पर्यटकले पाँच दिनको पद यात्रामा रोल्वालिङ उपत्यकामा पर्ने हिमताल च्छो–रोल्पाको सौन्दर्यपान त गर्न पाउँछन् नै, पदमार्गमा पर्ने आरोहीहरूको गाउँ भनेर चिनिने बेदिङ र ना गाउँ तथा शेर्पा समुदायको जनजीवन पनि महसुस गर्न पाइन्छ
दोलखा — च्छो–रोल्पा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चर्चामा छ । बर्सेनि सयौं पदयात्री च्छो–रोल्पा पुग्ने गरेका छन् । गौरीशंकर गाउँपालिका–९, रोल्वालिङ उपत्यकामा रहेको ४ हजार ५ सय ८० मिटर उचाइमा अवस्थित यो हिमताल पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
त्यसो त रोल्वालिङ उपत्यका आफैंमा अलौकिक छ । ३ हजार ७ सय २१ मिटर उचाइमा रहेको आरोहीहरूको गाउँ भनेर चिनिने बेदिङ यहीं पर्छ । यहाँका ७० जनाभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।
शेर्पा समुदायको बसोबास रहेको बेदिङका अधिकांश घर होटलका रूपमा विस्तार गरिएका छन् । झन्डै ८० वर्षअघिदेखि विदेशी पर्यटक रोल्वालिङ उपत्यका भएर सगरमाथाको आधार शिविर जाने गरेका थिए । रोल्वालिङ उपत्यकाको बेदिङ र ना गाउँ हुँदै च्छो–रोल्पा हिमतालको केही तलबाट ३ दिनको यात्रापछि टासिलाप्चा पास पुगिन्छ ।
टासिलाप्चाबाट सोलुखुम्बुको पर्यटकीय गाउँ खुम्बु हुँदै लुक्लाबाट पदयात्री सगरमाथाको आधार शिविर पुग्ने गरेका छन् । शरद ऋतुमा यो पदमार्गबाट अधिकांश पर्यटक दुई साताको पदयात्रा गरेर सगरमाथा क्षेत्र जाने गरेका छन् । त्यसैले यो पदमार्गलाई सगरमाथा जाने सबैभन्दा छोटो हिमाली बाटोको रूपमा पनि परिचित छ । हरेक वर्ष टासिलाप्चाबाट ३ सयभन्दा बढी पर्यटक सगरमाथा जाने गरेको तथ्याङ्क छ ।
रोल्वालिङ उपत्यका साना हिमाल आरोहणको केन्द्र पनि हो । रोल्वालिङ उपत्यकाको सबैभन्दा उचाइमा रहेको अर्को सुन्दर गाउँ हो ना । च्छो–रोल्पा हिमतालको तल रहेको अन्तिम गाउँ ना ४ हजार २ सय मिटर उचाइमा पर्छ । गौरीशंकर संरक्षण क्षेत्रको तथ्याङ्कअनुसार प्रतिवर्ष रोल्वालिङ पदयात्रामा २ हजारभन्दा बढी विदेशी पदयात्री पुगेका छन् ।
कसरी जाने ? कति दिन लाग्छ ?
काठमाडौंदेखि बिगु गाउँपालिका–१ छ्योछ्योतसम्म सडक सुविधा छ । काठमाडौंबाट ७ घण्टाको सार्वजनिक यातायातबाट सडक यात्रा गरेर पहिलो दिनमा पुगिन्छ, छ्योछ्योत । त्यसपछि तामाकोशी नदी तरेपछि सुरु हुन्छ, रोल्वालिङ पदमार्ग । करिब २ घण्टाको उकालो यात्रा गरेर पहिलो दिन हिँडेर सिमीगाउँ पुगिन्छ । समयावधि भएमा थप २ देखि ३ घण्टामा डोगाङमा बास हुन्छ । सिमीगाउँमा एक दर्जन बढी होटल तथा होमस्टे छन् ।
दोस्रो दिन क्याल्चे, ठाङ्दिङमा हुँदै बेदिङ पुगिन्छ । बेदिङमा पर्यटकलाई लक्षित गरेर साना–ठूला डेढ दर्जन होटल छन् । तेस्रो दिन, च्छो–रोल्पा पुगेर घुमघाम गरी ना गाउँमा बस्न सकिन्छ । कतिपय पर्यटक तेस्रो दिन ना गाउँमा बसेर रोल्वालिङ उपत्यकाको सुन्दरतामा रमाउँदै चौथो दिन बिहानै च्छो–रोल्पा पुग्ने गर्छन् । च्छो–रोल्पाबाट करिब १ घण्टाको पैदलबाट दूधकुण्ड पुगेर सोही दिन बेदिङ झर्न सकिन्छ ।
पाँचौं दिन, बेदिङबाट पुनः सडक मार्ग हुँदै छ्योछ्योत झरेर चरिकोट बास बस्न पुगिन्छ । दोस्रो विकल्पमा पछिल्लो समय सडक मार्ग हुँदै बिगु–१ कै लामाबगर पुग्ने र नयाँ पदमार्ग भीरैभीर बनाइएको आकर्षक बाटो हुँदै गौरीशंकर गाउँपालिका–९ मा रहेको रिकु गाउँ बास बस्न सकिन्छ । रिकुमा आधा दर्जन होम–स्टे र होटल छन् ।
कति लाग्छ खर्च ?
