‘टाइम ट्राभल’ मा रारा

रारा ताल साँच्चिकै लोभलाग्दो छ । त्यसमा कुनै बहस, तर्क वा फूलबुट्टा चाहिँदैन । तर, रारा यात्रामा सिञ्जा छुटाउँदा धेरै विषय छुट्छ । प्रकृति, त्यससँगको संघर्ष र मिलापको उत्कर्ष सिञ्जा उपत्यकामा देखिन्छ ।

कार्तिक १५, २०८२

खेम लकाई

Rara in 'Time Travel'

बिहानी कोलाहल सुरु हुँदै गर्दा काठमाडौं छाडेको म तिला नदीमा जून टल्कँदै गर्दाको त्यही साँझको अबेर सिञ्जा उपत्यकामा थिएँ । अनगिन्ती तारा चम्किएको मध्यरातको छेकोमा किराका एकोहोरो आवाजबाहेक त्यस ठाउँ शान्तप्रायः थियो ।

तर, क्षणभरमै खुला आकाशमुनि पूरा ओखरपाटा गाउँ जुटेर हामीलाई देउडा गाउँदै स्वागत गर्‍यो ।

त्यो रमझम सकिएपछि बासका लागि परिवारपिच्छेले प्रस्ताव गरे । उनीहरूले हामीलाई त्यस साँझ खुवाएको महसँगको स्वादिलो गहुँको रोटी तराईमा भन्दा दोब्बर समय जमिनको हावापानी झेलेर हुर्केको थियो । भोलिपल्ट सबेरै आतिथ्य पाइएको घरमा लिस्नु टेकेर आँटीबाट ओर्लिएँ म । आँगनमा निस्कँदा मेरो आँखैअघि चारै दिशा परसम्म फैलिएको एउटा जीवित संग्र्रहालय थियो ।

सिञ्जावासी हाम्रा नयाँ साथी बने । त्यसपछिका दिन गोठिज्युला, ओखरपाटा, चुच्चेमारा भन्ज्याङ हुँदै माझघट्टको बाटो रारा पुग्दा मभित्र अनगिन्ती जिज्ञासा बढी मात्र रहे । मसँग मै थिएँ । प्रकृति र इतिहासले थिचिएको त्यस पवित्र भूमिमा कति कुरा जिज्ञासाले भेट्नेभन्दा पनि निकै विशाल थिए, जसमा म मौन भएर गम खाइरहें ।

Rara in 'Time Travel'

रारा ताल साँच्चिकै लोभलाग्दो छ । त्यसमा कुनै बहस, तर्क वा फूलबुट्टा चाहिँदैन । तर, रारा यात्रामा सिञ्जा छुटाउँदा धेरै विषय छुट्छ । प्रकृति र त्यससँगको संघर्ष र मिलापको उत्कर्ष सिञ्जा उपत्यकामा देखिन्छ ।

त्यहाँको विविधता र विशिष्टता के मात्र छैन ? कुना कुनामा ससाना मौसमी प्रणालीदेखि प्राचीन इतिहासको साक्षी बनेको भूबनोटले जोकोहीलाई मोहित पार्छ । तिनकै गर्भमा महाभारतका पाण्डवहरू जोडिएका पौराणिक कथादेखि आधुनिक खस सभ्यता र जुम्ला राज्यका इतिहासका अवशेष आजपर्यन्त छन् ।

जब रारालाई सिञ्जासँग जोडेर हेरिन्छ तब त्यो एउटा ऐनाझैं लाग्छ । त्यो पूरै यात्रामा जंगल, पहाड, पानी र आकाश मात्रै होइन, हाम्रा पुर्खा, आफ्नै मन, भावना र प्रकृतिसँग संवाद गर्ने दुर्लभ अवसर मिल्छ । आजकल विश्वभरका मानिस अर्थपूर्ण यात्रातर्फ आकर्षित छन् । जीवनबाट भाग्न होइन, बरु जीवनसँग अझ गहिरो रूपमा जोडिन त्यस्ता यात्रा गरिन्छन् । राराको छेउछाउ त्यस्तै अलग्गै दुनियाँ छ ।

Rara in 'Time Travel'

म गत साल बर्खा सुरु हुनुअघि पहिलो पटक जुम्ला र मुगुको यात्रामा निस्किएको थिएँ । मास्टर–सेफ सन्तोष साह, पत्रकार मनऋषि धिताल र कालीकोटका शिक्षाविद्–सेफ केशव कठायत मेरा सहयात्री थिए । त्यो आत्मालाई खुराक मिल्ने यात्रा थियो । सहरका व्यस्ततामा आफैंबाट भागिरहने मजस्ताका लागि त्यो आफैंलाई भेट्ने ठाउँ थियो ।

हामीले पार गरेका हरेक गाउँ दृश्यका हिसाबले त साख थिए नै । त्यहाँ मानवीय सम्बन्धका अनेकौं आयाम नजिकबाट भेटिन्थे । हामी स्थानीय किसानसँग मिसिएर बेंसीका खेतमा गीत गाउँदै मार्सी रोपाइँमा सहभागी भयौं । ती गीतमा कतै रोमाञ्च थिए भने कतै आशा र वियोग पनि । त्यसमा कुनै बेला श्रीमान् परदेशिँदाका पीडाका पहाड हुन्थे त कुनै बेला राम्ररी स्याउ फल्दाका हर्षका कुरा जोडिन्थे । सहरमा बसेर ठूला सुखसयल पाएर पनि रमाउन नसक्ने अहिलेका पुस्ताका लागि के कुराले गाउँको सुख हरण गरिरहेको छ र के कुराले उनीहरूलाई भरिपूर्ण बनाएको छ भन्ने झल्काउँछ ।

हाम्रो पहिलो बास भएको ओखरपाटाबाट खास पदयात्रा सुरु भएको थियो । तर, त्यस गाउँमै मन भुलाउने अनगिन्ती कुरा थिए । मलाई यस्तो लागिरह्यो कि कहिलेकाहीं तपाईंको यात्रा नै गन्तव्य हुन्छ । कति सम्पन्न र भरिपूर्ण छ त्यो गाउँ । कृषि, जडीबुटी, भेषभूषा, खानपान, रहनसहनदेखि रमझममा इतिहासको साख जीवन्त र आत्मनिर्भर रूपमा अझै त्यहाँ देखिन्छ ।

Rara in 'Time Travel'

त्यस यात्रामा मलाई लागिरह्यो– रारा र सिञ्जा दुई नाम भईकन एउटै आत्मा बोक्ने गन्तव्य हुन् । एउटा शान्त जलको ऐना हो, जहाँ आत्माले आफूलाई भेट्छ भने अर्को सभ्यताको गर्भ हो, जहाँ इतिहासले हामीलाई सम्झाउँछ । खस भाषाको उद्गम स्थल पुग्दा हामी कहाँबाट उठेका थियौं र कहाँ पुग्न खोज्दैछौं भन्ने जोकोहीलाई सोधिरहन्छ । र, स्वयं जवाफ खोज्न घोत्ल्याउँछ, जस क्रममा तपाईं कुनै बेला भोजपत्रको जंगल पुग्न सक्नुहुनेछ, जहाँ कागज हुनुअघि लेख्ने गरिन्थ्यो भने मानिसहरूले त्यसकै लुगा नै बनाएरसमेत लगाउने गर्थे ।

राराको नीलो आकाश र जुम्लाको हरियो उपत्यका जीवनका दुई अध्यायझैं लाग्छन् । एउटाले मौनता सिकाउँछ भने अर्कोले विरासत सम्झाउँछ । एकले आत्मा शुद्ध पार्छ, अर्कोले जरा बलियो बनाउँछ । त्यसैले रारा पुग्ने यात्रालाई केवल दूरी नाप्ने हिसाबले हेर्न मिल्दैन । यो त बरु स्वयंलाई भेट्ने साधना हो ।

नेपाल केवल पर्वत र तालको देश नभईकन यो पौराणिक कथा, सम्बन्धहरूको र पुनर्जन्मको भूमि किन भनिएको हो भन्ने धेरथोर भेउ पाउन सकें । जुम्लामा इतिहासको श्वास अझै छ । जहाँ प्रत्येक ढुंगाले, प्रत्येक नदीले अतीतका कथा गन्गुनाएझैं लाग्छ । खस सभ्यताको उद्गमस्थल त्यो पहिल्यै शक्तिशाली राज्यको रूपमा जुम्ला साम्राज्यले मुस्ताङदेखि आजको उत्तराखण्डसम्म आफ्नो विस्तार गरेको थियो । त्यो त्यस्तो समय थियो, जतिखेर सिमानाहरू केवल भूगोलले नभईकन सभ्यताको गहिराइले नापिन्थे ।

