मुस्ताङको थाकखोलाबाट सुरु भएको पोसिलो, सन्तुलित र स्वादिलो थकाली खानाको मुखै रसाउने बास्ना नेपालकै पहिचान बनेर विश्वभर फैलिरहेको छ
What you should know
सिनामंगल ओरालो लागेपछि पुरानो बानेश्वरतर्फ जाने सडकको बायाँतर्फ दोस्रो तलामा देखिन्छ– ‘डीडीएस थकाली भान्साघर ।’ अन्नपूर्ण हिमशृंखलाको काखमा फैलिएको हिमाली जिल्ला मुस्ताङमा पर्ने थाकखोलाको तिख्खर स्वाद खोज्ने पारखीको यहाँ बाक्लै भीड लाग्छ ।
कहिलेकाहीं बेलुकीपख यस्तो भीड देखिन्छ कि– बाहिर भएकाले भित्र पस्न मुस्किलै पर्छ । भित्र पसेकाले पनि हतपती खाली कुर्सी/टेबल पाउँदैनन् । कहिलेकाहीं भित्र पस्न नपाएकाले एकाएक च्यानलगेटमा ताला लागेपछि भोकै फर्किनुपर्छ ।
यहाँको मुख्य आकर्षण ‘थकाली खाना सेट’ मात्रै हो । अरू विशेष केही छैन । काँसको थालीमा हुन्छ, मुखै रसाउने ढिँडो वा बाफ उड्दै गरेको लोकल घ्यू पोखिएको भात । जिम्बु झानेको मुस्ताङको रैथाने बोडीको दाल वा अदुवा र शुद्ध घ्यूको स्वादमा मासको कालो दाल । गुन्द्रुक अनि टिमुर हालेको अचार । गाउँको तिर्सना मेटिने मही ।
लोकल थकाली स्वादमा कुखुराको मासु । हिमाली जडीबुटी तथा यार्चाको चरनमा हुर्केका च्याङ्ग्रा वा याकको सुकुटी, बँदेलको परिकार, शुद्ध कोदोबाट तयार गरिएको झ्वाइँखट्टे आदि/इत्यादि रैथाने खान्कीको सजावट । यी परिकार हेर्दै मुख रसाउँछ ।
दुई दशकअघि सुरु भएको यस भान्साघरका संस्थापक ६४ वर्षीय कृष्ण गौचन भन्छन्, ‘कहिलेकाहीं त बाढीपहिरो उर्लिएजस्तै ग्राहकको भीड लाग्छ । साँझ ५ देखि राति १२ बजेसम्म भात पस्किँदा पस्किँदा पनि ग्राहक आउजाउ भई नै रहन्छ । ढोका लगाउँदा पनि आँगनबाटै ‘साहुजी, खाना छ !’ भन्दै सोधपुछ गरिरहेका हुन्छन् । गेटै बन्द गरेर खाना खुवाउनुपर्छ ।’
काठमाडौंको नक्सालस्थित लेते थकाली किचन, झम्सीखेलको मन्त्र, मीनभवनको जिम्बु, बौद्धको मुस्ताङ थकाली, गैरीधाराको टुकुचे थकाली सबैतिर प्रायः बिदाका दिन सिनामंगलको डीडीएसकै जस्तो परिवारसहितको भीडभाड भान्साघरका सञ्चालकले सामना गर्नुपर्छ ।
कृष्ण २०४० सालमा स्थापित थकाली सेवा समितिको काठमाडौंस्थित क्षेत्रीय समितिका अध्यक्ष हुन् । उनी आफ्नो समुदायको कला, संस्कृति, खानपानलगायतको संरक्षण संवर्द्धन हकहितमा लागेका छन् । पछिल्ला वर्ष थकाली खानाप्रति देशी/विदेशीको ‘क्रेज’ देखेर उनी चकित छन् ।
‘४० को दशकमा दरबारमार्ग/उत्तरढोकामा टुकुचे थकाली खुल्दा सम्भ्रान्त सहरिया मात्रै पसेको देखिन्थ्यो,’ कृष्णले भने, ‘टुकुचेपछि ५० सालतिर ठमेलमा लेलिन शेरचनले थकाली भान्साघर सुरु गरे । पछि त्यसको शाखा सुन्धारामा बिस्तार गरे । मैले खोलेको थकाली भान्साघर काठमाडौंमा तेस्रो हो ।’ कृष्णले त्यस भान्साघरमा खाना पकाउने जिम्मा आफ्नै पत्नी पुनम तुलाचनलाई सुम्पेका थिए ।