रोल्वालिङ पदमार्ग आन्तरिक पर्यटकका लागि खर्चिलो होइन । पदमार्गमा बनेका होम–स्टेमा प्रतिव्यक्ति १ हजार ५ सयसम्ममा गाँसबासको व्यवस्था छ । सबै होमस्टे र होटलको मूल्यमा एकरूपता छ । बेदिङमा बिहान बेलुकीको सादा खाना र बासको प्रतिव्यक्ति २ हजार रुपैयाँले पुग्छ ।
बेदिङ क्षेत्रमा माछामासु प्रतिबन्ध गरिएको छ । ना गाउँ र बेदिङको खानबस्नको मूल्यमा पनि समानता जस्तै छ । रोल्वालिङ उपत्यकाको सबैभन्दा उचाइमा रहेको ना गाउँमा एक दर्जन होम–स्टे र होटल छन् । प्रतिव्यक्ति गाँसबासको २ हजारले पुग्छ । सात दिनको रोल्वालिङ पदमार्गमा निस्कँदा अनावश्यक खर्च नगर्ने हो भने १२ हजारदेखि १५ हजारमा रोल्वालिङ उपत्यकाको अवलोकन गर्न सकिन्छ ।
के के लाने ? के नलाने ?
हिमाली क्षेत्र भएकाले पदयात्राका लागि बनेका जुत्ता, स्याँठ चल्ने र जाडो भएकाले बाक्ला कपडा अनिवार्य बोक्ने । बेदिङ र ना दुवै गाउँमा विद्युत्, टेलिकम र इन्टरनेट सेवा भएकाले मोबाइल र चार्जर बोक्ने । हिमाली क्षेत्र भएकाले मौसम विद्युत् सेवा अवरुद्ध हुन सक्ने भएकाले पावर बैंक बोक्दा प्रभावकारी हुन्छ । बाटोमा आफूलाई पुग्ने खाजा बोक्दा यात्रा सहज हुन्छ ।
मध्यपान र धूमपानका सामग्री पनि श्वासप्रश्वासका लागि प्रतिकूल हुन सक्छ । हिमाली क्षेत्र भएकाले श्वासप्रश्वासमा समस्या हुनेबित्तिकै जतिसक्दो तल्लो क्षेत्र ओर्लनुपर्छ । त्यस क्षेत्रमा रहेका स्थानीयलाई आफ्नो समस्या भनेमा तत्काल उद्धार हुन्छ । पदयात्रा भएकाले बाटोमा घाउ चोटपटक र खुट्टामा समस्या देखिन सक्छ । प्राथमिक उपचारको किट अनिवार्य बोक्नुपर्छ ।
कुन मौसममा जाने ?
पछिल्लो समय रोल्वालिङ क्षेत्र घुम्न आन्तरिक पर्यटक पनि पुग्ने गरेका छन् । पदयात्रामा रमाउने तन्नेरी पुस्ता यो क्षेत्रमा पुग्ने गरेका छन् । भ्लग बनाउन पुग्ने युवा पुस्ताले च्छो–रोल्पा हिमतालको फन्को लाउन थालेका छन् । रोल्वालिङ क्षेत्र घुम्नका लागि उपयुक्त मौसम भनेको शरद ऋतु हो । असोज पहिलो सातादेखि
कात्तिक अन्तिम साता च्छो–रोल्पा र रोल्वालिङ उपत्यकाको पदयात्रामा निस्कन सकिन्छ । यस्तै वसन्त ऋतुको चैतदेखि जेठ अन्तिमसम्म पदयात्रामा निस्कन उपयुक्त हुन्छ ।
