियौं,’ पाण्डे भन्छन्, ‘अनुसन्धानमा पनि ऊसँग क–कसको दोस्ती, हिमचिम थियो, यी विषयलाई पनि जोडेर हेरिनुपर्छ ।’

मातृका दाहाल दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully