शे–फोक्सुन्डो : रोमाञ्चक ‘ट्रेक’

शे–फोक्सुन्डोलाई आत्मसात् गर्ने दृढ सपना बोकेर यात्रामा निस्कनेहरूले प्रकृतिको अपूर्व आनन्दपान गर्ने सौभाग्य प्राप्त गर्छन् ।

कार्तिक १५, २०८२

रामचन्द्र न्यौपाने

She-Phoksundo: An exciting 'trek'

‘ब्लु डायमन्ड’ का रूपमा परिचित फोक्सुन्डो ताल पुग्ने रहर कसलाई नहोला ! यो गन्तव्यलाई आत्मसात् गर्ने दृढ सपना बोकेर यात्रामा निस्कनेहरू फोक्सुन्डो पुग्छन् नै, तिनले प्रकृतिको अपूर्व आनन्दपानसमेत गर्ने सौभाग्य प्राप्त गर्छन् ।

डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–८ मा पर्ने रिग्मो गाउँको छेउमै पर्छ फोक्सुन्डो ताल । समुद्री सतहबाट ३ हजार ६ सय ११ मिटर उचाइमा पर्ने फोक्सुन्डोलाई रिग्मो तालका रूपमा समेत चिनिन्छ । ६ सय ५० मिटर गहिरो फोक्सुन्डोलाई स्थानीय ‘छो’ समेत भन्छन् । स्थानीय भाषामा ‘छो’ भनेको ताल रहेको वडाध्यक्ष निमा लामा बताउँछन् । ‘डोल्पासम्म राष्ट्रिय सडक सञ्जाल जोडिनुअघि फोक्सुन्डो हेर्न धेरै कम पर्यटक पुग्थे । जब २०७५ मंसिरमा डोल्पासम्म सडक पुग्यो, त्यसपछि पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो,’ उनले भने ।

डोल्पामा चिसो बढिसक्दासमेत फोक्सुन्डो घुम्न आन्तरिक पर्यटक आइरहेका छन् । फोक्सुन्डोको चर्चामा चलचित्र ‘क्याराभान’ को साथ छ । फ्रान्सेली निर्देशक एरिक भ्यालीद्वारा निर्देशित चलचित्रमा तालमा चौंरी खसाइएको दृश्यले नै फोक्सुन्डोको चर्चा विश्वमाझ चुलिएको हो । यहाँ फोक्सुन्डो वरपर रहेका केही गन्तव्यको पनि चर्चा गरिएको छ ।

थासुङ छोलिङ गुम्बा

फोक्सुन्डो ताल पुगेपछि हेर्नैपर्ने गन्तव्य हो थासुङ छोलिङ गुम्बा । करिब नौ सय वर्षअघि उक्त गुम्बा स्थापना भएको बताइन्छ । गुम्बामा नियमित पूजाआजा हुने गर्दछ । यो गुम्बा तालभन्दा पनि अघि उत्पत्ति भएको मानिने स्थानीय वडाध्यक्ष निमा लामाको भनाइ छ । ‘ताल पुग्ने सबैजसो पर्यटक गुम्बासम्म पुग्छन् । त्यहाँबाट उत्तरतर्फको तालको अवलोकनसमेत गर्न सकिन्छ,’ उनले भने ।

‘थर्ड भ्यु पोइन्ट’

फोक्सुन्डो अवलोकनका लागि ताल आसपासका विभिन्न ठाउँमा ‘पोइन्ट’ बनाइएको छ । ‘ट्रेक’ गरेर फोक्सुन्डो पुगेपछि ‘भ्यु पोइन्ट’ बाट सुन्दर फोक्सुन्डो अवलोकन गर्नुको मज्जा नै बेग्लै छ । ‘पोइन्ट’ हरूबाट तालको फरक–फरक दृश्यावलोकन गर्न सकिन्छ । ‘फोक्सुन्डो उक्लेपछि ‘भ्यु पोइन्ट’ नपुगी फोक्सुन्डो यात्रा अपूरो हुने सुर्खेतबाट डोल्पा घुम्न आएका आन्तरिक पर्यटक विनोद बुढा बताउँछन् । फोक्सुन्डो पुगेपछि करिब तीन घण्टामा ‘थर्ड भ्यु पोइन्ट’ पुग्न सकिन्छ ।