कृष्णले सिनामंगलमा भान्साघर सञ्चालनमा ल्याएकै बेला २०५८ सालमा तीनकुने गैरीगाउँमा रेनुदेवी तुलाचनले पनि भान्साघर खोलिन् । सुरुका वर्ष त्यहाँ ६५ रुपैयाँमा लोकल कुखुराको झोलसहित एक थाल भात खान पाइन्थ्यो । ‘त्यसबेला थाकाली खाना खान दिनमा २/३ जना आउँथे,’ रेनुका छोरा राकेशले भने, ‘अहिले दिनमा २ सय ५० जनासम्मलाई थकाली खाना खुवाएका छौं । अहिले लोकल कुखुराको मासुभात ५ सय ५० रुपैयाँ सेट पर्छ ।’
अहिले थकाली भान्साघर काठमाडौं, पोखरा, बुटवलमात्रै होइन, सातै प्रदेशमा फैलिएका छन् । नेपाली जसरी डायस्पोरामा फैलिए, त्यसरी नै थकाली भान्साघर पनि विस्तार भयो । मुस्ताङको थाकखोलामा उत्पत्ति भएको थकाली खाना आज अमेरिकाको म्यानह्याटन सहरसम्म पुगेको छ ।
थकाली समाज पोखराका अध्यक्ष तेजेन्द्र तुलाचन भन्छन्, ‘पहिले हिउँदयाममा थकाली कात्तिकदेखि फागुनसम्म जाडो काट्न पोखरा, बुटवल, काठमाडौं ओर्लिन्थे । उनीहरू जहाँजहाँ पुग्थे, त्यहाँ खानाको व्यापार गर्थे ।’ उनका अनुसार थकाली भान्सामा हिमाली भेगमा चरेको च्याङ्ग्राको सुकुटी पाक्थ्यो, त्यसमा हिमाली जडीबुटी जिम्बु हुन्थ्यो, चौंरीको घ्यूले झानेको दाल हुन्थ्यो । स्याउ, जौं र उवाको रैथाने रक्सी बिक्री हुन्थ्यो । तेजेन्द्र भन्छन्, ‘राजा महेन्द्रको पालापछि थकालीहरू अवसरको खोजीमा थाकखोलाबाट बाहिर निस्कँदा खानपान पहिचान बनेर गाउँसहर फैलिँदै गयो ।’
थकाली सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र तुलाचनका अनुसार नेपाल–तिब्बत युद्ध (सन् १७८८–१७९२) मा गोर्खाली सेना मुस्ताङ, टुकुचे, थासाङ क्षेत्रको पुरानो व्यापारिक मार्ग हुँदै तिब्बत ओहोरदोहोर गर्थे । त्यसताका त्यहाँको भूगोल, मौसम र तिब्बती भाषाको राम्रो ज्ञान भएका थकालीले गोर्खाली सेनालाई मार्गदर्शन, अनुवाद र सूचना संकलनमा ठूलो गुन लगाए । पछि जंगबहादुर राणाले टुकुचेदेखि तल घासादेखि माथि चार किल्ला गरेर स्थानीय थकालीलाई लालमोहर दिए ।
युद्धमा सघाउनेले सुब्बा पदवी पनि पाए । युद्धपछि कूटनीतिक सम्बन्धमा सुधार आयो । व्यापार सञ्चालनमा थकालीले अग्रसर भएर भूमिका निर्वाह गरे । त्यसपछि यो रुट पोखरादेखि खच्चर, बटौलीदेखि हिँडेका मलायाका लाहुरे, पर्यटक आदि हिँड्ने बाटो बन्यो । ‘अहिले चलेको होमस्टे (घरबास) को सुरुवात खासमा थकालीले शताब्दी अघि थालेको देखिन्छ,’ अध्यक्ष तुलाचनले भने, ‘पहिले–पहिले अहिले जस्तो होटल थिएनन् । थकालीले बाहिरबाट जाने पाहुनालाई आफ्नै घरमा सत्कार गरे । थकाली खान्की चखाए ।’
अहिले थकालीको भान्सा बिस्तारै गैरथकालीको नियन्त्रणमा जानेक्रम बढ्दो छ । ‘अहिले थकाली भान्साघर छ्यापछ्याप्ती देखिन्छन् । भान्सामा पनि अन्य समुदायका कामदार राख्ने चलन देखिन थाल्यो,’ नक्सालको लेते थकाली किचेनकी सञ्चालक मुनु गौचनले भनिन्, ‘खासमा थकाली खाना स्वादयुक्त छ । थकाली समुदायको अतिथि सत्कार पनि हार्दिकताले भरिपूर्ण छ ।’