Rara in 'Time Travel'

सन् १८१६ को विभाजनसँगै नेपालले आफ्नो पूर्वगौरवको केही अंश गुमाए पनि, तर जुम्लाको आत्मा कहिल्यै हराएको पाइँदैन । त्यहाँको खास आकर्षण त्यही इतिहासको आत्मा नै हो । आधुनिकताका कसीमा हेरिने अभावमै पनि जुम्लीको पौरख, आत्मविश्वास र सम्पन्नता हेर्नलायक छ । फेरि फर्कौं ओखरपाटा । अझै पनि मलाई त्यो गाउँ कुनै मिथकमा यात्रा गरेझैं लाग्छ । त्यहाँका मानिसका रोजाइमा अक्सर आधुनिक औषधि पर्दैन । आफ्नै आँगन वरिपरिका जडीबुटीमै उनीहरू विश्वस्त छन् ।

सबैभन्दा खास कुरा उनीहरूलाई कुन बोट कहिले टिप्ने, कुन जराले कस्तो पीडा शान्त पार्छ भन्ने थाहा छ । पुस्तान्तर हुँदै फैलिएको त्यो ज्ञान, सीप र विरासत के यस्तै रहिरहला ? हिँड्दै गर्दा मैले एउटा कालो, गह्रौं माटोको खानी छोएँ । त्यसको तौल र आकारले मलाई लोभ्यायो । मलाई त्यो माटोमा फलामको अंश भएझैं लाग्यो । मेरो जिज्ञासा देखेका एक स्थानीय साथीले मुस्कुराउँदै भने, ‘गर्भवती महिलाहरू आइरनयुक्त यो माटो खान यहाँ आइरहनुहुन्छ ।’ म अचम्म परें । त्यसको चिकित्सकीय लाभहानिको बेग्लै मूल्यांकन हुनुपर्ला, तर कसरी मानव शरीरले आफ्नो आवश्यकता प्रकृतिसँग संवाद गरेर बुझ्थ्यो भन्ने एउटा अचम्मको कुरा मैले त्यहाँ देखें ।

‘एनिमल प्लानेट’ च्यानलमा एउटा डकुमेन्टरीको झल्को दिलायो, जहाँ जनावरका बथानहरू नुनको स्रोत खोज्दै हिँडेर आफ्नो शरीरको सन्तुलन कायम गर्थे । त्यसमा कसरी उनीहरूको सहज बोधले सही दिशा देखाउँथ्यो ? किनकि उनीहरू अझै प्रकृतिसँग निकट रूपमा जोडिएका थिए ।

त्यसो भए मानव पनि त्यस्तै थिए भन्ने कुरा रारा पुग्ने बाटोमा तपाईंलाई बोध भइहाल्छ । तर, सबै कुराको सहज पहुँचले त्यो अन्तरज्ञान बिस्तारै हाम्रो आनुवंशिक स्मृतिबाट मेटिँदै गइरहेको छ । हामीकहाँ संवेदनासँगै मानव मूल्य, संस्कार र परम्परा हराउँदै गइरहेको छ, जुन हाम्रो सभ्यताका धड्कन हुन् ।

पर्यटनलाई जीवन्त र अर्थपूर्ण बनाउने खास तत्त्व पनि तिनै हुन् । तैपनि मानिसहरूलाई अहिले जे कुरा आफ्नो समस्या हो भन्ने लागिरहेको छ, त्यो वर्षौं पुरानो परिवेशमा फर्केर आफ्ना पूर्वजहरूको सहनशीलता बुझ्न खोज्दा मन भुलाउन सहज हुन्छ । जुम्ला र मुगुमा हिँडिरहँदा त्यस्तै अनुभूति हुन्छ ।

Rara in 'Time Travel'

त्यस्ता ठाउँमा बारम्बार तपाईं ‘जोन्ड आउट’ हुनुहुन्छ । प्राचीन अवशेषसहितको गाउँ, त्यस्तै बासस्थानमा बसिरहेका मानिसहरू भेट्दै नदीछेउ लागेर मौनताबीचको पाइला बढाइरहँदा र पहाडी भन्ज्याङ काटेर हिँड्दाको अनुभूति पर्दामा हेरेको इन्डिया जोन्स फिल्म शृंखलाको कुनै दृश्यमयझैं थियो । जसमा वर्षौंअघि कतै आफैंलाई पुर्‍याएको जस्तो दिग्भ्रमित बनाइरहन्थ्यो अर्थात् त्यो पुरानो समयमा फर्केने ‘टाइम ट्राभल’ जस्तो थियो । त्यसैले त पूरै सिञ्जा एउटा अनुपम जीवित संग्र्रहालयका रूपमा छ ।

रारा जाने बाटोमा कवि बन्न कुनै संघर्ष गर्नु पर्दैन । चाहे मूलबाट निस्कने चिसो पानीको स्वाद होस् वा त्यहाँका फूलको रङ, माटोको सुगन्ध होस् वा चराहरूको चिरबिराहट ! हरचिजले मनलाई शीतल मात्रै पार्छ । सबैभन्दा खास कुरा ती स्वतन्त्र, निष्कपट हाँसो यति वास्तविक थिए कि जीवनले फेरि आफ्नो मौलिक स्वरूप पाएझैं लाग्थ्यो । गाउँका ठिटाहरू घोडामा बिनाजिन दौडिरहेका थिए । हिमाली खुर्बिन्डा टिप्दै उनीहरूको हतारो अचार बनाउनका लागि थियो । मैले सोचें— के यो गरिबी हो ? हामी यसलाई त्यस्तै ठान्छौं र उनीहरूलाई पनि त्यही खुसी किनिने कुरा हो र आधुनिक जीवन नै प्रगति हो भन्ने लाद्न खोज्छौं । जब जंगलको हरियो मार्ग पार गर्दै रारा पुग्यौं तब त्यहाँ उनी थिइन्— शान्त, भव्य र अनन्त ।

त्यो भव्यताअघि नतमस्तक मलाई साँच्चिकै नीलो आकाश उनको पानीमा झल्किएको थियो वा नीलो पानी आकाशमा भनेर ठम्याउन धौधौ पर्‍यो । अनि मैले स्विट्जरल्यान्डको लुजर्न ताल सम्झिएा जहाा मेरो साथी ‘लूप टुर’ चलाउाछ । त्यहाा केही समय ताल वरिपरि घुम्ने सवारीका लागि नेपाली मुद्रामा करिब ४०,००० रुपैयाँ तिर्नुपर्छ । तर यहाँ, जसलाई चल्न गाह्रो छ, उनीहरूका लागि कुनै सहज उपाय छैन । स्थानीयहरू सच्चा मनले सिमेन्टको बाटो बनाउने योजनामा छन् । तर, उनीहरूलाई असली सुन्दरता कंक्रिटमा नभई ढुंगामा हुन्छ भनेर कसले भनिदिने ?

Rara in 'Time Travel'

यात्रीहरू ढुंगाका स्लेटले प्रकृतिसँग कविता लेख्थे, तर सिमेन्टले त्यस कवितामा दाग लगाउँछ । त्यहींको डाँफे गेस्ट हाउस पुग्दा मैले त्यसलाई पनि सारिँदै छ भन्ने सुनें । राराछेउमा सानदार रिसोर्ट होइन बरु दिगोपन हुनेगरी स्थानीय ढुंगा, काठ र बाँसले बनेका इको–लजहरू, परम्परागत वास्तुकलामा ढलिएका, संस्कृति, सौन्दर्य र प्रकृतिसँग सन्तुलनमा बनाए रारा झन् कति सजिन्थिन् होला ?

जहाँ युवाहरूले सम्मानपूर्वक रोजगारी पाउँदा, अतिथिहरूले साँचो स्वाद चाख्न सक्दा र सबैले एउटै हावाको शुद्धता महसुस गर्न पाउँदाको क्षण कति अनुपम होला ? त्यस्तोमा के कसैले यस्तो स्वर्ग त्याग्न खोज्ला ? सायद म आदर्शवादी हुँ । तर, म त्यस्ता सपनामा विश्वास गर्छु । जेसुकै भए पनि रारा र छेउछाउ पुगेपछि भन्न करै लाग्छ– जीवनमा एक पटक घोडा चढ, डुंगामा बस र मौनतालाई अनुभूति गर । तिमी आफैंलाई धन्यवाद दिनेछौं । 

खेम लकाई लकाई प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) का नेपाल च्याप्टर अध्यक्ष हुन् ।

Link copied successfully