रिग्मो गाउँको बायाँतर्फ हुँदै तालको छेउछेउ हिँडेर दुई घण्टा उक्लेपछि ‘फस्ट भ्यु पोइन्ट’ पुग्न सकिन्छ । यहाँबाट पुथा हिमाल पनि अवलोकन गर्न सकिन्छ । त्यहाँबाट तालको आधा भाग देखिन्छ । ‘फस्ट भ्यु पोइन्ट’ बाट ‘सेकेन्ड भ्यु पोइन्ट’ ४० मिनेटमा पुगिन्छ । त्यसबाट एक घण्टा हिँडेपछि ‘थर्ड भ्यु पोइन्ट’ देखिन्छ । तपाईंहरूलाई ‘वाई’ आकारको ताल हेर्न मन छ भने ‘तेस्रो भ्यु पोइन्ट’ पुग्नैपर्छ ।

फोक्सुन्डो झरना

सुलिगाडबाट ट्रेक सुरु गरेको एक दिन एक बिहानमै पुग्न सकिन्छ– फोक्सुन्डो झरना । फोक्सुन्डो तालको निकासको पानीबाट बनेको उक्त झरनालाई कतिपयले सुलिगाड झरनासमेत भन्छन् । प्राकृतिक हिसाबमा मनमोहक सुलिगाड झरना ताल पुग्नु एक घण्टाअघि नै भेटिन्छ । करिब तीन घण्टाको उकालो काटेपछि भेटिने झरनाले उकालोको सबै थकान मेटाइदिने आन्तरिक पर्यटक बताउँछन् । यो नेपालकै सबैभन्दा अग्लो स्थानमा रहेको झरनाका रूपमा समेत परिचित छ । यसको उचाइ १ सय ६८ मिटर छ ।

मनमोहक ‘फोक्सुन्डो ट्रेल’

फोक्सुन्डोका लागि ‘जिरो पोइन्ट’ सुलिगाडस्थित सेनाको चेक पोइन्टसम्म गाडी र मोटरसाइकलमा पुग्न सकिन्छ । त्यसपछि भने ‘फोक्सुन्डो ट्रेल’ को पैदल यात्रा सुरु हुन्छ । यसका लागि सुलिगाडमै रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालयमा प्रवेश टिकट लिनुपर्छ । नेपालीका लागि एक सय, सार्क राष्ट्रका नागरिक लागि १ हजार पाँच सय र विदेशी नागरिकका लागि तीन हजार तोकिएको छ ।

सुलिगाडबाट फोक्सुन्डो पुगिन्जेल कतै घोडेटो र कतै डोरेटो बाटो पार गर्नुपर्छ । पैदल यात्रा सुरु गरेदेखि नै सुलिगाड खोलाको तीरैतीर हुँदै फोक्सुन्डो पुगिन्छ । ‘खोलाको निरन्तर सुसावट जंगली चराहरू चिरिबिरी, बीचमा भेटिने प्राकृतिक सुन्दरताले पैदल यात्रालाई थप आनन्दित बनाइदिन्छन्,’ बागलुङबाट डोल्पा घुम्न आएकी दीक्षा शाहले भनिन् ।

उपल्लो डोल्पा क्षेत्रमा खाद्यान्न ओसारपसार गर्ने घोडा, खच्चड, याक, चौंरीहरूको घण्टीले ‘फोक्सुन्डो ट्रेल’ थप गुन्जायमान हुन्छ । ‘फोक्सुन्डो ट्रेल’ मा अर्को रोचक दृश्य खोला पार गर्न बनाइएका काठका पुल हुन् । नीलो कञ्चन सुलिगाड खोलामाथि बनाइएका काठका पुल पर्यटकका लागि रोमहर्षक छन् । फोक्सुन्डो पुग्दासम्म करिब एक दर्जन यस्ता पुल पार गर्नुपर्छ ।