म्याग्दीबाट बसाइँ सरेर काठमाडौंको भोटेबहालमा बस्दै आएका गजेन्द्र तुलाचनका अनुसार राणाकालमा म्याग्दी, बागलुङ, पर्वत, कास्कीमा तामा तथा फलाम खानी सञ्चालन गर्न थाकखोलाबाट थकाली बसाइँ सर्दै जाँदा थकाली परिकारको सुगन्ध पनि फैलिँदै गयो । ‘आजकाल त जताजता थकाली, त्यतैत्यतै थकाली भान्साघर पुगिसक्यो,’ उनी भन्छन् ।
थकाली भान्साघरमा पाइने रैथाने सामग्री, भेडाको उनबाट बनाइएका राडीपाखी, काठका ठेकी, काष्ठकला, औजार, रैथाने पोसाकमा सजाइएका वेटरको स्वागतले थाकखोला पुगेको आभास दिलाउँछ । तर काठमाडौंलगायत सहरमा जहाँ–जहाँ ‘यहाँ थकाली सेट पाइन्छ’ लेखिएका बोर्ड देखिन्छ, ती सबैमा ‘अथेन्टिक’ थकाली खानाको स्वाद भने नपाइन सक्छ ।
थकाली संस्कृति झल्काउने सफा र व्यवस्थित भान्साघर, मौलिक तथा स्वादिलो खाना, मुस्कानसहितको छिटो र मैत्रीपूर्ण सेवा अनि ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिन २०७७ मा काठमाडौंमा थकाली भान्साघर एसोसिएसन स्थापना भएको छ । ‘पछिल्लो समय नेपालमा थकाली भान्साघरले अपनाउने सिद्धान्त आत्मसात् नगरी मनलाग्दी नाम जोडेर थकाली भान्साघर खोल्ने प्रवृत्ति बढ्दै गयो,’ एसोसिएसनका अध्यक्ष विवेक तुलाचनले भने, ‘काठमाडौंमा क्रियाशील केही थकाली बुद्धिजीवी र व्यवसायीले विकृति र भ्रमलाई निरुत्साह गराउन एसोसिएसन स्थापना गर्यौं ।’
थकाली खाना देश–विदेशमा फैलाउन, थकाली भान्साघर र खानाको मौलिकता तथा गुणस्तर कायम राख्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थकाली खाद्य बजार प्रवर्द्धन गर्न काठमाडौंमा रहेका ७० हाराहारी थकाली भान्साघर लागिपरेका छन् । ‘थकाली खानाको उत्पादन र सेवा वितरणमा एकरूपता ल्याई थकाली भान्साघरको ट्रेडमार्कमार्फत अन्तर्राष्ट्रियस्तरमा ब्रान्ड विस्तार गर्दै छौं,’ काठमाडौं विमानस्थलमा टीथ्री थकाली भान्साघर सञ्चालन गरिरहेका विवेकले भने ।
नेपाल घुम्न आउने विदेशीसमेत अरू कुरा बिर्सेलान् तर थकालीको स्वाद लिन बिर्संदैनन् । थकाली खानाको स्वादमा धेरै तेल वा भारी मसला नहुने टिमुर, जिम्बु, लसुन र स्थानीय घ्यूले स्वादमा विशिष्टता थपेकै हुन्छ । त्यसैले यो खाना आज लन्डन, न्युयोर्क, मेलबर्न र टोकियोका थुप्रै ठाउँमा थकाली रेस्टुरेन्टका मेनुमा सूचीकृत भइरहेको छ ।
थुप्रै विदेशी भोजन भ्लगर, लेखकले ‘हिमालको स्वाद’ भनेर प्रशंसा गरेको यो परिकार स्वाद मात्र होइन, नेपालीको पहिचान पनि हो । आज शनिबार, परिवार साथीभाइसँगै बसेर चम्चाले होइन, हातले थकाली भान्साघरमा थकाली खानाको मज्जा लिन नर्बिसनुहोस् है!
