नेपालमा चाइनिज, कोरियन, जापानिज, इटालियन, बर्मेली, भियतनामिज, टर्किस, इन्डियन, इरानी खानाका पारखी बढिरहेका छन्।
What you should know
नेपाल मौलिक र रैथाने परिकारले परिचित छ । नेपाली परिकार नेपालमा मात्रै होइन, विदेशमा पनि परिचित छन् । उसैगरी कैंयन् विदेशी परिकार पनि नेपालमा परिचित छन् । पछिल्लो दशक नेपालका मुख्य सहरहरू काठमाडौं, पोखरा, चितवन, धरानमा रैथाने परिकार मात्रै नभई विदेशी खानाका परिकार र स्वादमा पनि नेपालीको ‘क्रेज’ बढिरहेको देख्न सकिन्छ ।
पिज्जा, बर्गर, स्यान्डविच, सुसी, किम्बाप जस्ता विदेशी ‘डिस’ पाउने स्थानमा स्वाद पारखीको घुइँचोले पनि त्यसलाई पुष्टि गर्छ ।नेपालमा चाइनिज, कोरियन, जापानिज, इटालियन, बर्मेली, भियतनामिज, टर्किस, इन्डियन, इरानी खानाका पारखी प्रशस्त मात्रामा बढेको यहाँका सेफहरू बताउँछन् ।
नेपालमा अहिले पिज्जा, बर्गर र स्यान्डविच साधारणभन्दा साधारण रेस्टुरेन्टमा पनि पाउन सकिने सेफ एसोसिएसनका अध्यक्ष रेशमकुमार लामा बताउँछन् । तीन दशकदेखि पाककलामा आबद्ध रहेका उनी पहिला नेपालका पाँचतारे होटलमा मात्र पिज्जा, बर्गर बनाइने र नेपालका उच्च वर्गका मानिस र विदेशी पर्यटकको मात्र पहुँचमा रहेकोमा अहिले सर्वसाधारणले पनि खान सक्ने र सर्वसुलभ भएकाले यसको क्रेज बढेको बताउँछन् ।
‘पहिले–पहिले उच्च वर्ग वा राज परिवारका सदस्य र विदेशी पर्यर्टकलाई मात्र लक्षित गरेर यहाँका पाँचतारे होटलले पिज्जा, बर्गर बनाउँथे,’ सेफ लामाले आफ्नै अनुभव सुनाउँदै भने, ‘सामान्य होटल तथा रेस्टुरेन्टमा पनि मःम, चाउमिन जस्ता परिकार पाक्ने गर्थे । चिया पसल तथा सामान्य रेस्टुरेन्टमा दुनोट, पाउरोटी प्रख्यात थिए । तर पिज्जा, बर्गर बिस्तारै सर्वसाधारणले पनि खान सक्ने गरी मूल्य पनि कम हुँदै गएपछि छोटो समयमै लोकप्रिय विदेशी परिकार बन्यो ।’ पिज्जा हन्ट, बर्गर हाउस, पिज्जा हाउस काठमाडौंमा निकै नै चर्चित छन् ।
नेपालमा जापानिज, चाइनिज, कोरियन, टर्किसलगायत विभिन्न परिकार पनि पछिल्लो समय नेपाली स्वाद पारखीको रोजाइमा पर्न थालेका छन् । काठमाडौंको नक्सालस्थित टंगालमा रहेको ‘अलेभ कबाब सल्टनेट’ ले केही वर्षदेखि नेपालमा टर्किस परिकार चखाइरहेको छ । यहाँका सेफ प्रकाश कटुवाल भन्छन्, ‘हाम्रै खानाका परिकार
त हरेक ठाउँमा पाइन्छन् नै, तर हामीले यहाँ विदेशी परिकारको स्वाद चखाइरहेका छौं । त्यसमा पनि टर्किस डिस प्रायः पाइँदैन, त्यसैले स्वाद पारखीलाई सहज र फरक स्वाद पस्कने उद्देश्यले यो रेस्टुरेन्ट खोलेका हौं ।’ प्रकाश टर्किस स्वादका परिकारमध्ये पनि सुल्तान, टर्किस ग्रिल्ड मिट प्लेटर, अडाना कबाब जस्ता परिकारहरू ग्राहकले बढी रुचाएको बताउँछन् ।
आफूसँग भएको पाककलाको क्षमतालाई उपयोग गर्दै विभिन्न देशका खाना र खानाका स्वाद पस्कने उद्देश्यले काठमाडौंको बासुकी मार्गमा गीता शर्माले खोलेकी छन्, दि नूडल्स बार । यहाँ खासगरी बर्मेली परिकार पाक्छन् । गीता भन्छिन्, ‘सानैबाट बर्मेली परिकारको स्वाद चाख्दै/बनाउँदै आएको भएर पनि मलाई अलि भिन्न स्वाद पाउने रेस्टुरेन्ट नै खोलौं भन्ने लागेर यसलाई सुरु गरेकी हुँ, ग्राहकले पनि यहाँको खानाको स्वाद रुचाएकाले दोहोर्याएर आउनुहुन्छ ।’
बर्मेली परिकारमध्ये पनि सबैभन्दा बढी थोपु नुए, खाउ स्वे थोक, तोफु ग्राहकहरूको रोजाइमा बढी पर्ने उनी सुनाउँछिन् । गीता नेपाली रैथाने परिकारसँगसँगै विदेशी परिकारको स्वाद पनि नेपालीसामु पस्कन आवश्यक रहेको बताउँछिन् । कोरियन स्वाद चखाइरहेका छन्, किम्बाप रेस्टुरेन्टका दुई भाइ महेश र मनोज ।
अरूले जस्तै यी दुई दाजुभाइले पनि फरक देशका फरक स्वादका खानालाई नेपालीमाझ चखाउने उद्देश्य नै रहेको बताउँछन् । महेश भन्छन्, ‘योङस्टरलाई आकर्षित गर्न हामीले केही सस्तोमा असली कोरियन स्वाद दिइरहेका छौं ।’ उक्त कोरियन रेस्टुरेन्टमा आठ प्रकारका किम्बाप साथै टोकबोकी लगायतका अन्य कोरियन परिकार पाइन्छ ।
यसरी नै सिक्किमको स्वाद बोकेर थुप्रै कलाकार, साहित्यकार नेपाल आए । उनीहरूका लागि पाटनको पिमबहालमा रहेको ‘टेस्ट अफ सिक्किम’ रेस्टुरेन्ट पुग्ने गर्छन् । उक्त रेस्टुरेन्टलाई सञ्चालनमा ल्याएकी हुन्, युवावयकी स्वीकृति थापाले । नेपाली शैलीमा सिक्किमेली परिकार ग्राहकसामु पस्कने सोचका साथ थोरै फरक प्रकारको स्वाद ल्याउने गरी रेस्टुरेन्ट सञ्चालनमा ल्याएको उनी बताउँछिन् । सिक्किमेली रेस्टुरेन्टमा टिङ्मो (टी–मःम) तिब्बतीयन थेन्तुक, ताइपो साथै अन्य परिकारहरू यस रेस्टुरेन्टमा पाइने र ग्राहकहरूको रोजाइमा पाइने स्वीकृति बताउँछिन् ।