सुलिगाडबाट करिब डेढ घण्टामा काग्नी बजार पुगिन्छ । यहाँ पर्यटकका लागि आधा दर्जनभन्दा धेरै होटल सञ्चालनमा छन् । ठूलीभेरी नगरपालिकामा पर्ने काग्नी सुलिगाड खोलाको छेउमै छ । काग्नीबाट जेलस हुँदै दुई घण्टामै साङ्टा पुगिन्छ । साङ्टाबाट करिब डेढ घण्टामा छेप्का पुग्न सकिन्छ । ‘फोक्सुन्डो ट्रेल’ मा भेटिने प्रायः सबै होटलमा विदेशी पर्यटकका लागि क्याम्पिङको समेत व्यवस्था रहेको छेप्कास्थित होटल शुभकामनाका सञ्चालक निमा ग्याल्जेन लामाले बताए ।

छेप्काबाट चार घण्टामा रेची पुगिन्छ । त्यहाँबाट करिब दुई घण्टामा साइजल पुग्न सकिन्छ । छेप्का, रेची र साइजलमा पनि पर्यटका लागि सुविधायुक्त होटल खोलिएका छन् । साइजलबाट करिब तीन घण्टाको उकालो चढेपछि ताल पुगिन्छ । यसबीचमा संरक्षित वन्यजन्तु नाउरको बथानसमेत देख्न सकिन्छ ।

पर्यटक कम भएको समयमा वन्यजन्तु धेरै देखिने स्थानीयको भनाइ छ । ताल पुगेपछि पर्यटकका लागि सुविधायुक्त दर्जनौं होटल खोलिएका छन् । ‘फोक्सुन्डो पुगेपछि पर्यटकलाई बासको कुनै समस्या हुँदैन, सहुलियत दरमा जस्तो भन्यो त्यसै कोठा पाइन्छ,’ होटल हिमालयका सञ्चालक निमा लामाले भने ।

सुलिगाडको तीरैतीर भएर सुरु हुने ‘फोक्सुन्डो ट्रेल’ को यात्रा फोक्सुन्डो ताल पुगेपछि भने सकिन्छ । करिब १५ घण्टाको यात्रापछि ‘फोक्सुन्डो ट्रेल’ को यात्रा टुंगिन्छ ।

सहज गन्तव्य

आन्तरिक पर्यटकका लागि सहज एवं सस्तो गन्तव्य हो, फोक्सुन्डो ताल । काठमाडौं, नेपालगन्ज, सुर्खेतलगायतका सहरबाट यातायातका माध्यमबाट डोल्पा जान सकिन्छ । मोटरसाइकलबाट पनि धेरै डोल्पा पुग्दछन् । प्रत्येक वर्ष असोजदेखि वैशाखसम्म बसको सुविधा छ । जेठदेखि भने खोलानाला बढ्ने भएकाले करिब ६ महिनासम्म सिधा बस सेवा अवरुद्ध हुने गर्दछ ।

बर्खामा पर्यटकीय गन्तव्य मनमोहक त हुन्छन् तर यात्रा गर्न कठिन हुने स्थानीय व्यवसायी सुमन गुरुङको भनाइ छ । फोक्सुन्डो घुम्ने उपयुक्त समय भदौदेखि कात्तिकसम्म हो । ‘बर्सात पनि कम हुने, हरियाली पनि बाँकी रहने भएकाले यो समय उपयुक्त हुने उनले जनाए ।

शे–फोक्सुन्डो प्रकृति प्रेमीहरूका लागि आकर्षक एवं सस्तो गन्तव्य भएको पर्यटन व्यवसायी जितेन्द्र झाँक्री बताउँछन् । ‘फोक्सुन्डो ताल वास्तवमै धरतीको भूस्वर्ग रहेको उनको भनाइ छ ।

बढ्दै पर्यटक

पाँच वर्षयता मात्रै स्वदेशी र विदेशी गरेर २० हजार ७ सय ९६ पर्यटक फोक्सुन्डो भ्रमण गरेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी किशोरकुमार महतले जनाए । निकुञ्ज प्रवेश दस्तुरबाट स्वदेशी, विदेशी र सार्क राष्ट्रका नागरिकबाट मात्रै ७५ लाख हाराहारीमा राजस्व संकलन भएको उनले बताए ।

फोक्सुन्डो ताल अवलोकन गर्ने विदेशीभन्दा स्वदेशी पर्यटक धेरै रहेको निकुञ्जको भनाइ छ । डोल्पासम्म पुग्ने सडक कच्ची र हवाईजहाज नियमित नहुँदा नहुँदै पनि तालको आकर्षणले गर्दा फोक्सुन्डो ताल घुम्ने पर्यटक प्रत्येक वर्ष बढ्न थालेको निकुञ्जले जनाएको छ । डोल्पासम्म नियमित हवाई सुविधा र सदरमुकाम दुनैसम्म पुग्ने सडक कालोपत्र छ । उचित प्रचारप्रसार गर्न सके बर्सेनि पचासौं हजार आन्तरिक तथा बाह्य पर्यटक भित्रने निकुञ्जको अनुमान छ ।

‘फोक्सुन्डो ट्रेल’ मा बिर्सिएका थिन्ले

चलचित्र क्याराभान फिल्मका नायक थिन्ले लुन्डुप लामाले फोक्सुन्डो ताल मात्र होइन, डोल्पा र नेपाल चिनाएका थिए । नेपालबाट ओस्कार अवार्डमा सन् २००० मा ‘बेस्ट फरेन ल्यांग्वेज फिल्म’ मा नेपालका तर्फबाट नामांकनमा परेको पहिलो चलचित्र हो यो । २०७३ वैशाख १२ मा ‘फोक्सुन्डो ट्रेल’ कै साङ्टादेखि छेप्काबीचमा लडेर चलचित्रका मुख्य पात्र थिन्लेको ज्यान गएको थियो । त्यस दिन उनी दुनैबाट घोडामा आउँदै थिए । विपरीत दिशाबाट आएका खच्चडले धकेलिदिएपछि उनी घोडासहित करिब ४० मिटर तल सुलिगाड खोलामा खसेका थिए ।

थिन्ले लडेको स्थानबारे सोधीखोजी भइरहेकाले थिन्लेको जीवन संघर्षबारेका जानकारी ठाउँ–ठाउँमा राख्न सकिने छेप्काका पर्यटन व्यवसायी नोर्बु लामाले बताए ।

सञ्चारमा भने पछि

‘फोक्सुन्डो ट्रेल’ मा पर्ने सुलिगाडदेखि साइजलसम्म टेलिफोन सेवाको असुविधा छ । ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाभित्र पर्ने सुलिगाडदेखि साइजलसम्म टेलिफोन सेवा उपलब्ध छैन । सामान्य फोन सेवासमेत उपलब्ध नहुँदा कर्णालीकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने फोक्सुन्डो ताल हेर्न आउने पर्यटक समस्यामा पर्ने गरेका छन् ।

‘सुलिगाडबाट भित्र फोक्सुन्डोतर्फ लागेदेखि नै फोन लाग्दैन, पर्यटक करिब १० घण्टा फोन सम्पर्कविहीन हुनुपर्छ,’ सुर्खेतबाट फोक्सुन्डो घुम्न आएका विनोद बुढाले भने, ‘बीचमा कुनै संकट आइलागे जानकारी दिन केही उपाय छैन ।’

‘फोक्सुन्डो ट्रेलमा’ फोन सुविधा नहुँदा यसको मारमा बीचमा पर्ने बस्तीका स्थानीयसमेत परेका छन् । यहाँका आधा दर्जन बस्तीमा फोन लाग्दैन । जसकारण कागनी, साङ्टा, छेप्का, रेंची, सुम्दुवा, साइजललगायत बस्ती वर्षौंदेखि सम्पर्कविहीन छन् ।

‘परिला गाउँको लेकमा टावर बनेको छ तर सञ्चालनमा किन ढिलाइ भएको होला,’ स्थानीय प्रश्न गर्छन् । फोक्सुन्डो ट्रेलमा इन्टरनेटसहितको फोन सुविधा उपलब्ध गराउन स्थानीयको आग्रह छ । सुलिगाडदेखि नै फोन नलाग्ने भएकाले निकुञ्जको नियमित कामकारबाही सञ्चालनमा समेत समस्या हुने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully